१९ जेष्ठ, काठमाडौँ । मानव स्वास्थ्यको लागि खाद्य पदार्थको स्वच्छता र गुणस्तरको महत्वलाई जनमानसमा पुर्याउने उदेश्यले विश्व खाद्य स्वच्छता दिवस २०८२ नेपालमा पनि विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रूपमा मनाइदैछ । सन् २०१९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ७ तारिखमा यो दिवश मनाउने गरिएको छ । दिवशको यसवर्षको नारा ‘खाद्य सुरक्षामा विज्ञानको सक्रियता’ भन्ने तय गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सप्ताहव्यापी कार्यक्रमअन्तर्गत स्कुलस्तरीय खेलकुद प्रतियोगिता (मिनिफुटबल, ब्याडमिन्टन, टेबलटेनिस), चित्रकला र वक्तृत्वकला प्रतियोगिता, सडक नाटक, जनचेतनामूलक सामग्री वितरण, ‘ह्याकाथन’ प्रतियोगिता, खाद्य बजार अनुगमन, सिफारिस समिति बैठक, नीति संवाद र अन्तरक्रियात्मक गोष्ठीहरूको आयोजना गरिने जानकारी दिएको हो । प्रमुख शहरहरूमा होटल, रेस्टुराँ, फलफूल तथा तरकारी बजारमा खाद्य गुणस्तर परीक्षण तथा निगरानी पनि तीव्र पारिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।
प्रवक्ता महर्जनका अनुसार खाद्य सुरक्षाको संवर्धनमा सबै पक्षको समन्वय र वैज्ञानिक आधारमा कार्यान्वयन अपरिहार्य छ। उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य श्रृंखला सुरक्षित बनाउन वैज्ञानिक प्रमाण र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उहाँको भनाइ छ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्णले उपभोक्तामाझ खाद्य स्वच्छता सम्बन्धी चेतना अझै न्यून रहेको भन्दै सो चेतना अभिवृद्धिका लागि विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको स्पष्ट पार्नुभयो ।
महानिर्देशक कर्णले खाद्य स्वच्छता कार्यक्रम केवल एक दिनका लागि सीमित नराखी वर्षभर चलाउने योजना रहेको जानकारी दिदै भन्नुभयो, “हामीकहाँ अझै खाद्यसम्बन्धी ज्ञानको अभाव छ,” । गुणस्तरको अवस्था नेपालमा मात्रै नभएर विकसित युरोपियन मुलुकमा समेत चुनौतिपूर्ण रहेको बताउर्दै फुड सेफ्टीप्रति सबैलाई जागरुपता ल्याउन खाद्य स्वच्छता दिवश मनाउन आवश्यक रहेकोमा उहाँको भनाईछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार दूषित तथा अस्वच्छ खाद्यका कारण विश्वभर करिब ६० करोड मानिस प्रभावित हुने गरेका छन्। नेपालमा पनि विषादी, एन्टिबायोटिक र दूषित पदार्थको प्रयोगका कारण उपभोक्ता स्वास्थ्यमा गम्भीर असर परिरहेको विभागले जनाएको छ।
यस्तै विभागका उपमहानिर्देशक सोमकान्त रिजालले बजार अनुगमनलाई नियमित रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो । “बजार अनुगमन सुधारात्मक, दण्डात्मक र सचेतनामूलक तीनवटै ढंगबाट गरिएको छ,” उहाँले भन्नुभयो, “चाडपर्वका बेला मात्रै नभई अन्य समयमा पनि निरन्तर निगरानी राखिएको छ, बिषादीयुक्त तरकारी, फलफुल उपभोक्ताको मुखमा पुग्न नदिने काममा हामी सचेत छौ ।”
दिवसको समापन यही जेठ २४ गते विशेष समारोहका साथ गरिनेछ। समापन कार्यक्रममा सप्ताहभर भएका गतिविधिको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्षका लागि रणनीतिक योजना निर्माणसम्बन्धी छलफल गरिनेछ।
खाद्य सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विभागले सबै तहका सरकारी निकाय, निजी क्षेत्र, उद्योग व्यवसाय, उपभोक्ता समूह, सञ्चारमाध्यम, अनुसन्धान संस्था तथा नागरिक समाजसँग सहकार्यका लागि आग्रह गरेको छ।