न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुन्छः प्रधान न्यायाधीश राउत

न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुन्छः प्रधान न्यायाधीश राउत

  • आइतवार, पुस २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, २० पुसः प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुने बताउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित प्रधान सम्पादक, सम्पादक तथा वरिष्ठ पत्रकारहरुसँगको छलफलमा प्रधान न्यायाधीश राउतले अदालतमाथि श्रृङ्खलावद्ध प्रहारले न्यायालय कमजोर हुने भएकाले न्यायालय बलियो भए मात्रै नागरिकलाई ढुक्क हुने अवस्था हुने बताउनुभयो ।

“श्रृङ्खलावद्ध प्रहारले अदालतलाई कमजोर बनाउने काम भएको छ, न्यायाधीश डरायो भने राज्यको चौथो अङ्ग पनि सुरक्षित हँुदैन,” उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता र सम्मानमा कहालीलाग्दो दिन आउन सक्छ, न्यायालय बलियो हुँदा नागरिकलाई ढुक्क हुने अवस्था हुन्छ ।”

न्यायापालिका, अदालत, न्यायाधीशमाथि लक्षित गरी सुनियोजित तरिकाले आपत्तिजनक टिप्पणी गरिएको उल्लेख गर्दै प्रधान न्यायाधीश राउतले भन्नुभयो, “न्यायाधीशका तस्वीर उल्टो बनाएर छापिएको छ, सुनियोजितरुपमा राखिएको छ ।”

न्यायालयको स्वस्थ आलोचना गर्न र टिप्पणी गर्न कुनै समस्या नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रमा, खुल्ला समाजमा, बहुलवादमा संविधानप्रदत्त अधिकारको भरपुर उपयोग गर्न पाइन्छ, त्यो हेक्का हामीलाई छ, तर स्वस्थकर आचोचना होस, अतिरञ्जना नहोस ।”

प्रधान न्यायाधीश राउतले अदालत भनेको अत्यन्तै संवेदनशील संस्था भएको उल्लेख गर्दै सत्य, तथ्य र प्रमाणका आधारमा मात्रै मुद्दालाई हेर्नुपर्ने बताउनुभयो । “अदालतबाट धेरै कुरा बुझाउन सकिएको छैन होला, त्यो अपेक्षा सञ्चारमाध्यमसँग छ,” प्रधान न्यायाधीश राउतले भन्नुभयो, “अदालतमा विधि, प्रक्रिया हुन्छ, मुद्दामा तथ्य, प्रमाण, कानुन हेर्नुपर्छ, त्यो कस्ले बुझ्छ ? त्यति गर्दा पनि गल्ती भएमा जिल्ला हुँदै, उच्च हुँदै चित्त नबुझेको अवस्थामा सर्वोच्च अदालतमा आउने सक्ने संवैधानिक व्यवस्था छ ।”

प्रधान न्यायाधीश राउतले अभिव्यक्ति स्वतन्त्रताको अधिकतम प्रयोग गर्ने व्यक्ति पत्रकार भएको उल्लेख गर्दै न्यायालयविरुद्ध घृणा फैलाउने काम भयो र त्यसको असर न्यायमा पर्यो भन्ने गम्भीर असरपर्ने बताउनुभयो ।

“हामी सच्चिनुपर्ने ठाउँमा सच्चिन्छौँ, तर नियतबस अदालत र न्यायाधीशको हुर्मत लिने छुट पनि कसैलाई हुँदैन, कहीँ हामी हाम्रै कमीकमजोरीका कारणले त समस्यामा परेका छैनौँ, निर्मम समीक्षा गरिरहेका छौँ ।”

देशको सम्वेदनशील घडीमा आशा, भरोसा, विश्वासको पुञ्ज मुलुकका सञ्चारमाध्यम नै भएको, न्यायालयको गरिमा बढाउनका लागि स्वस्थ आलोचना र सुझाव राख्न आग्रह गर्दै भन्नुभयो, “न्यायालयप्रति स्वस्थ्य आलोचना गर्नुस, तर वदनियत राखेर नगर्नुस, यो सबैलाई चाहिने संस्था हो, जुन दिन यो संस्था धरमराउन थाल्छ, तब धेरै असहज परिस्थितिको सिर्जना हुन सक्छ ।”

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले देश अस्थिर, जटिल र तरलतातर्फ गइरहेको अवस्थामा स्थिरता दिनुपर्ने जरुरी भएको उल्लेख गर्दै न्यायालय विश्वासिलो बनाउन जरुरी भएको बताउनुभयो ।

न्यायालयमा भौतिकरुपमा क्षति भएपनि न्यायको दीप मर्न नदिने गरी काम गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “न्यायापालिका अस्त्रविहीन निकाय हो, हामीमाथि अस्त्रको रूपमा कुनै माध्यमको प्रयोग भइरहेको छ, न्यायालय र प्रेस एकअर्काका परिपूरक भएकाले हामीलाई सुधार गर्नुपर्ने विषय उजागर गरिदिनुभएको छ, न्यायालय आभारी छ ।”

वरिष्ठतम् न्यायाधीश मल्लले मुलुक जटिल अवस्थामा गइरहको र त्यसका असर न्यायापालिकामा पनि देखिएकाले सल्लाह÷सुझावका लागि कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै उहाँले भावना बढी फैलाउने तर सत्यको खोजी नगर्नेजस्तो समस्या देखिएकाले लोकतन्त्रका दुई खम्बा न्यायालय र प्रेस मिलेर काम गर्नुपर्ने भनाइ राख्नुभयो ।

छलफलमा विभिन्न सञ्चारमाध्यमका प्रधान सम्पादक, सम्पादक, वरिष्ठ पत्रकारहरुले न्यायालयको आदेश÷फैसला सरल भाषामा सबैले बुझने खालको हुँदा बुझन सहज हुने, घृणास्पद अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रतालाई छुटुयाएर हेर्नुपर्ने, आफ्नो हक÷अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन् नहुने तरिकाले अभिव्यक्ति दिनुपर्ने, सामाजिक सञ्जालमा आएका सूचनालाई समाचारको रुपमा हेर्न नहुने, स्वतन्त्र न्यायापालिको गरिमामा असर पर्ने गरी विषयवस्तु प्रस्तुत नभएकालगायत धारणा राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