रामबाबु यादव जनता समाजवादी पार्टी (जसपा)बाट बारा क्षेत्रनं ३ का सांसद संघीय सांसद हुन् । हालै जसपा भित्र देखिएको विवादले प्राविधिक रुपमा समाधान पाएको छ निर्वाचन आयोगको फैसला पछि तर सतहमा अझै यादव पक्ष विरुद्ध ठाकुर महतो पक्ष मोर्चाबन्दी गरीरहेको देख्न सकिन्छ । उनीहरु जिल्ला जिल्लामा दौडाहा गरीरहेका छन् । यसै सन्दर्भमा जसपाको विवाद र सरकार गठनमा भएको ढिलाईबारे केन्द्रीत रहेर मिर्मिरेका लागि सिर्जना तिम्सिनाले सांसद यादवसँग गरेको कुराकानीको सम्पादित अंश ।
तपाईहरुको पार्टी भित्र अहिलेको अवस्था के हो ? महन्थ ठाकुरहरु जसपाका हुन् कि हैनन् ?
महन्थ ठाकुरजीहरुले पार्टीको झण्डा, व्यानर प्रयोग गरेर, जसपाको अध्यक्ष भनेर गतिविधि गरीरहनु भएको छ । उहाँहरु कसको लाईनमा हिँडिरहनु भएको छ ? पहिला केपी ओलीको लाईनमा हुनुहुन्थ्यो , पछि देउवा जीलाई पनि मत दिनु भयो । उहाँहरुले प्रतिगामीलाई बल पुग्नेगरी गतिविधि गरीरहनु भएको छ । उहाँहरुको राजनीतिक जीवन लोकतन्त्र ल्याउनका लागि लडेको जीवन हो । तर अहिले प्रतिगमनको पक्षमा भूमिका खेलिरहनु भएको छ । त्यसले उहाँहरुको राजनीतिक भविष्य उहाँहरुको आफ्नै हातमा छ । उहाँहरुले प्रतिपक्षको बेञ्चमा बसेर जुन हर्कत गर्नु भयो त्यो अमर्यादित छ । उहाँहरुले देउवालाई मत दिँदैमा हामी एकै ठाँउमा छौँ भन्ने कुरा भएन । उहाँहरुले आफ्नो स्वार्थ कँही नपाएर देउवाको पक्षमा आउनु भएको हो ।
उहाँहरुले पहिलो संसद विघटन हुँदा खराब भन्नु भयो । दोस्रो विघटन ठीक छ भन्नु भयो । र फेरी देउवा आँउदा मत दिने यो त राजनीतिक विचलन भएन ? उहाँहरुकै कारण पार्टीको लागि सत्ता पक्ष र प्रतिपक्षको कुर्सी खडा भयो । यद्यपि, महन्थ जीहरु पार्टीका साधारण सदस्य र सांसद हुनुहुन्छ । गुटवन्दी खडा गर्दै हिँडिरहेमा त्यो पनि गुम्न सक्छ ।
निर्वाचन आयोगको निर्णयपछि ठाकुर पक्ष सडकमा छ , तर जसपाकै नाममा उहाँहरु अदालतसम्म पनि पुग्नु भयो ,अहिले जिल्ला-जिल्लामा भेला पनि गर्दै हिँडिरहेको छ ? तपाईहरु के कार्बाही गर्न सक्नु हुन्छ ?
उहाँहरुले पहिलो कुरा केपी ओलीको कदमलाई स्वागत गरेको कुरालाई माफी माग्नु पर्दछ । व्यक्तिगत रुपमा उहाँहरु जसपामै हुनुहुन्छ । यो सबै स्वीकारेर बस्दा पार्टीले सम्मान नै गर्छ । त्यो रोक्नु भएन भने पहिलो पार्टीले चेतावनी दिन्छ । समय दिन्छ । त्यो समयमा पनि सच्चिनु भएन भने उहाँहरुलाई साधारण सदस्यबाट पनि निष्कासन गर्नु पर्ने अवस्था आउन सक्छ ।
अहिले महन्त जीहरुले जसपाको नाममा कार्यक्रम गर्दा साथीहरु जानु भएको छ । जसपाको ब्यानर हटाएर जाँदा उहाहरु लखेटिने अवस्था छ । हामी पनि जसपा हौँ भनेका कारण केही साथीहरु जानु भएको छ । व्यक्तिको पछि पनि दुई चार जना लाग्ने अवस्था त हुन्छ ।
ठाकुर पक्षका नेताहरुले उपेन्द्र यादवमाथि पनि त विभिन्न आरोप लगाएका छन् नि ?
आरोप लगाउनु सामान्य कुरा हो तर प्रमाणित हुनु पर्यो नि । उहाँ संसदकै ज्येष्ठ सदस्य हो । उहाँहरुले माईन्युट नै कीर्ते खडा गर्नु भयो । महन्थ ठाकुरलाई जेठ ४ गते स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ नदिई उल्टै स्पष्टीकरण सोध्ने गरेपछि पार्टी कार्बाही गर्नु पर्ने स्थितिमा आएको हो । उहाँहरुले पालै पालो बाँडफाट गरीराख्ने अवस्था थियो अध्यक्ष पनि । पार्टीको एक नं बरियता त बाबुराम भट्टराईको थियो । बहुमत सदस्यको निर्णय मान्य हुने गरी विधान तयार भएको छ । बहुमत कसको थियो त ? प्रत्यक निर्णय बैठक बसेर गर्ने गरिएको छ । आरोपले हुँदैन । हामी बिधान अनुसार पार्टी अगाडी बढाएका छौँ । महन्थ जी हरु ६ जनाको शेयरमा भएको कम्पनी जस्तो गरी पार्टी चलाउन खोज्नु भएको थियो । यो संभव छ ?
जसपा भावी दिनमा कसरी अघि बढ्छ ?
उहाँहरुले जुन नेतृत्व वर्गमाथि वितृष्णा फैलाउन खोज्नु भएको छ । त्यसको खण्डन गर्ने, गुमराहमा पारिएका कार्यकर्ताहरुलाई स्पष्ट पार्ने, ठाकुरहरुले केन्द्रीय सदस्य बनाएका मान्छेहरु नै पनि हामी जसपामै रहन्छौँ , व्यक्तिका लागि कति पटक पार्टी फर्ने भनेर लागिरहेका छन् ।
अर्को संविधान शंसोधन र कार्यन्वयनका लागि पार्टी लागि पर्छ । त्यसका लागि सरकार सञ्चालनको लागि टिओआर पनि आएको छ । गठबन्धन र सरकारलाई असर नपर्ने गरी हामी आफ्नो गतिविधि जारी राख्छौँ । आउदो स्थानीय तहको निर्वाचनमा पार्टीले गठबन्धनसँगै वा एकल रुपले चुनाव लड्न पनि सक्ने अवस्था आउन सक्छ ।
यो समस्याबाट हामी मुक्त हुँदैछौँ । महन्थ र राजेन्द्र महतोको समस्या आफै पाखा लाग्छ । उहाँहरु आफै किनारा लाग्नु हुन्छ । उहाँहरुको राजनीतिक भविष्य नै किनारामा लाग्ने अवस्था आँउछ । उहाँहरु सच्चिएमा भविष्य सुरक्षित हुन सक्छ । उहाँहरुले ओलीले संविधान शंसोधन गर्न बनाएको कार्यदललाई कसरी स्वीकार गर्नु भयो ? संसदले संविधान शसोधन गर्छ कि केपी ओलीको घरले ? त्यसैले जनतालाई उहाँहरुले ठग्ने काम गर्नु भयो । जनता स्पष्ट छ उहाँहरुले केही पाउदैमा संसद विघटन राम्रो थियो भन्नु उहाँहरुको गलत थियो ।
अर्को कुरा अहिले परमादेशको सरकार भनेर आलोचना गर्ने गरिन्छ । यो सही हैन । के केपी ओली ७४ सालमा ओली प्रत्यक्ष रुपमा निर्वाचित प्रधानमन्त्री हुन् ? कानुनमाथि हमला बोल्नेमाथि परमादेश जारी भएको हो । के एमालेले ्रमितमात्रै जनमत लिएको हो ? हामीले मत नलिई निर्वाचित भएका हौँ ? माधव नेपालका २३ जना मत नपाएका सांसद हुन् ? यसलाई हेर्ने कुरामा ठाकुरजीहरु भ्रमित भएका हुन् ।
जसपाले उठाँउदै आएको मुद्धा के हुन्छ अब ?
हामीले उठाँउदै आएको मुद्धा अब सरकारको मुद्धा हो । गठबन्धनको मुद्धा हो । साझा एजेण्डाका रुपमा ती मुद्धाहरु कार्यन्वयन हुन्छन् हामी आशावादी छौँ । यो सरकारको दायित्व हो ।
सरकार गठनमा ढिलाई हुनुको कारण के हो ?
अब सरकार चाँडै अगाडी बढ्छ । साझा कार्यक्रमले अलि ढिलाई भएको थियो अब त्यो पनि आयो । देउवा जीलाई पनि पार्टी भित्र अलि समस्या थियो महाधिवेशनको अब समाधान हुँदैछ । हाम्रो पार्टी भित्र पनि केही समस्या थियो महन्थ जीहरुको त्यो समाधान भयो ।
यो गठबन्धनमा महत्वपूर्ण योगदान गर्नु भएका माधव नेपाल जीहरुका पनि केही समस्या छन् । ओलीले गल्ती स्वीकार्छ कि स्वीकार्दैन भनेर उहाँहरुले हेरिरहनु भएको छ । त्यस कारण पनि समय लागेको हो । सरकार अब केही दिनमै टुंगो लाग्छ ।
जसपाबाट सरकारमा जाने मन्त्रीहरुको विषयमा पार्टी भित्र विवाद छ भन्ने छ नि ?
यो उल्टो हो । मन्त्रालयको संख्या टुंगो लागेपछि अनि व्यक्ति टुंगो लगाउने हो । मन्त्रालयको संख्या नै टुंगो लागेको छैन । त्यसपछि हामी व्यक्ति टुंगो लगाउछौँ । सांसद भएका व्यक्तिहरुको आकांक्षा हुन्छ । तर हाम्रो पार्टीमा मन्त्रीका लागि विवाद छैन । उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई यसको टुंगो लगाउने जिम्मेवारी दिएको छ । यसैबाट हल हुन्छ ।
अहिले मुख्यतयाः तीन भाग गर्ने कि चार भाग गर्ने भनेर समय लागेको हो ।
ओली नेतृत्वको सरकारले दुई पटक तपाईहरु ( सांसद ) लाई शहीद बनायो । र अदालतले ब्युतायो , कस्तो लाग्या छ ?
केपी ओली र कोरोना उस्तै भयो । पहिलो भेरियन्ट आयो कोरोनाको मरिन्छ कि बाँचिन्छ भन्ने भयो । त्यही बेला ओली भेरियन्ट आयो संसद विघटन भयो । अदालतले सिलाईन पानी दिएर बचायो । काम गर्न दियो ।
दोस्रो पटक फेरी कोरोनाको नयाँ भेरिएन्ट आयो । फेरी ओली भेरियन्ट आयो र संसद विघटन गरे फेरी अदालतले बचायो । अब चाँही कुनै पनि प्रधानमन्त्रीले चाँहदैमा संसद विघटन हुँदैन भन्ने आशा गरिएको छ ।
अहिले आफू निर्वाचित क्षेत्रमा के काम गरीरहनु भएको छ ?
देशमा सबै भन्दा ठूलो पीडाको बिषय स्वास्थ्य र शिक्षा हो । स्वास्थ्य जतिको समस्याग्रस्त क्षेत्र केही छैन । सरकारी स्वास्थ्य संस्था सबै जीर्ण छ । सरकारीमा पूर्जा दिने र हेर्ने अनि निजी अस्पतालमा आएर उपचार गर्ने समस्या यस्तो छ ।
शिक्षामा पनि सरकारी शैक्षिक संस्थाहरु जीर्ण छन् । २५ वर्ष भन्दा यता दरबन्दी बढाईएको छैन । यो अवधिमा विद्यालयको संख्या दोब्बर छ र विद्यार्थी संख्या तेव्वर छ । त्यस कारण निजी शैक्षिक संस्थाहरु मौलाए र जनता लुट्ने काम भईरहेको छ ।
र मधेशको समस्या बाटो घाटोको पनि छ । त्यो विकासको उत्तिकै खाँचो छ । समथर भुभाग भएर पनि उत्पादन बढ्न सकेको छैन । तराई पहाड सबै तिरका युवा विदेश पलायन भईरहेका छन् । हामीकहाँ उत्पादन भएको बिद्युत पनि खपत कसरी गर्ने एक वर्ष पछि भनेर हामीले सोच्न सकेका छैनौँ । हामी यहाँ खाद्यन्न उत्पादन गर्न नसकेर लेबर बिक्री गरिरहेका छौँ । ठूला उद्योग र कलकारखानाहरु खोल्नु आवस्यक छ । रेमिट्यान्सले मात्रै देश चल्दैन ।
अन्त्यमा एमसीसीका बिषयमा के हो तपाईहरुको धारणा ?
एमसीसी संसदमा दर्ता भएको दुई वर्ष भईसक्यो तर छलफल भएको छैन । सिंह शाहहरुका ईर्दगिर्दहरुले संसदलाई, राजनीतिक दललाई वितृष्णा पैदा गर्ने गरी काम गरीरहेका छन् । त्यसैले संसदमा अब यो छलफल छिटो हुनु पर्ने स्थिति छ ।
अहिले केपी ओली आफै संसदमा एमसीसी संसोधन गर्नु पर्छ भनिराख्नु भएको छ हिजो त त्यो भन्नु भएको थिएन । एमसीसीको विषयमा संसदमै छलफल हुनु पर्छ । एमसीसी कुन कुन दलले सम्झौता गरेको हो ? ती दलका युवाहरु कहाँ थिए ? अहिले किन राजनीतिक ईस्यु बनाएर देशलाई अर्को द्धन्दमा धकेल्ने खेल भईरहेको छ ? कसको गोटी बनेको हो ? यो चिन्ताको विषय हो । सबैले गंभीर हुनु पर्दछ । एमसीसीको बिरोध गर्दा गर्दै कतिपयले राजा चाहिन्छ भन्छन् । त्यसैले जनता र देशको हितमा के हुन्छ त्यो हामी निर्णय गर्छौँ ।