दूध दुहुने तरिका

दूध दुहुने तरिका

  • सोमवार, अशोज ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 38.8K
    SHARES

  • परिचय :

पशुको कल्चौडामा भएको दूधलाई बाहिर निकाल्ने प्रकृयालाई दूध दुहुने भनिन्छ ।दूध दुहुने एक कला हो ।यसको लागि अनुभवका साथै दक्षता पनि चाहिन्छ ।दूध दुहुदा लगातार र छिटो छिटो दुहुदा पशुलाई आनन्द आउछ । दूध दैनिक २ देखि ३ पटक तर बराबर समयको अन्तरालमा दुहुनु पर्दछ ।दूध दुहिने पशु स्वस्थ्य हुनु पर्छ ।दूध दुहुने व्यक्ति निरोगी हुनु पर्ने, सफा ड्रेस लगाएको, नङ काटेको र कपाल छोपेको हुनु पर्छ ।दूध दुहुने भाँडो सफा र सुख्खा हुनु पर्छ ।दूध दुहुदा कल्चौडामा असर पर्ने गरी दुहुनु हुदैन ।थुनेलो वा विरामी पशुलाई अन्तिममा दुहुनु पर्दछ । कुनै एक थुनमात्र बिरामी छ भने राम्रो थुनहरु दुहिसके पछिमात्र बिरामी थुन दुहेर दूध सुरक्षित तवरले बिर्सजन गर्नु पर्छ ।सही तरिकाले दूध दुहुदा मात्र दूधालु पशुको कल्चौंडो स्वस्थ्य हुने र दूध उत्पादन बढ्दछ ।प्रभावकारी तरिकाले दूध दुहुदा ८५ प्रतिशत दूध कल्चौंडामा उत्पादन हुन्छ भने १५ प्रतिशत दूध कल्चौडोमा रहेको दूध (Residual milk) निस्कन्छ ।पशुलाई हरेकपटक दुहुदा १० देखि २० प्रतिशत दूध तन्तुहरुबाट निस्केर कल्चौडोमा जम्मा भई रहन्छ । रेसिड्युवल मिल्कमा मिल्क फ्याट अत्यधिक रहेको हुन्छ । दूध दुहुदा कल्चौंडोमा असर पर्नु हुदैन । कल्चौंडो भनेको दूधको भाँडो हो । यो दूधको भाँडो नसाहरुको जालीले बनेको हुँदा निकै संवेदनशील हुने भएकोले जतनकासाथ दूध दुहुनु पर्दछ भन्ने कुरा दूध दुहुने हरेक व्यक्तिले हेक्का राख्नु जरुरी छ ।

. दूध दुहुनु अघि ध्यान दिनु पर्ने कुराहरु :

  • दूध दुहुने ठाउँ सफा सुग्घर भए नभएको हेरी सफा सुग्घर छैन भने सफा गर्ने ।
  • दुहुना पशुलाई शान्त ठाँउमा राख्ने ।
  • पशुलाई ब्रसले सफा गर्ने ।
  • पशुको पछाडिको भाग सफा गर्ने ।
  • सफा कपडाले कल्चौडो पुछेर सुख्खा बनाउने तर सफा कपडाले कल्चौडो सफा गरी सकेपछि त्यही कपडाले अन्य पशुको कल्चौडो सफा गर्नु हुदैन । सफा गर्ने कपडा हरेक पशुको लागि छुट्टा छुट्टै हुने गरी व्यवस्था मिलाउने ।

. दूध दुहुदा ध्यान दिनु पर्ने कुराहरु :

  • दूध दुहुदा कुन साइड वा तर्फबाट दूध दुहुने बानी परेको छ त्यसै तर्फबाट दूध दुहुनु पर्छ । सामान्यतया गाई भैंसीलाई बाँया तर्फबाट र नाक तथा चौरीलाई दाँया तर्फबाट दुहुने गरिन्छ ।
  • दूध दुहुदा पुरा हात्केलाको प्रयोग गरी हुदुनु पर्दछ ।
  • शुरुमा पछाडीको कल्चौडाका थुनहरु दुहुने र त्यसपछि अगाडिका कल्चौडाका थुन दुहुने ।
  • कल्चौडामा भएको दूध पुरै निखारेर दुहुनु पर्छ ।

. दूध दुही सकेपछि ध्यान दिनु पर्ने कुराहरु :

  • दूध दुहिसके पछि एक भाग ग्लिसरीन र नौ भाग पोभिडिन आयोडिन मिलाएर तयार पारेको झोलमा एकएक गरी सबै थुनहरु डुवाउनु पर्छ ।
  • दुध दुहिसके पछि पशुलाई आहारा खान दिनु पर्छ ।

. दूध दुहुने समय :

सामान्यतया एक दिन (२४ घण्टाको समय अवधिमा ) गाईलाई २ देखि ३ पटक र भैंसीलाई २ पटक दुहुने गरिन्छ ।दूध दुहुदा समान अन्तरालमा दुहुनु राम्रो हुन्छ । दिनमा २ पटक दुहुदा १२ घण्टाको फरकमा दुहुनु पर्दछ । विहान ५ बजे दुहिन्छ भने बेलुकी ५ बजे र बिहान ६ बजे दुहेको हो भने बेलुकी ६ बजे  नै दुहुनु पर्दछ । दुहुना पशुले दुहुने समयलाई सधैं ख्याल गर्ने भएकोले दुहुने व्यक्तिले दूध दुहुने समयलाई अनियमित गर्नु हुदैन ।

. दूध दुहुने साइड र समय :

सामान्यतया कुन साइडबाट दुधालु पशुलाई दुहुने भन्नेकुराको निर्णय दुहुने व्यक्तिमा भर पर्दछ तर एकपटक दुही सकेको पशुलाई जुन साइडबाट दुहेको हुन्छ त्यही साइडबाट बानी परिसकेकोले उसलाई सधैं दुहिरहने साइडबाट दुहुदा सहज हुन्छ । सामान्यतया गाईभैंसीलाई बाँया साइडबाट दुहिन्छ भने नाक, चौरीलाई दाँया साइडबाट दुहुने गरिन्छ । युरोपतिर गाईलाई दाँया साइडबाट दुहिन्छ ।गाईभैंसी दूध दुहुदा ४ वटा थुन मध्ये कुनैले एकतर्फको एउटा अगाडिको थुन र अर्को पछाडिको थुन दुहुने गर्दछन भने कुनैले अगाडिको दुईवटा थुन र कुनैले पछाडिको दुई वटा थुन दुहुने गर्दछन् ।अगाडिको थुनमा भन्दा पछाडिका थुनहरुमा बढी दूध उत्पादन हुने भएकोले दूध दुहुदा शुरुमा पछाडिका दुई वटा थुन दुहुनु पर्दछ भने त्यसपछि अगाडिका दुई वटा थुन दुहुनु पर्दछ । दूध जति छिटो छिटो दुहिन्छ त्यति बढी दूध उत्पादन हुन्छ र जति ढिला गरी दुहिन्छ त्यति दूध उत्पादन कम हुदै जान्छ । दूध दुहुदा खेरी सामान्यतया ७ देखि १० मिनेटको समय भित्र दुहुने प्रयास गर्नु पर्दछ ।

. दूध दुहुने साइड छुट्याउने तरिका :

सामान्यतया साइड दुई तर्फी हुन्छ । एउटा दाँया र अर्को बाँया  साईड भनेर चिनिन्छ ।पशुको दूध दुहुने साईड दाँया र बाँया हुन्छ । दायाँ साइड भनेको पशुलाई दूध दुहुनको लागि बस्दा आफ्नो दाँया हात पशुको टाउको तर्फ हुन्छ भने बाँया साडडबाट दुहुदा आफ्नो बाँया हात पशुको टाउको तर्फ हुन्छ ।  पशुको ठिक पछाडि गएर उभ्भिदा खेरी आफ्नो हात जुन साइड वा तर्फ हुन्छ त्यसलाई जनाउदछ । दाँया हात तर्फबाट बसेर दुहुदा दाँया साइड र बाँया तर्फ बसेर दुहुदा बाँया साइड हुन्छ । कहिले पनि दूध नदुहेको व्यक्तिलाई दाँया र बाँया साइडमा कन्फ्युज हुन सक्ने भएकोले यस तरिकाले दूध दुहुने साइड थाहापाउन सजिलो हुन्छ ।

. दूध दुहुने तरिका :

सामान्यतया दूध दुई तरिकाले दुहिने गरिन्छ हात र मेसिनको प्रयोग गरेर दुहिन्छ ।  एउटा फर्ममा धेरै दुहुना पशुहरु छन र तिनको दूध उत्पादन पनि धेरै छ भने ती पशुहरुलाई दूध दुहुने मेसिनबाट दुहुनु उपयुक्त हुन्छ । पशुको दूध उत्पादन कम छ भने ती पशुहरुलाई हातले दुहुने गरिन्छ ।

.हातले दूध दुहुने विधिहरु :

() मुठ्ठीद्वारा दूध दुहुने विधि (Full Hand Milking Method):यो हातले दूध दुहुने सबै भन्दा राम्रो तरिका हो ।यस विधिबाट दूध दुहुदा थुनलाई सबै भन्दा कम घाउ चोटपटक लाग्न सक्दछ ।दूध दुहुदा पुरा हात प्रयोग गरेर थुनको फेदबाट तान्नु पर्दछ ।गाई भैंसीको थुनलाई पाँचै औंलामा दबाएर हत्केलाको मद्दतले दूध दुहिन्छ ।

() बुढी औंलाले दबाएरदूध दुहुने विधि (Thumb Method) : यस विधिमा गाईभैंसीको थुनलाई बुढी औंलामा दबाएर अन्य ‍औंला थुनको चारैतिर मोडेर अंगुठाको बीचामा दबाएर दुहिन्छ ।यस विधिबाट दूध दुहुदा थुनलाई कष्ट हुने, थुनमा गाँठो पर्ने, पुरै दूध निकाल्न नसकिने भएकोले दूध दुहुने राम्रो विधि मानिदैन ।

() बुढी र चोर औंलाले दूध दुहुने विधि (Stripping Method): यस विधिद्वारा दूध दुहुदा बुढी औला र चोर औंलाको बीचमा थुनलाई राखेर दूध दुहिन्छ ।

 

 

 

() हत्केलामा थुन दबाएर दूध दुहुने विधि (Fisting/Knuckling Method) : यस विधिमा चार औंला भित्र थुन राखी मुठ्ठी भित्र थुनलाई च्यापेर बुढी औंला मोडेर दूध दुहिन्छ ।

 

 

() मेसिनबाट दूध दुहुने विधि (Milking Machine Method) :यस विधिबाट ठुलो फर्ममा जहाँ एकै पटक धेरै पशुहरुलाई मेसिनबाट दूध दुहने गरिन्छ ।दूध दुहुने ठाउँलाई मिल्किङ पार्लर (Milking parlour) भनिन्छ । दुहुना पशुलाई दूध दुहुनु भन्दा अगाडि मिल्किङ पार्लरमा लैजानु पर्दछ । सबै भन्दा पहिले मिल्किङ मेसिन अपरेटरले हात धुने, दुहुनो पशुको कल्चौडो सफा गर्ने, कल्चौंडो सुख्खा गर्ने, थुनलाई मालिस गर्ने, थुनमा कप जोड्ने र त्यसपछि दूध दुहिन्छ । दूध दुहिसकेपछि कप हटाइ मेसिनलाई निसंक्रमण गर्नु पर्दछ ।

 

. मेसिनबाट दूध दुहुदा हुने फाइदाहरु :

  • दूध दुहुदा लाग्ने श्रमिक खर्च कम हुने,
  • दक्ष श्रमिकमा हुने निर्भरता घटाउने,
  • प्रयोग गर्न सजिलो हुने,
  • मूल्य र समयको बचत हुने,
  • ठुलो फर्मलाई सबल बनाउन सहयोग पुग्ने,
  • हातले भन्दा २ देखि ४ गुना छिटो दूध दुहिने,
  • प्रति मिनेट १.५ देखि २लिटर दूध दुहिने,
  • दूध उत्पादनमा वृद्धि हुने,
  • गुणस्तरीय दूध उत्पादनमा वृद्धि हुने,
  • कल्चौंडामा रहेको सबै दूध निखारिएर दुहिने,
  • थुनेलो रोग लाग्ने संभावना कम हुने,
  • एक घण्टाको अवधिमा १०० वटा गाई दुहुन सकिन्छ ।

 

 

१०. निष्कर्ष :

दूध दुहुदा दूध दुहुने व्यक्ति र दूध दिने पशु स्वतन्त्र भएर बस्ने ठाउँ हुनु पर्दछ । दूध दिने पशु र दूध दुहुने व्यक्तिलाई कुनै पनि तनाव हुनु हुदैन । पशुलाई तनाव भएमा पुरा दूध नै पग्रदैन भने दूध दुहुने व्यक्तिलाई तनाव भएमा पूरा दूध निखारेर दुहुन सक्दैन । पशुहरुको कल्चौडामा रहेको पुरै दूध निखारेर दुहुनु पर्दछ । कल्चौंडामा दूध रहन गयो भने थुनेलो लाग्ने संभावना हुन्छ । दूध दुहुनु भन्दा अघि कल्चौंडो हावा भरिएको बेलुन जस्तो टम्म हुनु पर्दछ भने दुही सकेपछि हावा खुस्केको बेलुन जस्तो स्याप्प हुनु पर्दछ । दूध दुहुदा सुरुमा दुई चार सिर्का दुहेर छुट्टै भाँडोमा राखेर थुनेलो जाँचको लागि राख्नु पर्दछ । होचो मानिसले दूध दुहुनु पर्दा अग्लो स्टुल वा पिर्कामा बसेर दुहुनु उपयुक्त हुन्छ ।

त्यसै गरी मिल्किङ मेसिनबाट दूध दुहुनको लागि दूध दुहुने ठाउँ बनाएको हुन्छ । दूध दुहुन बनाएको ठाउँलाई मिल्किङ पार्लर भनिन्छ ।मिल्किङ पार्लर सधैं सफा सुग्घर राख्नु पर्ने र मेसिनले दूध दुहुदा दूध बाहिरी वातावरणमा घुलमेल हुन पाउदैन तर गोठमा  हातले दूध दुहुदा गोठ सफा छैन भने गोठमा भएको गन्ध दूधले सोसेर लिन्छ र त्यहाँको गन्ध आउदछ । दूधमा आफ्नो वातावरणमा रहेको गन्ध सोस्न सक्ने गुण हुने भएकोले दूधमा गोबर गन्ध आउनको लागि गोबर नमिसिदा पनि गौ गन्ध आउदछ । त्यसै गरी पशुले कुन किसिमको घाँसपात खाएको छ त्यसै किसिमको गन्ध आउदछ । दुहुना पशुले लसुन खाएको छ भने दूधमा लसुनको गन्ध आउछ र प्याज खाएको छ भने प्याजको गन्ध आउछ । पशुले साइलेज खाएको छ भने साइलेजको गन्ध आउछ । साइलेजको गन्ध आउन नदिनको लागि साइलेजमा पराल भुसा मिसाएर खुवाउनु उपयुक्त हुन्छ ।

सही तरिकाले दूध दुहिएन भने पशुबाट जति दूध उत्पादन हुने हो त्यति नहुन सक्दछ । फाँचो वा कल्चौडोमा दूध रहन गयो भने थुनेलो हुने प्रवल संभावना रहन्छ । दूध छिटो छिटो गरि दुहुनु पर्दछ । यदि ७ देखि १० मिनेट भित्र दूध दुहुन सकिएन भने क्रमश: दूध उत्पादन घट्दै जान्छ । गुणस्तरीय दूध उत्पादनको लागि दूध दुहुने तरिका अति महत्वपूर्ण रहेको हुन्छ ।सही तरिकाले दूध दुहुदा कल्चौडो स्वस्थ हुनुको साथै दूध उत्पादन बढ्दछ भन्नेकुरा दूध दुहुने व्यक्तिले सधैं ख्याल राख्नु पर्दछ ।

सन्दर्भ ग्रन्थ

  • कलौनी, डा. पदमराज (२०७६) आधुनिक गाई भैंसीपालन र उपचार, विद्यार्थी पुस्तक भण्डार कमलपोखरी / भोटाहिटी काठमाडौं
  • प्रधान, दलराम (पाँचौं संस्करण २०७०) गाई भैंसीपालन, केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुर,
  • ढकाल,टंक प्रसाद / घिमिरे, डा. शिव चन्द्र (२०४८) पशु सेवा पुस्तिका, श्रीमती कमला ढकाल, भरतपुर, चितवन
  • पौडेल, रुद्रप्रसाद (२०७२/७३) व्यवसायिक भैसीपालन प्रविधि, केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुर
  • पौडेल, डा लोकनाथ (२०७३) नेपालमा भैसीपालन तथा मासुका लागि व्यवसायिकरुपमा पाडापालन प्रविधि, पशु उत्पादन निर्देशनालय हरिहरभवन, ललितपुर,
  • Banerjee, G.C, A Text book of Animal Husbandry, Eighth Edition Oxford &IBH Publishing Co.Pvt.Ltd. New Delhi, Last Reprint 2011
  • https://www.google.com/search?q=milking+method&oq=milking+&aqs=chrome.3.69i57j0i512l6j69i60.21835j0j7&sourceid=chrome&ie=UTF-8
  • https://agritech.tnau.ac.in/ta/animal_husbandry/animhus_cattle_milking%20method.html

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी