पासपोर्ट बाकसमा थन्म्याएर तरकारी खेतीमा रमाउदै दीपक

पासपोर्ट बाकसमा थन्म्याएर तरकारी खेतीमा रमाउदै दीपक

  • शनिबार, साउन १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

पर्वत, १९ साउन : पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन् । तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेश जानका लागि बनाएको राहदानी बाकसमा थन्क्याएर विगत २० वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेतीमा लाग्नुभएका शर्माले गाउँमै बसेर मनग्य आम्दानी गर्न सफल हुनुभएको हो ।

उमेरले ३८ वर्ष पुग्नुभएका दीपक र उहाँकी श्रीमती सीता शर्माले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । आफू जन्मिने बेलादेखि नै आफ्ना बुबाआमाले अँगालेको निर्वाहमुखी परम्परागत तरकारी उत्पादन पेसालाई व्यावसायिक बनाउँदै आफूले ठूलोमात्रामा तरकारीखेती थालेको उहाँले बताउनुभयो ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक नजिकै पर्छ मिलचोक । यहाँ उत्पादित तरकारी सजिलै ढुवानी गरेर छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री हुने गरेको छ । बिहान ६ बजेदेखि बेलुका अबेरसम्म करेसाबारीमै व्यस्त हुने शर्मा दम्पतीले लामाबगरस्थित करिब सात रोपनी खेत वार्षिक रुपमा रु एक लाख २० हजार भाडामा तथा बाँकी आफ्नै खेतबारीमा तरकारी खेती गर्नुभएको छ । वर्षायाममा १० रोपनी र हिउँदयाममा १५ रोपनी क्षेत्रफलमा तरकारी लगाउने गरेको दीपकले बताउनुभयो ।

पाँच रोपनी क्षेत्रफलमा वर्षायाममा धान रोपाइँ गर्दै आउनुभएको छ । करेसाबारीमा काँक्रो, सिमी, बोडी, भ्यान्टा, लौका, करेला, घिरौँला र खुर्सानी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आउनुभएको छ । सिजनअनुसार आलुखेती गर्नुहुन्छ । उत्पादन भएको ताजा तरकारी लिन व्यवसायी घरमै आउने भएकाले बिक्रीको समस्या नरहेको उहाँले बताउनुभयो ।

करेसाबारीबाटै दैनिक रुपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक रुपमा रु १५ लाखसम्मको आम्दानी हुने गरेको बताउनुभयो । मेहनत गर्नसकेमा दुःखअनुसार कमाई पनि हुने भएकाले श्रीमान्लाई विदेश नपठाएको सीताले बताउनुभयो । “विदेश गए पनि दुःख नै गर्नुपर्छ, त्यहाँ गर्ने दुःख यहीँ गर्न सकेमा आम्दानी पनि हुन्छ, घरपरिवारसँग बस्दा सबैलाई आनन्द पनि हुन्छ”, उहाँले भन्नुभयो ।

“मैले श्रीमान्लाई विदेश जान दिइन यही माटोमा सँगै परिश्रम गरौँ भनेँ”, सीताले भन्नुभयो, “छरछिमेकका साथीहरु विदेश गएको देखेर राहदानी बनाएको भए पनि जान रोकेकी हुँ ।” दीपक दम्पतीले आफूले गर्न नसकेको काम दैनिक ज्यालादरी मजदुर राखेर गर्दै आएको बताउनुभयो ।

दीपककी आमा भद्रकली शर्माले आफूले पहिल्यैदेखि निर्वाहमुखी रुपमा गर्दै आएको पेसालाई छोराबुहारीले अगालेकामा दङ्ग हुनुहुन्छ । “अहिले उनीहरुले धेरै जग्गामा लगाएका छन्, कमार्ई राम्रो भएकामा हामी बूढाबूढी खुसी छौँ”, उहाँले भन्नुभयो । तरकारीबाट भएको आम्दानीले छोरालाई निजी विद्यालयमा पढाएका छन् भने बाँकी रकम बैंकमा बचत गर्ने गरेको दीपकले बताउनुभयो । अहिले परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै सबैभन्दा बढी आत्मसन्तुष्टि प्राप्त भएको दीपकको अनुभव छ । उहाँले सबैजसो खर्च कटाएर वार्षिक रु छदेखि सात लाख बचत हुने गरेको बताउनहुन्छ ।

विदेशमा गए पनि मरिमेटेरै दुःख गर्नुपर्ने भएकाले आफ्नै खेतबारीमा पसिना बगाउन उहाँले भविष्यको खोजीमा विदेशिन लागेका युवालाई सुझाव दिनुभएको छ । उहाँले व्यावसायिक रुपमा तरकारीखेतीमा लाग्न चाहने युवालाई आफूले ज्ञान, सीप र प्रविधिका साथै बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी