जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

  • सोमवार, फाल्गुन १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बेदकोट (कञ्चनपुर), १४ फागुन : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उहाँको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।

बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उहाँको घर छ । चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भएपनि जङ्गली जनावरका कारण उहाँको बासस्थान भने राधापुर नै बन्ने गरेको छ । खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
“निकुञ्जबाट जनावर आएर बाली जोगाउनै हम्मेहम्मे पर्छ”, उहाँले भन्नुभयो, “खेतमै मचान बनाएका छौँ । राति पनि त्यहीँ मचानमा बसेर जनावर धपाउँछौँ ।”

गिरीको मात्रै मचानमा बास होइन, यहाँका करिब ५५ किसान परिवारको अवस्था यस्तै छ । करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन् । यहाँका किसानले जनावर धपाउन खेतमा प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारकोे जस्तै देखिने बुख्याचासमेत राखेका छन् ।

“काठको लामा खाबा ठड्याएर टुप्पोमा बस्नका लागि कोठाजस्तै बनाइएको हुन्छ । त्यहीँबाट काठ बाँधेको लामो डोरी जस्तापातासँग जोड्छौँ । जनावर आएमा डोरी हल्लाउँदा काठ टिनमा ठोक्किएर आवाज आउँछ”, नन्दाले भन्नुभयो, “यसले केही हदसम्म जनावर भाग्छन् ।” राधापुरमा उखु, तिल, तोरीलगायत खेती हुने गरेको छ । डेढ बिघा जमिनमा उखु खेती गर्दै आउनुभएका उहाँ जनावरबाट जोगाउन सके वार्षिक रु चार लाखसम्मको कारोबार हुने गरेको बताउहुन्छ ।

निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरका कारण खेती जोगाउन सकस पर्ने गरेको बेलडाँडी –५ का गोविन्द रानाले बताउनुभयो । “यहाँको जमिनमा खेती राम्रै उब्जाउ हुन्छ । तर के गर्ने जोगाउन सकिँदैन”, उहाँले भन्नुभयो, “रातभर सुत्न पाउँदैनौँ । विद्युतको सुविधा पनि छैन । मचानमा बसेर राति टर्चको सहायताले जनावर धपाउनुपर्छ ।”

राधापुरमा बस्नका लागि खेतभर व्यक्तिपिच्छे मचान घर छन् । वर्षौंदेखि जङ्गली जनावरको पीडा झेल्दै आए पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको यहाँका किसानको गुनासो छ । “राति मचानकै बास बसेर जनावर कुरेर बस्छौँ । जनावरबाट बाली जोगाउन सके सहजै जीविकोपार्जनका साथै राम्रै आम्दानी गर्न सकिन्थ्यो”, बेलडाँडी–५ कै श्यामलाल रानाले भन्नुभयो, “तर सरकारले हाम्रो पीडा कहिल्यै सुनेन ।”उहाँले राधापुरमा डेढ बिघा जमिनमा उखु खेती गर्दै आउनुभएको छ । राष्ट्रिय निकुञ्जमा तारबार गरे खेतमा जनावर आउनबाट जोगिन सक्ने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी