असार १० काठमाण्डौँ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाईप्रोफाईल व्यक्ति पक्राउ गरेपछि स्यावासी कमाएका श्रेष्ठले अब निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गराएका हुन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको जानकारी दिएका हुन्।
मन्त्री श्रेष्ठले विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरित बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जना गरी ३१६ सुरक्षाकर्मी फिर्ता गरिएको जानकारी दिए।
उनले यस कार्यमा पूर्वगृहमन्त्रीले पनि सकारात्मक भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए ।
साथै उनले सरुवा, बढुवामा कुनै आर्थिक लेनदेन हुन नदिने गरी काम गरीरहेको पनि बताए ।
अति विशिष्ट व्यक्तिहरूको भ्रमणको समयमा नागरिकले सास्ती भोग्नुपरेको विषयलाई सम्बोधन गर्न गठित कार्यदलले सुझावसहितको प्रतिवेदन तयार भएको सोको कार्यान्वयन प्रक्रिय सुरू भइ विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०८० को मस्यौदासमेत तयार भएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए।