काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदीयमान नेताको सूचीमा परेका छन्।
विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई समावेश गरेको छ । आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्ने मध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो।
टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको बताएको छ। उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ।
पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ।
उपयुक्त ढंगले फोहोर व्यवस्थापन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक, र शहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण बालेनको प्रतिबद्धताभित्र परेको म्यागेजिनले उल्लेख गरेको छ।
त्यस्तै गैरकानूनी मानिने घरहरू भत्काउँदा सहरी गरिबमा त्यसको असर परेको र बालेन आलोचनाको घेराभित्र परेको पनि म्यागेजिनले सन्दर्भ निकालेको छ ।
म्यागेजिनको सय उदीयमान नेताको सूचीमा युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेट्सोला, स्कटल्यान्डका फर्सट मिनिस्ट हम्जा युसुफ, युक्रेनको उप्रप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियन्कालगायत छन्।