नेपालमा कृषि क्रान्ति र पशुपन्छीपालन मोडल

नेपालमा कृषि क्रान्ति र पशुपन्छीपालन मोडल

  • सोमवार, फाल्गुन १, २०७९
  • बासुदेव नाथ

  • 13.3K
    SHARES

(१) परिचय
क्रान्ति भन्नाले पुरानोलाई नयाँले विस्थापित गर्नुलाई जनाउदछ ।खास गरी क्रान्ति शब्दको प्रयोग राजनीतिक सामाजिक व्यवस्थामा हुने परिवर्तनलाई संकेत गर्दछ ।कुनै पनि कुरामा हुने आमूल परिवर्तन वा मुलभूत कुरामा हुने परिवर्तनलाई क्रान्ति भनिन्छ ।यसकारण कृषि क्षेत्रमा हुने आमूल परिवर्तनलाई कृषि क्रान्ति भनिन्छ । हाल कृषिमा आत्मनिर्भर हुने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन पनि कृषि क्रान्तिको एक स्वरुप नै हो ।कृषि क्रान्तिले कृषिजन्य बस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने, कृषिमा व्यवसायिकरण, आधुनिकीकरण,औद्योगिकरण, विविधिकरण हुने, रोजगारमा उल्लेख्य वृद्धिभई आय आर्जनमा वृद्धि हुने, कृषिमा आधारित
उद्योगहरु सञ्चालन हुने, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुत्ताको ग्यारेन्टी भएको अवस्थालाई जनाउदछ ।

बि.सं. १८६१ साल देखि ०६२/०६३ सालसम्म भएका विर्तावालको विद्रोह, सुब्बा कृष्णलाल अधिकारीको मकै खेती किसान आन्दोलन, योगमायाका बाणी, बेठ प्रथा उन्मुलन, किसान संघ स्थापना, रौतहटको तम्सुक फट्टा आन्दोलन, किसान नेता भीमदत्त पन्तको "कित जोत हलो, कित छोड थलो, होइन भने अव छैन भलो"ऐतिहासिक किसान आन्दोलन, पुनर्वास र सुकुम्बासी आन्दोलन, नवलपरासी र रुपन्देही आन्दोलन, झापा आन्दोलन, भकारी फोर आन्दोलन, छिन्ताङ र पिस्कर आन्दोलन किसान आन्दोलन, माओवादी जनयुद्ध वा
सशस्त्र संघर्ष, मधेश आन्दोलन, आदिबासी जनजाति, दलित आन्दोलन लगायतका बिभिन्न आन्दोलनहरु कृषि क्रान्तिसंग सम्बन्धित तथा अन्तर सम्बन्धित थिए । कृषि क्रान्तिले मुलुकको राजनीतिक सामाजिक क्रान्तिहरुको उद्देश्यलाई सम्बोधन गर्दछ ।कृषि तथा पशुजन्य पदार्थको उत्पादनमा उल्लेख्य वृद्धिले कृषि क्रान्ति भएको आभाष भएपछि मात्र " समृद्ध नेपाल, सुखी नेपाली"को नारा सार्थक हुनेछ ।
हाम्रो देशमा सबै किसिमको हावापनी पाइने भएकोले यहाँ सबै किसिमका कृषि उपजहरु उत्पादन गर्न सकिन्छन ।कृषि बहुआयामिक विधा भएको हुँदा यसमा धेरै थरिका जनशक्तिहरुलाई समेल गरी रोजगारको सिर्जना गर्न सकिन्छ भने स्वरोजगारको मूल आधार पनि कृषि नै हो ।

नेपालको भू उपयोगको अवस्था हेर्दा खेती गरिएको जमिन २१%, खेती नगरिएको जमिन ७%, वनजंगल रहेको जमिन२९%,झाडी रहेको जमिन१०.६%, चरन खर्क रहेको जमिन १२%,पानी रहेको जमिन२.६% र अन्य जमिन१७.८% रहेको छ ।
हावापानीको दृष्टिकोणले नेपाल एउटा अच्म्मको देश हो । यहाँ उच्च हिमालको ठण्डा ट्रुण्डा हावापानीदेखि तराईको उष्ण प्रदेशीय हावापानी पाइन्छ । यहाँ सबै भन्दा बढी वर्षा पोखरामा ३३४५ मी.मी. र सबै भन्दाकम वर्षा मुस्ताङ्गमा ३०० मी.मी. एवं वार्षिकऔसत वर्षा १६०० मी.मी. हुन्छ । यहाँ मुख्य वर्षा असारदेखि भाद्रसम्म हुन्छ । यहाँ साना ठुला छ हजार भन्दा बढी नदीनालाहरुबाट बर्षेनी १७ देखि २२५ अर्व क्यूविक मिटर पानी बग्दछ । नेपालमा सम्पूर्ण कृषि भूमीमा बाह्रै महिना सिंचाई गर्न ३५ अर्व क्यूविक मिटर पानी आवश्यक पर्दछ ।

नेपालको हावापानी अनुसार तराई अन्नको भण्डार, पहाडलाई फलफूल खेती र उच्च पहाड तथा हिमाली क्षेत्रमा पशुपालन भएपनि न तराईमा क्षमता अनुसारको अन्न उब्जाउन सकेको छ, न पहाडमा फलफूलको विकास गर्न सकिएको छ न उच्च पहाड तथा हिमाली भेगमा पशुपालन गर्न नै सकिएको छ न जडिबुटीको खेती नै गर्न सकिएको छ । संभावनाहरुको पहिचानको लागि उचित योजना बनाउनु आवश्यक देखिन्छ । सबै साधन श्रोतहरु मध्ये मानव साधन तथा जनशक्ति महत्वपूर्ण मानिन्छ ।जनशक्तिको सजिलै व्यवस्थापन गर्न सकिने पेशा व्यवसाय पनि कृषि नै देखिएको छ ।देश भरी करिब २५प्रतिशत खेतवारी बाँझै रहेको एकातिर छ भने
अर्कातिर खानपिनमा आयातित संस्कारहरुले निकै उतार चढाव आएको छ । खाने परिकार तथा खानेवानी फेरिएको छ । पोषण युक्त खाने कुराको उपभोगमा जोड दिइएको छ । हामीले जहाँ जे उत्पादन हुन्छ त्यहाँ त्यसको उपभोग नगरी उच्च पहाडी क्षेत्रमा आलु, उवा, कागुनो, चिनो, कोदो, फाफर उत्पादन हुन्छ भने त्यहाँ भात खाने तर परम्परागत परिकार नखानाले खाद्य सुरक्षामा संकट पैदा भएको छ भन्ने कुरालाई समयमै ध्यान दिनु आवश्यक छ ।

कृषि उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जमिन हो । जमिनलाई न त फराकिलो पार्न सकिन्छ न खुम्चाउन नै सकिन्छ ।कृषि कार्य एउटा उत्पादन कार्य भएकाले उत्पादनका साधनहरु जमिन, श्रम, पुँजी र संगठनको प्रयाप्त उपलब्धता हुनु अपरिहार्य छ ।
नेपालमा कृषि क्षेत्रको औपचारिक रुपमा विकासको शुरुवात विसं १९७८ सालमा कृषि अड्डाको स्थापना भएपछि मानिन्छ ।औपचारिक रुपमा कृषि क्षेत्रको विकासको सुरुवात भएको एक शताब्दी समय नाघिसक्दासम्म पनि कृषिमा आत्मनिर्भर हुनको सट्टा परनिर्भरता दिनानुदिन बढ्दै गइरहेकोले कृषि क्रान्ति अपरिहार्य रहेको कुरालाई नकार्न सकिदैन ।

(२) आयातको अवस्था :
आर्थिक वर्ष २०७७/७८ का विभिन्न प्रतिवेदन अनुसार खाद्यान्न ५२ अर्व, तरकारी २९ अर्व, गुन्द्रुक १ अर्व, फलफुल १८ अर्व, तेल ३७ अर्व, माछा मासु ८ अर्व लगायतका कृषिजन्य वस्तुको आयात २ खर्व २० करोड रुपैया तथा देशको कुल आयातको १५ प्रतिशत रहेको छ ।

(३) खाद्यान्नको असुरक्षाको अवस्था :
३४ जिल्लामा खाद्यान्नको असुरक्षा रहेको छ । देशको कतिपय भागमा आन्तरिक उत्पादनले ६ महिनासम्म
पनि खान पुग्दैन तर सन १९८० को दशकसम्म नेपालले खाद्यान्न निर्यात गर्दथ्यो ।
(४) अवसरहरु
 नेपालको संविधान समाजवाद उन्मुख रहेकोले कृषि क्रान्तिको लागि उपयुक्त हुनु,
 नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तरगत धारा ३६मा खाद्य सम्बन्धी हकको
व्यवस्था गरिनु र धारा ५१ (ङ) कृषि र भूमी सुधार सम्बन्धी नीतिको व्यवस्था गरिनुको साथै कृषि
सम्बन्धी व्यवस्थालाई संविधानको अनुसूचीहरुमा संघ, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गर्नु,
 संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहामा सरकारको उपस्थिति हुनु,
 करिब ५ प्रतिशत घरपरिवार भूमीहिन भएकाले श्रम आपूर्तिमा सहभागी गराउन सकिने,
 करिब ४ प्रतिशत ठुला किसानसंग करिब २२ प्रतिशत जमिन हुनु,
 कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत हुनु,
 कृषि पेशामा संलग्न जनसंख्या ६०.४प्रतिशत ( कृषि पेशामा संलग्न महिला ७२.८ प्रतिशत र पुरुष
६०.२ प्रतिशत हुनु ),
 बेरोजगार शिक्षित युवायुवतिहरु र सेवा निवृत भएका कर्मचारीहरु ,विदेशबाट स्वदेश फर्केका
युवायुवतिहरुको मुख्य रोजाईको पेशाको रुपमा कृषि पेशा पेशा हुनुको साथै अन्य सरकारी तथा
गैरसरकारी सेवामा आवद्ध भएका कर्मचारीहरुको वैकल्पिक पेशाको रुपमा कृषि नै रोजाईको पेशा हुनु,
 कृषि व्यवसायले औद्योगिकरण गरी रोजगारीको सुनिश्चितता हुने,
 कृषि उद्योगको विकासको प्रचुर संभावना हुने,
 जमिनमा रहेको निजी स्वामित्व खारेज गरी जमिनको स्वामित्व राज्य मार्फत सम्पूर्ण नगरिकमा हुने,
 जल, जमिन, जंगल, जडिबुटी, खनिज पदार्थ लगायतका प्राकृतिक साधन स्रोतमाथि निजिकरणको
अन्त्यगर्न,
 अधिकाँश नागरिकहरु भीरपाखा, खोच, खोला, नाला, किनार लगायतका असुरक्षित ठाउँमा बसोवास
भएकोले उनीहरुलाई सुरक्षित ठाउँमा बसोबास गराउन वा सम्पूर्ण नागरिकहरुलाई राज्यबाट
व्यवस्थित आवासको व्यवस्था हुने,
 स्थायी रुपमा घरबाँस विहिन, भूमीहिन तथा सुकुम्बासी समस्याको अन्त गर्न,
 स्वदेशमा नै कृषि उत्पादन तथा कृषि उद्योग स्थापना गरी रोजगार सिर्जना गरी बेरोजगारी अन्त गर्ने,
 खाद्यान्नमा आत्मनिर्भर हुदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुने,
 कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने,
 जसको जोत उसको पोत कार्यान्वयन गराउन,
 ''कित जोत हलो, कित छोड थलो, होइन भने अव छैन भलो''किसान नेता भीमदत्तपन्तद्वारा सुरु
गरिएको अभियानलाई पूर्णता दिन वा हालसम्मका क्रान्तिमा होमिएका शहीदहरुको सपना साकार
पार्न वा नेपाली क्रान्ति पूरा गर्नको लागि तथा हालसम्म भएका विभिन्न क्रान्तिको अन्त्य गर्न,
 योजनावद्ध शहरी बसोबास गराउन,
 हरेक नागरिकहरुलाई काम अनुसारको पेन्सन दिन,

