रुस युक्रेन युद्धपछि रुसमाथि लागेको प्रतिवन्ध र रुसको वैदेशिक सञ्चितिमा रहेको अर्बौ डलर रकम फ्रिज गरिदिएपछि अहिले विश्वभर डलर प्रयोग घटाउने अभियान चलेको छ । जसलाई रुस चीनले अगुवाई गरेका छन् । यसलाई डिडलराईजेशन भनिएको छ ।
विश्वलाई डलरमुक्त बनाउने यो अभियानमा पछिल्लो पटक सामेल भएको छ दक्षिण अमेरीकी मुलुक बोलिभिया । बोलीभियाले अब चीनीया मुद्रा युआन प्रयोग गरेर अन्तराष्ट्रिय ब्यापार गर्ने घोषणा गरेको छ । मिडिया रिपोर्टका अनुसार छिट्टै बोलिभियामा चीनीया बैंक स्थापना गरिनेछ ।
बोलीभियाका अर्थमन्त्री मार्सेलो मोन्टेनिग्रोले युआन अहिले नै प्रयोग भईरहेको र यो राम्रो शुरुवात भएको बताएका छन् । बोलिभियाले मे देखि जुलाई सम्ममा २७८ मिलियन युआन खरीद गरिसकेको छ । यस अघि ब्राजिल र अर्जेन्टीनाले पनि युआनमा अन्तराष्ट्रिय ब्यापार सेटलमेन्ट शुरु गरिसकेका छन् ।
अहिले धेरै भन्दा धेरै देशले चीनीया युआनमा ब्यापारको भुक्तानी सेटलमेन्ट गर्न चाहिरहेको छ । यसको मुख्य कारण अमेरीकाले डलरलाई हतियार बनाउदै विभिन्न देशको सम्पत्ति जफत गर्ने, प्रतिवन्ध लगाउने गरेकाले हो । चीनीया विज्ञहरुले विश्वको ठूलो व्यापारीक साझेदार शक्ति चीन बनिसकेको छ र यसले विना कुनै हस्तक्षेप र प्रतिवन्ध सेटलमेन्ट गरिदिने तर अमेरीकाले डलरलाई हतियारको रुपमा प्रयोग गर्ने गरेकाले पनि युआनप्रतिको आकर्षण बढ्दै गएको छ ।
चीनीया विज्ञ सिले विश्वले अब अन्तराष्ट्रिय मुद्रा प्रणालीमा विविधता चाहेको देखिएको प्रतिकृया दिएका छन् ।
डिडलराईजेसनको अर्को कारण हो अमेरीकाले पटक पटक ब्याजमा बृद्धि गर्नु । जसले कम विकसित र विकाससील मुलुकको पूजी सन्तुलन गडबड हुने गरेको छ । पुरै अन्तराष्ट्रिय बजारमा प्रभाव पर्ने गरेको छ । अमेरीकाले आफ्नै स्वार्थमा डलरको मुल्य र ब्याजदर बढाउने गरेको छ । अहिले रुस चीन, भारत रुसको व्यापार सम्बन्धित देशको मुद्रामा सेटल हुँदै आएको छ ।
ब्रिक्सले ल्याउन सक्छ नयाँ मुद्रा ?
सँयुक्त राष्ट्रसंघ , अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंक यी सबै निकायहरुमा अमेरीकी प्रभाव बलियो छ र पश्चिमाहरुको खास गरी । यस्तोमा रुस, चीन, भारत, ब्राजिल र दक्षिण अफ्रीकाले शुरु गरेको ब्रिक्स समुह अहिले वैकल्पिक उपायको खोजीमा अघि बढीरहेको छ । ब्रिक्समा अहिले पाकिस्तान, ईरान सहित थुप्रै देशहरु आवद्ध हुँदै गएका छन् । नेट्ले समुहका अध्यक्ष माईकल गडडाडले मानिसहरुले सोचे भन्दा छिटो डलरमुक्त अभियान अघि बढ्ने टिप्पणी गरेका छन् । यस्तोमा यदी ब्रिक्सले नयाँ मुद्रा ल्याएमा अहिलेको अर्थतन्त्र, जनसंख्या, भूगोल र ब्यापारको हिसाबले अमेरीकी डलरलाई पछि पार्ने संभावना छ । नयाँ मुद्रा आएमा त्यसले केही वर्ष भित्रै अमेरीकी डलरको विश्वव्यापी प्रभुत्व अन्त्य गर्नेछ ।
किङ डलरको घट्दो शाख ?
डलर अहिलेको अन्तराष्ट्रिय मुद्रा प्रणालीमा वैदेशिक व्यापारको किङका रुपमा लिईन्छ । तर अहिले यसको शाख घटिरहेको छ । यसको मुख्य कारण चीनसँगको व्यापार युद्ध र रुस युक्रेन युद्धपछि अमेरीकाले रुसमाथि प्रतिवन्ध लगाउन डलरलाई हतियार बनाएको बिषय । अन्तराष्ट्रिय मुद्रा कोषको तथ्याङक अनुसार २०२२ मा विश्वका देशहरुको अन्तराष्ट्रिय सञ्चितिमा डलरको हिस्सा २० वर्ष यताकै कम भएको छ । अर्थात कुल सञ्चितिको ५८ प्रतिशत मात्र डलरमा भएको छ । त्यही चीनीया युआन २२ बर्षमा १ प्रतिशतबाट ७ प्रतिशतमा बृद्धि भएको छ भने यूरो पनि केही बढेको छ । रुसी रुबल र भारतीय मुद्रा पनि अन्तराष्ट्रिय ब्यापार सेटलमेन्टमा अघि बढ्दैछन् ।
यी सबै कुराले भविष्यमा अमेरीकी अस्त्र बन्नबाट डलरमुक्त हुनेछ । डलर साम्राज्यको अन्त्य अन्ततः अमेरीकी महाशक्तिको आधार कमजोर हुनु पनि हुनेछ ।
्