भैंसीको दूध पगार्ने परम्परागत तरिका

भैंसीको दूध पगार्ने परम्परागत तरिका

  • बुधबार, चैत्र ७, २०८०
  • -बासुदेव नाथ

  • 12.8K
    SHARES

सामान्यतया गाई भैंसीलाई दूध दुहुनभन्दा अगाडि दूध दुहुने तयारीलाई पगार्ने भनिन्छ । गाई भैंसीलाई कुँडो खुवाएर, हरियो घाँस खुवाएर, पशुको स्याहारसुसार गरेर, पशुलाई माया देखाएर दूध पगार्ने गरिन्छ । दूध नपगर्ने भैंसीलाई पगार्नुको लागि निकै कडा मिहिनेत चाहिन्छ ।गाईभैंसीलाई दूध दुहुनुभन्दा अगाडि दूध दुहुने व्यक्तिले पशुको शरिर मालिस गर्ने, पशुलाई कन्याउने, पशुलाई सरसफाई गर्ने, पशुलाई मन पर्ने हरियो घाँस वा दाना चोकर, खोले खानदिने लगायतका कार्यहरु पगार्ने कार्य अन्तर्गत पर्दछन् ।
भैंसी व्याएपछि सुरुमा वा एक दुई महिनापछि कहिलेकाँही पाडापाडीको मृत्युभएमा सजिलैसंग माउले दूध दिदैन वा लैनो भैंसी बिक्री गर्दा दूध दुहुने व्यक्ति फेरिएमा भैंसीको दूध पग्रदैन । दुई तीन घण्टासम्म भैंसीलाई दूध दुहुनको लागि प्रयास गरेमा पनि दूध पग्रदैन । दूध नदिने समय दुई तीन दिनसम्म पनि लम्बिन सक्दछ । भैंसी नपग्रेर दुई तीन दिनसम्म दूध दुहुन सकिएन भने दूध दुहुनको लागि त्यस्ता भैंसीलाई असेट्ने, दुखाउने, थकाउने लगायतका बिभिन्न क्रियाकलाप गरी दूध पगार्ने चलन रहेको छ ।
गाउँघरमा यदि भैंसीले दूध दिएन भने भैंसीको पुच्छरको टुप्पोलाई भैंसीको सुत भित्र छिराएर भैंसीलाई थकाउने गरिन्छ ।यसरी निकै बेरसम्म थकाउदा भैंसी काबुमा आई जिब्रो बाहिर निकाल्छ र निकै थकान भएको महसुस गर्दछ । त्यसरी भैंसीलाई थकाई सकेपछि एकै छिनमा दूध पग्रिएर दूध दिन थाल्दछ । यो प्रक्रिया दुई तीन दिनसम्म निरन्तर आवश्यक पर्न सक्दछ ।यसरी दूध नदिने वा दूध नपग्रने भैंसीलाई दूध पगारेर दूध दुहुने गरिन्छ । यो तरिका बैंतडी दार्चुला जिल्लाका अधिकांश भाग लगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी दुर्गम क्षेत्रमा कायमै रहेको पाइन्छ । अझै पनि ग्रामिण भेगका सबै ठाउँमा सजिलै पशु चिकित्सा सेवा उपलब्ध हुन सकेको छैन । भेटेरिनरी सेवा उपलब्ध हुन सक्ने ठाउँमा अक्सिटोसिन हर्मोन (Oxytocin hormone) सुई लगाएर दूध पगार्ने गरिन्छ । यो सुई सधैं प्रयोग गर्नु राम्रो मानिदैन। लामो समयसम्म अक्सिटोसिन सुई प्रयोग गर्दा एकतिर पशु बानी पर्न गई सुई नलगाएसम्म दूध पग्रदैन । अक्सिटोसिन हर्मोन सुई लगाएर पगारेको दूधमा हर्मोनका अवशेषहरु हुन्छन । अक्सिटोसिन हर्मोन अवशेष भएको दूध मानव स्वास्थ्यको लागि उपयुक्त मानिदैन ।


अक्सिटोसिन हर्मोन मस्तिष्कको हाइपोथलामस र पिट्यूटरी ग्रन्थी (Hypothalamus and Pituitary gland) मा उत्पादन हुन्छ । यो हर्मोन खास गरी दूध पगार्नको लागि जिम्मेवार मानिन्छ । यस हर्मोनले भालेलाई पोथीप्रति आकर्षण पैदा गर्ने विशेष भूमिका हुने भएकोले “लव हर्मोन” (Love hormone) नामले पनि चिनिन्छ ।यस हर्मोनले व्याउने पशुको पाठेघरलाई खुम्च्याएर पेटको बच्चा बाहिर निकाल्न मद्दत गर्दछ भने अर्कोतर्फ पशु व्याएपछि दूध पगार्न मद्दत गर्दछ । पशु व्याएपछि बच्चाले दूध खानको लागि थुनमा मुखलगाउने वित्तिकै वा कल्चौडो सफा गर्दा प्रतिक्रिया स्वरुप अक्सिटोसिन हर्मोन (Oxytocin hormone) उत्पादन भई दूध पगार्नमा सहयोग गर्दछ ।यस हर्मोनले बच्चा जन्माउदा, स्तनपान गराउदा र आमा र बच्चाको सम्बन्ध प्रगाढ भई माया ममता जनाउदछ । यस हर्मोनले विश्वास बढाउने, साहनुभूति दिने, सम्बन्ध बढाउने काम समेत गर्दछ ।
भैंसीको भगांकुर (Clitoris) लाई मालिस (Massage) गर्ने हो भने त्यसले अत्यधिक मात्रामा अक्सिटोसिन हर्मोन निस्कासन गर्दछ।यही कारणले गर्दा भैंसी नपगर्ने अवस्थामा भैंसीको पुच्छरको टुप्पोलाई सुत भित्र राख्दा भैंसीको भगांकुर (Clitoris) लाई मालिस (Massage) हुन गई अक्सिटोसिन हर्मोन उत्सर्जन हुनगई भैंसी पगर्न पुग्दछ । अझैपनि दूरदराजका ग्रामिण वस्तिहरुमा भैंसी पगार्नको लागि सीपयुक्त व्यक्तिले भैंसीको पुच्छरलाई भैंसीको सुतमा राखी भैंसीलाई असेट्दा वा दुखाउदा वा थाक्ने गरी धपाउदा भैंसी पग्रन गई दूध दिनको लागि तयार हुन्छ ।यसरी नै पाडापाडी मरेको लैनो भैंसी वा कुनै स्थान सारिलिएको भैंसी वा मालिक नै बदलिएको अवस्थाको भैंसीलाई दूध पगार्नको लागि यो तरिका अवलम्बन गर्ने गरेको पाइन्छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा कास्कीमा कार्यरत वरिष्ठ पशु विकास अधिकृत तथा वरिष्ठ पशु प्रजनन् विज्ञ डा. खगेन्द्रराज सापकोटाका अनुसार भैंसीको भगांकुर (Clitoris) लाई कम्तिमा पनि ३० सेकेण्डसम्म मालिस (Massage) गर्ने हो भने त्यसले रगतमा अक्सिटोसिन हर्मोनको मात्रा बढाउन मद्दत गर्दछ भने पिसाब थैलीलाई समेत संकुचन गराउदछ । कुनै कुनै भैंसीहरुलाई पटक पटक गरी २ देखि ३ मिनेटसम्म पनि मसाज गर्नुपर्ने हुन्छ ।
नेपालको पशु चिकित्सा क्षेत्रमा स्थानीय तथा परम्परागत पशु चिकित्सा (Ethnoveterinary medicine) पद्धतिको आज पनि निकै महत्व रहेको पाइन्छ ।पशु चिकित्सा क्षेत्रमा रहेका परम्परागत पशु चिकित्सा पद्धति वैज्ञानिक सम्मत भएकालाई संरक्षण, सम्वर्द्धन तथा विकास गर्नु आवश्यक छ भने जुन परम्परागत पशु चिकित्सा पद्धति वैज्ञानिक सम्मत छैनन् तिनलाई रोक्न पनि त्यतिकै खाँचो रहेकोले परम्परागत पशु चिकित्सा असल अभ्यासलाई प्रमाणिकरण गर्नु आवश्यक देखिन्छ ।
दूध पगार्नको लागि भैंसीको पुच्छरलाई सुत भित्र राखेर भैंसीलाई दु:ख दिनु कुनै पनि हालतमा वैज्ञानिक तथा मनवीय कार्य हुन सक्दैन । न त्यसरी उत्पादन भएको दूध गुणस्तरीय नै हुन सक्दछ । यौनाङ्ग आफैमा संवेदनशील अंग भएकोले भैंसीको पुच्छर सुत भित्र राख्ने कार्यले पाठेघरमा संक्रमण हुनगई पशु रोगी हुन सक्दछ । दूध पगार्नको लागि भैंसीको पुच्छर सुत भित्र राखेर दु:ख दिनुको सट्टामा पशुलाई स्याहार सुसार तथा माया गरेर पगार्न सकिन्छ ।
नेपाल कृषि अनुसन्धान परिषदको लागि दूध पगार्न अक्सिटोसिन लगाउनु उपयुक्त की परम्परागत तरिकाले भैंसीलाई थकाएर दूध पगार्नु उपयक्त भनि अनुसन्धानको विषय हुन सक्दछ । अझैपनि ग्रामिण वस्तीमा आधुनिक प्रविधि नपुगेको ठाउँको लागि परम्परागत तरिका नै उपयुक्त हो ? गुणस्तरीय दूध उत्पादनमा यसको प्रभाव कस्तो रहन्छ ? के यसरी दुहेको दूध मानव स्वास्थ्यको लागि उपयोगी हुन सक्ला ? पशु कल्याणको दृष्टिकोणबाट हेर्ने हो भने कसरी राम्रो भन्न सकिएला ? भैंसीको दूध पगार्ने परम्परागत तरिका कति वैज्ञानिक कति अवैज्ञानिक ? आदि इत्यादि प्रश्नहरुले जवाफ खोजिरहेका छन्। प्रस्तुत अमुक प्रश्नहरुको जवाफ ती आधुनिक पशु चिकित्सा सेवाबाट विमुख रहेका कृषकहरुले खोजी रहेका हुन्छन भन्नेतर्फ सरोकारवालाहरुको ध्यान जानु अपरिहार्य छ ।
(लेखक श्री बासुदेव नाथ पशु सेवा तालिम केन्द्र बागमती प्रदेश ललितपुरमा निमित्त वरिष्ठ तालिम अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी