माधव नेपाललाई फालेपछि मात्रै एमाले बलियो हुन्छः कृपासुर शेर्पा, पूर्व मन्त्री एवं एमाले नेता

माधव नेपाललाई फालेपछि मात्रै एमाले बलियो हुन्छः कृपासुर शेर्पा, पूर्व मन्त्री एवं एमाले नेता

  • बिहिबार, चैत्र १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

एमाले भित्र अहिले माधव नेपाल सहित सो पक्षका नेताहरुलाई धमाधम कार्बाही गर्ने क्रम बढेको छ । यसले एमाले भित्रको विवादले नयाँ रुप लिँदै गएको छ । ओली समुहले नेपाल, भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे लगायतकालाई कार्बाही गरीसकेको छ । अर्कोतिर नेपाल समुह पनि समानान्तर कमिटि बनाउने कार्यमा अघि बढीरहेको छैन । यसरी नेकपा एमाले सर्वोच्चले पुनस्थापित गरिदिए पनि आन्तरीक द्धन्दको शिकार हुनुको कारण के हो ? यस विषयमा केन्द्रीत रहेर एमाले ओली निकट मानिने नेता कृपासुर शेर्पासँग मिर्मिरे अनलाईनका लागि सिर्जना तिम्सिनाले गरेको कुराकानीको मुख्य अंशः

माधव नेपाल लगायतका नेतालाई कार्बाही नै गरे पछि एमाले भित्रको विवाद के हुन्छ ?

नेकपा एमालेको आफ्नै विधि विधान छ । यसलाई जुनसुकै नेताले अवलम्वन गर्नु पर्ने हुन्छ । यसलाई नमान्ने जो सुकैलाई कार्बाही हुन्छ , त्यसै अनुसार कार्बाही भएको हो उहाँहरुमाथि पनि ।
स्वभाविक रुपमा ठूलो पार्टीमा क्रिया प्रतिकृया र अन्तरक्रिया हुन सक्छ । तर आत्मकेन्द्रीत कुराहरुलाई नेतृत्व पक्तिबाटै बढी उठाईएको हुनाले उहाँहरुलाई स्पष्टीकरण सोधिएको हो । तर त्यसमा जे विषयमा सोधिएको त्यो भन्दा फरक उल्टै प्रश्न गरिए पछि उहाँहरुलाई विधान बमोजिम कार्बाही गरिएको हो ।

के माधव नेपालले पार्टी र देश बिरुद्ध अपराध नै गरेका हुन् त ओलीले भने जस्तो ?

करोडौ सुभेच्छुक जनता, कार्यकर्ताको भावना विपरीत हातै धोएर नेता नै लाग्छन् भने त्यस्तो नेतृत्व किन चाहियो ? विधान नीत रणनीति, कार्यदिशाको पक्षपोषण गर्ने नेतृत्व हामीले खोजेको हो ।
यसले एमाले त थप संकटमा पर्यो नि ?
पर्दैन । यो समुन्द्र जस्तो पार्टी हो । कसैले दुई चार घैला पानी झिक्दैमा त्यसको सतह पनि घट्दैन, बेग पनि रोकिदैन । आफूले भने जस्तो नभए पछि केही मान्छे दाँया बाया लाग्छन् तर मुलधार रहन्छ । जनता, राष्ट्रिय स्वाधनीताको पक्षमा मुल पक्ति हिडिरन्छ ।

अघिल्लो निर्वाचनमा जस्तो अब आउने निर्वाचनमा बहुमत या दुई तिहाई भन्ने कुरा त सोँच्न सकिन्छ ?
जनता सचेत छ । आम नागरिक अहिले एमालेको पक्षमा छ । हामी अझै बहुमत ल्याउछौ । अहिलेको जस्तो ६४ प्रतिशत मत नआउला तर सबै भन्दा ठुलो पार्टी भएर सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने गरी सरकार बनाएर एमाले अघि बढ्छ । पार्टीलाई धराशायी गर्ने गरी नेतृत्व दाँया बाँया लाग्दैमा हाम्रो जग कमजोर हुँदैन । सामाजिक न्याय स्थापित गर्ने कुरामा पार्टी दृढ छ । कोही दाँया बाँया लाग्दैमा केही फरक पर्दैन । अब चुनाव चाँडो हुनु पर्छ मेरो भनाई यही हो ।
अहिले यो विवाद सम्म आउनुमा अध्यक्ष एवं प्रधानमन्त्री ओली पनि जिम्मेवार छन् नि हैन र ?
यदी त्यस्तो थियो भने बस्तुनिष्ठ ढंगले छलफल गरेर सामना गर्नु पर्यो नि । चौबाटोमा बसेर, पार्टी प्यालेसमा बसेर छलफल गर्ने ठाँउ हो ? कि केपी ओलीले उहाँहरुलाई घर घरमा रेड कार्पेट विच्छ्याउनु पर्ने हो र ? यस्तो नेतृत्व रहनु भन्दा कार्बाही गरेको वा उनीहरु आफै हटेकै राम्रो । पार्टीको बैठकको सूचना गरे पछि आउनु पर्यो । महासचिवले बोलाएको बैठकमा आउनु पर्यो नि माधव नेपाल जस्तो ईतिहास बोकेको मान्छे । अभागीलाई खाने बेला रिस उठ्छ भने जस्तो अहिले सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा गर्नु पर्ने बेलामा निहुँ खोजिरहेका छन् ।

र्वोच्चको आदेश पछि पुरानै एमाले र माओवादी व्युतिए पछि अध्यक्ष ओलीले माओवादी छाडेका केहीलाई च्याप्ने तर एमालेमा आएका नेतालाई जिम्मेवारी विहिन गर्ने र आफुखुसी निर्णय गरियो भन्ने माधव पक्षको कुरा छ नि त ?
यो गलत तर्क हो । उहाँहरु आफै आउनु पर्छ नि । आउदै नआएको, गलत ढंगले हिँडेको मान्छेलाई कसरी जिम्मेवारी दिने ? पार्टीको ईतिहासलाई खरानी बनाउने, धराशायी बनाउने तिर उहाँहरु लाग्नु भएन नि । आफ्नो सबै ठीक अरुको बेठीक भन्ने कुरा हुन्छ । जनता कार्यकर्ता आस्थाले टिकेका छन् त्यस्तो मान्छे चिन्नु पर्यो नि ? आफ्नै हनुमानभक्तलाई मात्रै चिन्ने ? त्यस कारण समस्या उहाँहरु आफै हो ।
उहाँहरुले बोलेको दीपवाणी हुने अनि हामीले बोलेको चाँही हावा कुरा हुने ? समर्थक शुभ चिन्तकलाई हामीलाई देखे पछि शीर झुकाउने अवस्था उहाँहरुले बनाउनु भयो । त्यस कारण यस्ता कुरा कर्कट पालेर पार्टी बन्दैन । पार्टीमा यस्ता गलत हर्कत गर्ने मान्छेहरुलाई हटाएर अघि बढ्नु पर्छ ।
एमाले र माओवादी केन्द्र फेरी एक होला ?
असंभव केही छैन । तर माओवादी सुध्रिनु पर्यो । हिजोको १० वर्षको चरित्र जस्तै सोचेर हुँदैन । उहाँहरु नेपाली नागरिकको निर्देशन बोकेर हिँड्नु पर्यो । गैर नेपाली नागरिकहरुको नेपालप्रतिको गलत स्वार्थ बोकेर उहाँहरु हिँडिरहनु भएको छ ।

भनेको विदेशी ईशारामा उनीहरु चलेका छन् भन्न खोज्नु भएको हो ? त्यो कसरी आफू नमिल्ने अनि विदेशीलाई दोष दिने ?
हो, उहाँहरु विदेशीको ईशारामा हिँडिरहनु भएको छ । आज भन्दा दश बाह्र वर्ष अघि नै एमालेलाई ध्वस्त गराउने योजना अन्तर्गत एकीकरण हुन्छ भनेर लेखिएको थियो । माओवादी कहाँबाट उत्पत्ति भएको हो ? नेपालमा जनता लडाउने आफू भारतको फाईभ स्टार होटलमा बस्ने यो समस्या हो । अब धरातलीय यथार्थतालाई विर्सनु भएन । विदेशीको एजेण्डा बोकेर हिँड्ने ? देशको विकास हुनु पर्छ । त्यो भयो भने शान्ति स्थापना हुन्छ । उहाँ ( प्रचण्ड माधव ) ले जे जे भन्यो त्यही त्यही हुनु पर्ने ?

तपाई भोजपुरको पनि नेता पर्यटन मन्त्री पनि भईसकेको मान्छे, अब बिकासको कुरा गरौँ नेपालको पर्यटन क्षेत्र नै विकास हुन सकेको देखिदैन के कारण हो ?
यसमा सरकारको दीर्घकालीन नीति नभएका कारण मान्छेले लगानी गर्न खोजिरहेका छैनन् । मान्छेले पैसा होटलमा खाएर खुवाएर खर्च गरीरहेका छन् । सरकारको दीर्घकालीन नीति छैन । सय वटा प्रमुख पर्यटकीय गन्तव्य तोकेको छ सरकारले त्यसका लागि पूर्वाधार के ? यहाँ १० लाख, २० लाख पर्यटक पुर्याउने लक्ष्य राखिन्छ तर कसरी भन्ने कुरा छैन । कृषि पछिको अर्थतन्त्रको मुख्य मेरुदण्ड पर्यटन हो । सरकारको सही र दीर्घकालीन नीति नभएका कारण नै लगानी गर्नै समस्या भएको छ मान्छेलाई । म करीब १६ पटक चीन पुगे त्यति धेरै विदेशी पर्यटक देखिन । त्याहाँ धेरै जसो आन्तरीक पर्यटकले धानेको देखे ।

सरकारले के के चाँही गर्नु पर्ला त ?
पर्यटनको क्षेत्रमा लगानी प्रवद्र्धनको दीर्घकालीन नीति लिनु पर्दछ । जस्तो जलविद्युतमा १५ वर्ष सम्म ट्याक्स होलिडे छ । त्यसो हुँदा मान्छेले त्याहाँ लगानी गरीरहेको छ । पर्यटन क्षेत्रमा पनि ५ देखि १० वर्ष सम्म ट्याक्स होलिडे दिनु पर्छ । आमदानी करमा निश्चित समय छुट दिनु पर्छ । त्यसो भयो भने यो क्षेत्रमा मान्छेले लगानी गर्छ । पर्यटन क्षेत्रमा अनुशासन पनि छैन । नेपालको हिमालय क्षेत्रमा अमेरीका, भारत जस्ता ठाँउबाट हेर्न सकिने शक्तिशाली लेन्सहरु राखिएको छ भन्ने छ । यसले नेपालको राष्ट्रियता के हुन्छ ? यसमा ख्याल गर्नु पर्छ ।
त्यस्तै नेपाल वायु सेवा निगम कसरी धराशायी भयो ? यो राजनीतिक हस्तक्षेपका कारण त्यस्तो भएको हो । सिंगापुर, थाईल्याण्डसँगै शुरु भएको नेपाल एयरलाईन्स किन धराशायी बन्यो ? जब कि यसले ग्राउण्ड ह्याण्डलीगंबाट मात्रै बार्षिक ३ अर्ब रुपैया कमाउछ तर पनि किन यस्तो ?
हाम्रोमा प्रचुर संभावना छ । हिमालदेखि तराईसम्म राम्रो संभावना छ । हाम्रो संस्कृति उत्पादन छ । हाम्रो उत्पादनको पेटेन्ट राईट बनाउन सकिएको छैन । यो निकै समस्या छ । पर्यटन प्रवद्र्धनका लागि सुरक्षा, पूर्वाधार नीति सबै कुराको आवस्यकता छ ।

भोजपुरको विकासका लागि तपाईका योजना के के छन् ?

मेरो नीति भनेको चार स हो अर्थात शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी र सडक हो । जिल्लाका सबै नागरिकलाई बाटो बाह्रै मास चल्न सक्ने गरी बनाउने, सबै जनताले शुद्ध पिउने पानीको सुविधा पाउने, स्वास्थ्यको सुविधा पनि राम्रो पुर्याउने कामका लागि म लागिरहेको छु । सरकारले लगानी गर्न नसकेको स्थानमा विदेशी सहायता लिएर पनि सहयोग पुर्याउने काममा म लागिरहेको छु । अकालमै मान्छेको मृत्यु नहोस् भनेर पनि त्यो सुविधा पुर्याउन हामी लागिरहेका छौँ । मैले दुई जना मान्छे अकालमा मरेको मैले देखे । राज्य पक्षबाट चलेको गोली लागेका मान्छेलाई जिल्लामा उपचार नपाउदा धरान लैजादै गर्दा बाटोमै मृत्यु भयो । यो पनि स्वास्थ्य सुविधाकै अभावमा भयो । राम्रो अस्पताल भएको भए, ब्लड बैंक भएको भए तत्काल उपचार हुन्थ्यो ती मानिस मर्ने थिएनन् ।
त्यसै गरी जिल्लामा महिलाहरुको आगं खस्ने समस्या छ लाजले महिलाहरु भन्दैनन् । यस्ता थुप्रै समस्या छन् । त्यसैले गाईनो, हाडजोर्नी जस्ता खास समस्याका बिशेषज्ञ सेवा पुर्याउनु पर्ने अवस्था छ । हेलिकप्टरबाट बिरामीको उद्धार गर्नु पर्ने थिएन । म जाति पनि हेर्दिन, पार्टी पनि हेर्दिन विकासमा सबै तिर लागिरहेको छु ।

के तपाई अब आउने निर्वाचनमा भोजपुरबाट उम्मेद्धार हुने योजना छ कि छैन ?

राजनीति गर्नु भनेको घाम तापेर बस्नु त हैन । जनतासँग जोडिने, संगठनको व्यवस्थापन गर्ने, साथीहरुको समस्यामा सहयोग गर्ने काममा लाग्नु पर्छ । धानको खेती गर्दा पराल पनि आउछ नि । पार्टीले जिम्मेवारी दियो भने यो स्वभाविक छ । बाँचुञ्जेल एमालेको झण्डा बोकिरहने हो । मलाई नै चाहिन्छ भन्ने घमण्ड छैन । तर आवस्यकता पर्यो भने पार्टीले जिम्मेवारी दियो भने अघि बढीन्छ ।

भिडियो हेर्नुहोस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी