नेपालको लागि रासायनिक मलको उत्तम विकल्प प्राङ्गारिक खेती प्रणाली

नेपालको लागि रासायनिक मलको उत्तम विकल्प प्राङ्गारिक खेती प्रणाली

  • शनिबार, भदौ २०, २०७७
  • -बासुदेव नाथ

  • 49.6K
    SHARES

प्रस्तुत फोटोमा कोरनाको माहामारी (COVID-19) मा समेत ज्यानको प्रवाह नै नगरी युरिया मल खरिद गर्नको लागि निकै ठुलो भिड रहेको कुरा फोटोबाट नै छर्लङ्ग भएको छ । नेपाल कृषि प्रधान देश भएपनि यहाँ रासायनिक मलको लागि पूर्ण परनिर्भरता रहेको छ ।यहाँ वर्षेनी करिव ७ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहेको भएपनि आधा हिस्सामात्र आपूर्ति हुदै आएको थियो । यस वर्ष कोरनाको महामारीले र मल खरिद तथा ढुवानीको लागि सरकारी प्रकृयागत ढिलासुस्ति तथा ठेकेदारको लापर्वाहीले गर्दा समयमै मल उपलब्ध हुन सकेको छैन ।राष्ट्रिय मल नीति, २०५८ अनुसार रासायनिक मलको सम्भाव्य खपतको करिव २० प्रतिशत परिमाण जगेडा हुनु पर्ने व्यवस्था रहेको छ । यस वर्ष विगतका वर्षहरुको तुलनामा सबै वर्ष भन्दा छिटो रोपाई सम्पन्न भएको थियो । सामान्यतया कृषकहरुले धान रोपेको २ हप्तापछि युरिया मल छर्ने गर्दछन । यस वर्ष निकै ढिला भई सकेको छ ।
हरेक वर्ष रासायनिक मलमा घोटला भएको समाचार सुन्नमा आउछ ।रासायनिक मलमा हुने कमिशनको खेलले नै प्राङ्गारिक खेती प्रणालीलाई प्रवर्द्धन गर्ने नसकेको कुरालाई सजिलै अनुमान गर्न सकिन्छ । भने अर्को तिर सधैं कृषकहरुले समयमा मल नपाउने नियमित नै भई सकेको छ ।यो यस वर्षको समस्या भने पक्कै पनि होइन । यो वर्षौं देखिको पुरानो समस्या हो । अव अवश्य पनि रासायनिक मलको विकल्पहरुको प्रयोग गर्न ढिलाइ गर्नु हुदैन ।माथि फोटोमा देखिएको भिडले कृषकको समय, श्रम, शक्ति, पैसाको नष्ट मात्र गरेको नभई त्यसले मानव तथा माटो समेतलाई अस्वस्थ्य बनाएको छ भन्ने कुरा समेत हामी सबैलाई राम्ररी नै थाहा नभएको भने अवश्य पनि होइन । नेपालमा रासायनिक मल कारखाना छैन पनि तत्कालै संभावना पनि छैन । अर्को तिर आफुखानको लागि सबैले प्राङ्गरिक उत्पादन नै रोज्ने गरेको पाइन्छ ।सबै भन्दा बढी मलको आवश्यकता धान र गहुँ बालीको लागि नै देखिन्छ ।जहिले पनि धान रोप्ने समय देखि नै रासायनिक मलको बारेमा व्यापक रुपमा चर्चा परिचर्चाहरु चल्ने गर्दछन ।किसानहरुलाई पनि समयमा मल पाइने वाला छैन भन्नेकुरा राम्ररी थाहा नभएको होइन ।प्रस्तुत फोटोमा देखिएको भिडलाई सम्बोधन गर्नको लागि समेत दिगो समाधानको खोजी गर्नु अपरिहार्य छ ।त्यसको लागि वर्तमान अवस्थालाई विश्लेषण गर्दा प्राङ्गारिक खेती प्रणाली अवलम्वन गर्नु बलियो आधार हुन सक्दछ भन्ने कुरालाई नकार्न सकिदैन ।यो समस्या नित्यान्त नयाँ समस्या नभई गत विगतका समस्याहरुको निरन्तरता तथा सरोकारवालाहरु कृषकको समस्याप्रति सम्वेदनशील नभएर उब्जेको समस्या हो यसको क्रमभङ्गता आजको आवश्यकता हो भन्ने कुरामा दुईमत छैन।
प्राङ्गारिक खेती प्रणाली
१. परिचय
प्राङ्गारिक खेती प्रणाली एउटा समग्र पद्धति हो ।यसले कृषि प्रर्यावरणीय प्रणालीको स्वास्थ्य प्रवर्द्धन गर्दछ । यसमा जैविक विविधता संरक्षण, जैविक चक्रको अवस्था र माटोको जैविक क्रियाकलापहरु पर्दछन् । यस पद्धतिले रासायनिक पदार्थहरु जस्तै: मल, विषादी र अन्य पदार्थहरुको प्रयोग विना स्थानीय ज्ञान, सीप र प्रविधिको प्रयोगलाई प्रोत्साहन गरी जैविक, भौतिक, साँस्कृतिक प्रविधिहरु र प्रकृयाहरुको प्रयोग गरी कृषि उत्पादनलाई दिगो बनाउन जोड दिन्छ । यदि रासायनिक मल, विषादी, भेटेरिनरी औषधि वा भेटेरिनरी विषादी प्रयोग नगरी पशुपालन, पन्छीपालन, विरुवा वा फलफूल उत्पादन वा अन्न उत्पादन गरिन्छ भने त्यस किसिमको खेतीलाई प्रङ्गारिक खेती भनिन्छ ।यी चीजहरु वा तत्वहरुले जनस्वास्थ्य, पशुस्वास्थ्य र वनस्पति स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्दछन । नेपालमा प्राङ्गारिक खेती प्रणाली (Organic Farming System) कहिले देखि शुरु गरिएको भन्ने एकिन नभए पनि यो रापूर्वकाल देखि चलिआएको हो भन्न सकिन्छ ।सन १९७० को दशक पछि विभिन्न किसिमका भेटेरिनरी औषधि केमिकल्स र विषादी रसायनिक मलहरु भित्रिने क्रम बढेको पाइन्छ ।सन १९९५मा विश्व व्यापार संगठन (World Trade Organization -WTO)को स्थापना भए पछि विभिन्न देशमा अनुसन्धान कार्यभई औषधि, केमिकल्स र विषादीहरुमा रोक लग्दै गयो ।सन १९९८ पछि भेटेरिनरी क्षेत्रमा प्रयोग हुने धेरै औषधि केमिकल्स र विषादिमा प्रतिबन्ध लगाईयो ।सन २००६ जनवरी १ तारिखदेखि युरोपेली मुलुकहरुले खाद्य जनावरमा (Food animals) विभिन्न किसिमका एन्टिबायोटिक्स प्रयोग गर्न प्रतिबन्ध लगायो । २०६४ साल देखि नेपालमा जुम्ला जिल्लालाई प्राङ्गारिक कृषि खेती गर्ने कार्यक्रम अघि सारेको छ । हाल कर्णाली प्रदेशलाई प्राङ्गारिक उत्पादन प्रदेश घोषणा गरी प्राङ्गारिक खेती प्रणालीको शुरुवात भएको छ ।
२. प्राङ्गारिक खेती गर्नुको उद्देश्यहरु
 सुरक्षित तथा उच्चस्तरीय खाद्य पदार्थ उत्पादन गर्ने ।
 जैविक विविधतालाई यथावत राख्ने ।
 असल पशुस्वास्थ्यको विकास गर्ने ।
 कालान्तरमा माटोको उर्वराशक्ति क्षय हुन नदिई जैविक कृयाकलाप कायम राख्ने ।

३.महत्व

 यसले समग्र उत्पादन प्रणालीलाई जैविक विविधता उन्मुख गराउदछ ।
 उत्पादित वस्तुको उत्पादन लागत कम हुन्छ ।
 स्थानीय तथा प्रम्परागत प्रविधिहरुको संरक्षण तथा सम्वर्द्धन हुन्छ ।
 माटोको जैविक क्रियाकलापलाई वृद्धि गर्दछ ।
 मित्रजीवहरुको संरक्षण गर्दछ ।
 हावा, पानी र माटोलाई स्वस्थ राख्दछ ।
 बाली चक्र, कोशेबाली, गोठे मल, हरियोमललाई बाली प्रणालीको अभिन्न अंगको रुपमा लिई खेती गरिन्छ ।
 दीर्घकालीन रुपमा माटोको उर्वराशक्तिलाई कायम राख्दछ ।
 वनस्पति र पशुपन्छीको अवशेषहरुलाई कुहाएर पुन: प्रयोग गर्दै खाद्यतत्वको आपूर्ति गर्दछ ।
 कम्पोष्ट मल अत्यधिक प्रयोग हुन्छ ।
 रोग किरा नियन्त्रणकालागि प्राकृतिक वनस्पति तथा जैविक बिषादी प्रयोग हुन्छ ।
 जैविक, भौतिक र कृषिगत तरिकाले झारपात नियन्त्रण हुन्छ ।
 माटोको अवस्था अनुसार शुन्य खनजोत, न्यूनतम खनजोतर उचित खनजोत तरिका अपनाईन्छन् ।
 स्थानीय स्रोत साधनको समुचित प्रयोग गरी वातावरण संरक्षणमा सहयोग पुग्दछ ।
 खाद्यवस्तुको गुणस्तरीय मापदण्ड कायम राख्न सहयोग पुग्दछ ।
 प्राङ्गारिक उत्पादनका खाद्यवस्तुहरुले जनस्वास्थमा सकारात्मक प्रभाव पार्दछ ।
 अप्राङ्गारिक भन्दा प्राङ्गारिक खाद्यवस्तुले बढी मूल्य पाउछ ।
 प्राङ्गारिक उत्पादित खाद्यवस्तु पोषिलो स्वादिलो र स्वास्थवर्द्धक हुने भएकोले उपभोक्ताहरुको प्राथमिकतामा पर्दछ ।
 बजारको समस्या कम हुन्छ ।

४. प्राङ्गारिक खेती प्रणालीमा अपनाईने प्रविधि
 जैविक विविधताको व्यवस्थापन गर्ने ।
 विशेषगरी स्थानीय बाली र तिनका जातको प्रयोग गर्ने ।
 रासायनिक मल र विषादीको प्रयोग नगर्ने ।
 प्राङ्गारिक मल र खाद्यतत्वहरुको व्यवस्थापन गर्ने ।
 पर्यावरणीय शत्रुजीव व्यवस्थापनका प्रविधिहरुको प्रयोग गर्ने ।
 माटो व्यवस्थापनको लागि प्राङ्गारिक स्रोतको प्रयोग गर्ने ।
 माटोमा जैविक कृयाकलापहरु सकृय गराई माटोको उर्वराशक्ति कायम राख्ने ।
 वनस्पतिक र प्राणीजन्य फोहरलाई पुन: प्रयोगमा ल्याउने ।
५. प्राङ्गारिक खेतीका संभावनाहरु
 प्रयाप्त मात्रामा प्राङ्गारिक पदार्थको उपलब्धता हुनु ।
 परम्परागत देखि नै नेपालको पहाड र हिमाली क्षेत्रमा प्राङ्गारिक खेती गरिदै आउनु ।
 शहरी क्षेत्रको विकास र विस्तार हुनुको साथै प्राङ्गारिक उत्पादनको मागमा वृद्धि हुनु ।
 प्रति व्यक्ति आय आर्जनमा वृद्धि हुनु ।
 प्राङ्गारिक उत्पादन प्रति उपभोक्ताहरु आकर्षित हुनु ।
 प्राङ्गारिक मल सबै ठाउँमा उत्पादन गर्न सकिने ।
 कौशी खेतीमा प्राङ्गरिक खेती शुरु गर्न सकिने ।
 प्राङ्गारिक उत्पादनको उच्च मुल्य बिक्री हुन सक्ने ।
 प्राङ्गारिक उत्पादन विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हुन सक्ने ।
 रासायनिक मल सजिलैसँग उपलब्ध नभएर प्राङ्गारिक खेती नै गर्नु पर्ने हुनु ।
 मानव र माटोलाई स्वस्थ्य राख्ने उचित वातावरण तयार हुने ।

६. प्राङ्गारिक खेतीका चुनौतिहरु

 उत्पादन र उत्पादकत्व घट्न सक्ने ।
 श्रम र सीपमा बढी समय लाग्ने ।
 उत्पादन लागत बढ्न सक्ने ।
 उच्च गुणस्तर कायम राख्न कठिनाई हुन सक्ने ।
 सबै उपभोक्ताहरुले प्राङ्गारिक उत्पादन उपभोग गर्ने आर्थिक हैसियत नहुनु।
 विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नु पर्ने ।
 पूर्णरुपमा प्राङ्गारिक प्रणाली अपनाउनको लागि ३ वर्षसम्मको समयावधि लाग्ने भएकोले साना तथा मझौला किसानहरुको लागि अनुकुल हुन नसक्ने ।
 साना तथा मझौला किसानहरुको बाहुल्यता भएकोले सबै किसानहरुलाई समेट्न कठिन हुन सक्ने ।
 सरकारी नीति तथा कार्यक्रम प्राङ्गारिक खेती प्रणाली मैत्री बनाउन नसिकएको।
 प्राङ्गरिक मल उत्पादन गर्ने विधि झन्झटिलो तथा बढी समय लाग्ने हुनु ।
 प्राङ्गारिक खेती प्रमाणिकरणको लागि आवश्यक जनशक्ति तथा पुर्वाधारको अवस्था कमजोर हुनु।
७. रासायनिक मलको विकल्पमा प्रयोग गर्न सकिने प्रविधिहरु

१. भकारो सुधार गरी मल मुत्र संकलन तथा प्रयोग
गाईभैंसीलाई बाधिने ठाउँमा मुत्रलाई चुहेर जान नपाउने गरी गहुतलाई संरक्षण गर्न सकिने र गाई भैंसीलाई सजिलो हुने गरी तयार पारिने गोठको सुधारलाई भकारो सुधार भनिन्छ ।पशुवस्तुको मलमुत्र घाँसपातका अवशेषहरु तथा झारपातहरु स्याउला र सोतरलाई गोठको नजिकै बनाएको खाडल वा जमिनमा कुहाएर मल बनाइन्छ ।यसमा स्याउला सोत्तर नभएर गोबर र मुत्र मात्र पनि हुन्छ ।
गोबरको साथै मुत्रपनि जोगाउनु आवश्यक छ । गोबरको प्रयोग गरेपानि मुत्रको प्रयोग गर्ने प्रचलन छैन ।
गाईवस्तुको मल मुत्रमा नाइट्रोजन ०.८-१.० प्रतिशत, फस्फोरस ०.१-०.२प्रतिशत र पोटास ०.५-०.७ प्रतिशत पाइन्छ ।
पशुवस्तुको १ भाग गहुँतलाई ४-८ भाग पानीमा मिसाएर बाली विरुवामा स्प्रे वा छर्कन सकिन्छ।गोबर ग्याँसमा प्रयोग गर्दा ग्यास उत्पादन बढ्नुको साथै मलको गुणस्तरमा वृद्धि हुन्छ ।संकलित पिसाबको भाडोमा अमिलो, टर्रो, तितो, पिरो हुने वनस्पतिहरु जस्तै: सिस्नु, तितेपाती, असुरो, बकाइनो, बनमारा, बोझो, केतुकी, सयपत्री आदि लाई २५ देखि ३५दिन सम्म कुहाएर बनाएको वनस्पतिक विषादीको झोललाई अवस्था अनुसार १ भागमा ५ देखि १० भाग पानी मिसाएर रोगकिरा नियन्त्रण गर्न सकिन्छ ।पशुको पिसाबमा पानी मिसाएर थोपा सिंचाई गरी युरिया मलको सट्टामा टपड्रेसिङ गर्न सकिन्छ ।
२. गोठे मल
पशुवस्तुको मलमुत्र घाँसपातका अवशेषहरु तथा झारपातहरु स्याउला र सोतरलाई गोठको नजिकै बनाएको खाडल वा जमिनमा कुहाएर बनाएको मललाई गोठे मल (Farmyard Manure) भनिन्छ ।यसमा स्याउला सोत्तर नभएर गोबर र मुत्र मात्र पनि हुन्छ ।यस मलमा नाइट्रोजन ०.५५ प्रतिशत, फस्फोरस ०.२८ र पोटास ०.५२ प्रतिशत पाइन्छ ।नेपालमा मलको प्रमुख श्रोत को रुपमा गोठेमल रहेको छ । गोठेमललाई राम्ररी बनाएको हुदैन । यसलाई राम्ररी कुहिन दिनु पर्छ ।राम्ररी नकुहिएको गोठे मलले खेतीपातिमा रोग किराको प्रकोप बढाउदछ ।

३.कम्पोष्ट मल

झारपात तथा बोट विरुवाको पात तथा कलिलो हाँगाहरु र पशुवस्तुको गोबर तथा मलमुत्रलाई कुहाएर तयार गरिएको प्राङ्गारिक मललाई नै कम्पोष्ट मल (Compost Manure) भनिन्छ ।यस मलमा नाइट्रोजन ०.५-१ प्रतिशत, फस्फोरस ०.४-०.८ प्रतिशत र पोटास ०.८-२ प्रतिशत पाइन्छ ।
४. सामुदायिक पशुहरुबाट प्राप्त हुने मल मुत्रको उपयोग
मानवको सभ्यता उनीहरुले पशुसँग गरेको व्यवहारले झल्काउदछ भन्दछन ।तर हामीकहाँ मुलुक भरी जहाँ पनि मोटरबाटो पुगेको ठाउँमा प्रमुख समस्या भनेको सामुदायिक पशुहरुलाई सडक पेटिमा छाडा तथा बेवारिसे रुपमा छोडेको देख्न पाइन्छ ।यिनीहरुको उचित व्यवस्थापन गरी खेतीपातीको लागि मल मुत्र संकलन तथा प्रयोग गरी रासायनिक मलको प्रतिस्थापन गर्न सकिन्छ । साथै सडक दुर्घटना र असभ्यताको समेत कलंकबाट मुक्ति पाउन मद्दत पुग्दछ ।

५. भेडाबाख्राको मल
भेडाबाख्रा पालनबाट निस्केको मलमा (जुत्तो/बडकौलो) पनि विरुवाको लागि महत्वपूर्ण पोषक तत्वहरु रहेको हुन्छ ।भेडाको मलमा नाइट्रोजन १.५१-३.०९ प्रतिशत, फस्फोरस १.०-२.५ प्रतिशत र पोटास ०.३३-२.२५ प्रतिशत र बाख्राको मलमा नाइट्रोजन १.३५ प्रतिशत, फस्फोरस १.० प्रतिशत र पोटास ३.० प्रतिशत पाइन्छ ।
६. कुखुराको मल
कुखुरापालन गर्दा प्रयोग गरेको सोत्तर कुखुराको लट विक्री गरे संगै सोत्तर पनि फेर्नु पर्ने भएकोले कुखुराको सुली सँगै सोत्तर मिसिएर कुखुराको मल ( Poultry Manure) तयार हुन्छ । यस मलमा नाइट्रोजन ४-७ प्रतिशत, फस्फोरस ३-५प्रतिशत र पोटास ३-५ प्रतिशत पाइन्छ ।
७. जीवाणु मल
राइजोवियम, एजोक्टोव्याक्टर जस्ता सुक्ष्म जिवाणु मलले कोशेवालीहरुको बीउ उपचार गर्दा उत्पादनमा वृद्धि हुन्छ ।कोशेबालीमा प्रशस्त मात्रामा गिर्खा लागेर वायुमण्डलमा रहेको नाइट्रोजनलाई अत्यधिक मात्रामा माटोमा स्थिरीकरण गरिन्छ । माटोमा भएका राइजोवियमहरुलाई वैज्ञानिक तरिकाले जात अनुसार छुट्याई प्रयोगशालामा कृत्रिम रुपमा वंश वृद्धि गराई जीवाणु मल तयार पारिन्छ ।
८. पिना मल
तेलबालीहरुबाट तेल निकालेर बाँकी रहेको छोक्रालाई पिना भनिन्छ ।पिना मल (Oil Cake Manure) खेती बालीको लागि राम्रो मलको स्रोत हो ।तिलको पिनामा नाइट्रोजन ६.२-६.५ प्रतिशत, फस्फोरस २.०-२.५ प्रतिशत र पोटास १.२-१.५ प्रतिशत, बदामको पिनामा नाइट्रोजन ७.३ प्रतिशत, फस्फोरस १.५ प्रतिशत र पोटास १.३ प्रतिशत तथा तोरीको पिनामा नाइट्रोजन ४.४-४.५ प्रतिशत, फस्फोरस १.५-१.६ प्रतिशत र पोटास १.०-१.६ प्रतिशत पाइन्छ भने यसै गरी सबै पिनामा बिरुवाको लागि आवश्यक पोषकतत्वहरु पाइन्छ ।
९. चर्पीको मल
मानिसले दिसा पिसाब गरेर चर्पीमा जम्मा भएको मल लाई चर्पीको मल (Night soil) भनिन्छ ।यस मलमा पनि बिरुवाको लागि आवश्यक खाद्य तत्वहरु उपलब्ध हुन्छ ।चर्पीको मलमा नाइट्रोजन १.२-१.५ प्रतिशत फस्फोरस ०.८-१.२ प्रतिशत र पोटास ०.५-२.६ प्रतिशत पाइन्छ ।

