काठमाडौंमा कांग्रेस सभापतिका आकांक्षी दामोदर खड्का भन्छन्- आफूले नपाए विरोध गरेर हिँड्ने प्रवृत्ति हट्नुपर्छ

काठमाडौंमा कांग्रेस सभापतिका आकांक्षी दामोदर खड्का भन्छन्- आफूले नपाए विरोध गरेर हिँड्ने प्रवृत्ति हट्नुपर्छ

  • आइतवार, भदौ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

नेपाली काँग्रेसमा चौधौ महाधिवेशनको चटारो छ । वडा देखि जिल्ला सम्म नेतृत्व चुन्ने चुनिने प्रकया चल्दै छ । यही बेला काँग्रेस काठमाण्डौको सभापतिमा आकांक्षीहरुको संख्या बढेको छ । देशको सबै भन्दा अधिक जनसंख्या र पार्टीको हिशाबले पनि कार्यकर्ताको बढी संख्या भएको जिल्लामा सभापतिहरुको लागि आकांक्षीको संख्या बढी हुनु सामान्य नै भयो । यही बेला देउवा पक्षबाट सभापतिमा उठ्न खोजिरहेका छन् वरिष्ठ अधिवक्ता एवं काँग्रेस जिल्ला नेता दामोदर खड्का । उनलाई काँग्रेसको अहिलेको अवस्था र निर्वाचित भएपछि के के गर्नुहुन्छ भनेर मिर्मिरेले प्रश्न गरेको छ ।

काँग्रेसप्रति के प्रेरणाले लाग्नु भयो ?
जनमत संग्रहको बेला म १७ वर्षको थिँए । मेरो घर बुढानिलकण्ठ थियो । बहुदलीय व्यवस्थाको प्रचार प्रसार गर्नथालेपछि म त्यसरी काँग्रेसमा लागेको हुँ । समाजमा केही परिवर्तनको आवस्यकता हुन्छ । त्यही परिवर्तनको पक्षमा अगाडी बढ्ने नवयुवाको सोँच अनुसार म काँग्रेसतिर लागेको हुँ । म कसैले पनि प्रभाव पारेर राजनीतिमा लागेको होईन । सामान्यतया भुगोल अनुसार त्याहाँ रहने मान्छेहरुको आधारमा पनि मान्छे लेफ्ट वा डेमोक्रयाट हुन सक्छ । स्वतन्त्रता मान्छेलाई चाहिने चीज हो । यो बहुदलले दिन सक्छ । प्रजातन्त्र कसले दिन सक्छ भन्दा काँग्रेसले दिन सक्छ भन्ने लागेर म लागे । स्वतन्त्रता विनाको प्रजातन्त्र र प्रजातन्त्र विनाको स्वतन्त्रताको काम छैन भन्ने बिपीको भनाई अनुसार नै म प्रभावित भएर काँग्रेसमा लागेको हुँ ।

अहिले  काठमाण्डौँ काँग्रेस सभापतिको उम्मेद्धार हुन खोज्नु भएको छ कतिको साथ पाउने स्थिति छ ?  
म भूगोलका हिशाबले शेर बहादुर देउवा बुढानिलकण्ठमा बस्नु भयो । मेरो घर पनि त्यही नजिकै । उहाँ त्याहाँ बस्दा खेरी म नेपाली काँग्रेस प्रजातान्त्रिकको जिल्ला सचिव थिँए । म उहाँकै घरमा आउने जाने बस्ने भेट्ने भएको हुनाले देउवासँग नजिक भएको छु । तर अरु पनि टाढा छैनन् । ६२ ६३ को जनआन्दोलनमा जिल्ला कार्यसमितिको सचिवको हैसियतले जिल्ला सञ्चालन गर्ने मौका पाईयो । त्यो एउटा प्रमुख भूमिका भएका कारणले पनि अब सभापतिमा उठ्ने सोँच बनेको छ । फेरी वकिल पनि पेशाले छु म । वकिल भएपछि मानव अधिकार र स्वतन्त्रताको पक्षपाती पनि हुने भईयो । त्यसैले देउवा पक्षबाटै अगाडी बढ्ने तयारी छ । अरु साथीहरु पनि उम्मेद्धारको आकांक्षी हुनुहुन्छ । भोली पार्टीले कसरी कसलाई अगाडी बढाउला त्यो हेर्नु पर्नेछ । अरु बढे भने पनि मेरो सहयोग समर्थन हुनेछ । म अघि बढे भनेपनि अरुले सहयोग गर्ने वातावरण बन्छ ।

काँग्रेसले नयाँ सोच र उर्जा कसरी पैदा गर्न सक्छ, तपाईको सोचमा के गर्नु पर्ला ?कम्युनिष्ट विभाजित भएमा काँग्रेसले जीत्ने नभए नजित्ने भन्ने एक खालको मानसिकता छ । अब त्यो हुँदैन । कम्युनिष्टहरुको अहिले पनि संसदमा पनि ६० प्रतिशत सिट होल्ड छ । काँग्रेसले आफ्नो संगठन मजबुत बनाउदै जानु पर्छ । कम्युनिष्टहरु चुनावकै दिन पनि मिल्न सक्छन् । जहाँ पनि मिल्न सक्छन् । कम्युनिष्ट अहिले फुटेको छ काँग्रेसको सिट बढी आईहाल्छ नि भन्ने मनोकामनाले पार्टी अगाडी बढ्दैन । पार्टी अगाडी बढाउन युवालाई अगाडी ल्याउनु पर्छ ।
हाम्रो विधान संसोधन हुँदा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मधेशी युवा जस्ता ८ वटा क्लस्टर पार्टीले छुट्यायो । कुनै पनि कमिटि बन्दा एक तिहाई महिला अनिवार्य पुग्नु पर्ने व्यवस्था छ । त्यसले महिलाहरुको संख्या पार्टी भित्र बढ्ने भयो । अब महिलाले महिलाको सम्बन्धमा निर्णय गर्न सक्ने अवस्थामा आएको छ । यसले संगठन बलियो हुन्छ । जिल्ला कार्यसमिति देखि वडा सम्म १८ देखि ३० वर्ष उमेर समुहका युवाहरुको प्रतिनिधित्व पार्टी कमिटिमा हुनु पर्छ भन्ने छ । त्यस कारण दलित, महिला, युवा, दलित, आदिवासी जनजाति, अपांग, तेस्रो लिगीं , पछि परेका सबै समुदाय र वर्गलाई राख्नु पर्दछ । त्यो प्रतिनिधित्व भएन भने त्यसले राम्रो परिणाम ल्याउदैन । यो देशमा ७२ सालमा संविधान आयो । त्यो संविधान अनुसार काँग्रेस चलिरहेको छ । संविधान आए यता कसैले पनि समावेशी विधान बनाएका छैनन् त्यो काँग्रेसले मात्रै बनाउन सकेको छ ।
अहिले निर्वाचनका प्रत्यक्ष तथा समानुपातिक प्रणालीमा पनि पार्टीमा योगदान गरेकाहरुले राम्रो स्थान पाउने स्थिति बनेको छ । त्यसरी सबै क्षेत्र र समुदायले आफ्नो आवाज आफै उठाउन सक्ने अवस्था आईरहेको छ । यसले गर्दा काँग्रेसको मत बढाउनु पर्ने अवस्था छ । हामीले डडेलधुरा र रसुवा बाहेक धेरै जसो पहाडी क्षेत्रमा चुनाव हार्न पुग्यौँ । त्यसैले काँग्रेस अरु फुटोस् या नफुटोस् आफू बलियो हुने गरी लाग्नु पर्छ ।

तपाई वरिष्ठ अधिवक्ता पनि भएकोले अहिले काँग्रेस भित्र संघीयता, धर्मनिरपेक्षता विरोधी बिचार राख्नेहरु पनि छन् भनिन्छ नि किन यस्तो छ काँग्रेस भित्र ?
अहिले सम्म नेपालमा ७ वटा संविधान आईसकेको छ । म पनि संविधानको पनि विद्यार्थी , राजनीतिक कर्मी पनि । मैले काँग्रेसले जनताको भलो गर्छ है भनेर म लागिरहेको छु । यसरी अगाडी बढ्दा संविधान बनेको ६ वर्ष लाग्यो । संविधान बनाईसकेपछि त्यसलाई कार्यन्वयन तर्फ गईरहेको छ । विभिन्न जात जाति धर्म समुहबाट प्रतिनिधि ल्याएर संविधान बनाएको हो । त्यो किन गरियो भने हामी सबैले बनाएको हो भनेर अपनत्व गराउनु पनि हो । संविधान बनेकै दिन देखि यो काम लागेन, त्यो काम लागेन भनेर भन्नुको अर्थ छैन । कम्तीमा एक दशक सम्म हेर्नु पर्छ । नभए परिवर्तन गर्न सकिन्छ । अहिले एकखाले मान्छेहरु राजा राख्न पर्यो , हिन्दु धर्म हुन पर्यो भनिरहेका छन् । त्यो गलत छ । संघीयता भनेको सबैलाई समेट्ने प्रतिनिधित्व गराउने खालको व्यवस्था भएकाले हुनाले यसले देशलाई अगाडी बढाउन सजिलो हुन्छ । संविधानमा जे लेखे पनि धर्म परिवर्तन गराउन पाईदैन भनिएको छ ।
त्यस कारण संविधान सभाले बनाएको संविधान टिक्नु पर्छ टिकाउनु पर्छ । यसको बिरुद्ध जानु हुँदैन । तत्कालै संविधान संसोधन गर्नु हुँदैन ।
धर्म निरपेक्षतामा जनमत संग्रह गराउने जस्ता बिचारले काँग्रेसमा किन स्थान पाईरहेको छ ?
काँग्रेस भनेको प्रजातान्त्रिक पार्टी हो । यसमा कम्युनिष्टमा जस्तो कडा अनुशासन हुँदैन । काँग्रेसले हिजो राजतन्त्र चाहिन्छ भनिरहेका बेला साथीहरुले गणतन्त्रको नारा लगाएका हुन् । काँग्रेसमा स्वतन्त्रता र लोकतन्त्र न्युनतम कुरा भएको हुनाले त्यसो भएकाले कतिपय मानिसहरुले यो चाहिन्छ, त्यो चाहिन्छ भनेर बिचार राख्न सक्छन् । काँग्रेस महासागर हो । ८ लाख ५३ हजारबाट पनि बढेको छ । शुभचिन्तक समर्थक कति होलान् ? मतदाता कति होलान् ? त्यसैले कतिपय त्यस्ता बिचार राख्ने पनि हुन सक्छन् ।

काठमाण्डौँ सभापति बन्नु भयो भने काँग्रेसको संरचनालाई कस्तो बनाउनु हुन्छ जिल्लामा ?
म आउदो अधिबेशनमा जिल्ला सभापति हुने चाहना सहित अघि बढेको छु । यदी म सभापति भँए भने काँग्रेसमा ३६ साल भन्दा अघिदेखि काँग्रेसको प्रजातान्त्रिक पद्धति भएकै कारणले नजिक भँए । ४६ सालको जनआन्दोलनमा म पक्राउ परेँ । पछि बहुदल आएपछि काँग्रेसको बुढानिलकण्ठ क्षेत्रको ईन्चार्ज बने । अहिले म पनि ६० वर्ष पुग्न लाँगे । कम्युनिष्टले प्रशिक्षण गरेको गरेकै हुन्छ । तर काँग्रेसमा छैन । त्यसैले म सभापति भँए भने पहिलो कुरा काँग्रेस के हो ? यसमा लाग्नुको अर्थ के हो ? काँग्रेस भनेको चोर हो , डाका हो भनेर भ्रम छर्नेहरु पनि छन् । त्यसको जवाफ दिन सक्ने त हुनु पर्यो । पार्टीमा लाग्नुको अर्थ निर्वाचन जीतेर आफ्नो घोषणा पत्र अनुसार जनतालाई शान्ति समृद्धि दिनु हो । त्यसका लागि काँग्रेसलाई पनि प्रशिक्षण चाहिन्छ । त्यसकारण मेरो पहिलो काम काँग्रेस कार्यकर्तालाई प्रशिक्षित गराउने छु । साथै क्रियाशील सदस्यहरुलाई समान व्यवहार गर्नेछु । काहीँ काही मृत्यु भएका मान्छेको पनि क्रियाशील सदस्यता नवीकरण भयो । त्यो कहाँ त्रुटी भयो । म सभापति भए पछि यो रोकिन्छ । र म काँग्रेसमा लागेको लामो समय भयो । गत चुनावमा मैले टिकट पाईन तर साथीहरु जिताउन म झोला बोकेर हिँडे । अब अरुले पायो भने पनि जिताउन झोला बोकेर हिड्नु पर्छ । आफूले पाए पायो नपाए विरोध गरेर हिँड्यो । यस्तो स्थिति म सभापति भए पछि अन्त्य गर्छु । सही मान्छेलाई टिकट दिलाउन पनि कोशिस गराउने छु ।

तपाई यहाँ सम्म काँग्रेसी भएर राजनीति गर्दै आउदा अहिले सम्म सन्तुष्ट हुनुहुन्छ नि ?
म अलि पृथक व्यक्ति हुँ कि जस्तो लाग्छ । मलाई कसैलाई ढाँट्न मन लाग्दैन । म त्यो प्रिन्सिपलमा विस्वास राख्छु । त्यस्तो मान्छे वकालतमा लागेर, पार्टीमा लागेर के सन्तोष लिएको होला र ? भन्ने पनि लाग्न सक्छ । तर प्रजातान्त्रिक सिद्धान्तमा रहनका लागि हामी त्यो स्ट्रीममा त रहनै पर्यो । पार्टीले केही काम बेलामा गर्न पर्छ भन्ने मान्यता मेरो छ । सरकारले गर्ने काम गरिहाल्नु पर्यो , पार्टीले गर्ने काम गरिहाल्नु पर्यो । भोली पर्सी भनेर भएन । घोषणा पत्र लागू कार्यन्वयन गर्ने टिम बनाई हाल्नु पर्यो । जनताले सुख सुविधा पाए भने मात्रै राजनीति गरेको अनूभूति हुन्छ । तर त्यो गर्न नसकिएका कारण म वास्तवमै सन्तुष्ट छुईन ।

अहिले राजनीति त व्यापार भयो हैन ?
राजनीतिमा कुनै व्यक्ति वा समुहको मात्रै हात हुँदैन । हामीले हेर्दा हेर्दै दुई तिहाईको सरकार ओलीको नेतृत्वमा थियो , त्यो ढल्यो । हामीले खास विरोध नगर्दा पनि ओलीको अहंताले गर्दा गयो । केन्द्रमा पनि गयो , प्रदेशमा पनि भकाभक जाँदैछ । राजनीतिमा यस्ता समस्या छन् । राजनीतिलाई व्यवशायको रुपमा लैजाने संस्कृति बन्यो भने यस्ता विकृतिहरु आउछन् ।

समयका लागि धन्यवाद छ ।
धन्यवाद मिर्मिरे अनलाईनलाई मेरो बिचार जनतामाझ , पाठक माझ राख्ने मौका दिनु भएकोमा । सबैले पदमा जाने तर एउटा बैठक समेत नराख्ने काम नगरौँ । सबैले आफ्नो भूमिका निर्वाह गरौँ यो आव्हान् पनि गर्दछु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी