बढ्यो कोदोको माग

बढ्यो कोदोको माग

  • शनिबार, अशोज २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

ढोरपाटन (बागलुङ), २० असोज : केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै गएको होटल व्यवसायी बताउँछन् ।

पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका किसानले मात्रै व्यावसायिक रुपमा उत्पादन गर्ने गरेका छन् ।

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेती हुने गरेको छ । जङ्कफुड र आयातित खाद्यान्नमा निर्भर हुँदा किसानले कोदो खेतीलाई व्यावसायिक बनाउन सकेका छैनन् ।

पछिल्लो केही वर्षयता बागलुङ बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उहाँको भनाइ थियो । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । बजारमा सहज रुपमा कोदोको पीठो पाउन गाह्रो हुने उहाँको भनाइ थियो ।

“पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै मानिसमा अग्र्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,” अध्यक्ष राजभण्डारीले भन्नुभयो, “कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँबाट ल्याउँछौँ । कहिले यहीँ अग्र्यानिक सामान बेच्ने पसलबाट ल्याउँछौँ । स्थानीय उत्पादनको महत्व मान्छेहरुले बुझ्दै गएका छन् ।”

स्थानीय किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घरबाहिर बसेर खाँदा पनि लजाउनुपर्ने स्थिति रहेको भन्दै अहिले धेरै मान्छेले ढिँडो मन पराउन थालेको बताउनुभयो । आफूले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएको जनाउँदै अहिले माग बढेकाले खेती गर्ने क्षेत्रफल पनि बढाएको उहाँले बताउनुभयो । बजारबाट कोदोको पीठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको क्षेत्रीले बताउनुभयो । उहाँले अघिल्लो वर्ष झन्डैै रू ५० हजारको कोदो बिक्री गरेको सुनाउनुभयो ।

“हामी सानो हुँदा कोदोको ढिँडो, रोटी खाँदैनथे । कोहीकोहीले खाए पनि लुकाएर खान्थे । यस्तो राम्रो अन्न त्यतिबेला चिन्न सकिएन, अहिले यस्तो माग बढी छ । गाउँमा त कमैले खान्छन् ढिँडो, कोदो बिक्री बढी हुने बजारमै हो,” क्षेत्रीले भन्नुभयो, “पहिला घरमा कोही पाहुना आउँदा चामल खोजेरै भए पनि भात खुवाउनु पर्छ भन्ने चलन थियो । अहिले त आउने पाहुनाले नै ढिँडो खाउँ भन्छन् । कोदो स्वास्थ्यका लागि फाइदाजनक भएकाले नै ढिँडोको माग बढेको हो ।”

जिल्लाभर १८ हजार चार सय ५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । हरेक वर्ष २३ हजार चार सय ५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यहाँका किसानले रैथाने रुपमा कोदो खेती गर्दै आएका छन् । पछिल्लो समय जनमानसमा कोदोको महत्व बढ्दै गएपछि किसनाहरु उत्पादनका लागि उत्साहित भएका उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले कृषकलाई रैथाने जातका कोदो लगायतका खाद्यबाली लगाउनका लागि प्रेरित गर्दै विभिन्न कार्यक्रम गरिरहेको पुन मगरले बताउनुभयो । “बागलुङमा कोदो खेती गर्नका लागि पर्याप्त जमिन छ । किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “उहाँहरुले कोदोको पीठो ब्रान्डिङ, प्याकेजिङ गर्न, परिकार बनाउनका लागि आवश्यक तालिम र परामर्श दिने गरेका छौँ । केही गाउँमा व्यावसायिक रुपमा लागेर कोदोको परिकार बनाइरहेका छन् । उत्पादन गर्ने क्षेत्र बढाउनका लागि किसानलाई प्रेरित गरिरहेका छौँ ।”

यस वर्ष किसानले लगाएको कोदोमा खैरो थोप्ले र मरुवा रोग लागेकाले उत्पादनमा ह्रास आउने देखिएको पुन मगरले बताउनुभयो । दुईवटा रोगको सङ्क्रमणका कारण कोदोको डाँठ कुहिएर बाला लाग्न नपाएको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी