नेपालमा बंगुरपालन र अफ्रिकन स्वाइन फिवर रोग रोकथाम विधि

नेपालमा बंगुरपालन र अफ्रिकन स्वाइन फिवर रोग रोकथाम विधि

  • सोमवार, जेष्ठ ९, २०७९
  • बासुदेव नाथ

  • 22.2K
    SHARES

) परिचय :

नेपालमा बंगुरपालन एक महत्वपुर्ण मासु उत्पादन व्यवसायको रुपमा विकसित हुदै आएको छ । हाल नेपालमा कुल बंगुर/सुंगुर संख्या १५८८८३८ रहेकोमा 42% उन्नत र 58% स्थानीय छन । देशको कुल मासु उत्पादन ५२०७४२ मे.टन मध्ये करिव ३१४५० मे.टन अर्थात करिब ६% स्थान बंगुरको मासुले ओगटेको छ भने वार्षिक बंगुरको मासुको बृद्धिदर ६.६% रहेको छ ।(कृषि तथा पशुपन्छी डायरी, २०७९)

बंगुर अत्यन्त छिटो बढ्ने, एकै पटक धेरै सन्तान उत्पादन गर्ने क्षमता हुनुको साथै दानालाई मासुमा परिणत गर्न सक्ने क्षमता पनि यसमा बढी हुन्छ । नेपालको हावापानीमा बंगुरपालनका लागि असाध्यै अनुकुल छ । पछिल्ला वर्षहरुमा बंगुरपालन हाम्रो अर्थतन्त्रको सुदृढिकरण, बेरोजगारी तथा गरिबी न्यूनिकरण एंव आयआर्जनको एउटा महत्वपूर्ण माध्यमको रुपमा विकास भैरहेको व्यवसाय हो ।

बंगुरपालनबाट उल्लेख्य आम्दानी बृद्धि गर्न सकिने यो व्यवसाय जोकोहि नेपालीले पनि साधारण ज्ञान तथा सीपको माध्यमले गर्न सक्ने व्यवसाय पनि हो । खेर गएका खाद्य वस्तुहरु तथा घाँस आदि खुवाएर पनि गर्न सकिने पेशा र कम समयमा नै प्रतिफल निकाल्ने सकिने हुनाले यो पेशाको अझ महत्व बढिरहेको देखिन्छ । बंगुरको मासु उपभोग सम्बन्धी बढ्दै गएको जनचेतना र हाम्रो जस्तो कृषि प्रधान देशमा बंगुरपालन व्यवसाय अझै बढी सान्दर्भिक देखिन्छ । तल देखाइएका बंगुरको बढ्दो संख्याले पनि यस कुराको पुष्टि गर्दछ ।

हाल नेपालको कुल मासु बजारको करिव ७ प्रतिशत हिस्सा बंगुरको मासुले ओगटिरहेको अवस्था छ र यसको मासुको माग दिन प्रतिदिन बढिरहेको पनि छ । यस क्षेत्रमा लगानी पनि पहिलेको तुलनामा निकै बढिरहेको साथै आउँदा दिनहरुमा अझै बढ्दै जाने देखिन्छ । बंगुरपालक कृषक तथा उद्यमीहरुमा पनि पहिलेको तुलनमा बढी व्यवस्थित एवँ वैज्ञानिक तरिकाले खोर निर्माण एवंम व्यवस्थापन गर्ने, दानापानीको व्यवस्थापन गर्ने तथा बजारीकरणका योजनाहरु बनाएर बंगुरपालन गर्ने प्रवृति देखिएको छ ।भविष्यमा बंगुरपालन व्यवसाय औद्योगिक रुपमा विकास गरी मासु निर्यात समेत गर्न सकिने प्रवल सम्भावना रहेको छ  ।

बंगुरको तथ्याङ्क

आ.व. २०७५/७६ २०७६/७७ २०७७/७८ बृद्धि प्रतिशत
बंगुरको संख्या १४८८३३८ १५१९५९३ १५८८८३८ ४.५६
बंगुरको मासु(मे.ट) २८५७९ २९४९३ ३१४५० ६.६

स्रोत : कृषि तथा पशुपन्छी डायरी, २०७९

प्रस्तुत तालिकबाट नेपालमा उन्नत बंगुरहरुको संख्या बढ्दो क्रममा रहनुको साथै नेपालको बंगुरपालन व्यवसाय व्यवसायीकरण तर्फ उन्मुख रहेको कुरालाई सजिलै आकलन गर्न सकिन्छ ।  प्राय: सबै जातजातिले बंगुरको मासु खाने प्रवृति बढ्दै गएकोले मात्र होइन यसको मासु अरु पशुपंक्षीको मासु भन्दा तुलनात्मक रुपले सस्तो एवम सहजै पच्ने भएकोले पनि यसको मासुको बजार बढ्दै गइरहेको हो र परिमाणस्वरुप यो व्यवसायमा आकर्षण बढ्दै गइरहेकोले हो । प्रति व्यक्तिले वार्षिक 14 केजी मासु खानु पर्ने भनी विश्व खाद्य तथा कृषि संगठन (FAO) ले सिफारिस गरेको छ । बंगुरको मासुको उपभोक्ता मूल्य मात्र नभै उत्पादन लागत पनि कम हुने भएकोले देशको यस आवश्यकतालाई व्यापकता पाउँदै बंगुरपालन व्यवसाय र यसबाट प्राप्त हुने सुपथ मूल्यको गुणस्तरीय प्रोटिनले सम्बोधन गर्दै जाने देखिन्छ । बंगुरपालनलाई व्यवसायीकरण, आधुनिकिकरण, औद्योगिकरण गर्नको लागि सरोकारवाला संघ संस्था, निजी उद्यमीहरुसँग सहकार्य गरी बंगुर कृषक/उद्यमीहरुलाई उत्प्रेरित हुने खालका कार्यक्रम विस्तार गर्नु अपरिहार्य छ ।

नेपाल जनजातिहरुको बाहुल्य भएको देशहुनुको साथै परापूर्वकालदेखि खाद्यान्नमा आत्मनिर्भर भएका क्षेत्रहरुमा आर्थिक रुपले विपन्न वर्गहरु विशेषतः जाँड, रक्सी बनाउने, खाने वा बिक्री गर्ने जातिमा साँगुर बंगुरपालन बढी लोकप्रिय भएको पाइन्छ । यिनीहरुले बंगुरपालनलाई आय आर्जन गर्ने व्यवसायको रुपमा नभएर आफ्नो धर्म, संस्कृति अनुसार पूजा गर्न तथा उपभोगका लागि २, ४ गोटा पाल्ने गर्दछन् र बढी भएका सुँगुरबंगुर घरायसी समस्या टार्नको लागि बिक्री गर्दछन् । देवीदेवतालाई भोग दिन स्थानीय च्वाँचे वा हुर्रा जात नै मन पराउने तथा यिनीहरुको मासु बंगुरको तुलनामा बढी स्वादिलो भएकोले सबै भौगोलिक क्षेत्रहरुमा थोरैको संख्यामा भए पनि कृषकहरुले पालिनै रहेका छन् ।

खाद्यान्नलाई चाँडै तथा धेरै परिमाणमा मासुमा परिणत गर्ने व्यवसायहरु मध्ये कुखुरा र बंगुरपालन नै प्रमुख हुन् । यिनीहरुको मासु र मासुबाट तयार गरिएका परिकारहरुको माग पनि शहरी क्षेत्रहरुमा मात्र सीमित नभएर छिमेकी मुलुकहरुमा पनि दिनानुदिन बढ्दै गइरहेकोले अन्य पेशाभन्दा आर्थिक उपार्जनको पेशा व्यवसायको रुपमा बंगुरपालन स्थापित हुनपुगेको छ ।

बंगुरपालनको सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतिहरु

सवल पक्ष

  • छिटो हुर्कन सक्ने,
  • बंगुरको मासुका उपभोक्तामा दिन प्रतिदिन वृद्धि हुन,
  • बंगुरको मासु उत्पादन लागत अन्य मासुको भन्दा कम हुनु,
  • एकान्त ठाउँमा पाल्न सकिने,
  • बंगुरले दानालाई मासुमा परिणत गर्ने क्षमता सबै भन्दा बढी हुनु,
  • बंगुरको मासु छिमेकी मुलुक चीन र भुटानमा निकै ठुलो बजार हुनु,
  • नेपालमा जनजातीहरुले मनपराउने मासु नै बंगुरको मासु हुनु,
  • पालिकास्तरमा प्राविधिक जनशक्ति उपलब्ध हुनु ।

दुर्वल पक्ष

  • सबै जातजाती तथा धर्मालम्बीहरुले बंगुर तथा बंगुरको मासु स्वीकार नगर्नु,
  • मानव वस्तीबाट बंगुरपालन टाढा हुनु पर्ने,
  • यसको आहारा करिव ९० प्रतिशत अन्न हुने,
  • नयाँ नयाँ रोगहरु देखा पर्नु,
  • प्रभावकारी प्राविधिक सेवा उपलब्ध हुन नसक्नु,

अवसर

  • कम लागतमा बढी आम्दानी लिन सकिने व्यवसाय भएकोले व्यवसायबाट आम्दानी बढी हुन सक्ने,
  • बंगुरपालनमा आधारित उद्योग स्थापना गर्न सकिने,
  • स्वरोजगार प्रवर्द्धनको लागि राम्रो व्यवसाय,
  • युवा युवतीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गर्न सकिने,
  • बंगुरको मासु उपभोक्ताहरुमा वृद्धि हुनु,
  • सरकारले पनि सुविधा उपलब्ध गराउने गरेको छ ।

चुनौति

  • बंगुरपालनमा नयाँ नयाँ रोगहरु देखा पर्नु,
  • मानव वस्तीबाट टाढा पाल्नु पर्ने भएकोले सुरक्षित हुन कठिन,
  • जनजातीहरुको बाहुल्यता भएको स्थान बाहेकको स्थानमा बजार विकास गर्न कठिनाई,
  • बंगुरपालनमा काम गर्न इच्छुक जनशक्ति पाउन कठिनाई,
  • स्वदेश भित्र बजार व्यवस्थापन गर्न कठिनाई हुनु,
  • परम्परागत प्रविधिमा आधारित बंगुरपालकलाई आधुनिक तर्फ मोड्न कठिनाई हुनु ।

() अफ्रिकन स्वाइन फिवर

.. परिचय :

अफ्रिकन स्वाइन फिवर (African Swine Fever – ASF) घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्यु दर भएको अति खतरनाक बंगुरको महामारी सरुवा रोग हो । यो रोग सर्वप्रथम सन १९२१मा अफ्रिकी मुलक केन्यामा देखापरेको थियो । विगतमा अफ्रिका महादेशमा मात्र सिमित थियो ।अफ्रिकी मुलुक बाहिर यो रोग युरोपको पोर्चुगलमा सन १९५७ मा पहिलो पटक देखा परेको थियो । यो रोग सन १९६० देखि १९७० को दशकसम्म युरोपेली मुलुकको लागि निकै चुनौतिपूर्ण रहिरहयो ।यो रोग सन २००७ मा जर्जिया हुदै रसिया, लिथुवानिया, बेल्जियम, हंगेरी र केही युरोपेली मुलुकमा पुन: देखापरेको थियो । यो रोग सन २०१८ मा चीनमा देखा परेपछि एशियन मुलुकहरु हुदै छिमेकी मुलुक भारत र भुटानमा समेत देखापरि सकेको छ ।यो रोग नेपालमा  पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको छ ।

.. रोगका कारक :

यो रोग Asfarviridae परिवारको DNA भाइरसको कारणले हुन्छ ।

.. रोग सर्ने माध्यम :

  • संक्रमित सुँगुर बंगुर बीच प्रत्यक्ष सम्पर्कबाट,
  • रोगी बंगुरको र्‍याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट,
  • बिरामी बंगुरको वसारपसार वा किनबेच गर्दा,
  • संक्रमण खोरमा काम गर्ने कामदार,
  • संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि ।

.. रोगका मुख्य लक्षणहरु :

  • बंगुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने,
  • शरीरमा निला डामहरु देखा पर्ने,
  • कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने,
  • नाकबाट फिज निकाल्ने,
  • यो रोग संक्रमित सुँगुर बंगुरलाई उच्च ज्वरो ( १०४ देखि १०७ डिग्री फरेनहाइट ) आउने,
  • कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने,
  • झोक्राउने र दानापानी खान छोड्ने,
  • बान्ता गर्ने, छेर्ने, छटपटाउने, चाल धरमराउने, तुहिने जस्ता लक्षणहरु सहितको बथानमा एकै पटक १००प्रतिशत सुँगुर र बंगुर मर्ने ।

.. उपचार :

यो रोगको उपचार  छैन ।

..रोकथाम :

हालसम्म यो रोग विरुद्ध औषधि तथा खोप नबनेकोले जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नु नै रोग रोकथामको उत्तम विकल्प रहेको छ ।रोग रोकथामको लागि निम्न उपायहरु अवलम्वन गर्नु अपरिहर्य छ ।

  • बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने,
  • बंगुरको खोरमा अनावश्यक मानिसको आवत जावत रोक्ने,
  • बंगुर फार्ममा जैविक सुरक्षा विधि अवलम्वन गर्ने,
  • बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधैं फार्ममा रहेका बंगुरसंग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने,
  • बंगुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाई गरी चुना, फिनायल, फर्मालिन, ब्लिचिङ्ग पाउडर आदिले नि: संक्रमण गर्ने,
  • रोग लागेका बंगुरलाई बथानबाट छुट्याएर अलग राख्ने,
  • शंकास्पद बंगुरको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गराउने र रोग प्रमाणित भएमा सो खोरमा भएका बंगुरहरुलाई मनवीय तरिकाले नष्ट गर्ने,
  • मरेका बंगुरहरुलाई गहिरो खाडलमा पुरी चुना छर्कने,
  • घरपालुवा बंगुर सुंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने,
  • सुँगुर बंगुरलाई होटल रेष्टुरेन्टबाट निस्कने फोहर खानेकुरा खुवाउने गरेको भए तत्काल बन्द गर्ने वा खुवाउनै पर्ने भएमा आधा घण्टा राम्ररी उमालेर मात्र खुवाउनु पर्छ ।

() निष्कर्ष :

अफ्रिकन स्वाइन फिवर रोग (African Swine Fever – ASF) पशुबाट मानिसमा नसर्ने रोग हो ।यो रोगले बंगुर सुँगुर १०० प्रतिशत मृत्यु हुने अत्न घातक महामारी रोग हो । यो रोग नेपालको लागि नयाँ भएको यहाँका बंगुरपालन व्यवसायी तथा सरोकारवालाहरुको लागि चुनौति थपिएको छ । ठुला व्यवसायिक फार्महरु रोग नियन्त्रण गर्नको लागि सचेत भएपनि साना बंगुरपालकहरुलाई अझै पनि बंगुरलाई फोहर आहारा, फोहर ठाँउ, फोहर पिउने पानी, मरेको सिनो कुखुरा तथा हाँस आदि पकाएर खान दिने, खोला किनारमा खुल्ला रुपमा पाल्ने पद्धतिमा अविलम्व परिवर्तन गर्नु जरुरी छ । बंगुरलाई फोहर खानेकुरा खुवाएर पाल्ने कार्यलाई निरुत्साहित गर्नु पर्दछ । बंगुरपालनमा असल पालन अभ्यास (Good Husbandry Practice -GHP) लाई अवलम्वन गर्नु पर्दछ ।बंगुरपालन एक विज्ञान हो यसलाई वैज्ञानिक ढंगले पालन गर्न सकेपछि मात्र फाइदा लिन सकिन्छ भन्नेकुरा सधैं हेक्का राख्नु जरुरी छ ।सहरी क्षेत्रमा बंगुरपालनमा प्रयोग हुने आहारा होटल तथा रेष्टुरेन्टमा खेर गएका फोहर खानेकुराहरु नै बढी प्रयोग हुने गरेको पाइन्छ । होटल रेष्टुरेन्टबाट निस्कने फोहर खानेकुरा खुवाउने गरेको भए तत्काल बन्द गर्ने  वा खुवाउनै पर्ने भएमा आधा घण्टा राम्ररी उमालेर मात्र खुवाउनु पर्छ ।जैविक सुरक्षा (Biosecurity) विधिलाई कडाइका साथ अवलम्वन गर्न सकेमा रोग भित्रिन सक्दैन र हालसम्म यस रोग विरुद्ध खोप तथा औषधि बनिनसकेको अवस्थामा बंगुर तथा सुंगुर फार्ममा जैविक सुरक्षा विधि कडाइका साथ अवलम्वन गर्ने अपरिहर्य छ ।यो रोग छिमेकी मुलुक चीन र भारतमा समेत देखापरिसकेको हुँदा पशु क्वारेन्टाइन चेकपोष्टहरुलाई अझै व्यवस्थित गरी निगरानी बढाउन जरुरी छ । मुलुक भित्र कुनै ठाउँमा रोग देखापरेको शंका लाग्ने वित्तिकै नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाइन चेक पोष्ट, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला लगायतका पशु सेवाका निकायमा यथासिघ्र जानकारी गराउनु हामी सबै नागरिकहरुको कर्तव्य हो ।रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु नै बेस “Prevention is better than cure”  भनाईको अक्षरस पालना गर्दा रोग रोकथाम गर्न सकिन्छ।यही नियम लागु गर्न सकेमा अवश्य पनि हाम्रो लागि नयाँ रोग अफ्रिकन स्वाइन फिवर नियन्त्रण गर्न सहज हुनेछ ।Risk Management का आधारभूत पक्षहरुमा केन्द्रित हुदै रोग नियन्त्रण तथा रोकथामको लागि संघ, प्रदेश र स्थानीय तह बीचको कुशल समन्वय र सहकार्य हुनु पनि त्यतिकै आवश्यक रहेको छ ।

अफ्रिकन स्वाइन फिवर रोग बारेमा व्यापक जनचेतना जगाऔं ! पशु धन जोगाऔं ! ’’

जय पशु धन ! जय किसान !

(लेखक बासुदेव नाथ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरमा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी