सुन्दर स्थानहरू को वर्णन धेरै गरिन्छ, कयौँ किताबहरूमा पढन सकिन्छ र त्यस्ता स्थानहरूको तस्बिर भिडियोहरू हेर्न सुन्न पनि सकिन्छ तर त्यस्ता सुन्दर स्थानहरूमा जब भौतिक रूपमा पुगिन्छ अनि मात्र त्यसको महसुस गर्न सकिन्छ, रमाउन सकिन्छ र हृदयमा, भावना शान्तिको सञ्चार भएको अनभूति गर्न सकिन्छ ।
अहिले मानव जाती भौतिक सुख सुविधा तथा विलासपूर्ण जीवन भन्दा प्राकृतिक सुन्दरता मा रमाउने गर्छ । दुःख कष्ट गरेर भए पनि हिमालका चुचुरा, पहाडका हरियाली दृश्य, ताल पोखरी वन जङ्गलको दृश्यावलोकन हेर्न मन पराउँछन् । हामी पनि त्यही मानव जातीकै रूप मध्ये एक भएकोले प्राकृतिक सुन्दरताले बढी आकर्षण हामीलाई पनि गर्नु स्वभाबिक हो र यस्तै यस्तै देश विदेश सुन्दर स्थानहरूको खोजी गर्दै आर्थिक र भौतिक रुपमा संभव भएका स्थानहरूको अवलोकन गर्ने प्रयास गर्ने गरेका छौ।
लेखकः बिनोद पोखरेल
युरोप अमेरिकाका मानव निर्मित ठुला ठुला भवनहरू वा भौतिक संरचनाहरूको दृश्यावलोकन होस वा रेल गाडी वा सामुद्रिक यात्राहरूको सफर होस वा चिल्ला सडकहरूको रौनक होस यी सबै भौतिक सुख सुविधाको प्रशस्तै अनुभूति गरिएकै हो तर स्वीजरल्यान्डको यात्रामा त्यहाँ अनुभूति गरिएका प्राकृतिक सौन्दर्यताको स्मरण गर्दा अहिले पनि अरू सबै रमाइला क्षणहरू भुलाउने गर्छ र त्यस्तै स्थानहरूका भ्रमण गर्न प्रेरित गरी रहन्छ ।
स्वीजरल्यान्ड देश नेपाल भन्दा करिब साडे तिन गुना सानो छ तर आर्थिक संवृद्धीमा विश्वका धनि देशहरु अमेरिका, जापान अस्ट्रेलिया तथा अन्य यूरोप यसियाका एक दुई देशहरु वाहेक सबै भन्दा उच्चतम् कोटीमा पर्दछ जसको मुख्य कारण प्राकृतिक सौन्दर्यता र पर्यटकीय आकर्षण नै रहेको छ।हाम्रो देश जसलाई यसियाको स्वीट्जरल्यान्ड पनि भनिन्छ जहाँ संसारकै दश उच्च हिम श्रृख्ला मधे आठ श्रृख्लाहरु अवस्थित छन् ियहाँ कयौ नदि नाला ताल पोखरीहरु, झरनाहरू, हरियाली फाँटहरु, साहसिक यात्रा तथा खेलका स्थानहरू छन। तर पनि हामीलाई विश्वका गरिब देशहरूको सूचिबाट माथी उक्लन गाह्रो भै रहेको छ।
नेपालमा काठमान्डौ उपत्यका, पोखरा, चितवन तथा लुम्बिनी क्षेत्र बिदेसी पर्यटकका आकर्षक गन्तव्य हुन भने पद यात्राको लागी अन्नपूर्ण क्षेत्र, लामटाङ क्षेत्र तथा सगरमाथा क्षेत्रलाई महत्त्वपूर्ण मानिन्छ। त्यसै गरी हिमाल आरोहणको लागी विश्वकै आरोहीहरू को सबै भन्दा आकर्षक गन्तव्य सगरमाथा नै हो। तर पनि उपयुक्त यातायातको सहजता, सुरक्षा तथा स्तरीय आवासीय व्यवस्थापनको कारण बिदेसी पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन सकेको छैन।गत वर्ष देखिको कोरोना महामारीले त यो क्षेत्रलाई धेरै नै नोक्सानी पुराएको देखिन्छ।यस परिस्थितिमा बिदेसी पर्यटक सङ्ख्यामा कमी आए पनि आन्तरिक पर्यटकको सङ्ख्यामा भने क्रमशः वृद्धि हुँदै गएको देखिन्छ।अहिले कोरोना महामारीको दोस्रो चरणको लहरले पर्यटकीय क्षेत्रमा केही समय पूर्ण विराम लागे पनि नेपालमा पर्यटकीय आकर्षणको प्रचुर सम्भावना छ र राष्ट्रिय आयको महत्त्वपूर्ण भाग यसले लिन सक्छ।
अहिले हामी नेपालीहरू पनि आफ्नो देशको प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरू, ऐतिहासिक महत्वका स्थानहरू तथा आफ्नो मनोरञ्जनका लागी विभिन्न स्थानको अवलोकन भ्रमण गर्ने रुचिमा वृद्धि भएको देखिन्छ विशेष गरी युवा पुस्ता यस्ता भ्रमणहरूमा अझ बढी लालायित भएको देखिन्छन्। जसको मुख्य कारण नेपालीहरूको आर्थिक अवस्थाको वृद्धि अर्थात् खर्च गर्न सक्ने क्षेमता बढदै गएको छ भन्ने बुझ्न सकिन्छ भने नेपालका दुर्गम क्षेत्रहरूमा समेत यातायात क्षेत्रको पहुँच बढदै गएको, बिकट पहाडी क्षेत्रहरूमा पनि पर्यटकहरूको आवागमनमा सहजता हुँदै गएको भन्ने बुझ्न सकिन्छ। त्यसै गरी नेपालीहरू को विदेश जाने र आउने सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कारण विदेशमा घुम्दा देखिने कतिपय मानव निर्मित आकर्षक दृश्यहरू भन्दा आफ्नै देशमा रहेका प्राकृतिक सौन्दर्यको महत्त्व बुझेर त्यस प्रति आकर्षित भएको भन्ने पनि अनुमान गर्न सकिन्छ।
जे होस बर्तमान अबस्थामा नेपालमा सडक तथा हवाई यातायातको विकासको गतिले फट्को मार्दै गरेको देखिन्छ भने पर्यटकहरूको वास स्थान को लागी होटल व्यवसाय तथा पहाडी क्षेत्रमा होमस्टेहरुको व्यवसाय पनि अहिले फस्टाएको देखिन्छ।हामीलाई पनि यस्तै आन्तरिक पर्यटक भएरै सोलुखुम्बु जिल्लाको सदरमुकास सल्लेरी, फाप्लु, नेले, पत्ताले लगाएत तेस क्षेत्र आसपास घुम्ने अवसर मिलेको थियो। यसरी काठमान्डौ देखि सोलु सम्मको यात्राका क्रममा हामी काम्रे जिलाको धुलिखेल वजार हुँदै भकुन्डेवेसी, मंगलटार,नेपालथोक, मुल्कोट, खुर्कोट, घुर्मी बाट मानेभन्ज्याङ्ग, ओखडढुङ्गाको रमाईलो डाँडा छिचोल्दै सोलु पुगेका थियो।
काठमान्डौ देखि पुर्व पश्चिम राजमार्ग को वर्दिवास जोडेने १५८ किमी लामो बनेपा( सिन्धुलि( वर्दिवास सडक जसलाई विपी राजमार्ग पनि भनिन्छ, काठमाण्डौ देखि पूर्वी तराई जोडने एउटा महत्वपूर्ण वैकल्पिक राजमार्ग मानिन्छ । २०५२ सालमा जापान सरकारको सहयोगमा निर्माण सुरु गरिएको यो राजमार्ग करिव २० वर्षपछि २०७२ सालमा सम्पन भएको थियो।यो राजमार्गको संचालन पछि त्यस भेगमा क्षेत्रहरु भकुन्डे वेसी,मंगलटार , नेपालथोक मुल्कोट, खुर्कोट, सिन्धुलि बजार तथा बर्दिवास क्षेत्रको बजार विकास हुनुको साथै पर्यटकिय आकर्षण बढ्दै गएको हो। दुई तिर हरियाली पहाड र विचमा सुन्दर वस्तिहरु, संगै वग्ने खोला र केहि साँघुरा चिल्लो आकर्षक घुम्ती मोड रहेको धुलिखेल देखि सिन्धुलि जिल्लाको खुर्कोट सम्मको ८२ किमी यात्रा करिव ३ घंन्टामा पुग्न सकिन्छ।यहाँ समको यात्रामा वाटो सहज भए पनि टाढाँ वाट देखिने ति पहाडका घुम्तीले कहिले काँही मन अत्याए अत्याउने पनि रहेछ तर अघाडी बढदै जादाँ भने गन्तव्य पुगेको पत्तो नपाईने रहेछ।
त्यसैगरी मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने खुर्कोट देखि उदयपुर जिल्लाको घुर्मी सम्म रहेको ६० किमी दुरी करिब २ घन्टामा तय गर्न सकिने रहेछ। सुनकोशी नदिको किनारामा रहेको र केही फराकिलो र रमणिय दृष्यावलोकन समेत गर्न सकिने यो सडक नेपालको मध्य पूर्वी पहाडी जिल्ला सिधुलि, दोलखा, रामेछाप, ओखलढुङ्गा, खोटाङ्ग तथा सोलुखुम्वुको लागि कोशेढुङ्गा नै रहेछ। वास्तवमा यो निर्माणाधिन मध्यपहाडी लोकमार्ग मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछिको यो यो तेस्रो राजमार्ग हो। निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुनेछ। यो राजमार्ग को पूर्वी भेगमा पर्ने पाँचथर जिल्लाको चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ। चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ । गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर नै अघि बढ्छ । नेपालमा हाल विद्यमान ५८ नगरपालिकामध्ये २७ पहाडमा पर्छन् । यो राजमार्गले यी २७ ुसहरु मध्ये १६ वटालाई चिरेर, छोएर वा छोएसरह भएर जान्छ । सहर र सदरमुकाम मात्र नभई यसको हालको रेखांकनभित्र अन्य थुप्रै साना सहर तथा बस्ती पनि पर्छन् ।
यहि लोकमार्ग अन्तर्गत पर्ने उदयपुर जिल्लाको घुर्मी बजार सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग जिल्ला तथा उदयपुर र सिन्धुली जिल्लाको उत्तरी भेगको व्यापारीक नाका नै रहेछ।कटारी र खुर्कोट वाट धुर्मी सम्म पक्की सडक जोडिए पछि यस क्षेत्रको विकासले फट्को मारेको रहेछ।त्यहाँ वाट करिब ४० किमी उत्तर तर्फको दुरी तय गरेपछि मानेभन्ज्याङ् हुँदै ओखलढुङ्गा वजार पुगिदो रहेछ। बजार नजिक केहि उचाईमा रहेको रमाईलो डाँडा साच्चै नै रमाईलो र पर्यटनलाई लोभ्याउने क्षेत्र रहेछ । त्यहाँ वाट उत्तर तर्फ देखिने रुम्जाटार वजार नजिकैका पहाड तथा हिमाली श्रृंखलाहरुको दृष्य साच्चै मनमोहक थियो । यस्तै सुन्दर वस्ती नदि नाला पहाड हिमालको दृष्यहरु क्यामेरामा कैद गर्दै काठमाण्डौ देखि ओखलढुङ्गाको २१५ किमीको यात्रा तय गरि हामी रमाइलोडाडाँ कै एउटा होटलमा रमाईलो संग त्यों दिनको विश्राम गरेका थियौ।
हाम्रो दोश्रो दिनको गन्तव्य सोलुको नेले वजार थियो। हामी बिहानै उठेर ब्रेकफास्ट पश्यात सिमसिमे पानी र हल्का चिसोको अनुभूती गर्दै गन्तव्य तिर अघाडी वढेका थियौ िओखलढुङ्गा बजार देखि २०(२२ किमी टाढाँ र डेड दुई घन्टामा पुगिने सोलु प्रवेश नाकामा रहेको पत्ताले डाडा करिब ३००० मिटर उच्चाई मा रहेको यस क्षेत्रको सबै भन्दा उच्च स्थान र मौसम ले साथ दिएमा सगरमाथा, मकालु, दुध कुन्ड लगाएत धेरै हिमश्रीङ्खला को दृस्यावलोकन गर्न सकिने सुन्दर तथा आकर्षक स्थान रहेछ।हामी जाँदा मौसम अनुकूल नभए पनि फर्कने दिन मौसम ज्यादै खुलेकोले सगरमाथा लगाएत धेरै हिम श्रृख्लाको प्रत्यक्ष दृष्याबलोकन गर्न पाउँदा रोमान्चित तथा हर्ष विभोर भएका थियौ।
सिमसिमे पानी र वादलले छोपेको हिमाल पहाडका वस्तीहरु पार गर्दै हामी सल्लेरी सदरमुकाम नजिकै रहेको नेले वजारका प्रतिष्ठित व्यक्तित्व पर्शुराम बस्नेत तथा कल्पना बस्नेतका जेष्ठ सुपुत्र मनोज वस्नेत तथा सुस्ता बस्नेतको एउटा वैवाहिक कार्यक्रमको भोजमा सहभागी भयौ। स्थानिय संस्कृतीक परम्परा लाई आत्मसात गर्दै गरिएको उक्त वैवाहिक कार्यकममा नेले गाँउ तथा आसपासका सवै इस्ट मित्रहरुले व्याउला र व्याउली लाई आशिर्वाद दिदै एक आपसमा खुसी साट्दै खानपिनमा रमाई रहेका थिए िहाम्रो लक्ष्य उत्त कार्यक्रममा उपस्थिती तथा एउटा पर्यटकिय क्षेत्रको भ्रमण रहेकोले नजिकै रहेको सल्लेरी वजार तिर लाग्यौ िपहाडको काखमा हिमाललाई हेरेर मुस्कुराई रहेको सल्लेरी वजार हेर्दा सारै सुन्दर देखिन्थ्यो। तेहि माथि नजिकै रहेको फाप्लु बजार पुग्दा त्यहाँ हामीलाई नियाली रहेका दुधकुन्ड र नोर्बु हिमाल संग जोडियर तस्विर नलिएर हामी अघाडी बढनै सकेनौ । संगै रहेको फाप्लु एयरपोर्टेको डिल बाटै देखिने प्राकृतिक सौन्दर्यता को प्यास मेटदै हामी वैवाहिक कार्यक्रमको रमाईलो मेटन पुनः नेले वजार पुगेर उक्त दिनको विश्राम लिएका थियौ।
अघिल्लो दिन वादलले ढाकिएको आकास विहान खुल्दा वैशाखको महिनामा पनि बाहिरी तापक्रम चिसो थियो।हाम्रो वास वस्ने महेन्द्र श्रेष्ठ दम्पतीको घरमा विहान आगो ताप्दै चियाको चुस्कि लिएर विदावारी भई हामी पत्ताले डाँडा को दृष्यावलोकन तिर दौडिएका थियौ।विहान अबेर हुदाँ हिम शृखलाहरु वादलले छोप्ने दृष्याबलोकन गर्न नसकिने भएकोले हामी विहानै नेलेबाट निस्केका थियौ। यसै बिच हाम्रो यात्राको समयलाई सदुपयोग गर्दै पत्ताले बाट दृष्यावलोकन पश्चात ओखलढुङ्गा हुदै घुर्मी वाट अलिकति पूर्वतर्फ डाईभर्ट भएर हामी खोटाङ् जिल्लामा पर्ने देशकै प्रसिद्ध धार्मिक स्थल हलेसी महादेवको दर्शन गर्न जाने निश्चय गर्यौ र सोही प्लान अनुसार ओखलढुङ्गगा बाट सगरमाथा हाईवे हुँदै अघाडी बढ्यौ र घुर्मी पुग्नु भन्दा करिव ६(७ किमी अघाडी हिलेपानी वाट दुधकोशी नदी पार गर्दै मध्य पहाडी लोकमार्गको ४० किमी को यात्रा तय गरि हामी खोटाङ् जिल्लामा अवस्थित हलेशी महादेवको दर्शन गर्ने अवसर प्राप्त गर्यौ।
वास्तवमा हलेशी महादेवको मन्दिर एउटा गुफामा रहेछ र त्यहाँ अन्य देवी देवतामा मन्दिरका अलावा धेरै गुफाहरु रहेछन।यहाँ पुग्दा एउटा साक्षात भगवानको घरमा आईपुगेको अनुभूती हुँदो रहेछ। हिन्दू बौद्ध तथा किरातहरुको विश्वास तथा आस्था रहेको यस हलेसी महादेवको उत्पत्ति वारे धेरै किम्बदन्तीहरु रहेका छन। यस बारे शिवपुराण तथा अन्य पौराणिक कथाहरुमा उल्लेख गरिएको छ। भष्माशुर राक्षसले तपस्या गरि शिवजी बाट प्राप्त गरेको वरदानले स्वयं शिवजीलाई भष्म गर्न खोज्दा शिवजी भागेर लुक्न आएको स्थानमा शिव भगवान्को बास रहेको छ भनि हलेसी महादेवको स्थापना भएको भनि पौराणिक कथाहरुमा उल्लेख गरेको पाइन्छ।ऐतिहासीक, धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्र र भौगोलिक अवस्थाको आधारमा समेत हेलेसी भ्रमण नेपालको एक पटक पुग्नै पर्ने स्थान रहेको हामीले महसुस गर्यौ।हलेसी महादेवको दर्शनपछि मन आध्यात्मिक भावना बोकेर पुनः लोकमार्ग हुदै हिलेपनी, हर्कपुर, घुर्मी पुगेका थियौ। घुर्मी बाट पुनः खुर्कोट, मुल्कोट, नेपालथोक, मंगलटार, भकुन्डेवेसी, धुलिखेल हुदै काठमाण्डौ( सल्लेरीको तिन दिने यात्रालाई यहि विट मारेका थियौ। हाम्रो यात्रामा साथ दिने श्रीमती शीला,छोरा विधान, नाती रूपेश तथा छोरा विधानमा साथीहरु विराट, अप्पु तथा हिना थिए जस्ले हाम्रो यात्रालाई थप स्मरण योग्य बनाएका थिए।
यसरी विभिन्न देश विदेशका ठूला ठूला शहर विल्डीङहरु, हवाई तथा शामुद्रिक यात्राहरू जस्तै पेरिसको आईफेल टावर देखि दुवईको बुर्ज खलिफा सम्म र अमेरिकाको नियग्राफल्स देखि चाईनाको ग्रेटवाल होस वा ग्रिसको नभाजियो सामुद्रिक किनारा होस जहाँ घुमे पनि आफ्नो देशको प्राकृतिक सुन्दरता, ऐतिहासिक स्थल, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानहरुको यात्रा आफैमा मनोरन्जक तथा गौरबमय हुँदो रहेछ। यस्ता यात्राका सामान्य कठिनाई तथा असहजता समेत भ्रमणको स्मरण हुने रहेछ। केहि समय अघाडी सोलुखुम्बु सम्मको पिचवाटो कल्पना गर्न गाह्रो थियो अहिले काठमाण्डौ देखि सल्लेरी वजार आफ्नै गाडीमा १० घंटामा पुग्न सकिन्छ। वाटोमा राम्रा राम्रा होटलहरू, रिसोर्टहरु तथा विश्राम स्थलहरु खुलेका छन। यसर्थ स्वदेशका पर्यटकिय स्थलहरुको भ्रमण गरौ आन्तरिक आयश्रोत बृद्धि गराऔ र नेपाल र नेपाली प्रति गौरब गरौ।स्वदेशमा हाम्रा यस्ता अनगिन्ती प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेका स्थानहरु छन् तिनको संरक्षण गरौ सम्बर्धन गरौ त्यस्ता स्थानहरू सम्म पुग्न सहज बनाऔ र थप आकर्षणहरू खोजि गरौ र विश्वमा नेपाललाई पर्यटकीय आकर्षक गतव्यको देश भनेर चिनाऔ र त्यो भन्दा पहिले हाम्रो देशका यस्ता गन्तव्यहरुको हामी आफै खोजि गर्दै आन्तरिक पर्यटक भएर भ्रमण गरौ।
धन्यवाद
विनोद पोख्रेल
तुल्सिपुर उप म न पा – १८, विजौरी
हाल: काठमाण्डौ