काव्यमा खोजिएको नेपालमण्डल 

काव्यमा खोजिएको नेपालमण्डल 

  • शुक्रबार, जेष्ठ १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेपालको उद्भव र विकासबारे धेरै अनुसन्धान भएका छन् । पुराना कुरा लेखिएका छन् । तथापि खोज्ने र लेख्ने क्रम सकिएको छैन । अहिले पनि जारी छ । त्यो क्रम घट्ने होइन अरू बढ्ने छ किनकि यस्ता लेखन अनुसन्धानका नतिजा हुन्छन् र अनुसन्धानको अन्त्य कहिल्यै हुँदैन । अनुसन्धान जहिले पनि नयाँ नै हुन्छन् । तिनको विधि र लेखन शील्प फरक हुन सक्छ । राष्ट्रियतालाई केन्द्रमा राखेर गरिने देशीय विद्या अध्ययनका आधारमा नेपाल विद्या विधाले समेट्छ ।

त्यस्तै फरक शील्पमा नेपालबारे नयाँ पुस्तक आएको छ– नेपालमण्डल । राष्ट्रसेवक कर्मचारी भीष्म बाँस्कोटाले निकै मेहनत गरेर यो पुस्तक तयार पार्नुभएको हो । पुस्तकको विशेषता अनुसन्धान त हुँदै हो; त्यसभन्दा पनि बढी यो लोकलयमा आधारित पद्यमा लेखिनु हो । त्यसैले यो काव्यानुसन्धान नेपाल विद्याको एउटा नयाँ कडी हो ।

नेपाल शब्दको व्युत्पादनका बारेमा मतभेद छ । यसलाई लोक व्यवहारसम्मत चर्चा गर्ने र तथ्यका आधारमा प्रामाणिक रूपमा पुष्टि गर्ने कार्य अद्यापि छ । किराँत, तिब्बती, लेप्चा, नेवाः, संस्कृत, फारसीलगायत भाषाका आधारमा नेपालको नामकरण खोज्दै ग्रन्थ, पुस्तक आदिका नेपाल वा नेपालको प्राचीनता झल्कने भूक्षेत्र भिरालो अर्थात् पानीढलो जमिनको पर्याय वा जाति ‘नीप’ जातिका बासिन्दाको मूल रूपको खोजी पद्यमै गरिएको छ ः

फारसी भाषा ‘निताल’ अर्थ ‘नितल’ ‘नेपाल’ नितल भन्नु हो होचो जिमी उर्दुमा ‘निताल’ (पृ. ५)

संस्कृत अर्थ जल्थल हुन्छ नर बस्ने स्थल नीपर्थ हुन्छ संस्कृत भाषा जल्थल नरस्थल (पृ. ६)

यही आधारमा नेपालको व्युत्पादनको निष्कर्ष यसरी दिइएको छ :

‘नीप’ मा ‘आल’ प्रत्यय लागी बन्नगो नेपाल जो जाने कहेँ नाम र अर्थ प्यारो यो नेपाल (पृ. ६)

यसरी नीप जातिको बसोबास क्षेत्र रहेको नै नेपाल उल्लेख गरिएको भए पनि नीपको वंश सम्बन्ध ऋग्वेदका ऋषि नीपातिथिसँग रहेको चाहिँ नखुलाई अथर्वपरिशिष्टमा वर्णित नेपाल भूमिसम्म पाठकलाई पु¥याइएको छ :

अथर्वपरिशिष्टले बोल्यो नेपाल देश यो अछाम मिथि उज्जैन साथ वर्णित राष्ट्र यो (पृ. ८) ।

इतिहासका स्रोतका रूपमा रहेका श्रुति, स्मृति, अभिलेख आदि सबैका आधारमा प्राचीनता केलाउँदै नेपालमण्डल भनिने प्राचीन स्थलका बारेमा अध्यायगत चर्चा गरिएको छ ।

स्वनिगः (काठमाडौँ उपत्यकाका तीन सहर) र आसपासका प्राचीनतम नगरहरूका प्राचीन नामको उत्खनन गर्दै त्यहाँ रहेका सम्पदाका आधारमा विश्वसम्पदा सूचीमा परेका र सम्भाव्य सम्पदाको लोकलयात्मक पद्य प्रस्तुति यस पुस्तकको मुख्य विशेषता रहेको छ ।

स्वनिगः बासी रैथाने नाउँ नेपालमण्डल ललितापुरी, भादगाउँ र यँ कहल्यो नेपाल (पृ. २१)

कान्तिपुर, ललितपुर र भक्तपुरका साथै थानकोट, हाँडीगाउँ, शङ्खरापुर, खोकना, विशालनगर, बोडे, धरिखेर (धुलिखेल), चापागाउँलगायतका स्थानको प्राचीन वैष्ट्यिको खोजी गर्दै पद्य रचना गरिएका छन् ।

आधुनिक पुरातात्त्विक अध्ययन अनुसार काठमाडौँ उपत्यकाको सर्वप्राचीन नगरी चाँगुनारायणलाई प्राचीन नाम दोलाद्रि पर्वतका आधारमा चर्चा गरिएको छ :

संस्कृति कला ढुकुटी केन्द्र दोलाद्रि शिखर चप्मक चाँप नारायण ती संस्कृति भण्डार । दोला त्यो शब्द अर्थ हो पिङ रैथाने चाँगु त्यो चङ्गुको अर्थ पिङ झैँ डाँडो दोलाद्रि गिरि त्यो । भगवान् लाल इन्द्रजीबाट अध्ययन थालिएको चाँगुको पुरातात्त्विक उत्खननले नेपालको प्राचीनतालाई विश्वका अन्य प्राचीन नगरीको दाँजोमा पुर्‍याएको छ । त्यससँगै गरिएका भाषिक पुनरुत्थानलाई झल्काउने गरी स्थाननामहरूको प्रयोग गर्दै स्थानविशेषको अध्ययन छ । खास्ती महिमा, खोप्रिङ, महिमा, ललिपत्तन : सुन्दर सहर, न्हुपुखु : रानीपोखरी, सक्व : शङ्करापुर, ख्वन : खोकना, नवक्वाठ : नुवाकोट, गोरक्ष (गोर्षा) पर्वत र अभयपत्तन : दोलखा केही उदाहरण हुन् ।

त्यसो त पुस्तकमा यी मात्र होइन; अरू पनि धेरै ऐतिहासिक स्थाननाम प्रयोग गरिएको छ । त्यस्ता स्थाननाम र अरू शब्दको अर्थ दिएर पाठकलाई बोधगम्य बनाउनु यस पुस्तकको मुख्य विशेषता हो । हरेक शीर्षकका पद्यको समाप्तिमा त्यस्ता कठिन शब्दको अर्थ दिइएको छ ।

यसका अतिरिक्त पद्यानुसन्धानलाई तथ्यमा आधारित रहेको पुष्टि गर्न १४ वटा परिशिष्ट पनि दिइएका छन् । परिशिष्ट ४ मा विशिष्ट शब्दावलीमा त वर्णानुक्रममा विशिष्ट शब्दहरूको अर्थ स्रोतको उल्लेखसहित गरिएको छ । त्यसैले अनुसन्धानको विशिष्ट परम्परालाई यसले आत्मसात् गरेको पाइन्छ । परिशिष्टमै दिइएको त्यस्ता प्रमाणका साथ सन्दर्भ सामग्रीको लामो सूची दिइएको छ । यसले गहन अध्ययन र अनुसन्धानका आधारमा पद्यमा पनि अनुसन्धान गर्न सकिने कुरा कवि प्रतिभाहरूलाई प्रेरित गर्दछ ।

पुस्तकमा प्राचीन नेपाल मण्डलको रेखात्रिच र त्यसमा अवस्थित सम्पदाहरूका चित्रलाई पनि प्रस्तुत गरिएको छ । कान्तिपुर नगरको खड्गाकार चित्रमा स्थाननाम रहेका छन् । यस्ता सामग्रीले प्रामाणिकताका साथै पाठकलाई रोचक ज्ञानसमेत प्रदान गर्दछन् ।

भीष्म बाँस्कोटाले लेख्नुभएको र डा. भीष्मकुमार भुसालको परिष्कार र भूमिकासहितको पुस्तकले नेपालका कतिपय नखोलिएका पाटालाई उजागर गरेको छ । पुस्तक लेख्नुको प्रेरक स्रोतका रूपमा संवत् ४९२ (विसं ६७२) को पाटन मङ्गलबजारस्थित भारविको अभिलेखको भनाइलाई लिइएको छ :

नित्यं ख्यातगुणप्रभावचरिते वैशेपि लब्धास्पदे जातस्यात्र जनस्य जन्म विफलं कीत्र्या विना जीवितः । दुष्टं सोख्यवताम्परत्र च सु खं प्रा—कृया यया तां कत्र्तुं न समुत्सु कः प्रयतते को नाम मूढः स्वयम् ।।

अर्थात्

गुण, प्रभाव र चरित्रद्वारा सधैँ प्रख्यात भएको, ठुलो पद पाएको कुलमा जन्मेको मानिस भए पनि कृतिबिना बाँचेका छन् भने तिनको जन्म सफल हुँदैन । यहाँ सुख पाएकाहरू जुन कृतिले गर्दा अर्को लोकमा पनि सुख पाउँछन् । त्यस्तो कृति राख्न कुन चाहिँ मूर्ख मानिस उत्सुक भई प्रयत्न गर्दैन (?) ।

यसो गरी थालिएको भए पनि पुस्तक कृति राख्न गरेको मुख्र्याइँ मात्र नभएर नेपालको विद्या परम्परामा नयाँ बाटो देखाउने मार्गदर्शक दस्ताबेज बनेको छ ।

टीकाप्रकाश बाँस्कोटा प्रकाशक रहेको आवरणलगायत गरी ३१६ पृष्ठको पुस्तकको मूल्य ९५० रुपियाँ रहेको छ । पुस्तकका पानाका आधारमा मूल्य बढी नै लागे पनि पुस्तकको ज्ञानगहनता र कठोर अनुसन्धानलाई पद्यमा सिर्जना गर्दाको परिश्रमले त्यसलाई समायोजन गरेको छ । -गोपबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी