टिकटकले हटायो छ हजार ७८ भिडियो

टिकटकले हटायो छ हजार ७८ भिडियो

  • मङ्लबार, मंसिर १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, १८ मङ्सिर : टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् ।

काठमाडाँैमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताउनुभयो । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उहाँले सुनाउनुभयो ।

त्यस्तै कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्द्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले विशेष गरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको जानकारी दिनुभयो । नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको बताउँदै उहाँले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेको समेत सुनाउनुभयो ।

सुरक्षित सामाजिक सञ्जाल प्रयोगबारे छलफल

सही र सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने भन्ने अहिले सबैको चासोको विषय हो । यसै विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र टिकटक डिजिटल प्लेटर्फमले सरोकारवालामाझ छलफल चलाएको छ ।

कार्यक्रममा टिकटकजस्ता सामाजिक सञ्जालको सुरक्षित प्रयोग कसरी गर्ने ? विषयमा सामूहिक छलफल गरिएको हो । यसै क्रममा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुर, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल, टिकटकका पब्लिक पोलिसी प्रोग्राम्स एन्ड पाट्नरसिप्स प्रमुख जारा बसहरत हिग्स् र टिकटक क्रिएटर सोर्वस् घिमिरेबीच सामूहिक छलफल भएको थियो ।

चाइल्डसेफनेट संस्थाका अध्यक्ष अनिल रघुवंशीले छलफलमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । सामूहिक प्रश्नमा उहाँले टिकटकबाट सुरक्षित हुन के गर्ने ? प्रश्नमा मन्त्रालयका प्रवक्ता ठाकुरले सरकारको तर्फबाट बोल्दै नियम र ऐन बलियो बनाएर कार्यान्वयन गर्ने तयारी भएको बताउनुभयो । उहाँले टिकटक मर्यादित बनाउन अरु सरोकारवालाको साझेदारी आवश्यक हुने धारणा राख्नुभयो ।

त्यस्तै छलफलका वक्ता जाराले टिकटक सही तरिकाले प्रयोग गर्न शैक्षिक जागरण फैल्याउनुपर्नेमा जोड दिनुभयो । जाराकाअनुसार अभिभावक र शिक्षकले बालबालिकामा सही तरिकाले टिकटकको सही प्रयोग गर्न सिकाउनु अहिलेको आवश्यकता हो ।

अबको दुई वर्षमा सामाजिक सञ्जालको प्रयोगले समाजमा के कस्ता चुनौती आउन सक्छन ? भन्ने प्रश्नमा डिजिटल राइट्स नेपालका निर्देशक सन्तोषले सीमान्तकृत समुदाय, महिला र बालबालिका बढी जोखिममा पर्नसक्ने धारणा राख्नुभयो । टिकटक क्रिएटर घिमिरेले आफूले समाजलाई सकारात्मक दिशातर्फ बढाउने खालका श्रव्यदृश्य सन्देश दिएर मर्यादित टिकटक प्रयोगकर्ता बन्दै आएको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत अपराधिक गतिविधि बढ्दै गएको बताउनुभयो । उहाँले ऐन र कानुनको कार्यान्वयनसँगै आमचेतनासमेत जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार खास गरी महिला र बालबालिका सामाजिक सञ्जालको दुरुपयोग गरी पीडित भएको अवस्था छ ।

यसैक्रममा सामाजिक सञ्जालको सही प्रयोग गर्न जनचेतनामूलक कार्यक्रम सुरु गर्न टिकटक र चाइल्डसेफनेटसँग सम्झौता हस्ताक्षर भएको छ । चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, सुनसरी र मोरङका जिल्लाका १४ विद्यालयमा सामाजिक सञ्जालको सही प्रयोग गर्ने तालिम दिने सहमति भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी