मुटु कँपाउने जाडो, उखु किसानलाई धपेडी

मुटु कँपाउने जाडो, उखु किसानलाई धपेडी

  • शनिबार, पुस १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

महोत्तरी, १२ पुसः महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पु¥याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो ।

भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ ।”

यता एक पटक लगाइएको उखु खेतीबाट दुई वर्ष बाली लिइन्छ । पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ । हाल खुट्टी उखु भएको जग्गामा तत्काल चैते (चैती) बाली लगाउनुपर्ने बाध्यता छ ।

“गहुँ त पुस २२ सम्म लगाइसक्नुपर्छ, वैशाखी (चैत र वैशाखमा उत्पादन लिइने) तरकारी पनि ढिलोमा पुसभरिमा लगाइसक्नुपर्छ”, बर्दिबास–७ चौखिका किसान जगन्नाथ महतो भन्नुहुन्छ, “उखु व्यवस्थापन नगरी चैतेबाली नलाग्ने हुँदा हाल हामीलाई सास फेर्ने फुर्सतसमेत नभएको अवस्था छ ।”

जिल्लाको उत्तरी क्षेत्रको जग्गा चाँडै रुखो हुने हुँदा पुस महिनाभित्रै बाली लगाउन नपाए छ महिना बाँझो पर्ने चिन्ताले किसान दिनरात नभनी उखु व्यवस्थापन लागेका उहाँले बताउनुभयो ।

जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले गत सोमबारदेखि उखु ‘क्रसिङ’ सुरु गरिसकेको छ । हाल किसानले धमाधम उद्योगमा उखु पु¥याइरहेका छन् । कतिपयले घरआँगनमै उखु पेलेर सख्खर बनाउन थालेका छन् ।

गौशाला–१२ कालीपुरका किसान भोगेन्द्र महतोले भन्नुभयो,“मुडन उखु त झण्डै चैतसम्मै काट्दा पनि हुन्छ, खुट्टी काट्ने समय भने बितिसक्यो । खुट्टी उखु काटेरमात्र नभइ त्यसलाई पेल्ने र सख्खर बनाउनेसम्मको चाँजो सँगसँगै गर्नुपर्ने हुँदा भ्याइनभ्याइ परेको छ ।”

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा रहेको उखुखेतीमध्ये पाँच हजार बिघामा खुट्टी छ । उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले मङ्सिर १५ भित्रै खुट्टी उखु कटान गर्न चिनी उद्योग सञ्चालन हुन पर्नेमा त्यसमा ढिलाइ हुँदा किसानलाई केही धपेडी परेको बताउनुभयो । “हामीले सरकारलाई प्रत्येक वर्ष कात्तिक १५ भित्र चिनी उद्योग, उखु उत्पादक किसानका प्रतिनिधि र सरकारबीचको सहमतिमा उखुको मूल्य निर्धारण र मङ्सिर १५ बाट क्रसिङ सञ्चालन हुनुपर्ने माग राख्दैआएका छौँ”, उहाँले भन्नुभयो,“सोअनुसार तालिका कार्यान्वयन नहुँदा किसानलाई कठिनाइ भइरहेको छ ।”

सरकारले यसपालि निकै ढिलो गरी मङ्सिर २२ मा मात्र उखुको मूल्य निर्धारण गरेको थियो । आगामी वर्ष समयमै तालिका कार्यान्वयन गर्न सरोकार भएकाहरू सबै हालैदेखि लाग्नुपर्ने अध्यक्ष कुशवाहाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी