बेर्ना उमारेरै घरखर्चको जोहो

बेर्ना उमारेरै घरखर्चको जोहो

  • बुधबार, अशोज ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

कञ्चनपुर, ३० असोज : शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन कठ्ठा जग्गामा उहाँले तरकारीको बेर्ना उमार्नुभएको छ । रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन् ।

भदौको अन्तिम सातादेखि नर्सरीमा बिरुवा उमार्न थालेका रानाले असोजको दोस्रो सातादेखि बिरुवा बिक्री गर्न थाल्नुभएको हो । पाँच वर्षदेखि उहाँ यस कार्यमा संलग्न रहँदै आउनुभएको छ । गत वर्षको यसै अवधिमा नर्सरीबाट ३० हजार बिरुवा बिक्री भएका थिए । यस वर्ष लगातार वर्षा हुँदा नर्सरीमा १५ हजार मात्र बिरुवा बिक्री भएको रानाले बताउनुभयो ।

“तरकारीका बिरुवा बिक्रीबाट एउटा याममा रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो–“आधीभन्दा बढी बिरुवा नर्सरीबाटै बिक्री हुन्छ ।” बिरुवा बिक्री गर्न साइकलमा गाउँ गाउँसम्म पुग्ने गरेको उहाँले बताउनुभयो ।

अन्य तरकारीका बिरुवा बिक्री गरेपछि प्याजको बेर्ना तयार गर्ने रानाले बताउनुभयो । तरकारी र प्याजका बिरुवा खरिद गर्नेहरु अधिकांश व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसान रहेका छन् । तरकारी र प्याजका बिरुवा तयार गर्न बीउ खरिद, प्लाष्टिक खरिद गर्न तथा खनजोत गर्न रु एक लाखसम्म खर्च हुने उहाँको भनाइ छ ।

नर्सरीमा बिरुवा हुर्काउन घरमै गाइगोरुको मलमुत्रबाट तयार गरिएको प्राङ्गारीक मल र जैविक विषादीको प्रयोग गर्ने गरेको राना बताउनुहुन्छ । तरकारी र प्याजका बिरुवा बिक्री गरेर प्राप्त हुने आम्दानीबाट रानाले घरखर्च चलाउनुभएको छ ।

“विभिन्न कामका लागि बेला बेलामा काढेको ऋण नर्सरीमा उत्पादित बिरुवा बेचेर तिर्ने गरेको छु, घरखर्च सबै यसबाटै धानेको छु”, रानाले भन्नुभयो । उन्नत जातको बीउ उत्पादन गर्ने रानाको नर्सरीबाटै बीउ बिक्री हुन्छ । नर्सरीमा बिरुवाको हेरचाह गर्ने, मल राख्ने, जैविक विषादी छर्कने कार्यमा रानाकी श्रीमती मुन्नीले पनि सहयोग गर्दैआउनुभएको छ ।

बेदकोट नगरपालिकाको चम्फापुरस्थित ससुरालीमा दुई दशक अघि तरकारीको नर्सरी बनाएर बिरुवा बेच्दै गरेको राना बीउ उत्पादनतर्फ लाग्नुभएको हो । “ससुरालीमै बसेर नर्सरीको काम सिके”, उहाँले भन्नुभयो, “अनुभव बटुलेपछि आफ्नै जग्गामा नर्सरी बनाएर बिरुवा बिक्री गर्न थाले ।”

रानाले हालसम्म नर्सरीका लागि सरकारी पक्षबाट न त तालिम न अनुदान नै पाउनु भएको छ । “तालिम तथा सरकारी अनुदान पाउन सके अझै राम्रो गर्न सकिन्थ्यो की जस्तो लागेको छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी