किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाडेपछि मानो रोपेर मुरी फलाउने काम यसपालि अधुरै हुन लागेको हो । गण्डक नहरमा पानी नआउँदा पर्सा, बारा तथा रौतहटमा सिँचाइको अभावमा चाहेजति धानको बेर्ना राख्न नपाएपछि यहाँका किसान पुर्पुरोमा हात राख्न बाध्य छन् ।

नारायणी सिँचाइ आयोजना बहुअरीका सूचना अधिकारी सुरेशप्रसाद साहले भारतले गण्डक नहरमा पानी छोडिसकेको भए पनि आजसम्ममा मात्र पानी आउने बताउनुभयो । मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटका किसानले गण्डक नहरमा समयमा पानी नछोड्दा राम्रोसँग धानको बेर्ना लगाउन नसकेका हुन् । पश्चिमी पर्सा जगरनाथपुरका किसान हरिदेव भन्नुहुन्छ, “आकाशे पानीको भरमा थोरै बीउ लगाएको भए पनि अत्यधिकरुपमा वर्षा नहुँदा पानीको अभावमा लगाएको धानको बेर्नाको अभाव हुन थालेको छ ।”

केही दिनयता मनसुन सक्रिय भई फाट्टफुट्ट पानी परे पनि पर्याप्तमात्रामा सिँचाइको अभावका कारण सोचे जति धानको बेर्ना लगाउन नसकिएको गुनासो गर्दै किसान मनोज साह कानु भन्नुहुन्छ, “आवश्यक पानीको अभावका कारण यसपालि सोचे जति धान उत्पादन गर्न सकिँदैन ।” तीन वर्षअघि साउनको अन्तिम साता आएको बाढीपहिरोले नेपाल–भारत क्षेत्रमा रहेको गण्डक नहरका विभिन्न ठाउँमा क्षति भएपछि नहरमा पानी आपूर्तिमा ढिलाइ हुँदा पानीको अभाव देखिएको हो ।

पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गर्दै आइरहेका छन् । पानीको अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा हालसम्म ४० प्रतिशत मात्र धानको बीउ राख्न सकिएको भन्दै कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादव गण्डक नहरमा समयमा पानी नछोड्दा यस वर्ष धानखेती प्रभावित हुने बताउनुहुन्छ ।

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा पर्सा बारा रौतहटका किसानले साना सिँचाइ, आकाशे वर्षा तथा खोलाको पानी सदुपयोग गरी धानको बेर्ना लगाएको देखिन्छ । गण्डक नहरबाट पर्सा, बारा तथा रौतहटमा ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ तर समयमा पानी नआउँदा यसपालि धान रोपाइँ ढिलो भएको किसान शेषमन पण्डितले चिन्ता व्यक्त गर्नुभयो । केही समयअघि बाढीले नेपालतर्फ ८१ किलोमिटर लामो गण्डक नहरलाई क्षति पु¥याउँदा त्यस बेला पानीको अभावमा पर्सा, बारा र रौतहटको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइएको गहुँखेती प्रभावित भएको थियो ।

भारतीय भूमि हँुदै गण्डक नहरको पानी पश्चिम पर्साको जानकी टोलाबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको वाग्मती नदीमा गएर मिसिन्छ । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ ।

अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटमा पानीको अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारतमाथिको परनिर्भता बढ्दै गएको छ । उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हँुदाहँुदै पानीको अभावमा समयमा धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको हो । सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा पानी नपर्दा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुरी फलाउने काम सपना जस्तो भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी