१.परिचय
यो रोग विशेष गरी गाईमा लाग्ने भए पनि भैंसीमा समेत देखा पर्दछ ।यो रोग भाईरसबाट लाग्ने सरुवा रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन । शुरुमा यो रोगको उत्पत्ति सन १९२९मा अफ्रिकी मुलुक जिम्बाबेमा भएको थियो । सन १९८८मा अफ्रिकी मुलुक साहारामा फैलियो र त्यसपछि इजिप्टमा देखा परेको थियो । सन २०१२ पछि यो रोग मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायतका मुलुक हुदै पूर्वतिर फैलिदै गयो ।सन २०१९ जुलाईमा बंगलादेश र चीन तथा सन २०१९ को अन्त्यतिर भारतमा देखिएको थियो ।नेपालमा यो रोग २०७७ आषाढ अन्तिम हप्तातिर देखा परेको थियो । नेपाल सरकार कृषि तथा पशु पन्छी विकास मन्त्रालय पशु सेवा विभाग अन्तरगतको केन्दीय पशुपन्छी रोग अन्वेक्षण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौंले २०७७ श्रावण ११ गते (२६जुलाई २०२०) मा नेपालमा पहिलो पटक लम्पी स्किन रोग (Lumpy Skin Disease –LSD) निदान गरेको हो ।यो रोग ३ देखि ८० प्रतिशत (करिब औसत ४५ प्रतिशत )पशुमा देखा पर्न सक्दछ ।यसरोगले करिब १-५ प्रतिशत बिरामी पशुको मृत्यु हुन सक्दछ ।शरीरमा पहिलो पटक रोगका लक्षण देखापर्ने अवधि (Incubation Period) ४-१४ दिनको हुन्छ ।

२.रोगको कारक तत्व
यो रोग पक्स समूहको काप्री पक्स भाइरस(Capri pox virus)बाट सर्दछ ।यो पक्स भइरस लम्पी स्किन भाइरस (Lumpy skin virus-LSDV)नामले चिनिन्छ ।यो भाइरस Sheep pox virus र Goat pox virusसंग मिल्दोजुल्दो हुन्छ ।
३.रोग सार्ने माध्यम
यो रोग लाम्खुट्टे, डाँस, किर्ना, झिङ्गा, भुसुना आदिको टोकाई एक पशुबाट अर्को पशुमा सर्ने गर्दछ । रोगी पशुको लसपस तथा दानापानीबाट सर्दछ साथै यो रोग रोगी पशुको छाला तथा पशुको ओसार पसारबाट सर्ने गर्दछ ।
४.रोगका लक्षणहरु
- पशुको शरीरको विभिन्न भागहरु घाँटी, माल, पुच्छर वरिपरीको भागमा, पेट, कल्चौडो, थुन,प्रजनन अंग लगायतका भागमा साना ठुला गोलाकार गिर्खा देखा परी पुरै शरीर भरी फैलिन्छन ।
- छालामा उठेका गिर्खाहरु देखा परेको ८-१० घण्टामा फुट्ने, पानी तथा पिप बग्ने गर्दछ ।
- उच्च ज्वरो करिब १०५-१०७ डिग्री फरेनहाइटसम्म आउदछ ।
- आँखाबाट कचेरा र नाकबाट सिंगान बग्दछ ।
- मुखबाट धेरै फिंज निकाल्दछ ।
- खुट्टा सुनिने तथा लुलो हुन्छ ।
- रोगका लक्षण देखिएको २४ घण्टामा नै पशु सिथिल हुन्छ ।
- पशु झोक्राउने, दानापानी नखाने र पशु दुब्लाउदै जान्छ ।
- रोगको संक्रमण बढ्दै जादा जिवाणुको संक्रमण हुन सक्ने र घाउ पाक्न सक्दछ ।
- करिब ८० प्रतिशत दूध उत्पादन घट्दछ ।
- रोगलागेका पशुहरुमा बाझोपना हुन्छ ।
५.रोग निदान
यो रोग Polymerase Chain Reaction-PCR /ELISA /Electron Microscopy/ Histopathology बाट निदान गर्न सकिनछ ।
६.उपचार
यो रोग भाइरसबाट लाग्ने भएको ले खास उपचार छैन ।लक्षणको आधारमा उपचार गर्नु पर्दछ ।ज्वरो घटाउने औषधिहरु प्रयोग गर्ने र जिवाणुको संक्रमणबाट बचाउनको लागि एन्टिबायोटिक्स प्रयोग गर्नु पर्दछ ।पोटास पानीले घाउ सफा गर्ने र बेटाडिन वा हिमेक्स मलम लगाउनु पर्दछ । यस रोगको उपचार दक्ष पशु चिकित्सा प्राविधक तथा पशु चिकित्सकबाट गराउनु पर्दछ ।
७. रोकथाम उपायहरु
- नेपालमा यो रोग पहिलो पटक देखा परेको ले यस रोगको खोप उपलब्ध छैन ।यस रोगबाट बचाउनको लागि निम्न उपायहरु अवलम्बन गर्नु पर्दछ ।
- नियमित रुपमा गोठ र गोठको वरिपरी सरसफाई गर्नु पर्दछ ।यसको लागि भिरकोन २प्रतिशत वा फिनेल २प्रतिशत वा क्लोरोफम र फर्मालिन १प्रतिशतको झोल बनाएर गोठ भित्र तथा गोठको वरिपरी छर्कनु पर्दछ ।
- गोठमा खाल्डा खुल्डी हुन हुदैन र गोठमा पानी तथा पिसाब जम्ने हुनु हुदैन ।
- गोठको झ्याल तथा ढोकामा जाली लगाउनु पर्दछ जसले गर्दा लाम्खुट्टे, झिङ्गा, भुसुना आदि गोठ भित्र प्रवेश गर्न नपाओस ।
- लाम्खुट्टे, भुसुना, झिङ्गा भगाउनको लागि साँझ बिहान धुवाँ बनाउनु पर्दछ ।
- गोठबाट मलको खाडल कम्तिमा पनि १० मीटर टाढा बनाउनु पर्दछ ।
- जैविक सुरक्षा विधि अवलम्वन गर्नु पर्दछ । जस्तै गोठको प्रवेश द्वारमा चुन राख्ने र चुन पानी टेकेर फार्ममा प्रवेश गर्ने । एप्रोन, गम्बुट, पञ्जा, टोपी लगाएर मात्र भित्र प्रवेश गर्नु पर्दछ ।फार्ममा अति आवश्यक काम बाहेक मानिसहरुको आवत जावतमा रोक लगाउने ।
- बिरामी पशुलाई अलग्गै राखेर उपचार गराउने ।
- सार्वजनिक चरनमा पशु नचराउने ।
- संक्रमित पशुको बिर्यबाट प्राकृतिक गर्भाधान वा कृत्रिम गर्भाधान गराउदा रोग सर्ने भएकोले पूर्णतया बन्द गर्ने ।
- संक्रमित पशुको उपचारमा प्रयोग हुने सुईको तथा उपकरणको प्रयोगबाट सर्ने भएकोले सचेत हुने ।
- पशुहरुको अनावश्यक आवत जावतमा रोक लगाउने ।
- रोग देखा परेको स्थानबाट पशुको खरिद बिक्री बन्द गराउने ।
- नियमित पशुहरुलाई खोप लगाउने (नेपालमा उपलब्ध नभएकोले छिमेकी मुलुकबाट खरिद गरी उपलब्ध गराउनु पर्ने )
८. डेरी क्षेत्रको योगदान
- विभिन्न प्रतिवेदन अनुसार विश्वको अर्थतन्त्रमा डेरी क्षेत्रको योगदान ठूलो रहेकोछ । यसले आयआर्जन र रोजगारीमा ठूलो योगदान पुर्याएको छ । विश्वको जनसंख्या करिव ७.७ अर्व (२०१९) मध्ये करिव १ अर्व जनसंख्या डेरी उद्योग र व्यवसायबाट जिवीका चलाउछन । विश्वको करिव १०% जनसंख्या दूध उत्पादन व्यवसायमा आश्रित छन । विश्वभरी करिव ८१ करोड ६० लाख टन दूध उत्पादन हुने गरेको छ । जसमा गाईको दूध मात्र ६९ करोड ६० लाख टन र बाँकी दूध भैंसी र अन्य चौपायाबाट हुन्छ । विश्वका प्रमुख पाँच कृषि उत्पादनमा दूध पनि एक हो । अतः दूध पोषण, अर्थतन्त्र, उद्योग, व्यवसाय,रोजगारी र आयआर्जन आदि कारणले विश्वव्यापी रुपमै महत्वपूर्ण कृषि पशु उपजमा पर्दछ ।
- नेपालमा ६०.४% नागरिक कृषिमा संलग्न रहेका छन । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.७ प्रतिशत रहेको छ ।पशुपालन क्षेत्रको कुल गार्हस्थ उत्पादनमा ६५ प्रतिशत योगदान दुग्ध उत्पादन क्षेत्रको रहेको छ ।पशुपालन क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा करिव १३ प्रतिशत योगदान पुर्याएको छ । कुल गार्हस्थ उत्पादनमा डेरी क्षेत्रको योगदान करिव ९ प्रतिशत रहेको छ । कुल कृषि गार्हस्थ उत्पादनमा धान पछिको दोस्रो स्थान डेरी क्षेत्रको रहेको छ ।
- आ.व. ०७५/०७६ को तथ्यांक अनुसार कुल गाई संख्या ७३८५०३५, दुधालु गाई संख्या १०७८७७५(१४.६%) र गाईको दूध उत्पादन ७९५५३० मे.टन रहेको छ भने कुल भैसी संख्या ५३०८६६४, दुधालु भैंसी संख्या १५६०५८४ (२९.४%) र दूध उत्पादन १३७२९०२ मे.टन रहेको छ । सामान्यतया गाईको बथानमा (Herd) ७०% दुधालु गाई हुनु पर्ने र भैंसीको बथानमा (Herd) ६०% दुधालु भैंसी हुनु पर्ने मान्यता राखिन्छ । हाम्रो सन्दर्भमा बथानमा दूधालु गाई भैसी संख्या निरासाजनक रहेको छ । कुल दूध उत्पादन २१६८४३४ मे.टन मध्ये दूध उत्पादनमा गाईको योगदान करिव ३५% र भैसीको योगदान करिव ६५% रहेको छ । (कृषि तथा पशुपन्छी डायरी २०७७)
- संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको सिफारिस अनुसार प्रति व्यक्ति प्रतिदिन करिव २५० मिलि लिटर दूध उपभोग हुनु पर्नेमा प्रति व्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नु आवश्यक पर्दछ । आ.व.०७५/०७६ को तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष दूध खपत करिव ७४ लिटर पुगेको छ भने दूधमा आत्मनिर्भर हुन अझै प्रति व्यक्ति १७ लिटर दूध अपुग देखिएको छ । आ.व.०७५/०७६ मा २१६८ हजार मेट्रिक टन दूध उत्पादन रहेकोले देश दूध उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको छ ।
- नेपालमा दुग्ध क्षेत्रको विकासक्रम हेर्दा सबैभन्दा पहिले वि.सं.१९१७ सालमा जंग बहादुर राणाले बेलायत भ्रमणको क्रममा युरोपबाट जर्सी गाई आयात गरेको, वि.सं. २००९ साल (सन् १९५२) मा पशुपन्छी विकास शाखाको स्थापना संगै रसुवा जिल्लाको लाङटाङमा पहिलो याक चिज कारखानाबाट दुग्ध उद्योगको शुरुवात भई हाल देशमा एक दुग्ध विकास संस्थान र केही ठूला तथा मझौला दुग्ध उद्योगहरुको साथै करिब २००० दुग्ध उत्पादक सहकारी संस्था तथा तिनका छाता संगठन केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ कृयाशील छन। यिनै सहकारी संस्था तथा निजी डेरी उद्योगहरुका संकलन केन्द्रबाट कुल दूध उत्पादनको करिब १७% मात्र कच्चा दूध प्रशोधनका लागि बजारमा पुग्दछ । संगठित दूधको मात्रा बढाउन सकेमा मात्र गुणस्तरीय दूध उत्पादन हुनुको साथै दिगोपना कायम रहन सक्दछ ।
- दैनिक करिव १० लाख ५० हजार लीटर दूध प्रशोधनको लागि उद्योगमा आउने गर्दछ । यसमा निजी डेरीहरुले करिव ८ लाख लीटर र दुग्ध विकास संस्थानले २ लाख ५० हजार लीटर प्रशोधन गर्ने गर्दछन । दुग्ध विकास संस्थानको दैनिक करिव २ लाख ५० हजार लीटर दूध प्रशोधन क्षमता र निजी डेरीहरुको करिव १४ लाख लीटर क्षमता भए तापनि निजी डेरीहरु दूधको अभावमा आफ्नो दैनिक प्रशोधन क्षमता अनुरुप सञ्चालन हुन सकेको छैन । नेपालमा स्थापित दूध प्रशोधन उद्योगको क्षमता विचार गर्ने हो भने दैनिक १६ लाख ५० हजार लीटर कच्चा दूध आवश्यक रहेको छ।अझै पनि दैनिक ६ लाख लीटर दूध अपुग देखिन्छ ।
- नेपालमा आ.व.०७५/०७६ मा २१६८ हजार मेट्रिक टन उत्पादित दूध करिव १ खर्व ८ अर्व मूल्य बराबरको रहेको छ । यस मध्ये उद्योगमा प्रशोधनको लागि औपचारिकरुपमा उपलब्ध हुने १७ % हिस्सा दूधबाट करिव १८ अर्व मूल्य बराबरको, अनौपचारिक रुपमा बिक्री हुने दूधको ठूलो हिस्सा खुल्लारुपमा “टुप्पी दूध” र फार्मको ढोकाबाट नै बिक्री हुने “ताजा दूध” करिब ३३ % हिस्सा दूधबाट करिब ३६ अर्व मूल्य बराबरको र घरमा नै उपभोग हुने ५० % हिस्सा दूधबाट करिव ५३ अर्व मूल्य बराबरको रहेको छ ।
- नेपालमा दैनिक ५० हजार लीटर भन्दा बढी क्षमता भएका ठूला डेरी जस्तै: डि.डि.सी., सुजल डेरी, चितवन डेरी, सिताराम गोकुल, हिमालयन डेरी आदि छन । दैनिक १० देखि ५० हजार लीटरसम्म क्षमता भएका मझौला डेरी छन । दैनिक ५ देखि १० हजार लीटर सम्म क्षमता भएका साना डेरीहरु करिव १५० वटा छन । १ हजार लीटर भन्दा कम क्षमता भएका घरेलु डेरीहरु करिव १००० वटा भन्दा बढी छन । साना ठुला गरी करिब १५०० डेरी उद्योगहरु सञ्चालनमा रहेका छन दैनिक २ लाख ५० हजार लीटर दूध प्रशोधन क्षमता भएको र ९९० जना कर्मचारीहरु भएको दुग्ध विकास संस्थान सबै भन्दा ठूलो उद्योग हो । ठूलामा १०० देखि १५० जना, मझौलामा २० देखि ३० जना, सानामा ४ देखि ५जना र घरेलुमा २ देखि ३ जना पूर्णकालिन कर्मचारीहरु कार्यरत रहेका छन । डेरी उद्योगले १० देखि १२ हजार जना लाई प्रत्यक्ष रोजगार दिएको छ । डेरी क्षेत्रमा करिव ६० अर्व भन्दा बढी पुँजी लगानी भई करिब ३ लाख जनाले रोजगार प्राप्त गरेका छन । दुग्ध व्यवसायको माध्यमबाट वर्षेनी करिव ५० अर्व रुपैया ग्रामिण क्षेत्रमा प्रवाह भएको अनुमान छ । कुल घरपरिवारको करिव १०% घरपरिवार प्रत्यक्ष रुपमा डेरी व्यवसायबाट लाभान्वित छन । यो व्यवसाय नगद आम्दानीको रुपमा स्थापित छ ।
- करिव १० देखि २० लिटर दूध प्रशोधनमा गयो भने १ जनाको लागि रोजगार सृजना हुन्छ । नेपालमा दैनिक १००० जना भन्दा बढी युवाहरु रोजगारीको लागि विदेशीने गरेको, ओैपचारिक तथा अनौपचारिक समेत गरी करिब ५० लाख भन्दा बढी उत्पादनशील जनशक्ति देश बाहिर रहेको अवस्था छ । पशुपालन क्षेत्रको माध्यमबाट पनि युवा स्वरोजगार प्रवर्द्धन गर्न सकिन्छ । विदेशबाट बार्षिक करिव २ अर्वको दूध तथा दुग्धजन्य पदार्थ आयात गरिन्छ ।राजनीति कर्मी, संचार कर्मी, शिक्षक, प्राध्यापक लगायत सरकारी कर्मचारीहरुले सहायक पेशाको रुपमा र निवृत कर्मचारीहरुर विदेशबाट फर्केका युवाहरुको पहिलो रोजाईको व्यवसाय पनि डेरी नै रहेको देखिन्छ । शहरको पैसा गाउँमा जाने राम्रो माध्यम नै डेरी व्यवसाय हो । यो व्यवसाय सबै खालका धार्मिक तथा सामाजिक समूहहरुको लागि स्वीकार्य पनि छ । नेपालमा सबै भन्दा बढी संभावना बोकेको क्षेत्र पनि डेरी क्षेत्र नै हो यसको माध्यमबाट युवाहरुलाई स्वदेशमा नै स्वरोजगार गरी आयआर्जन गर्न सक्नुको साथै खाद्य सुरक्षामा समेत सुनिश्चित गर्न सकिने प्रवल संभावना रहेको छ ।
९.रोगले पर्न सक्ने असरहरु
- राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा पशुपालन क्षेत्रको योगदानमा ह्रास आउने ।
- अनुत्पादक गाईभैंसी संख्यामा वृद्धि हने ।
- दुधालु पशुको उत्पादन तथा उत्पादकत्वमा ह्रास आउने ।
- पेशा व्यवसायीहरुलाई पेशाबाट हट्नु पर्ने अवस्थाको सृजना हुने ।
- गाई भैंसी पालन तथा डेरी उद्योगको कारणले रोजगार तथा स्वरोजगार भएका व्यक्तिहरु बेरोजगार हुने ।
- दूध उत्पादनको लागि आत्मनिर्भर उन्मुख रहेको अवस्थालाई परनिर्भरतामा परिणत गरिदिने ।
- दुग्ध उद्योगहरुको लागि कच्चा पदार्थको अभाव हुन गई उद्योगहरु बन्द हुने ।
- खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुत्ताको श्रृखलामा अवरोध हुन गई कुपोषणको सृजना हुने ।
- गाई भैसीपालक किसानहरु आफ्नो पेशा प्रति विस्वस्थ हुन नसक्नुको साथै नयाँ व्यवसायीको आगमनमा रुकावट हुने ।
- गाईभैसीपालनमा लगानी कर्ताहरु निरुत्साहित हुन गई लागनी नहुने ।
- छालाको गुणस्तर निकै नराम्रो हुने भएकोले छालाको व्यापारमा नकारात्मक असर पुर्याउने ।
- गोरु, राँगाबाट चल्ने बयल गाढा सञ्चालनमा अवरोध आउने ।
- जहाँ यान्त्रिकीकरण सुविधा नभएको ठाउँमा गोरु तथा राँगाबाट खेतबारी जोत्ने कार्यमा अवरोध हुने ।
- मासुका लागि पालिएका पाडापाडीहरुको तथा राँगाको मासु गुणस्तरीय नभई मासुको व्यापारमा घाटा लाग्ने तथा कमी आउने एवं गुणस्तरीय मासु उत्पादनमा ह्रास आउने ।
१०. रोग नियन्त्रणको लागि सरकारको भूमिका
नेपालको संविधानले पशु सेवाका कामहरुलाई क्वारेन्टाइनलाई संघ अन्तरगत र अन्यकार्यहरु प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने गरी अनुसूचीमा व्यवस्था गरी कार्य विभाजन गरी सकेको अवस्थामा पशुपन्छी रोग नियन्त्रणको लागि स्थानीय तह, प्रदेश र संघले निम्न अनुसारको जिम्मेवरी बहन गर्नु पर्ने देखिन्छ ।
स्थानीय सरकार
- स्थानीय सरकार सबै भन्दा निकटको सरकार भएकोले रोगको बारेमा सम्बन्धित सरोकारवाला निकयहरुमा तुरुन्तै जानकारी गराउने ।
- रोग फैलिएको ठाउँका पशुहरुलाई आवत जावतमा रोक लागउने ।
- जैविक सुरक्षा तथा आन्तरिक पशु क्वारेन्टाइनलाई कडाइका साथ पालन गर्न लागाउने ।
- रोग पहिचानको लागि आवश्यक कार्य गर्ने ।
- रोगको खोप लगाउन लगाउने तथा नियन्त्रणका विधिहरु अवलम्बन गर्ने लागउने ।
- संघीय सरकार तथा प्रदेश सरकारसंग समन्वय गरी रोग नियन्त्रणलाई प्रभावकारी बनाउने ।
- सरकारी तथा निजी क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिलाई सामय सापेक्ष तालीम तथा प्रशिक्षणको व्यवस्था गरी प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने ।
- रोग बारे प्राविधकहरु तथा पशुपालक कृषकहरुलाई सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने ।
- प्रविधिक जनशक्तिको अभिलेखीकरण र आवश्यकता अनुसार परिचालन गर्ने ।
- अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउने ।
प्रदेश सरकार
- प्रदेश सरकारले आफ्नो प्रदेश भित्रका स्थानीय तहहरुलाई रोग निदानको लागि सहयोग गर्ने ।
- प्रदेश अन्तरगत फैलिएको महामरी रोगको सूचना संकलन गरी संघीय सरकारलाई जानकारी गराउने ।
- रोग उपचार तथा नियन्त्रणको लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्ने ।
- रोगको उपचार तथा नियन्त्रणको लागि स्थानीय तह र संघ बीचको पुलको काम गर्ने ।
- रोगको उपचार तथा नियन्त्रणकोलागि संघीय सरकार संग समन्वय गरी नीति तथा रणनीति तय गरी स्थानीय सरकारलाई सहयोग पुर्याउने ।
- रोगको सर्भिलेन्स तथा अनुगमन तथा निरीक्षण गर्ने ।
- आवश्यक सामाग्रीहरुको व्यवस्थापन तथा पुर्वाधार विकासमा सहयोग पुर्याउने ।
- प्रदेश अन्तरगतका सरकारी तथा निजी क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिलाई समय सापेक्ष आवश्यक तालीम तथा प्रशिक्षणको व्यवस्था मिलाउने ।
- जनचेतना फैलाउने खालका कर्यक्रमहरु सञ्चालन गर्ने ।
संघीय सरकार
- रोग निदान तथा आन्वेक्षणका कार्य गर्ने ।
- रोग नियन्त्रणको लागि प्रदेश सरकार र स्थानीय सरकारसंग समन्वय तथा सहकार्य गरी आवश्यक नीति, रणनीति र मापदण्डहरु तयार गर्ने ।
- रोग नियन्त्रणको लागि प्रदेश सरकार र स्थानीय सरकारसंग समन्वय तथा सहकार्य गरी अल्पकालिन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने ।
- रोग फैलिएको क्षेत्रमा विशेषज्ञ सेवा प्रवाह गर्ने ।
- पशु सेवाको पुर्वाधार विकासमा आवश्यक सहयोग गर्ने ।
- रोग उपचार तथा नियन्त्रणको लागि सम्बन्धित स्थानीय तहलाई आवश्यक श्रोत साधनको सहयोग गर्ने ।
- मातहतका पशु क्वारेन्टइन र पशुपन्छी रोग अन्वेक्षण प्रयोगशालाहरुलाई व्यवस्थित गर्ने ।
- मातहतको प्राविधिक जनशक्तिलाई समय सापेक्ष क्षमता अभिवृद्धि गराउनको लागि तालीम तथा प्रशिक्षणको व्यवस्था मिलाउने ।
- खोप उत्पादनको लागि आवश्यक कदम चाल्ने तथा रोग नफैलिएको ठाउँको लागि खोप खरिद गरी प्रभावित क्षेत्रमा उपलब्ध गराउने व्यवस्था मिलाउने ।
- पशुपालन तथा रोग नियन्त्रणको लागि जनचेतना मुलक कार्यक्रमाहरु सञ्चालन गर्ने ।
- अनुगमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउने ।
११. निष्कर्ष
नेपालको पशुपालन तथा डेरी क्षेत्र मुलुकामा व्याप्त कोरोना कहर (कोभिड १९ ) बाट एकातिर सबै भन्दा बढी प्रभावित हुन पुग्यो भने दूध उत्पादनको मुख्य स्रोतको रुपमा रहेको गाई भैंसी पालनलाई हाल देखा परिरहेको लम्पी स्किन रोगले झन आक्रन्त पार्ने देखिन्छ ।देशमा सफल व्यवसायको रुपमा स्थापित हुदै गएको डेरी व्यवासायलाई यस रोगलाई नियन्त्रण गर्नको लागि सबैले समयमा नै सचेत भएन भने निकै ठुलो दुर्भाग्य हुन नसक्ला भन्न सकिदैन यसको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, कृषक, समूह, समिति, सहकारी, दुग्धजन्य उद्योगहरु र अन्य सरोकारवाला सबैको ध्यान दिनु पनि त्यत्तिकै जरुरी देखिन्छ ।
देशमा नोवेल कोरना भाइरस (COVID-19) को आगमन संगै विदेशमा रहेका लाखौं युवा जनशक्तिको पनि आगमन भएको छ ।यस जनशक्तिलाई सदुपयोग गरी “समृद्ध नेपाल, सुखी नेपाली“ राष्ट्रिय नारा साकार पार्नको लागि दिनमा दुई पटक पैसा आउने व्यवसाय डेरी क्षेत्रमा संलग्न गराउन सकिने व्यवसायलाई जोगाउन पनि त्यत्तिकै आवश्यक छ ।
अतः नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमता विकासको साथै आयआर्जन, रोजगारी र खाद्य सुरक्षाको लागि डेरी क्षेत्रले महत्वपूर्ण योगदान रहेको गाई भैंसीमा लाग्ने महामारी लम्पी स्किन रोग समयमै रोकथाम तथा नियन्त्रण गर्न नसकेमा डेरी क्षेत्र तहस नहस हुनजाने छ र जसको परिणाम स्वरुप दूधमा आत्मनिर्भर उन्मुख रहेको मुलुकलाई परनिर्भर तुल्याउनुको साथै यस पेशामा संलग्न पेशा व्यवसायीहरुले पेशाबाट हातधुनु पर्नेसम्मको अवस्था न आउला भन्न सकिदैन । यसको लागि संघ, प्रदेश र स्थानीय तहमा रहेका सरकारी, गैर सरकारी तथा निजी क्षेत्र सकृय रुपमा परिचालन हुनु अपरिहार्य छ ।साथै पशुपालन तथा पशु स्वास्थ्यसंग सरोकारवालाहरु सबैले आआफ्नो ठाउँबाट रोग नियन्त्रणको लागि प्रभावकारी भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । पशु सेवा तथा पशु स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी तथा निजी क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिलाई समय सापेक्ष तालीम तथा प्रशिक्षण मार्फत क्षमता अभिवृद्धि गरी परिचालन गर्नु पनि त्यतिकै आवश्यक रहेको छ।यो रोगको रोकथाम तथा नियन्त्रणको लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नु पनि त्यतिकै अपरिहार्य रहेको छ ।सरकारी तथा निजी क्षेत्रमा रहेका प्राविधिक जनशक्तिको माध्यमबाट पशुपालक कृषकहरुलाई सचेतना कार्यक्रम सञ्चालन गर्नु पनि त्यतिकै महत्वपूर्ण रहेको छ ।यो रोगको खास उपचार नहुने भएकोले रोग नियन्त्रणकोलागि पशुहरुलाई नियमित खोप लगाउने र गोठ र गोठको वरिपरी लाम्खुट्टे, झिंगा, किर्ना, डाँस, भुसुना लगायतका किराहरु नियन्त्रण गर्ने कार्य गर्नु नै सबैभन्दा बढी प्रभावकारी हुन्छ ।
संक्रामक लम्पी स्किन रोगको रोकथामका उपायहरु अवलम्बन गरी पशुधन जोगाऔं ।
पशुपालन व्यवसाय र डेरी क्षेत्रको संरक्षण गरौं ।
सन्दर्भ ग्रन्थ
- चितवनमा गाईमा नयाँ भाइरस संक्रमण (१७श्रावण२०७७) नागरिक खबर डटकम
- नेपालमा देखियो लम्पी स्किन रोग ठोस उपचार नहुँदा सल्लाहमा जुट्यो विभाग (२१श्रावण२०७७) नेपाल खोज डटकम
- नाथ, बासुदेव,(१९जेठ २०७७) विश्व दूध दिवस र डेरी क्षेत्रको योगदान, मिरमिरे अनलाईन
- कलौनी, डा. पदमराज (प्रथम संस्करण २०७५ )आधुनिक पशुपालन र उपचार, विद्यार्थी पुस्तक भण्डार काठमाडौं (दोस्रो संस्करणको तयारी)
- Lumpy skin disease https://www.oie.int/fileadmin/Home/eng/Animal_Health_in_the_World/docs/pdf/Disease_cards/LUMPY_SKIN_DISEASE_FINAL.pdf
- Lumpy skin disease
https://www.nadis.org.uk/disease-a-z/cattle/lumpy-skin-disease/
(लेखक राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुरमा पशु विकास अधिकृत पदमा कार्यरत हुनु हुन्छ ।)