वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

  • शुक्रबार, साउन १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

कञ्चनपुर, १६ साउन : जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन । डिभिजन वन कार्यालयका अनुसार गएको असारमा मात्र चार लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरिएको छ ।

त्यसभन्दा अघिल्ला वर्षहरूमा पनि नर्सरीमा बिरुवा उत्पादन गरी वितरण गर्ने कार्य गरिएको थियो । प्रत्येक वर्ष लाखौँ रूपैयाँ खर्च गरी बिरुवा उत्पादन गरी वितरण हुन्छन् तर संरक्षणको अभावमा बिरुवा हुर्कन नपाउँदै मर्ने गरेका छन् । वनजङ्गलमा डढेलो, खुला चरिचरन र मानवीय लापरवाहीका कारण बिरुवा हुर्कन नपाउँदै मर्ने गरेको वन संरक्षणकर्मीको भनाइ छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास कुँवर वृक्षरोपणपछिको व्यवस्थापन पक्ष कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताउनुहुन्छ । “बिरुवा रोप्ने त हो, तर त्यसपछि कसैले हेर्दैन”, उहाँले भन्नुभयो, “न सिँचाइ, न जाली घेराबारा, न त निगरानी नै हुन्छ”, कुँवरका अनुसार नेपालमा अझै ‘छिटो प्रतिफल दिने बिरुवा’ रोप्ने प्रवृत्ति छ, जुन दीर्घकालीन वन विकास दृष्टिकोणबाट कमजोर मानिन्छ ।

“तीन–पाँच महिनाका साना बिरुवा रोपिन्छन्, भारत र चीनले दुईतीन वर्ष उमेरका बिरुवा रोप्छन्, त्यसैले उनीहरूको सफलताको दर ९० प्रतिशत हुन्छ”, उहाँले भन्नुभयो । “वनलाई अतिक्रमण र हस्तक्षेपबाट जोगाउने हो भने वृक्षरोपण नगरे पनि प्राकृतिक रूपमै हुने पुनः उत्पादनले वन विकास हुन्छ”, उहाँले भन्नुभयो, “खाली चौर तथा बगरमा वृक्षरोपण गर्दा राम्रै हुन्छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले पनि वृक्षरोपणबारे प्राविधिक ज्ञानको अभाव देख्नुहुन्छ । “बिरुवा रोप्दा माटोको प्रकृति, प्रजातिको अनुकूलता, सिजन आदि विचार गरिँदैन”, वाग्लेले भन्नुभयो, “यसबाहेक रोपेपछि संरक्षण, सिँचाइ र मलजल नगर्ने हो भने पनि वृक्षरोपण अभियानले सार्थकता पाउँदैन ।”

बिरुवा रोप्नेबारे प्राविधिक ज्ञान नहुँदा वृक्षरोपण अभियान आशातित रूपमा सफल हुन नसक्नुको मुख्य कारण भएको उहाँ बताउनुहुन्छ । “वृक्षरोपण गर्ने भनेर जथाभावी रूपमा बिरुवा रोपिन्छन्, बिरुवा रोप्ने तरिका थाहा हुँदैन”, उहाँले भन्नुभयो, “माटोको अवस्था विश्लेषण गरेर त्यसअनुसारका प्रजातिको बिरुवामात्र रोप्नुपर्छ ।” बिरुवा रोपिसकेपछि संरक्षणमा जोड दिनुपर्ने उहाँको भनाइ छ । “बिरुवालाई संरक्षणसँगै समयसमयमा सिँचाइ पनि गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्न सकिएमा मात्र वृक्षरोपणको कार्यले सफता पाउँछ ।”

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी वृक्षरोपणको कार्य प्रत्येक वर्ष हुँदै आए पनि विभिन्न कारण रोपेका सबै बिरुवा नबाँच्ने गरेको बताउनुहुन्छ । “रोपेका सबै बिरुवा त बाँच्दैनन्”, उहाँले भन्नुभयो, “५०–६० प्रतिशत बिरुवा हुर्कियो भने पनि उपलब्धि नै हुन्छ ।” सामुदायिक वन समन्वय समितिले निजी जग्गा र बजर क्षेत्रमा वृक्षरोपणलाई जोड दिइरहेको उहाँको भनाइ छ ।

वृक्षरोपणसँगै वन क्षेत्रमा चरिचरन, आगलागी र अतिक्रमण रोक्न सकेमा बिरुवा पुनः उत्पादन प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । विजय सालका बिरुवा पुनः उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले यस कार्यमा सफल भएको बताउनुभयो ।

समन्वय समितिसँग आबद्ध वनहरूमा विजयसालका पुनः उत्पादन भएका वनहरू देख्न सकिनेमा उहाँ जोड दिनुहुन्छ । जोशीका अनुसार वृक्षरोपणसँगै अब बिरुवा पुनः उत्पादन (नर्सरीबिना उम्रने बिरुवा) प्रविधिमा पनि जोड दिनुपर्ने आवश्यकता छ । “स्थानीय जातका माउ रुख सुरक्षित गरौँ”, उहाँले भन्नुभयो, “त्यसबाट आफैँ उम्रिने बिरुवा संरक्षण गर्न सकियो भने वन आफैँ बढ्छ ।”

दीर्घकालीन रूपमा सोचेर बहुवर्षे प्रजातिका बिरुवा उत्पादन, रोपणपछि संरक्षण, निगरानी तथा समुदायमा जनचेतना फैलाउने अभियान सञ्चालन गरिएमा मात्र वृक्षरोपण सफल हुने उहाँ बताउनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्ट वृक्षरोपण कार्यक्रम पूर्ण रूपमा असफल भने नभएको बताउनुहुन्छ । “असफल भने भएको होइन, सोचेजति सफल पनि हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

“विगतका वर्षहरूको तुलनामा वनमाथिको निर्भरता कम हँुदै गएको छ”, उहाँले भन्नुभयो, “स्थानीय बासिन्दाले निजी जग्गामा गर्ने वृक्षरोपणले दाउरा, घाँसपातका लागि वनमाथि नै पहिले निर्भर हुुुनुपर्दथ्यो, हाल वनमाथिको निर्भरता निकै घटेको पाइएको छ ।”

बिरुवा रोपेरमात्र नपुग्ने भएकाले हुर्काउन सकेनौँ भने लगानी खेर जाने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार नर्सरीबाट बिरुवा ल्याउने तरिका, खाल्डोको गहिराइ, रोप्ने विधि, संरक्षण विधि, सिँचाइ, घेराबार, मलजल, रोगकीराबाट जोगाउने उपायबारे उपभोक्ता जानकार नहँुदा वृक्षरोपणले सफलता प्राप्त गर्न कठिन हुन्छ ।

“नर्सरीबाट वनसम्म ल्याइने बिरुवालाई बच्चाजस्तै स्याहारसुसार अनिवार्य हुन्छ”, निर्देशक विष्ट भन्नुहुन्छ, “बर्सेनि लाखौँ बिरुवा रोपिन्छन्, तर संरक्षणमा कमजोरी हुँदा रूखमा परिणत नहुँदै सकिन्छन् ।” सामुुदायिक वनका सरोकारवालालाई वृक्षरोपणको गुणस्तर र दीर्घकालीन प्रभावका विषयमा जागरुकता बढाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । त्यसका लागि कञ्चनपुरका केही वनहरूमा आफैँ पुगेर वृक्षरोपणबारे प्राविधिक जानकारी दिने कार्य गरिएको उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी