कृषि कर्ममा रमाउँदै लामिछाने

कृषि कर्ममा रमाउँदै लामिछाने

  • शुक्रबार, साउन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

गण्डकी, ९ साउनः पोखरा महानगरपालिका–३३ तोरीचौरका प्रदीप लामिछानेलाई यतिबेला आफूले उत्पादन गरेको काँक्रोलाई बजारमा पुर्याउन भ्याइनभ्याई छ । दिनभरि काँक्रा टिप्ने र राति गाडीमा राखेर बजार पुर्याउनु उहाँको दैनिकी हो ।

स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका ३२ वर्षीय लामिछानेले बारीमा उत्पादित काँक्रा पोखरा शान्तिवनस्थित तरकारी बजारमा पुर्याउँदै आउनुभएको छ । पोखरास्थित फूलबारी होटलमा साढे तीन वर्ष काम गरेपछि कुनै समय विदेश जाने योजनाका साथ प्रक्रिया सुरु गर्नुभएका उहाँ अहिले भने कृषि कर्ममै रमाउनुभएको छ ।

“होटलको जागिर छाडेपछि विदेश जानका लागि दलाललाई केही पैसा बुझाएँ, केही खर्च पनि भयो, तर पछि विदेश जाने योजना त्यागेर आफ्नै बारीमा काँक्रोखेती गरिरहेको छु”, लामिछानेले भन्नुभयो ।

उहाँका बारीमा गत जेठमा रोपेका काँक्राले उत्पादन दिन सुरु गरिसकेका छन् । बारीमा अहिले काँक्राको उत्पादन राम्रो भए पनि बजारमा उचित मूल्य पाउन भने नसकेको उहाँको भनाइ छ । “सुरुमा काँक्रा प्रतिकेजी रु ८० का दरले बिक्री भए पनि अहिले भने प्रतिकेजी रु ३० मा मात्र पाएका छौँ, उचित मूल्य पाउने हो भने कृषिमा लाग्नेहरूलाई प्रोत्साहन हुने थियो”, लामिछानेले भन्नुभयो ।

उहाँ अहिले हरेक रात जिपमा काँक्रा राखेर पोखरा पठाउँदै आउनुभएको छ । उहाँका अनुसार बिहान ४ः०० नबज्दै काँक्रा खरिदका लागि व्यापारी घरमै आइसक्छन् । “काँक्रा बिक्रीका लागि समस्या छैन, बिहीबार मात्र पाँच सय केजी काँक्रा बजार पठाएँ, तर भनेजस्तो मूल्य भने अझै पाइएको छैन ।”

उहाँको छ रोपनी बारीमा काँक्रासँगै घिरौला, करेला र लौका पनि उत्पादन भइरहेका छन् । उहाँका अनसार दैनिक औसतमा रु १५ हजारको व्यापार भइरहेको छ । “पछिल्लो समय काँक्राको बजारभाउ घट्दो छ, यद्यपि यो सिजनमा करिब रु चार लाख आम्दानी भइसकेको छ”, किसान लामिछानेले भन्नुभयो, “सरकारले काँक्राको न्यूनतम मूल्य तोकिदिने हो भने हामीलाई राहत हुने थियो, रोजगारीको खोजीमा विदेश जान सोच्नुपर्ने अवस्था आउने थिएन ।”

बारीमा अहिले करेला, बोडी, सिमीलगायतका तरकारी लगाइएको छ । यी तरकारीले भदौमा उत्पादन दिन थाल्छन् । लामिछानेको कृषि कर्ममा उहाँका बुबा देवीप्रसाद र आमा नारायणीले सहयोग गरिरहनुभएको छ । लामिछानेका बुबा देवीप्रसादले भन्नुभयो, “यस वर्ष पानी कम परेकाले काँक्रालाई फाइदा भयो, धान खेतमा चिरा परेको छ, तर काँक्राको उत्पादन राम्रो छ ।”

हाल उक्त क्षेत्रमा एक सयभन्दा बढी परिवार व्यावसायिक काँक्रालगायतका खेतीमा छन् । यस क्षेत्रका किसानले करिब रु पाँच करोड बराबरको काँक्रा बिक्री गर्ने अनुमान गरिएको छ ।

पोखरा महानगरपालिका–३३ का अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार सडकको सुविधा पुगेपछि उत्पादित काँक्रा र तरकारी बजार पुर्याउन सहज भएको छ । उहाँका अनुसार यस क्षेत्रमा तरकारीखेतीका लागि स्थानीय तहले समय सहयोग गर्दै आएको छ । यस क्षेत्रमा काँक्रासँगै पिँडालु, खुर्सानी, सुन्तला, गोलभेँडाको उत्पादन पनि राम्रो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी