बैशाख २१ काठमाण्डौँ । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्री बनेको एक महिना भित्रै कठोर निर्णय गर्दै अघि बढेका छन् ।
उपप्रधान तथा गृहमन्त्री चैत्र १७ मा शपथ खाएको एक घण्टा भित्रै उनले ४६ साल पछि गृहमन्त्री र सचिवले जथाभावी सुराकाकीका नाममा पैसा बाँड्ने प्रथा खारेज गरिदिए । जसले सार्वजनिक प्रशंसा बटुल्यो ।
दोस्रो सामाजिक सञ्जालमा भाईरल बन्दै चुनावबाट लोकप्रिय मत लिएर आए पनि नेपालको राष्ट्रिय हित विपरीत सार्वजनिक खरीद नियमावली र ऐन विपरीत राष्ट्रिय परिचय पत्रको जैविक विवरण राख्न विदेशी कम्पनीलाई दिन रवि लामिछानेले गृहमन्त्री हुँदा फाष्ट ट्रयाकबाट टेन्डर आव्हान गरी दिएको प्रकृया खारेजी महत्वपूर्ण निर्णय हो । यसको पनि बुद्धिजीवीहरुले प्रशंसा गरेका छन् ।
अर्को मिटरव्याजीलाई कार्बाही गराउन अध्यादेश ल्याउने, मिटरब्याज सम्बन्धि जाँचबुझ आयोग गठन गरी कार्यलय खोल्ने र मिटरव्याजीलाई कार्बाही गराउने प्रकृयाको थालनी गृहमन्त्री श्रेष्ठको तेस्रो बोल्ड निर्णय मानिएको छ । उनकै प्रस्तावमा मन्त्रीपरिषद्ले मिटरव्याज सम्बन्धि अध्यादेश सिफारीस गरेर राष्ट्रपतिले अनुमोदन गरिदिएका छन् ।
चौथो, नक्कली भुटानी शरणार्थी सम्बन्धि प्रकरणमा हाईप्रोफाईल लिडर समातिनु । यो प्रकरणमा पनि गृहमन्त्रीले प्रहरीलाई जो सुकै मुछिएपनि नछाड्नु भनेर कडा निर्देशन प्रहरीलाई दिएको स्रोतले बताएको छ । विगतमा राजनीतिक पहुँचका आधारमा ठूला नेता र तिनका मान्छे छुट्ने, गरीबलाई मात्रै कानुन लाग्ने भन्दै जनताले गुनासो गर्ने गरेका थिए । तर अब जुनसुकै कसुरमा दोषी देखिए जुनसुकै स्तरको नेता भए पनि नछाडनु भन्ने निर्देशन मन्त्रीले दिएको सचिवालय स्रोतले जनाएको छ ।
गृहमन्त्री श्रेष्ठको निर्देशन पालना गर्दै प्रहरीले एमाले सचिव टोप बहादुर रायमाझीलाई पक्राउ गरिसकिएको भनिए पनि प्रहरीले औपचारीक जानकारी गराउन बाँकी छ । उनका छोरा सन्दीपलाई हिजै बुटवलबाट प्रहरीले पक्राउ गरेर हिरासतमा राखिसकेको छ ।
उपराष्ट्रपति कार्यलयका सचिव टेक नारायण पाण्डे पनि यो प्रकरणमा पक्राउ परेका छन् ।
उच्च स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठको निर्देशनमा अझै केही ठूला नेता र पूर्व कर्मचारीका बारेमा प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ । जसबाट नक्कली शरणार्थी प्रकरणमा कुनै पनि लेनदेन र संलग्नता देखिएमा केही दिन भित्रै ती नेता र उच्च तहका कर्मचारी पक्राउ पर्नेछन् ।
यसमा पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष बादलको नाम पनि जोडिने संभावना रहेको स्रोतको दावी छ । यसै गरी बादल पत्नी नैनकला थापाको पनि नाम हाल समातिएका अभियुक्तहरुले पोलेको बताईन्छ ।
बादलका छोरा प्रतीक मगरलाई प्रहरीले पक्राउ पूर्जी जारी गरीसकेको छ । उनी फरार रहेका छन् । बादलले सुरक्षा सल्लाहकार नियुक्त गरेका डा. ईन्द्रजित राईलाई प्रहरीले पक्राउ गरिसकेको छ भने उनका छोरा निरज राई फरार रहेका छन् ।
उच्च स्रोतका अनुसार अख्तियार प्रमुख आयुक्त प्रेम कुमार राईको बारमा समेत अनुसन्धान हुँदैछ । उनी पनि पहिला गृह सचिव बनेकाले यो प्रकरणमा नाम जोडिन थालेको बताईएको छ ।
प्रेम कुमार राई एमाले निकट मानिन्छन् । सेवानिवृत भएपछि तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार प्रमुखमा नियुक्त गरेका थिए ।