१०. शहरको फोहरमैला
शहरको फोहरमैला र नालाको मलमा पनि बिरुवाको लागि आवश्यक खाद्य तत्वहरु उपलब्ध हुन्छ । शहरको फोहरमैला (City waste compost) मा नाइट्रोजन ०.६-०.७ प्रतिशत, फस्फोरस ०.५-०.६ प्रतिशत र पोटास ०.७-०.८ प्रतिशत पाइन्छ ।
११. गड्यौला मल

विभिन्न खालका प्राङ्गारिक पदार्थहरुलाई विभिन्न खालका गड्यौलाहरुलाई खुवाएर उनिहरुको दिसाबाट तयार पारिएको कम्पोष्ट मललाई गड्यौला मल (Vermicompost Manure) भनिन्छ । यस मलमा नाइट्रोजन १.५५-२.२५ प्रतिशत, फस्फोरस१.८५-२.२५ प्रतिशत र पोटास समेत पाइन्छ ।


१२. हरियो मल खेती
यसको लागि कोशेवालीहरु धैंचा सनपाट बोडी मुङ इपिल
इपिल तिल आदिको बैशाख महिनामा धान लगाउने खेतमा
बीउ छर्ने र बीउ छरेको ६ हप्तामा खेतमा पानी संगै जोतेर
पल्टाउनु पर्दछ वा कोशेबली बाहेक असुरो, तितेपाती,
बनमारा, तारामण्डल, खिर्रो, सिरिस आदिको नरम
पातहरुलाई खेतमा हाली खोतेर पल्टाउनु पर्दछ ।एक डेढ
महिनामा यो मल राम्ररी गल्दछ । ढैंचामा नाइट्रोजन ४.०-
७.० प्रतिशत, फस्फोरस ०.०५३ प्रतिशत र पोटास ०.३४८ प्रतिशत पाइन्छ ।यस मलले रासायनिक मलको करिव ६० प्रतिशत खर्च कटौति हुन्छ ।

१३. एजोला मल
एजोला पानीमा स्वतन्त्ररुपमा तैरिने फर्न प्रजातिको Pteridophytes (Ferns and fern
allies).सालभिनिएसि परिवारको (Salviniaceae) हरियो बनस्पति हो । यो खासगरी प्रसस्त पानीभएको ठाउँ जस्तै : पोखरी, ताल तलैया, नाली, पानी जम्ने खेत, दबदबे जमिन
आदिमा पाइन्छ । अजोला छिटो बढ्ने वा कम समय लाग्ने , उत्पादन लागत मुल्य कम लाग्ने र
पोषक तत्व बढी भएको ले गर्दा æGreen Gold " नामले पनि चिनिन्छ । विश्वमा ७ प्रजातिका एजोला ( Azolla intertrappea, Azolla berryi, Azolla prisca, Azolla tertiaria, Azolla primaeva, Azolla boliviensis and Azolla pinnata ) पाइएता पनि नेपाल र भारतका विभिन्न ठाउँमा खासगरी एजोला पिनाटा (Azolla Pinnata) प्रजाति पाइन्छ ।यो नाइट्रोजनको स्रोत भएकोले धान खेतको लागि रासायनिक मलको उत्तम विकल्प हो ।यसमा नाइट्रोजन २.४-६.० प्रतिशत, फस्फोरस ०.५-१.५ प्रतिशत र पोटास १.३ प्रतिशत पाइन्छ ।
८.अन्तमा
हाम्रो देश रासायनिक मलको पूर्ण आयातमा निर्भर मुलुक भएकोले अव हाम्रो सामु सबै भन्दा उत्तम विकल्प प्राङ्गारिक खेती (Organic Farming) नै हो ।यसले नै मानव र माटोको स्वास्थ्यलाई स्वस्थ्य राख्न मद्दत पुग्ने छ । हरेक वर्ष रासायनिक मलको लागि झेल्नु परेको समस्या दिगो रुपमा समाधान हुन पुग्ने छ । प्राङ्गारिक खेती प्रणाली अवलम्वनबाट कृषकको समय, श्रम, शक्ति, धनको बचत हुने कुराको समेत सुनिश्चितता गर्दछ । रासायनिक मल नपाउने अनिश्चितताको पनि अन्त्य हुनजाने छ ।अवको दिनमा सरकारले प्राङ्गारिक मलहरुको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु स्थानीय तहमा व्यापक रुपममा सञ्चालन गर्नु पर्दछ ।माटो व्यवस्थापन निर्देशनालय हरिहरभवन मार्फत आर्थिक वर्ष २०६७/६८देखि
२०७१/७२सम्मको अवधिमा २८ वटा कम्पनिहरुलाई रकम रु ९,२३,१८,७४७/- प्राङ्गारिक मल उत्पादनको लागि मेशिनरी खरिदको लागि अनुदान दिएको देखिन्छ ।यसरी बिगतमा गरिएका कामको अनुगमन तथा मूल्याँकन गरी यस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउने नीति अवलम्वन गर्नु जरुरी छ। विगतका वर्षहरुमा झै सरकारले रासायनिक मलको आवश्यक मात्रामा कृषकहरुलाई उपलब्ध गराउने वातावरण नबनुन्जेलसम्मको लागि रासायनिक मलको उत्तम विकल्पको रुपमा प्राङ्गारिक खेती प्रणालीलाई अवलम्वन गर्नुको बिश्वसनीय
विकल्प देखिदैन। अव मुलुकलाई अर्गानिक नेपालको नामले पहिचान गरी उच्च मुल्यका प्राङ्गारिक उत्पादन तथा तिनको पहिचान गरी उचित मुल्य समेत पाउने ग्यारेन्टी गर्नु अपरिहार्य छ ।
सन्दर्भ ग्रन्थ :
 भण्डारी, डिलाराम,(२०६२/६३)प्राङ्गारिक कृषि, कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन,
ललितपुर
 जिसी, युवकध्वज (२०७४/७५)प्राङ्गारिक मल प्राङ्गारिक कृषि उत्पादनको बल, कृषि दैमासिक,
वर्ष ५४, अंक ३, कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन, ललितपुर
 घिमिरे, महेश्वर(२०७४ चैत्र/ बैशाख)नेपालमा प्राङ्गारिक कृषि, हरित अर्थतन्त्र दैमासिक पत्रिका,
वर्ष २, अंक६, २०७४ चैत्र/ बैशाख, डिल्लीबजार, काठमाडौं
 आचार्य, राजेन्द्र,(आसार -श्रावण २०७२)प्राङ्गारिकखेती र यसको महत्व एक संक्षिप्त परिचय,
दैमासिक कृषि वर्ष ५२, अंक २,कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन, ललितपुर
 बज्राचार्य, सानु केशरी,(फागुन -चैत्र २०६२)एजोला र यसको महत्व, दैमासिक कृषि वर्ष ४२, अंक
६,कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन, ललितपुर
 थापा, मनिता,(फागुन -चैत्र २०७२)नेपालमा प्राङ्गारिकमाल कारखाना स्थापनाका लागि दिइएको
अनुदानको विवरण, दैमासिक कृषि वर्ष ५२, अंक ६,कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन,
ललितपुर

 खनाल, विपिन,(मंसिर – फागुन २०७६)नेपालमा अर्गानिक खेतीको सम्भावना र चनौति, चौमासिक
कृषि वर्ष ५६, अंक २,कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन, ललितपुर
 पाण्डे, रामेश्वर सिंह,(मंसिर २०५१)नेपालमा पशु आहारा तथा चरन विकास, नेशनल फरेज एण्ड ग्रासल्याण्ड रिसर्च सेन्टर काठमाडौं, पृष्ठ ८४-९३
 असल अभ्यास, सुरक्षित खाद्य पदार्थ पत्तालगाउने क्षमता र प्राङ्गारिक खेती प्रणाली, पशु सेवा
विभाग, विश्व व्यापार संगठन, संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन नेपाल, प्रकाशक :
MTF/NEP/060/STF आयोजना, असार २०७६ (July 2010)
 कृषि सम्बन्धी नीति, ऐन, नियम र आदेशहरुको संगालो, (आषाढ २०६५) कृषि तथा सहकारी
मन्त्रालय, योजना माहाशाखा, कृषि तथा सहकारी नीति शाखा, सिंहदरबार, काठमाडौं, नेपाल

(लेखक राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुरमा पशु विका अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी