मौरी चराउन चितवनका चिउरी पाखामा किसान

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

  • शनिबार, मंसिर ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

भरतपुर, ३० मङ्सिर : चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुग्नुभएको छ । “तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ”, उहाँले भन्नुभयो, “फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।” उहाँले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताउनुभयो ।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताउनुभयो । “विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।” उहाँले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताउनुभयो । चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उहाँको अनुभव छ । मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताउनुभयो । “मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ”, उहाँले भन्नुभयो, “जिन्दगीको सबैभन्दा आनन्द यही हो ।”

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ । यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले राससलाई बताउनुभयो । उहाँका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् ।
जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउनुहुन्छ । उहाँका अनुसार
नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी