नेपालको कम्युनिष्ट आन्दोलनको पुरानो नाम हो वामदेव गौतम । नेकपा एकता अभियान चलाएर उनी अघि बढीरहेका छन् । तात्कालिन एमाले र माओवादी मिलाएर नेकपा बनाउने महत्वपूर्ण भूमिका खेलेका गौतम अहिले पनि कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानबाट हटेका छैनन् । गौतमसँग हाम्रा सहकर्मी हेमन्त अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :
गौतम सर तपाईले सबै कम्युनिष्टहरुलाई एकता गराउछु भनेर लागिरहनु भएको छ त्यो अभियान कहाँ पुग्यो ?
नेकपा फुट्दा हामी धेरै दुखः भयौँ । पार्टी जुटाउन पनि मैले प्रमुख भूमिका खेलेको थिँए । तर जब पार्टी फुट्ने अवस्था शुरु भयो । म प्रचण्डतिर लागेर केपीको बिरोध, वा केपीको पक्षमा लागेर प्रचण्डको बिरोध गर्ने स्थितिमा गईन । दुबै मेरा साथीहरु हुन् । दुबैतिर अलि अलि कमजोरी छन् भनेर पार्टीलाई एक ढिक्का राखिरहनु पर्छ भन्ने थियो । लामो समय सम्म दुई गुट पार्टीमा रहे । त्यसले विग्रिन्छ भनेर म कतै लागिन । अहिले मेरो भनाई के छ भने म बाचुञ्जेल सम्म कम्युनिष्ट पार्टीहरुलाई एकीकरण गर्ने अभियानमा लागिरहनेछु ।
तपाईको पार्टी र कार्यकर्ताहरुको भूमिका कस्तो छ ?
एकता अभियान टिमका साथीहरु, कार्यकर्ताहरु सके जति लागिराख्नु भएको छ । अहिले हामीसँग जोडिएका साथीहरुसँग पनि पैसा छैन, म सँग पनि पैसा छैन त्यसो भएकोले काम राम्रोसँग गर्न सकिएको छैन । तर पनि संगठन बनाईराख्नु भएको छ । काम भईरहेको छ । सकेजति गरीरहेका छौँ ।
यो एकता किन हुन सकेन त ?
गत असारमा केपी ओलीसँग मेरो छलफल भयो । केपी ओली एकताका लागि तयार भएका थिए । तर प्रचण्ड र माधव नेपाल मान्नु भएन । कुनै पनि हालतमा एकतामा जान सकिन्न भन्नु भयो उहाँहरुले । त्यो स्थिति बनेपछि केपी ओलीले पनि तयार छैन भन्नु भयो । निर्वाचनको समयमा एकता गरौँ भन्दा कार्यकर्ता, मतदातामा अलमल मात्र हुन्छ भनेर यही पार्टी ठूलो हुन्छ, यही अघि बढ्छ । यही पार्टीले समाजवाद ल्याउछ भन्नु भयो ।
पछिल्लो चार महिनादेखि प्रचण्डले मलाई भेट दिनु भएको छैन । भेट्छु भन्नु भएको तर भेट्नु भएको छैन । माधव नेपालसँग पनि भेट भएको छैन । तर मेरो एकता अभियान रोकिदैन ।
तपाईको देश विकासको दिशा निर्देश र मोडल के हो ?
नेपालको विकास तीन क्षेत्रमा आमुल परिवर्तन गरेपछि हुन्छ । उत्पादनमा आमुल परिवर्तन । यो व्यक्तिगत रुपमा हैन सामुहिक रुपमा हुनु पर्दछ । त्यसो भयो भने पाँच वर्षमै विदेशमा पुगेर काम गरीरहेका युवालाई देशमै काममा जोड्न सकिन्छ ।
अर्को यो प्रतिनिधि सभाले चुन्ने प्रधानमन्त्री हैन देशको ५० प्रतिशत मतदाताले प्रत्यक्ष रुपमा कार्यकारी प्रमुख चयन गर्ने व्यवस्था ल्याउनु पर्छ । अर्को निर्वाचन प्रणाली पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु पर्छ । देशलाई राष्ट्रपतिय प्रणालीमा पनि लैजानु पर्छ । यसो गर्न सकियो भने देश विकास छिट्टै संभव छ ।
नेपालमा अहिले हिन्दु राष्ट्र बनाउनु पर्छ भन्ने माग बढीरहेको छ नि, के भन्नु हुन्छ ?
नेपाल अब हिन्दु राष्ट्र बन्न संभव छैन । राष्ट्र भनेको जनताको सार्वभौम अधिकार देखिन सक्ने संस्था राष्ट्र हो । नेपाल हिन्दु, बुद्धिष्ट वा अरु कुनै पनि धर्म सापेक्ष हुँदैन । अब राजा समाप्त भईसक्यो राजा ल्याउछु पनि किन भन्ने ?