असोज २६ विराटनगर । एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गर्दै आएका शेखर कोईरालाले कोशीबाट काँग्रेसमा बिद्रोह थालेका छन् । उनले आफ्नो समुहका सांसदहरुलाई विद्रोह गराएर मुख्यमन्त्रीमा एमालेको समर्थनमा केदार कार्कीको दावी पेश गराएका छन् ।
बालुवाटारमा गठबन्धनले राप्रपालाई समेत सहमतिमा लिएर मुख्यमन्त्रीमा ईन्द्र आङबोहाङलाई मुख्यमन्त्री बनाउने निर्णय गरे लगत्तै प्रदेशमा शेखर समुहले हलचल ल्याएको हो ।
केदार कार्की सहित शेखर पक्षका ८ सांसदले विद्रोह गर्दे मुख्यमन्त्रीमा पार्टी निर्णय विपरीत दावी पेश गरेपछि आज कसलाई मुख्यमन्त्री बनाउने भन्ने एकीन गर्न प्रदेश प्रमुखले सकेका छैनन् ।
उनले कानुनी परामर्शपछि नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन् । एमालेका ३९ र काँग्रेस शेखर समुहका ८ सांसद गर्दा ४७ जना सांसद पुग्नेछ । त्यसो गर्दा कार्की मुख्यमन्त्री हुन सक्नेछन् ।
तर काँग्रेसले विद्रोह गर्ने सांसदहरुलाई कार्बाहीको चेतावनी दिएको छ । आज बिहान कार्यसम्पादन समितिको बैठक बसेर अनुसासनको कार्बाहीको निर्णय हुन सक्ने काँग्रेस कोशी प्रदेशका नेताहरुले बताएका छन् ।
आङबोहाङ र कार्की दुबैले पेश गरेको सांसदको नाम सूची र हस्ताक्षरमा ८ जनाको परेको छ र ती ८ जना विद्रोही काँग्रेस सांसद नै कोशीमा मुख्यमन्त्री चयनका लागि निर्णायक हुनेछन् ।
एमालेले पटक पटक संघदेखि प्रदेश सम्म काँग्रेस र एमाले मिल्नु पर्ने भन्दै काँग्रेसलाई प्रस्ताव गर्दै आएको थियो ।
शेखर कोईराला पनि वर्तमान संघको सरकार समेत ढाल्ने रणनीतिमा छन् । उनले सार्वजनिक रुपमै सरकार बिरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।