 मुलुकमा सुशासन कायम हुन गई भ्रष्टचारन्यूनिकरण हुने,
 मुलुकमा सामाजवादको लागि आधार स्तम्भ तयार हुने,
 कृषि प्रधान देशको सार्थकता हुने,
 समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पर्न सक्ने दरिलो माध्यम हुने ।
(५) चुनौतिहरु
 जमिनको राष्ट्रियकरण गरी सरकारको स्वामित्वमा ल्याउन वा जमिन्दारहरुलाई जमिनबाट
अलग्याउन,
 व्यक्तिको जमिन सुपथ मूल्यमा सरकारले खरिद गरी सामुहिक खेतीमा प्रयोग गर्न,
 भूमिको कारोबार निजी तवरबाट बन्द गरी सरकारी तवरबाट गर्न,
 भू माफियाबाट भूमिलाई अलग गर्न,
 जमिनको चक्लाबन्दी गर्न,
 खेती योग्य जमिनमा भइरहेको प्लटिङ्ग कार्य बन्द गर्न,
 कृषि शिक्षालाई प्राथमिकतामा राखी अध्ययन अध्यापन गराउनु,
 क्रान्तिकारी भू उपयोगको नीति तर्जुमा तथा कार्यान्वयन गर्न,
 हरेक स्थानीय तहमा कृषिको लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्न,
 सबै ठाउँमा यान्त्रिकीकरणको प्रयोग गर्न,
 कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न,
 परम्परागत कृषिबाट व्यवसायिक कृषि अपनाउन,
 युवाहरुलाई विदेश पलायन हुनबाट रोकी कृषि पेशामा आकर्षित गराई पेशामा अड्याई राख्न,
 जलवायु परिवर्तन अनुकुलन गराउन,
 सबै राजनीतिक दलहरुलाई कृषि क्रान्तिको लागि एउटै मोडलमा सहमत गराउन ।
(६)अवको बाटो
कुनै पनि मानिसले जन्मदाखेरी नै कुनै पनि सम्पत्ति लिएर आएको हुनैन । राजनीति र सामाजिक व्यवस्थाले
निजलाई सम्पत्तिको मालिक बनाएको हुन्छ ।नेपालमा कृषि क्रान्ति गर्नको लागि हाल विद्यमान कृषि प्रणाली र
संरचनालाई पुरै बदल्नुको विकल्प छैन ।यही कार्यक्रम नीति र संरचना भित्र रहेर कृषि पेशा न खतम नै हुन
सक्छ न यो राम्रो नै हुन सक्दछ ।यसकारण राज्यले कृषिमा आमूल परिवर्तन गर्न आवश्यक छ । यसको लागि
निम्नलिखित कुराहरु अवलम्बन गर्नु अपरिहार्य छ :
 नेपालमा कृषि क्रान्तिको लागि निम्न लिखित कुराहरुमा निम्न अनुसार गर्नु पर्ने हुन्छ :
 हरित क्रान्ति (Green Revolution) :नेपालमा उत्पादन गरिने प्रमुख खाद्यान्न बालीहरु धान,
मकै, गहुँ, जौ, उवा, फापर, कोदो आदि खाद्यान्नको उत्पादनको लागि भौगोलिक वर्गीकरण
गरी तराई तथा मधेस पहाड र उच्च पहाडमा गर्ने ।कृषि क्रान्तिको लागि हरित क्रान्ति नगरी
अन्य क्रान्ति सम्पान्न गर्न सकिदैन ।
 जैविक क्रान्ति ( Organic Revolution) : नेपालमा शत्रुजीव व्यवस्थापनको लागि परम्परागत
तरिकाहरु अवलम्बन गरिदै आएका छन । अझै पनि अधिकाँश ठाउँमा जैविक खेति पद्धति नै

अपनाएको पाईनछ । खास गरी रासायनिक विषादीलाई न्यूनिकरण गर्दै स्थानीय साधन
स्रोतको प्रयोग गरी जैविक पद्धतिबाट शत्रुजीवहरु व्यवस्थापन गरी दिगो कृषि विकास र
जैविक कृषि क्रान्ति एकिकृत शत्रुजीव व्यवस्थापन प्रणाली अवलम्बन गर्नुलाई जनाउदछ ।
कृषि क्रान्तिको लागि हरित क्रान्तिपछि दोस्रो स्थानमा जैविक क्रान्तिको स्थान आउदछ ।
 श्वेत क्रान्ति ( White Revolution) : नेपालमा दूध उत्पादनको लागि उन्नत जातका गाई र
भैंसी मध्य पहाडी लोक मार्ग तथा हुलाकी मार्ग र विभिन्न लोक मर्गका कोरिडोर केन्द्रित गर्नु
पर्दछ।कृषि क्रान्तिको लागि जैविक क्रान्तिपछि तेस्रो स्थानमा श्वेत क्रान्तिको स्थान आउदछ ।
 नील क्रान्ति (Blue Revolution) : नेपालको तराई तथा उपत्यका क्षेत्रमा र नदी किनारमा
पोखरी बनाई माछा उत्पादन गरी नील क्रान्ति सम्पन्न गर्न सकिन्छ ।
 रजत क्रान्ति (Silver Revolution) :नेपालको तराई र पहाडी क्षेत्रमा जहाँ यातायात सुविधा
पुगेको ठाउँ लेयर्स कुखुरा, हाँस, टर्की, वट्टाई, लौकाट, इमु, शुतुर मुर्ग आदिको पालन गरी
व्यापक रुपमा अण्डा उत्पादन गरी रजत क्रान्ति सम्पन्न गर्न सकिन्छ ।
 पीत क्रान्ति (Yellow Revolution) :नेपालको तराई, उपत्यका र पहाडको समथर टारहरुमा
तोरी, सर्स्यू, रायो, तील, आलस, बदाम, सूर्यमुखी, अँडेल, फिलिङ्गे आदि तेलहन बालीको
खेती गरी पीत क्रान्ति सम्पन्न गर्न सकिन्छ ।
 खैरो क्रान्ति (Grey Revolution) : पशुपालन गरेको स्थानमा गोठेमल र कम्पोष्ट मल एवं अन्य
ठाउँमा हरियो मल र गड्यौंला मल उत्पादन गर्ने र तराई क्षेत्रमा रासायनिक मल कारखाना
खोली मल उत्पादन गरी खैरो क्रान्त सम्पन्न गर्न सकिन्छ ।
 सुनौलो क्रान्ति (Golden Revolution) :नेपालको विभिन्न भौगोलिक हावापानी अनुसार तराई
देखि उच्च पहाड सम्म केरा, मेवा, आँप, कटहर, भुँइकटहर, लिची, ड्राइगन फ्रुट, स्ट्रवेरी, अनार,
अंगुर, आरु, आरुवखडा, सुन्तलाजात (सुन्तला,कागती, जुनार, ज्यामिर, चाक्सी, भोगटे )
नासपाती, स्याउ, किवी, तरभूजा, खरबुजा आदि फलफुल उत्पादन गरी सुनौलो क्रान्ति सम्पन्न
गर्न सकिन्छ ।
 रक्त क्रान्ति (Red Revolution) : नेपालको मध्यपहाडी लोकमार्गमा बाख्रापालन र तराई र
उपत्यकाहरुमा पाडापालन, बंगुरपालन र ब्रोइलर कुखुरापालन तथा गोलभेडा खेती गरी मासु
र गोलभेडा उत्पादन गरी रक्त क्रान्ति सम्पन्न गर्न सकिन्छ ।
 गोलो क्रान्ति (Round Revolution) : नेपालको सबै हावापानी सुहाउदो आलुका जात अनुसार
आलु खेती गरी गोलो क्रान्ति सम्पन्न गर्न सकिन्छ ।
 उपर्युक्त कृषि तथा पशु, कृषि तथा पशुजन्य उत्पादन पदार्थ उत्पादन लगायत उच्च पहाडमा
याक, नाक, चौरी, च्याङ्ग्रा, भेडा पालन गरी ऊन तथा पश्मिना उत्पादन गरी कृषि क्रान्ति
पूरा गर्न थप सहयोग पुग्दछ ।

 कृषि सम्बन्धी पाठ्यक्रमलाई प्राथमिक तह देखि नै सबै तहमा व्यवहारिक कृषि विषय अध्ययनको
लागि अनिवार्य बिषयको रुपमा पठनपाठन गर्ने व्यवस्था मिलाई कृषि उद्यमी उत्पादन गरी स्वरोजगार
बन्ने वातावरण तयार गर्नु पर्ने ।
 कृषि अनुसन्धानमा जोड दिनु पर्दछ ।अनुसन्धानबाट शिफारिष भएका प्रविधि अवलम्बन गराउनु पर्नेछ
।कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने गरी निरन्तर नयाँ नयाँ प्रविधिहरुको शिफारिस गरिनु

पर्दछ । समस्यामा आधारित अनुसन्धान गरिनु पर्दछ ।अनुसन्धानलाई प्रसार र गोठ, खेतसंग जोडिनु
पर्दछ ।
 राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदानको अनुपातमा कृषि क्षेत्रमा बजेट विनियोजन
गर्नु पर्दछ । कृषि क्षेत्र राज्यको पहिलो प्राथमिकताको क्षेत्र हुनु पर्दछ ।कृषि क्षेत्रमा बजेटको कमी भएको
आभास हुनु हुदैन ।यसले कृषिको विकास र आधुनिकिकरणमा सहयोग पुग्दछ ।
 मुलुक भरी नै कृषि कर्मको लागि जमिन किटान गरिदिनु पर्दछ । कृषिको लागि छुट्याएको जमिनमा
कृषि कर्मबाहेक अरु कुनै कार्य गर्न नपाउने गराउनु पर्दछ ।
 मुलुक भरी नै कुन ठाउँमा कुन खेती तथा पशुपलन गर्न उपयुक्त हुन्छ त्यसै ठाउँमा मात्र व्यवसायिक
रुपमा खेती गर्न पाउने व्यवस्थाको लागि पकेट क्षेत्र निर्धारण गरिनु पर्दछ ।
 कृषिको लागि छुट्याएको जमिन वा स्थानसम्म कृषि कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक
पूर्वाधारको निर्माण सरकारले गरिदिनु पर्दछ ।कृषि तथा पशु सेवा प्रवाह गर्ने विज्ञ प्राविधिक सेवा
केन्द्र, वर्षभरी सञ्चालनमा आउने सडक, अभिछिन्न रुपमा उपलब्ध हुने विद्युत सुविधा, कोल्ड स्टोर,
खाद्यान्न भण्डार, संकलन केन्द्र, कृषि तथा पशुपन्छी हाटबजार आदि ।
 कृषिसंग सम्बन्धित विशेषज्ञ प्राविधिक कर्मचारीहरुलाई कृषकको खेत र गोठमा नै गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध हुने गरी उच्च मनोबलका साथ खटाउनु पर्दछ ।
 कृषि कर्म सञ्चालन हुने क्षेत्रमा राज्यले नै कृषि सामाग्रीहरु सरल सुपथ मुल्यमा उपलब्ध हुने गरी पसलहरु सञ्चालन गरिदिनु पर्दछ ।
 उपयोग हुन नसकेको जमिनको उपयोगको लागि भूमी बैंक स्थापना गरी कृषि कर्म गर्नेलाई जमिन लिजमा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्दछ वा जमिनको हदबन्दी पुनरावलोकन गरिनु पर्दछ ।हदबन्दी भन्दा बढी जमिनको लागि भूमी बैंकमा जम्मा गरी कृषि कर्म गर्ने उद्यमीलाई लिजमा दिने व्यवस्था मिलाउनु पर्दछ । जमिनलाई बाँझो राख्न नपाउने र अवदेखि जमिन खरिद बिक्री व्यक्ति व्यक्ति बीच गर्न नपाउने र जमिन बिक्री गर्नु पर्दा सरकारले व्यक्तिको जमिन खरिद गरी सामुहिक खेती गर्ने व्यवस्था मिलाउनु पर्दछ । हदबन्दी भन्दा बढी भएको जमिनदारको जमिन राष्ट्रियकरण गरी जमिनलाई सरकारको स्वामित्वमा राखी सामुहिक खेती गर्ने नीति आवलम्बन गरी कार्यान्वयन गर्नु पर्दछ ।सम्पूर्ण जमिनलाई व्यक्तिगत स्वामित्वबाट अलग गर्ने नीति अवलम्बन गर्नु पर्दछ ।
 सरकारले बसोबास क्षेत्र घोषणा गर्ने र व्यक्तिलाई आवश्यक पर्ने घर घडेरीको लागि आवश्यक जमिन सरकारले नागरिकको अवस्था हेरी नि: शुल्क वा न्यूनतम शुल्क लिई उपलब्ध गराउने व्यवस्था गर्नु पर्दछ ।
 खेती योग्य जमिनमा हुने प्लटिङ्गलाई पूर्णतया बन्द गर्नु पर्दछ ।
 कृषि कर्मको लागि आवश्यक जमिन व्यक्तिलाई लिजमा उपलब्ध गराउने व्यवस्था सरकारले गर्नु पर्दछ

 नागरिकको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्दछ

 हरेक कृषि उत्पादनमा उत्पादनमा आधारित अनुदान दिनु पर्दछ ।
 हरेक कृषि कर्मलाई सहकारीसंग जोड्नु पर्दछ ।सहकारीहरुलाई सकृय बानाउनु पर्दछ । कृषि सम्बन्धी
उत्पादन सामाग्री, सेवा, सुविधा, उत्पादन विविधिकरण, विक्री वितरण तथा बजारिकरणको मूल
नेतृत्व सहकारीहरुलाई दिनु पर्दछ ।

 कृषकहरुलाई आवश्यक तालीम दिने, कृषक भ्रमण गराउने, बजार विश्लेषणमा दक्ष बनाउने आदि विषयक तालीम सरकारले दिनु पर्दछ ।कुनै पनि व्यक्तिलाई कृषि कर्ममा समावेश गराउनु भन्दा अगाडि तालिम अनिवार्य गराउनु पर्दछ ।यसले गुणस्तरीय उत्पादनको लागि आवश्यक तयारी गर्दछ ।
 सरकारले सबै कृषि उत्पादनको न्यूनतम बजार मूल्य तोकिदिनु पर्दछ ।कृषि उपजलाई न्यूनतम मूल्यभन्दा कममा विक्री गर्न नपाउने यदि बिक्री भएन भने सरकारले किनिदिनु पर्ने र न्यूनतम मूल्य भन्दा बढी मूल्यमा कृषकले बिक्री गर्न पाउने व्यवस्था मिलाउनु पर्दछ ।
 कृषिमा विचौलियाको अन्त गर्नु पर्दछ
 वार्षिक उत्पादन लक्ष तोकिदिनु पर्दछ ।उत्पादनको आधारमा अनुदान दिने, पुरस्कार दिने, विदेश भ्रमण गराउने आदि सुविधा उपलब्ध गराउनु पर्दछ ।
 निर्यात योग्य कृषि उपजहरुलाई निर्वाध रुपले गन्तब्यमा पुर्‍यउने व्यवस्थाको ग्यारेन्टी सरकारले लिनु पर्दछ ।
 सम्पूर्ण कृषि उत्पादन परियोजनाको बीमाको व्यवस्था सरकारी अनुदानमा गरिनु पर्दछ ।
 कृषिलाई आफ्नो पेशा बनाउने कृषकलाई मात्र किसान परिचय पत्र दिनु पर्दछ त्यसको योगदानको
आधारमा निजलाई आवश्यक सेवा सुविधाहरु प्रदान गर्नु पर्दछ ।
 व्यवसाय सञ्चालन गर्न किसानले जुन सुकै बैंकमा आफ्नो व्यवसाय धितो राखी वा समूह, समिति, सहकारीको जमानतमा सरल व्याजदरमा कृषि ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्दछ ।
 गोठेमल, कम्पोष्ट माल, हरियोमल, गड्यौला मलको प्रयोग अत्यधिक बढाउने र रासायनिक मल कारखाना मुलुक भित्र खोल्ने व्यवस्था मिलाउनु पर्दछ ।
 फर्म स्तरमा असल कृषि अभ्यास तथा असल पशुपालन अभ्यास, असल स्वच्छता अभ्यास, असल भेटेरिनरी अभ्यास र उद्योग स्तरमा असल उत्पादन अभ्यास अनिवर्य रुपमा अवलम्बन गर्नु पर्दछ ।
 कृषिको लागि आवश्यक पर्ने कृषि सामाग्रीहरु तथा कृषि मेशिनरी सामाग्रीहरु उत्पादन गर्ने कारखाना स्थापना गर्नु पर्दछ ।
 कृषि तथा पशुजन्य पदार्थको उत्पादन भएपछि कृषि तथा पशुजन्य उद्योग सञ्चालनको लागि आवश्यक कच्चा पदार्थ आपूर्ति हुने भएकोले कृषि तथा पशुजन्य उद्योगको विशेष स्थान तोकी उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
 स्थानीय सरकारले आवश्यकता अनुसार कृषि बजार व्यवस्थापन गर्नु पर्दछ ।उपभोक्ताहरुलाई कृषि बस्तु सुपथ मुल्यमा बिक्री वितरण गर्ने संयन्त्रको विकास गर्नु पर्दछ ।
 कृषिमा बिचौलियाको अन्त्यको लागि कृषि समूह, समिति, सहकारीलाई जोड दिनु पर्दछ ।
 कृषि कर्मबाट बचतको सुनिश्चितता गरी "कृषि मुलश्च जीवनम्" भनाईलाई सार्थक तुल्याउनु पर्दछ ।
(७) पशुपन्छीपालन मोडल
नेपालमा अधिकाँश पशुपन्छी पालक कृषकहरुले १-२ वटा गाई भैंसी, २-४ वटा बाख्रा, २-३ वटा सुंगुर बंगुर, ८-१० वटा कुखुरा पाल्ने गरेको पाइन्छ । यहाँको कृषि तथा पशुपान्छीपालन जीवन निर्वाहमुखी रहेको छ ।सबै किसिमका कृषिजन्य उत्पादन तथा पशुपालन यहाँको हावापानीमा गर्न सकिने भएतापनि कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर हुन सकेको छैन ।कृषिको महत्वपूर्ण हाँगाको रुपमा पशुपन्छी पालन रहेको छ ।पशुपन्छीपालन एक विज्ञान भएकोले यसलाई वैज्ञानिक ढंङ्गले सञ्चालन गर्न सकेमा मात्र यसबाट आशातित आम्दानी गर्न सकिन्छ । पशुपन्छी पालनका आधारभूत खम्बाहरु पशु नश्ल, पशु आहारा, व्यवस्थापन,
पशु स्वास्थ्य र पशुपन्छी बजार रहेका छन् ।

(७.१) पशु नश्ल व्यवस्थापन
हाम्रो देशमा स्थानीय जातका पशुपन्छी र आयातित जातका गरी दुई थरीका पशुपन्छीपालन गरेको पाइन्छ ।
स्थानीय जातका पशुपन्छीहरु स्थानीय हावापनीमा कमसल खालको आहारा तथा व्यस्थापनमा पनि राम्ररी हुर्कन सक्ने, रोग व्याधी कम लाग्ने, रोगसंग लड्न सक्ने क्षमता राम्रो भएको, उत्पादन गुणस्तरीय पोषिलो र उपभोक्ताले अत्यधिक मन पराउने गर्दछन ।
आयातित जातका पशुपन्छीहरु मुलुक बाहिरबाट ल्याएर यहाँको हापापानी मिल्दो स्थानमा पालन गरिदै आएको छ । यी छिटो बढ्ने, उत्पादन तथा उत्पादकत्व बढी हुने, उच्च व्यवस्थापनको खाँचो पर्ने र रोग व्याधी बढी लाग्ने गर्दछ ।
नेपालमा एकिकृत कृषि क्रान्ति सफल गर्नको लागि स्थानीय जातका पशुपन्छीहरुको स्वस्थानमा संरक्षण गर्दै अन्य स्थानमा नेपाल कृषि अनुसन्धान परिषदले सिफारिष गरे अनुसारका उन्नत पशुपन्छीका जातहरुमात्र पालन गर्न पाउने व्यवस्था स्थानीय सरकारले कडाइका साथ लागु गराउनु पर्दछ । स्थानीय सरकारको अनुमति विना व्यवसायिक पशुपन्छी पालन गर्न नपाउने व्यवस्था गर्नु पर्दछ । पशुपन्छी पालनको असल अभ्यास (good Husbandary Practice – GHP) विना पालन गर्न निषेध गरिनु पर्दछ ।उपभोक्ताहरुले स्वच्छ र गुणस्तरीय पशु
तथा पशुजन्य उत्पादन सेवन गर्न पाउने उपभोक्ताको अधिकारको संरक्षण गर्नु पर्दछ । “असल बीउ, असल खेती” वा “कुलको छोराछोरी, मुलको पानी” भन्ने कुरालाई मनन् गर्नु असल पशु नश्लको व्यवस्थापनको लागि अपरिहार्य छ ।
(७.२) पशु आहारा व्यवस्थापन
पशुपालनलाई पोसिलो हरियो घाँसमा आधारित गर्नु पर्दछ ।पशुलाई प्रयाप्त आहारा पुग्ने गरी आहाराको व्यवस्थापन विना पशुपालनको सिफारिस नपाउने गरी स्थानीय सरकारले व्यवस्था गर्नु पर्दछ ।पशुपालन गर्ने कृषकलाई उन्नत घाँसको वीउ बेर्नाको व्यवस्था, सिंचाई मलको उपलब्धतको लागि सरकारले गर्ने, व्यापक रुपमा घास तथा डालेघाँस खेती गरी कृषि वन तथा एगृ सिल्भिपाश्चरमा जोड दिनु पर्दछ ।मुलुक भित्र पशुपन्छीको दाना उत्पादनको लागि दाना बनाउने कच्चा पदार्थहरु खास गरी मकै र भटमास उत्पादनमा जोड दिनु पर्दछ । दाना उद्योगले स्वदेशी उत्पादन प्रयोग गरे बाफत उत्पादनमा अनुदान दिने व्यवस्था गर्नु पर्दछ
।गुणस्तरीय दाना विना उत्पादन बढ्न नसक्ने भएकोले दाना उद्योगमा हुने नियमनलाई प्रभावकारी बनाउनु पर्दछ ।“वजन अनुसारको भोजन र उत्पादन अनुसारको पोषण ” भन्ने मुल मन्त्रलाई अवलम्बनमा जोड दिनु अपरिहार्य छ ।
(७.३) व्यवस्थापन

गोठ तथा खोर व्यवस्थापन, आवास, पाले पहरा, भण्डार घर व्यवस्थापन, फोहर मैला तथा ढल
व्यवस्थापन, जैविक सुरक्षा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, आर्थिक व्यवस्थापन, अभिलेख व्यवस्थापन, सिङ् हटाउने, सिङ् नउम्रने बनाउने, चुच्चो काट्ने, खुर काट्ने, दूध दुहुने, खानेपानी व्यवस्थापन लगायतका विभिन्न आवश्यक व्यवस्थापनहरु गर्नु पर्दछ ।
(७.४) पशु स्वास्थ्य व्यवस्थापन
पशुपन्छीहरु निरोगी रहन सकेमा मात्र गुणस्तरीय पशुपन्छीजन्य पदार्थ उत्पादन गर्न सकिन्छ । पशुलाई रोग लाग्न नदिनको लागि हरेक व्यवस्थापनमा ध्यान दिनु पर्दछ ।प्रयाप्त तथा यथोचित मात्रामा पशुपन्छी आहारा व्यवस्थापन हुन सकेमा पशुपन्छीहरुलाई सितिमिति तथा हत्तपत्त रोग लाग्दैन ।पशुहरुलाई लाग्ने रोगहरु संक्रमक र असंक्रामक गरी दुई किसिमका छन् ।संक्रामक रोगहरुबाट बचाउनको लागि उपलब्ध भएसम्म खोप लगाउनु पर्दछ । रोग लाग्न नदिनको लागि सबै भन्दा उत्तम उपाय खोप लगाउनु हो । पशुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसार्दा त्यहाँ रोगको प्रकोप छ छैन भनि एकिन गर्नु पर्दछ ।पशुपन्छीहरुलाई रोग लागि हालेमा
दक्ष प्राविधिक तथा पशु चिकित्सकबाट मात्र गराउनु पर्दछ ।पशुपन्छीलाई उपचार गराउदा असल भेटेरिनरी अभ्यास (Good Veterinary Practice – GVP) अवलम्वन गर्नु पर्दछ ।स्थानीय तहको आवश्यकता अनुसार वडास्तरमा कृषकको घर गोठमा सेवा पुर्‍याउने गरी दक्ष पशु चिकित्सकको सेवा सहितको पशुपन्छी उपचार केन्द्रहरु स्थापना गर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा प्रयोगशालामा आधारित आधुनिक भेटेरिनरी अस्पताल स्थापना गरी संचालनमा ल्याउने व्यवस्था गर्नु पर्दछ ।

(७.५) पशुपन्छी बजार व्यवस्थापन
हामीले उत्पादन गर्ने पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ बजारमा माग भएको हुनु पर्दछ । पशुपन्छीको बजारको उचित व्यवस्थापन निकै महत्वपूर्ण योगदान रहेको छ ।पशुपन्छी बजार व्यवस्थापनको लागि पशुपन्छी संकलन केन्द्र स्थापना गर्ने पशुपनन्छी हाट बजार व्यवस्थापन, दूध संकलन केन्द्र स्थापना, मासु बजार व्यवस्थापन, फुल तथा अण्डा संकलन केन्द्र, सितभण्डार व्यवस्थापन, पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ खरिद तथा विक्री केन्द्र स्थापना, पशुपन्छी ढुवानी व्यवस्थापन गर्ने लगायतका आदि इत्यादि पशुपन्छी बजारसंग सम्बन्धित प्रवर्द्धनात्मक कार्यहरु आवश्यक पर्दछन । पशुपन्छी बधस्थल तथा बधशाला स्थापना गर्नु
पर्दछ साथै पशुपन्छीको खोप, औषधि, दाना तथा आहारा लगायतका पशुपन्छी उत्पादनका सामाग्रीहरुको उपलब्धताको व्यवस्था मिलाउनु पर्दछ ।पशुपन्छीजन्य पदार्थको उत्पादनको विविधिकरण गरी तिनको ब्राण्डिङ्ग सहितको विक्री वितरणको व्यवस्था मिलाउनु पनि त्यतिकै आवश्यक देखिन्छ ।

(८) निष्कर्ष
नेपाल विश्वकै विविध भौगोलिक बनावट र जैविक विविधताले सम्पन्न मुलुकको रुपमा चिनिन्छ । यहाँका धेरै संभावनाहरु मध्ये कृषि विकासको सम्भावनालाई नेपाली आवश्यकतासँग जोडेर अगाडि बढनु आजको आवश्यकता हो । समुन्नत राष्ट्र निर्माणको लागि कृषिभित्रको महत्वपूर्णहरु खाद्यान्न वाली, तरकारी, फलफूल, दूध, मासु, अण्डा आदिको उत्पादन र उत्पादकत्व बढाउनको लागि असल कृषि अभ्यास तथा असल पशुपालन अभ्यास अवलम्बन गर्नु अति आवश्यक छ । हावापानी तथा भूमी सुहाउदो खेती गर्नु पर्ने पनि त्यतिकै आवश्यक
छ ।जलवायु परिवर्तनले कृषिलाई सबै भन्दा बढी असर पारिरहकोले सोको असर न्यूनिकरणमा ध्यान दिनु पनि त्यतिकै जरुरी छ ।
नेपालमा कृषि क्रान्ति सम्पन्न गर्ने हो भने कृषि पेशा समाजमा सम्मानित पेशाको रुपमा स्थापित हुनुको साथै कुनै पनि नेपाली जोखिमपूर्ण रोजगारीको लागि बिदेशीनु पर्दैन । कृषिमा व्यवसायिकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, औद्योगिकरण, विविधिकरण, बजारिकारण भई रोजगार प्रवर्द्धन हुनेछ । मुलुक खाद्यान्नमा आत्मनिर्भर हुदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुनेछ ।यसको माध्यमबाट सबै नागरिकहरुलाई गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य,रोजगारीको व्यवस्था मुलुक भित्र हुन जानेछ ।यसको माध्यमबाट मुलुकमा
सुशासन कायम हुदै भ्रष्टाचार नियन्त्रण तथा निर्मुल उन्मुख हुन जाने छ ।गरिब र धनी, हुने र नहुने बीचको दूरी हट्न गई नागरिकहरु नैतिकवान हुन गई असल नागरिक भई नागरिकको दायित्व पुरा गर्न सक्षम हुने छन सामाजमा अपराधहरु न्यूनिकरण हुने मुलुकमा सामाजवादको आधार स्तम्भ स्थापना हुनेछ । किसान आन्दोलनका महानायक भीमदत्त पन्त लगायतका शहीदहरुले जस्तै अवका दिनमा कुनै पनि नेपाली आमाका सपुतले किसान आन्दोलनको नाममा शहिद हुनु पर्ने छैन। करिव पचास लाख नेपाली विदेशमा छन । कुल गाह्रस्थ उत्पादनको करिव २५% योगदान रेमिटेन्सबाट र सबै भन्दा महत्वपूर्ण योगदान कृषि क्षेत्रको रहेको छ । यसको कुल गाह्रस्थ उत्पादनको करिव २७% योगदान रहेको छ । आर्थिक तथा सामाजिक विकासमा युवाहरुको भूमिकमा महत्वपूर्ण रहेको छ । युवाहरुलाई यस पेशामा
आकर्षण गर्ने नीति बनाउनु आवश्यक छ । हाम्रा कतिपय ऐन कानून तथा नीति नियमहरु लगानी मैत्री छैनन ।हाल विध्यमान नीतिगत तथा कानूनी अवरोधहरुलाई हटाउनु पर्दछ ।कृषि कर्म गर्नेलाई सरकारले जमिन उपलब्ध गराउन सक्नु पर्दछ । आयातित खानेबानीहरुलाई निरुत्साहित गरी परम्परागत खानेवानीहरुको संरक्षण, सम्वर्द्धन र विकास गरी संस्कृतिको विक्री गर्न सक्नु पर्दछ । यसले कृषि पर्यटनलाई टेवा पूर्‍याउदै आय आर्जनमा बृद्धि हुनुको साथै रोजगारीका अवसरहरुमा समेत बृद्धि हुन्छ कृषि उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जमिन हो यसकारण जोताहालाई जमिन (Land to the tiller) उपलब्ध गराउने तथा जमिनको
हदबन्दी पुनरावलोकन गरी हदबन्दी भन्दा बढी जमिनलाई भूमि बैंकमा जम्मा गरी कृषि कर्म गर्नेहरुलाई लिजमा दिने वा सम्पूर्ण जमिन राष्ट्रिय करण गरेर तत्कालै सामुहिक खेती (Collective Farming) गरेर वा सार्वजनिक जमिन कृषकलाई वितरण गरेर वहुआयामिक खेती सुरु गरी उत्पादकत्वमा वृद्धि गर्न सकिन्छ ।
किसानको कृषि कर्म गरी बचतको सुनिश्चित गर्न सकिन्छ । हाल सरकारले जमिन वाँझो राख्नेलाई जरीवाना लाग्ने नीति अगाडि सारेको छ यो कार्यान्वयनमा आउन सकेमा पनि जमिनको उपयोग नबढेर जरिवाना असुल गर्न सकिने संभावना रहेको छ । यो एउटा सकारात्मक प्रयासको सुरुवात भने अवश्य भएको छ । उत्पादन बढाउनको लागि उत्पादन सामाग्रीहरु (Inputs) जति बढी प्रयोग गरीन्छ त्यति नै उत्पादन हुने वा उपलब्धी हुने
(Outputs ) निस्कन्छ ।No inputs, no outputs भन्ने कुरा सधैं ध्यान दिनु आवश्यक छ ।यसको लागि एकपटक राष्ट्र निर्माणको लागि हामी सबै नेपालीले हाम्रा पुर्खाहरुले बनाएको पहिचान त्याग बलिदानलाई पूनरजीवित पार्न तथा हालसम्म गरिएका किसान आन्दोलनहरुको उद्देश्य एवं लक्ष पूरा गर्नको लागि विश्वलाई सन्देश दिन सक्नु पर्दछ ।

कृषिको महत्वपूर्ण हाँगाको रुपमा रहेको पशुपन्छी पालनलाई व्यवसायिकरण, आधुनिकीकरण, औद्योगिकरण, बजारिकरणसंग जोड्दै किसानको आय आर्जन तथा रोजगारीमा वृद्धि गरी खाद्य सम्प्रभुत्ता तथा सुरक्षाको प्रत्याभूति दिलाउदै मुलुकलाई आत्मनिर्भर हुनुको साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा समेत टेवा पुग्दछ । पशुपालन क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा पुर्‍याएको योगदान अनुसारको बजेट विनियोजन गरी प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ । साथै २०- ४० वर्ष उमेर समुहका युवायुवतीहरुलाई वैदेशिक रोजगारमा जान बाध्य पार्नुभन्दा पशुपालन तथा कृषि व्यवसायमा आवद्ध हुन उत्प्रेरित गर्नु पर्दछ । कृषि कर्मीहरुलाई नि: शुल्क तालीम, व्यवसाय धितो राखी सुलभ ऋण उपलब्ध गराउने, भण्डारणको व्यवस्था, कृषि उत्पादनको समर्थन मूल्य तोक्ने वा विक्री नभएको वस्तु सरकारले किनिदिने, भौतिक पूर्वाधार तथा उत्पादनमा अनुदान दिने व्यवस्था स्थानीय तहबाट मात्र गर्नु पर्दछ । पशुपन्छी पालन एक बहुआयामिक व्यवसाय सावित भएको अवस्थामा यसले कृषिको लागि मल, ढुवानीको साधन, खेत जोत्ने, न्यानो लुगा तथा छालाका सामाग्री एवं सजावटका सामानहरु समेत बनाई राम्रो आम्दानी गर्न सकिन्छ ।
आय वृद्धि, गुणस्तरीय मानवपुँजी निर्माण, आर्थिक जोखिम न्यूनिकरण गर्दै बि.सं. २०७९साल सम्ममा अति कम विकसित देशबाट विकासशील देशमा स्तर उन्नति गर्ने र २०८७ साल सम्ममा दिगो विकास लक्ष हासिल गर्दै उच्च मध्यम आयस्तर मुलुकमा स्तरोन्नति हुने सोच पन्ध्रौं पञ्चवर्षिय योजनाले लिएको लक्षलाई पूरा गर्नको लागि पनि कृषि क्रान्तिको आवश्यकता महत्व र औचित्य आज पनि त्यतिनै सान्द्रभिक रहेकोले नेपाल सरकारले लिएको नारा "समृद्ध नेपाल, सुखी नेपाली" हुने मार्ग कृषि क्रान्ति नै हो यसैमा हामी सबै नेपालीको कल्याण छ
।कृषि उत्पादन, कृषि व्यवसाय र कृषिको लागि आवश्यक पर्ने पूर्वाधार विकासको लागि नयाँ सोच र नयाँ आयामलाई कृषिसंग जोड्न सकेमा कृषि क्रान्ति हामीबाआट धेरै टाढा छैन यसको लागि हामीमा सकारात्मक सोचको पनि त्यतिकै खाँचो रहेको छ ।“उत्तम खेती, मध्यम व्यापार, अधम नोकरी, भिख नादान” भन्ने नेपाली उखानको सार्थकता कृषि क्रान्तिको सफलतामा आश्रित रहेको छ ।नेपालमा कृषि क्रान्तिको सफलता एकिकृत क्रान्तिसंग जोडिएको छ भने कृषि क्रन्तिको सफलतासंग नेपाल र नेपालीको सुख समृद्धि जोडिएकोले कृषि
क्रान्ति सम्पन्न गर्नु अपरिहार्य रहेको छ ।

“कृषि मुलश्च जीवनम्”
जय कृषि ! जय किसान ! जय कृषि क्रान्ति !

सन्दर्भ सामाग्रीहरु
 पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) राष्ट्रिय योजना आयोग नेपाल
 नेपालको संविधान (२०७२) कानून किताब व्यवस्था समिति बबरमहल काठमाडौं
 केसी, रमेश, साच्चै कृषि क्रान्ति गर्ने नै हो भने, ग्रिन हिल कृषक समूह नयाँपाटी, काठमाडौं एग्रो टाइम्स
मासिक पत्रिका, वर्ष २, अंक १, कार्तिक २०७१, पृषठ १३
 आमूल परिवर्तनको खाका ( जेठ २०६३) नवदीप प्रकाशन बागबजार, काठमाडौं
 सत्याल, संजीव, जनताको घोषणा पत्र भाग १, आर्थिक क्रान्तिको प्रस्ताव,प्रकाशक तिवारीज पिल्ग्रिम्स
बुक हाउस ठमेल, काठमाडौं, नेपाल
 नेपाली कृषि क्रान्तिको अवधारणा र विधान, २०७५, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी

 नेपाल, राजेन्द्र प्रसाद ( बैशाख २०७५) आर्थिक समृद्धि चाहना प्रयास र वास्तविकता, प्रकाशक इन्दु
शर्मा नेपाल, मनोहरा मार्ग कोटेश्वर, काठमाडौं
 बास्तोला, पशुपतिनाथ, (श्रावण २०६६) फ्युजन पुँजीवाद र साम्यवादबीचको सामाजवदी
लोकतान्तिक राज्य पुन संरचना र आर्थिक क्रान्तिको अवधारणा, प्रकाशक श्रीमति शान्ति बास्तोला
 रातो, झिल्को,(जनवरी -मार्च २०१०)वहस भावी संविधानका अन्तरवस्तुहरु वर्ष १ अंक ३
 पौडेल, विष्णु, (वैशाख – जेठ २०६५) नेपालमा कृषि विकासका प्रयास, चुनौति र संभावनाहरु वर्ष ४५
अंक १
 हाडा, गम्भिर बहादुर, (असार-श्रावण २०६२)नेपामा कृषि विकासको अवस्था:एक चर्चा, वर्ष ४२, अंक

 बास्तोला, धर्मेन्द्र, ( २३ श्रावण २०७६) नेपालमा कृषि क्रान्ति, यार्सा न्यूज डट कम
 बस्नेत, नरेन्द्र, ( २९ असार २०७७ ) यसरी गरौं कृषि क्रान्ति, सेतोपाटी डट कम
 ढुंगेल, मुरारी, (१६श्रावण२०७७) नेपालमा कृषिको संभावना, गोरखापत्र अनलाईन
 कोइराला, दिनेश कुमार, ( २४ मे २०२०) नेपालमा कसरी हुन सक्छ कृषि क्रान्ति, नेपाल बहस डटकम
 नाथ, बासुदेव, (१७ श्रावण २०७७) किसान नेत भीमदत्त पन्त र कृषि क्रान्ति, मिरमिरे अनलाईन
डटकम
 नाथ, बासुदेव, (२२ श्रावण २०७७) नेपालमा कृषि क्रान्ति अवसर चुनौति र अवको बाटो, प्रशासन
डटकम
 कृषि तथा पशुपन्छि डायरी २०७८ कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर
( लेखक बासुदेव नाथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरमा अधिकृतस्तर आठौं
पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी