जेष्ठ ४ काठमाण्डौं । राष्ट्रिय सभाको उपनिर्वाचन यही जेष्ठ ६ गते हुँदैछ । यो निर्वाचनमा संयोगबस एमालेकै दुई उम्मेद्धार मैदानमा छन् । माधव समुहले काँग्रेस, माओवादी र जसपा उपेन्द्र यादव समुहसँग मिलेर पठाएका उम्मेद्धार खिमलाल देवकोटा र माओवादी छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री राम बहादुर थापा बादल ।
एमालेमा विवाद कायमै रहेका बेला ओली समुहले बादललाई आधिकारीक उम्मेद्धार बनायो । त्यस पछि एमालेमा एकता भए पछि डा. देवकोटाले आफूले उम्मेद्धारी फिर्ता नलिने सार्वजनिक घोषणा गरे ।
त्यस पछि पार्टीले आधिकारीक निर्देशन बादलको पक्षमा मतदान गर्न भने पनि माधव समुहले आफैले खडा गरेको उम्मेद्धार देवकोटालाई क्रस भोट गरेर जिताउने संभावना देखे पछि अहिले वादल आफ्ना निकटस्थहरु मार्फत काँग्रेसको मतदाता समेत फकाउन लागि परेको उच्च स्रोतले जानकारी दियो ।
बादलले खासै माधव समुहका नेताहरुलाई नभेटे पनि फोनमा योगेश भट्टराई, गोकर्ण विष्ट लगायतकासँग फोन सम्पर्क गरेर सहयोगको आग्रह गरेको बुझिएको छ ।
त्यस पछि सहयोगीहरुको सल्लाह अनुसार वादलले माधव कुमार नेतालाई मंगलबार भेटवार्ता गरे । तर माधव नेपालले सहयोग नगर्ने भने पछि बादलमाथि दबाब बढेको बुझिएको छ ।
उच्च स्रोतका अनुसार एमाले भित्रैको मत क्रस हुने संभावना बढेपछि पछि बादलका सहयोगीहरु आर्थिक व्यवस्थापन देखि मतदाताहरुलाई हेटौँडा लाने ल्याउने कामको चाँजो पाँजो मिलाउन लागि परेका छन् । यसका निम्ती एमाले नेता आनन्द पोखरेललाई केही रकम पठाईसकिएको बादल निकट स्रोतले दाबी गर्यो ।
त्यस पछि काँग्रेसका पालिका अध्यक्ष, उपाध्यक्ष र प्रदेश सांसदहरुलाई पनि फकाउन बादलका सहयोगीहरु खटिएको बुझिएको छ । जस अनुसार सहयोग गर्छु भन्नेहरुलाई हेटौँडा लैजाने, ल्याउने र त्याहाँ खाने बस्ने व्यवस्था मिलाउने काममा बादलका सहयोगीहरु जुटेका छन् ।
गृहस्रोतका अनुसार एक जना प्रहरीका डिआईजीलाई नै २ सय देखि २५० व्यक्तिलाई खाने बस्ने व्यवस्था मिलाउन अनुरोध गरिएको बताईएको छ । बादल आफैले मतदाताहरुलाई पटक पटक म्यासेज गरेर मत माग्ने काम पनि जारी राखेको बुझिएको छ ।
काँग्रेसको मत तान्न भईरहेको प्रयासका सन्दर्भमा काँग्रेस प्रदेश सांसद दीपेन्द्र श्रेष्ठलाई सम्पर्क गर्दा उनले काँग्रेसको तर्फबाट गठबन्धन गरिएका उम्मेद्धार देबकोटालाई नै मत दिने काँग्रेसले आन्तरीक सर्कुलर भएको दाबी गरे । काँग्रेसले ह्वीप नै लगाएर देवकोटाको पक्षमा उभ्याउने तयारी गरेको छ ।
काँग्रेसको जम्मा २२ सांसद रहेका छन् । काँग्रेसले कोरोना संक्रमित बनेका मतदातालाई समेत लगेर बादलको बिरुद्ध मतदान दिने तयारी भएको बताईएको छ ।
श्रेष्ठले काँग्रेसले पार्टीको ह्वीप विपरीत कुनै पनि जनप्रतिनिधिले बादललाई मत नदिने दावी गरे । बादल पक्षले सबै व्यवस्थापन गर्छौ भने पनि काँग्रेसले भने आफ्ना सांसद जनप्रतिनिधिलाई मतदान हुने दिन बिहान जाने मत हाल्ने र फर्कने गरी कसरत गरेको बुझिएको छ ।
एमाले भित्रै घात हुन सक्ने पीरले बादलले त्यो कसरत गरीरहेको र विपक्षीहरुको गठबन्धन समेत रहेकाले बादल पराजीत हुन सक्ने आशंका बढ्दै गएको छ ।
राष्ट्रिय सभामा प्रदेश सांसदको एक भोट बराबर ४८ र पालिकाका प्रमुख उपप्रमुखको मतभार १८ रहनेछ । त्यसरी बढी मत ल्याउने उम्मेद्धार राष्ट्रिय सभाका लागि छनौट हुनेछन् ।
बादलले माओवादी छाडेर एमालेमा गए पछि उनलाई माओवादीले कार्बाही गरेपछि उनको पद रिक्त भएको थियो ।