काठमाडौँ, १८ साउनः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो । यो संख्या हालसम्म नेपालको कुनै पनि सरकारी प्रयोगशालाको सन्दर्भमा सबैभन्दा बढी हो। यसअघि सन् २०१९ मा १०२ सूचकहरूमा, र सन् २०२३ मा २८६ सूचकहरूमा प्रत्यायन प्राप्त गरिएको थियो।
कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले मान्यता दिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । परीक्षण गरेपछि प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न तीनदेखि चार वर्ष लाग्ने उहाँले बताउनुभयो ।
महानिर्देशक कर्णले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस अभियानमा साथ दिने सम्पूर्ण सरकारी निकाय, सरोकारवाला निकाय तथा विभागका कर्मचारीहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै, यस ऐतिहासिक उपलब्धिको निरन्तरता र दीगो कार्यान्वयनका लागि आगामी दिनहरूमा पनि सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

विभागले भारतको सम्बन्धित निकायसँग पत्राचार गरी नेपालबाट भारततर्फ निर्यात गरिने खाद्य वस्तुको परीक्षण प्रमाणपत्र र खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणपत्रलाई आधिकारिक मान्यता दिन आग्रह गरेको छ। विभागले चाँडै नै यससम्बन्धी आदेश जारी हुने विश्वास व्यक्त गरेको छ, जसले द्विपक्षीय व्यापारलाई अझ सहज बनाउनेछ।
क्षेत्र विस्तारसँगै विभागअन्तर्गतको प्रयोगशालाले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसबाट खाद्य तथा दाना पदार्थको नमूना विश्लेषणको विश्वसनीयता कायम राख्न तथा निर्यातमा सहजीकरण गर्न पनि सहयोग मिल्ने विश्वास विभागले लिएको छ ।
प्रवक्ता मोहनकृष्ण महर्जनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा, “खाद्य वस्तुमा स्वच्छता : विज्ञानको अपरिहार्यता“ भन्ने नारासहित मनाइएको विश्व खाद्य स्वच्छता दिवस २०८२ को सन्दर्भमा, प्रयोगशालाको सशक्तीकरण तथा निर्यात प्रवद्र्धनका विषयमा सञ्चारकर्मीहरूको भूमिका अतुलनीय हुने उल्लेख गरिएको छ।