बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क

  • आइतवार, पुस १, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

ढोरपाटन १ पुस : बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् । सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् । विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन् । दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन् ।

सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ । गाउँमा बस्ने बूढापाकाले काम गर्न सक्न छाडेपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन् । यसका कारण बाँदरलगायतका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन् । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ । बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन् । केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन् ।

गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको काठेखोला गाउँपालिका–१ का लक्ष्मण थापाले बताउनुभयो । पाँच वर्ष पहिलेसम्म जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उहाँको भनाइ छ । हरेक वर्ष गाउँबाट बजार झर्नेको सङ्ख्या बढ्दै गएको र उनीहरूलाई गाउँमै रोक्न सक्ने योजना सरकारले ल्याउन नसकेको उहाँको गुनासो छ । विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको उहाँले बताउनुभयो । रोजगार सिर्जना गरी बजार झरेकालाई गाउँमै फर्काउन सके बाँदर नियन्त्रण हुने थापाको भनाइ छ । बाँदर धपाउन अनेक जुक्ति लगाए पनि नसकेको उहाँले बताउनुभयो ।

“पहिले–पहिले मान्छेहरूले गाउँ भरिन्थ्यो, एउटै घरमा १०–१२ जनासम्म मान्छे बस्थे, गाउँमै खेतीपाती गर्ने, वनजङ्गलमा पुगेर घाँस दाउरा गर्थे र पो बाँदर आउँदैनथ्यो, अहिले गाउँ सुनसान छ, बूढाबूढीमात्रै छन्, सुनसान ठाउँमा बाँदर, बाघ र भालु आउने नै भए”, उहाँले भन्नुभयो, “अब सरकारले गाउँमा बजारको जस्तो सेवा सुविधा दिनेगरी काम गर्नुपर्छ, बजार झर्नबाट रोक्न सकेमात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र बाँदरमात्रै होइन, अब गाउँ जङ्गली जनावरको बासस्थानका बन्ने छ ।”

जैमिनी –५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौँको नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । धेरै मान्छे बसाइँसराइ गरी अन्तै गएपछि गाउँमा अहिले थोरै सङ्ख्यामा मात्रै मान्छे रहेको उहाँको भनाइ छ । गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेर नै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोख्नुभयो । बालीनाली जोगाउन एक–दुईजना कुरुवा अनिर्वाय राख्नुपर्ने उहाँले बताउनुभयो । आजभोलि बाँदर निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई समेत नटेर्ने सुवेदी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हिउँदबर्खा बाह्रै महिना बाँदर लाग्छ, कुरुवा नबस्ने हो भने एकैछिनमा सबै बाली नष्ट गरिदिन्छ, बारीमा गयो बारीमै, घरमा आयो घरमै बाँदरको आतङ्क निकै बढ्यो, बूढाबूढीलाई कोपार्न, चिर्थोनसमेत आउने गरेको छ, बाँदरले हामीलाई निकै समस्या बनायो, सुरुसुरुमा बाँदर धपाउने बन्दुक पट्काउँदा डराउँथे, अहिले त डराउनै छाडे, घरको आँटीमै आएर बस्छ, अन्नपात निकालेर खाइदिन्छ, साँझ आउदा केही बाँकी राख्दैन ।”

जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । जैमिनी, काठेखोलालगायत जिल्लाभर बाँदर आतङ्क बढ्दो छ । बाँदर नियन्त्रणका लागि काठेखोला गाउँपालिकाले पनि जङ्गलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक)ले जानकारी दिनुभयो । पछिल्लो केही वर्षयता बाँदरले धेरै किसान र ग्रामीण भेगका धेरै नागरिकलाई दुःख दिइराखेको भन्दै यस समस्या समाधान गर्नतर्फ गाउँपालिका गम्भीर भएर लागेको सुनाउनुभयो ।

“बाँदर आतङ्क रोक्नका लागि पालिकामा धेरैपटक छलफल भएको छ, अहिले यसरी बाँदर आतङ्क बढेको मान्छेहरूले गाउँ छाड्नु प्रमुख कारण हो, अब गाउँपालिकाले जङ्गलमा फलफूलको बिरुवा रोप्ने र जङ्गलमै बाँदर भुलाउने खालको योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “विज्ञहरूसँग पनि बहस गरिरहेका छौँ, सुझाव लिइरहेका छौँ, ढिलोचाँडो उपाय निस्किन्छ, त्यसपछि हामीहरू नियन्त्रणमा लाग्छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी