बैशाख २५ काठमाण्डौँ । शरणार्थी प्रकरणमा धमाधम भिआईपी भनिनेहरु पक्राउ पर्न थालेपछि गृहमन्त्रीले प्रशंसा बटुलिरहेका छन् । तर प्रहरी र नेताहरुको सम्पर्कमा हुँदा हुँदै, अनुसन्धानमा सहयोग गर्छु भन्दा भन्दै एकाएक गायब भएका एमाले सचिव एवं पूर्व उपप्रधान तथा गृहमन्त्री टोप बहादुर रायमाझी समात्न प्रहरीले अझै सकेको छैन ।
प्रहरीले लोकेसन पत्तै लगाउन नसकेको हो वा राजनीतिक संरक्षणमा लुकिराखेका छन् यो कुराको खुलासा हुन बाँकी नै छ । तर अहिले गृहमन्त्रीको निर्देशनमा प्रहरीले शरणार्थी प्रकरणमा लिएको एक्सन उल्लेख गर्न लायक छ ।
एमाले सचिव रायमाझीलाई एमाले नेतृत्वले संरक्षण गरेको आरोप संसदमै समेत लागिसकेको छ । यस्तो बेला प्रहरीले आफूलाई कसरी अव्वल प्रमाणित गर्ने हो त्यो हेर्न बाँकी छ ।
अर्कोतिर रायमाझी नै समात्न नसकिरहेको प्रहरीलाई भिआईपीका नाममा अरु चूनौती बढ्दैछ । खास गरी काँग्रेसका शक्तिशाली नेता बालकृष्ण खाँड, देउवा पत्नी आरजु राणा र खाँड पत्नी मञ्जुको समेत नाम जोडिएर तानिने अवस्था बनेको छ । यसमा अझ अन्य भिआईपी समेत तानिने संभावनालाई प्रहरी स्रोतले अस्वीकार गरेको छैन ।
औपचारीक रुपमा दलहरुले घटनामा संलग्न जो सुकैलाई कार्बाही हुनु पर्छ भनेका छन् । सामाजिक सञ्जाल र सडकमै समेत दोषीजति सबैलाई कार्बाही गर्नु पर्छ भनेर आवाज उठिरहेको छ । यस्तो बेला सरकारले कसरी कदम चाल्ने हो त्यो हेर्न बाँकी छ ।
८ सय बढी नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरीका पठाईदिने भन्दै ठूलो रकम संकलन गरेर बाँडीचुँडी खाने कार्यमा ठूला नेताहरुको परिवार र उच्च तहको कर्मचारी प्रशासक संलग्न भएको स्पष्ट भएको छ ।
प्रधानमन्त्री प्रचण्डले कुनै पनि दबाबका अगाडी नझुक्ने र कार्बाही निरन्तर जारी राख्ने भनेपछि माहौल तातिएको छ । तर पक्राउ परेकाहरुको बयानका आधारमा अन्य व्यक्ति अझै पक्राउ पर्न नसक्नुले शंसय पैदा हुने खतरा बढेको छ ।