इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

  • शुक्रबार, चैत्र ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

फिक्कल (इलाम), ९ चैत : इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उहाँले रासससँग भन्नुभयो, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्ने गरेको छ ।”

घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उहाँले नयाँ बोट थप गरी खेती विस्तार गर्ने योजनामा आफू रहेको सुनाउनुभयो । “यस वर्ष सुपारी बेचेरे रु तीन लाख आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न हुन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।”

अर्का किसान कृष्ण लिम्बूले पनि अन्न फल्ने जग्गामा पाँच सय बोट सुपारी रोप्नुभएको छ । करिब १० रोपनी जग्गामा उहाँले पाँच सय बोट सुपारी रोप्नुभएको हो । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उहाँले बताउनुभयो ।

“अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले सुपारी सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “बिक्रीको चिन्ता छैन, व्यापारी घरमा नै आउँछन्, प्रतिकिलो रु ३० देखि रु ५० सम्ममा बगानबाटै बिक्री हुने गर्दछ ।” उहाँले यस वर्ष सुपारी खेतीबाट रु एक लाख आम्दानी गरेको सुनाउनुभयो ।

छिमेकीले सुपारी खेतीबाट मनग्ये आम्दानी गरेपछि अर्का किसान चक्र येक्तेनले पनि व्यावसायिक सुपारी खेती सुरु गर्नुभएको छ । ‘माम्मा फिपरानी स्मृति कृषि तथा पशुपालन फार्म’ दर्ता गरी करिब १५ रोपनी जमिनमा सुपारी खेती गर्नुभएको छ । उहाँले एक हजार सुपारीका बोट लगाउनुभएको छ । “मैले १५ रोपनी जग्गामा एक हजार बोट सुपारी रोपेको छु, बिरुवा हुर्कंदै छन्”, उहाँले भन्नुभयो, “नयाँ बगान भएकाले फल भने लागको छैन ।”

यहाँका करिब ७० घर किसानले व्यावसायिक रुपमा सुपारी खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्ये आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन् । बाँझो जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रुपमा सुपारी खेती सुरु गरेका हुन् । उनीहरुले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका हुन् । सुपारीले अन्य बाली लगाउन असर नर्गने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदेनले बताउनुभयो ।

इलाममा सुपारीको खेती विस्तार आएको छ । यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताउनुभयो ।

जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी