ढाका, २१ माघ । सोसाइटी फर बंगलादेश एग्रिकल्चरल एक्सटेन्सन नेटवर्क र पार्टीसिपेटरी रुरल डेभलपमेन्ट इनिसिएटिभ्स सोसाइटीको संयुक्त आयोजनामा बंगलादेशमा भएको अन्तरराष्ट्रिय सम्मेलन ४ बुँदे ढाका घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सार्क राष्ट्रहरूमा दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि कृषि, खाद्य तथा पोषण सुरक्षासम्बन्धी ढाकाको सावरमा फरवरी २ देखि ४ तारिखसम्म चलेको अन्तरराष्ट्रिय सम्मेलनले कृषि प्रसार प्रणाली सुदृढीकरण गर्न ४ बुँदे ढाका घोषणापत्र जारी गरेको हो ।
जारी घोषणापत्रसँग सहकार्य गर्न नेपाल फार्मर्स एडभाइजरी काउन्सिलले हस्ताक्षर गरेको छ । अन्तरराष्ट्रिय कृषि प्रसार समाजका अध्यक्षसमेत रहेका नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका अध्यक्ष एवं पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीले काउन्सिलका तर्फबाट हस्ताक्षर गरेका हुन् । उनीसँगै देशका गैरसरकारी संस्था, अन्तरराष्ट्रिय गैरसरकारी संस्था, बंगलादेश, भारत, नेपाल, अमेरिकालगायत एफएओ आईएनएसईई, सार्कका प्रतिनिधिहरूले संयुक्त हस्ताक्षर गरेका छन् ।
सम्मेलनमा बंगलादेश, भारत, नेपाल, अमेरिकालगायत एफएओ, आईएफएडी, विश्वविद्यालयका प्राध्यापक, सार्क सचिवालय, एसियाली विकास बैंकका विज्ञहरू गरी करीब २ सय जना विज्ञहरूको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन कृषि अनुसन्धान विज्ञसमेत रहेका बंगलादेशका कृषिमन्त्री डा. मोहम्मद अब्दुर रजाकले गरेका थिए ।
सम्मेलनका क्रममा कृषि प्रविधि अनुसन्धान तथा कृषि प्रसारसम्बन्धी प्रदर्शनीमा १ सय वटा खाद्य तथा पोषण सुरक्षा, एसडीजीका विषयहरू, कृषि, पशु सेवा तथा मत्स्य विकास प्रसारमा अपनाइएका प्रविधिहरूको बारेमा पनि प्रस्तुतीकरण भएको थियो ।

सम्मेलनमा सार्क राष्ट्रहरूमा खाद्य र पोषण सुरक्षामा चुनौती र नीति सुधारहरूसम्बन्धीको विज्ञ सेसनको अध्यक्षता काउन्सिलका अध्यक्ष एवं पूर्वसचिव डा. कार्कीले गरेका थिए । नेपाललाई विशेष महत्त्व दिएर देशको उत्थानसमबन्धी उक्त सेसनमा अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. करिम इफरी, बंगलादेशका कन्ट्री रिप्रेजेन्टेटिभ डा. अख्तर अहमद, बंगलादेश कृषि विश्वविद्यालयका भाइस चान्सलर प्रा.डा. सतार मण्डललगायतबाट १० वटा कार्यपत्रहरू प्रस्तुत भएका थिए ।
उक्त सेसनमा बोल्दै डा. कार्कीले दक्षिण एसियाका देशहरूमा कृषि क्षेत्रमा भएका प्रविधि विकासको खुलेर प्रसंशा गर्दै एकअर्काको अनुसन्धानलाई कृषकको घरदैलो तथा खेतबारीमा पुर्याउन आवश्यक रहेको बताए । डा. कार्कीले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखापरेका प्रभाव तथा असरलाई न्यूनीकरण गर्न संयुक्त अनुसन्धान प्रयासको आवश्यकता रहेको औँल्याए । यस्तै उनले सार्कका सबै देशहरूका कृषि प्रसारकर्मीहरू एकताबद्ध भई सहकार्यमार्फत कृषि उत्पादन र उत्पादकत्व बढाउन सकिनेमा जोड दिए ।

जलवायु परिवर्तनका कारण अधिक वर्षा, न्यून वर्षा र तापक्रम वृद्धिका कारण कृषि उत्पादन ह्रासोन्मुख रहको छ । नेपालमा अझै ४६ लाख मानिसहरू खाद्य असुरक्षाभित्र रहेका छन् । खाद्य सुरक्षा रहेका ४९ जिल्ला भए पनि २८ जिल्लाहरूमा अझै पनि खाद्यान्न अभाव रहेको छ ।
त्यसैगरी दोस्रो दिनको सेसनमा काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले ‘खाद्य र पोषण सुरक्षामा नेपालका चुनौतीहरूः कृषि प्रसार दृष्टिकोण र रणनीतिहरू’ को कार्यपत्र प्रस्तुत गरेका थिए । संविधानले नै खाद्य र स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा उल्लेख गरेर शून्य भोकमरी रणनीति अपनाउँदै प्रत्येक नेपालीलाई न्यूनतम् प्रतिदिन २ हजार २ सय क्यालोरीको आहारा प्रदान गर्न नीतिहरू तयार भएको बताउँदै उनले कृषि क्षेत्रका जनशक्तिहरू ३ तहमा बाँडिए पनि स्थानीय तहमा अझै कृषि प्रसारकर्मी न्यून रहेको उल्लेख गर्दै प्रदेशस्तरमा कानुनी समस्या रहको औँल्याए ।