दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ: मन्त्री साह

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ: मन्त्री साह

  • शनिबार, जेष्ठ १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

झापा, १९ जेठ: कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभएको छ ।

विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उहाँले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताउनुभयो ।

“दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,” उहाँले भन्नुभयो–“मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु । किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”

मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उहाँले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताउनुभयो । दुग्ध विकास संस्थानको भण्डारमा रु. एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उहाँले जानकारी दिनुभयो ।

मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने बताउँदै उहाँले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औंल्याउनु भयो । दुधबाट बनेका बस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र बस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताउनुभयो ।
किसानहरुलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरुलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिनुभयो ।

उहाँले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताउनुभयो । उहाँले संस्थान र निजी क्षेत्रका गोदामहरु दूधजन्य उत्पादनको भण्डारणले भरिएको हुँदा यसको विक्री वितरणको चाँडो व्यवस्था नभए आउँदो आर्थिक वर्षको सुरुदेखि नै नयाँ उत्पादन राख्ने ठाउँ नहुने बताउनुभयो ।

कोशी प्रदेश डेरी उद्योग समितिका संयोजक रामचन्द्र उप्रेतीले एक दशकमा कोशी प्रदेशमा ११ वटा ठूला डेरी उद्योग सञ्चालनमा आएका उल्लेख गर्दै प्रदेश सरकारको रु. २० करोड अनुदानमा निजी क्षेत्रका उद्योगीले रु. ३० करोडको लागतमा पाउडर उद्योग स्थापना गरेको बताउनुभयो ।

मेचीनगर–१४ दुहागढीस्थित एनएमसी एग्रो फार्ममा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट डेरी उद्योगका रूपमा एनएमसी डेरी उद्योग, उत्कृष्ट सहकारीका रूपमा चितवनको पिठुवा दुग्ध उत्पादक सहकारी र सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्था, उत्कृष्ट कृषकका रूपमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा आर्थिक अभियान पत्रिकाका समाचारदाता प्रशान्त खड्कालाई उत्कृष्ट सञ्चारकर्मीका रूपमा सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी