साउन १२ काठमाण्डौँ । गत मंसीरको निर्वाचनदेखि नै संघमा ठूला दुई दल ( काँग्रेस र एमाले ) मिलेर सरकार बनाऔँ भन्ने कोसिस गरेको एमालेले अब त्यो कार्ड कोशीमा प्रयोग गर्ने प्रयास थालेको छ । संघमा असफल भएको कार्डमा कोशीमा प्रयोग गर्ने संकेत कार्यवाहक मुख्यमन्त्री हिकमत कार्कीले दिएका छन् ।
उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै काँग्रेससँग सहकार्य गरेर मुख्यमन्त्री नै दिएर भए पनि सरकार बनाउन सक्ने बताए । अन्य दलहरुसँग पनि परामर्श भईरहेको तर भरसक काँग्रेससँग मिलेर स्थायी सरकार बनाउन प्रयास गर्ने उनको भनाई छ ।
कोशीमा सभामुखको हस्ताक्षर समेत प्रयोग गरेर काँग्रेस माओवादी सहितका दलले बनाएको सरकार २२ दिनमै सर्वोच्चले ढालिदिएपछि त्यसको विकल्पमा छलफल शुरु भएको हो ।
प्रमुख ठूला दलहरु नै मिलेर सरकार गठन भए बार्गेनिङ गर्ने साना दलहरुको अस्थित्व भने कमजोर हुनेछ । दुई ठूला दल मिले कोशीमा माओवादी, एकीकृत समाजवादी र जसपाको भूमिका शुन्य हुनेछ ।
एमालेको यस्तो सार्वजनिक प्रस्ताव बारे काँग्रेसले जवाफ दिईसकेको छैन । तर मुख्यमन्त्री नै पाउने अवस्थामा उसले के गर्ला त्यो भन्न सकिन्न । त्यसले संघदेखि अन्य प्रदेशमा पनि असर र प्रभाव भने पर्ने देखिन्छ । एमालेको यो प्रयोगको प्रयास कोशीमा सफल होला नहोला केही दिनमा परिणाम देखिनेछ ।
कोशीमा बहुमतको सरकार बनाउने समयसीमा सात दिनको मात्र सर्वोच्चले दिएको छ । त्यो अवधिमा गठन हुन नसके ठूलो दलको हैसियतमा स्वतः एमालेको नेतृत्वमा सरकार बन्नेछ ।