२ पुस, काठमाडाैं । प्रगतिशील लाेकतान्त्रिक पार्टी (प्रलाेपा)का संरक्षक डा. बाबुराम भट्टराई पार्टीमा कार्यकारी बन्न खाेजेपछि शपथ कार्यक्रयममै लफडा भएकाे छ । हिजाे शुरू भएकाे पार्टीकाे केन्द्रीय समितिकाे प्रथम पूर्ण बैठकमा केन्द्रीय समितिका सदस्यहरूलाई पार्टीकाे शपथ खुवाउने क्रममा शपथ पत्रमा समावेश गरिएका ‘समुन्नत समाजवाद’ शब्दावली’माथि हलमै प्रश्न उठेकाे हाे । शपथ खुवाउने काम मञ्चबाट भट्टराईले बैठककाे शुरूवातमा गरेका थिए ।
केन्द्रीय सदस्य वामदेव क्षेत्री लगायतले नेताहरूले ‘समुन्नत समाजवाद’ पार्टीकाे आधिकारिक लाइन भएकाे विषय आफूलाई थाहा नभएकाे बताउँदै प्रश्न उठाएपछि हल्लीखल्ली नै चलेकाे थियाे ।
मालेमावाद त्यागेर नयाँ नयाँ शक्ति गठन गर्दै असफल हुँदै आएका उनी पछिल्लाेपटक विभिन्न दल छाडेकाहरूलाई जम्मा पारेर प्रलाेपा गठन गरी त्यसका संरक्षक बनेका छन् । जनयुद्धकालीन दाेस्राे तहका नेता रहिसकेका भट्टराई आफू राजनीतिमा कार्यकारी नरहने र नेतृत्व युवा पुस्तालाई दिने वकालत गरिरहेका नेताका चिनिन्छन् । तर यसपटक पनि केही दिन पहिले मात्र ‘न्वारन’ भएकाे प्रलाेपाकाे दस्तावेज लेखनमा मात्र शपथमा समेत प्रभाव जमाउन पार्टीमा कार्यकारी भूमिका देखाउन खाेजेकाे भन्दै आलाेचना शुरू भएकाे छ ।
दस्तावेज लेखन कार्यकाे नेतृत्व पाएका नेता राम कार्की (पार्थ क्षेत्री)लाई दबाबमा राखेकाे चर्चा व्यापक छ । पार्टीभित्र ‘समुन्नत समाजवाद’ कि ‘नेपाली विशेषताकाे समाजवाद’ भन्ने टुंगाे लागिसकेकाे छैन । एकथरिका ‘समुन्नत समाजवाद’ एमालेमुखी तथा ‘नेपाली विशेषताकाे समाजवाद’ अर्कै कुनै पार्टी मुखी हुने तर्क गर्छन् । त्यसकारण केसबाट व्यापक छलफल गराएर मात्र समाजवादकाे विषय टुंग्याउनुपर्नेमा ठूलाे मत रहँदै आएकाे स्राेतले बतायाे ।
प्रलाेपा वास्तावमा रास्वपा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) लगायत पार्टीबाट आएकाहरू मिलेर बनेकाे हाे । पार्टीकाे दर्शन, दस्तावेज र कार्यदिशा सिद्धान्त विषय टुंग्याउनै बाँकी छ । त्याे विषय आउँदाे सम्मेलनबाट टुंग्याउने तयारी छ । तर नेसपा छँदा अध्यक्ष रहेका संरक्षक भट्टराईले शपथ जस्ताे विषयमा नै ‘मनलाग्दाे’ तरिकाले गम्भीर प्रकृितका शब्दावली छिराएपछि पार्टीमा तरंग गएकाे छ ।
तस्बिर: सामाजिक सञ्जाल