३ पुस, काठमाडौं । सहकारी संस्थाकाे रकम संस्थागत दुरूपयाेग गरेकाे आराेपमा ललितपुरकाे नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने भाेलि शुक्रबार मात्र जेलबाट छुट्ने भएका छन् ।
रूपन्देहीका सुप्रिम सहकारी संस्थाकाे रकम उनी संलग्न काठमाडाैंमा संचालित ग्यालेक्सी फाेरके टेलभिजनमा अवैध तरिकाबाट बचतकर्ताकाे बचत रकम ल्याएर गैरकानुनी कार्य गरेकाे आराेपमा थुनामा बसेर मुद्दा लड्दै आएका लामिछानेलाई उच्च अदालत, बुटबलले बिहीबार ३ कराेड ७४ लाख ८४ हजार रूपैयाँ धराैटी लिएर थुनामुक्त गर्न आदेश भएकाे छ ।
उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेश अनुसार लामिछानेले यसपटक २ कराेड ७४ लाख ८४ हजार रूपैयाँ बुझाए पुग्छ । बाँकी १ कराेेड रूपैयाँ यसअघि जिल्ला अदालत रूपन्देहीले लिएकाे रकम नै स्वीकार्ने भएकाे छ ।
थुनामुक्त गर्न आदेश दिएसँगै नख्खु कारागारमा समर्थकको भिड लागेको छ । तर लामिछानेलाई थुनामुक्त गर्न कार्यालय समय सकिएकाले भाेलि शुक्रबार मात्र हुने भएकाे छ । उनलाई आजै रूपन्देही लैजाने भएकाे छ । उनलाई यही उच्च अदालतका अन्य न्यायाधीशहरूकाे इजलासले जिल्ला अदालतले १ कराेड रूपैयाँ धराैटी लिएर जेलबाहिर बसेर मुद्दाकाे अन्तिम फैसला लड्ने दिने आदेशलाई उल्ट्याउँदै जेलमा आदेश दिएपछि भैरहावा जेलमा थुना थिए । त्यसक्रममा उनले दिएका अड्डासारकाे निवेदनका आधारमा अलिक सुविधाजनक जेल मानिने ललितपुरकाे नख्खुमा थुनामा राखिँदै आएकाे थियाे ।
रिहाकाे आदेशपछि नख्खु कारागारबाहिर उनका समर्थकहरू बाक्लो संख्यामा जम्मा भएर अदालतले न्याय दिएकाे भन्दै खुशी जनाइरहेका छन् ।