यस वर्ष २०७७ जेठ १९गते (1st June 2020) का दिन विश्वमा २०औं र नेपालमा १०औं विश्व दूध दिवस मनाइदै छ ।नेपालमा यस वर्ष २०७७ जेठ १९(1st June 2020) मा विश्व दूध दिवसको नारा “ नियमित दूध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं ” “Drink Milk Regularly to Increase Immunity” रहेको छ ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) ले दूध र यसको खाद्य सुरक्षा एवं पोषणको महत्व साथै आयआर्जन र ग्रामिण रोजगारीका लागि महत्वपूर्ण भएकोले विश्व दूध दिवस सन २००१ देखि जुन १ तारेखका दिन मनाउन शुरु गरिएको हो । विश्वमा करिव ७२ वटा देशले यस दिवसलाई विभिन्न कृयाकलाप गरी मनाउने गरेको पाइन्छ । यस दिनमा कृषक, कर्मचारी, परिवार, राजनीतिज्ञ, पोषण विद, प्रमुख, डाक्टरहरुले डेरीको महत्व, योगदान, स्थायित्व, आर्थिक विकास, जनजीवन र पोषण लगायत आदि बिषयहरुका बारेमा बहस तथा छलफल गरी मनाउछन; भने बच्चा, बृद्ध, विरामीहरुलाई दूध तथा दूधका परिकारहरु सेवन तथा वितरण गरिन्छ ।
यस वर्ष विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (COVID-19) को कारणले विश्वव्यापी बन्दाबन्दी (Lock Down) ले गर्दा गत विगतका वर्षहरुमा जस्तै: र्याली निकाल्ने, कार्यशाला गोष्ठी सञ्चालन गर्ने आदि विभिन्न कृयाकलापहरु सञ्चालन गर्न सम्भव नभए तापनि दूधको महत्व एवम् डेरीको फाइदा तथा दूधले स्वास्थ्य तथा पोषणमा पुर्याएको योगदान बारे विभिन्न मिडियाहरुको माध्यमबाट व्यापकरुपमा प्रचार प्रसारका कार्य गर्न सकिन्छ ।
विभिन्न प्रतिवेदन अनुसार विश्वको अर्थतन्त्रमा डेरी क्षेत्रको योगदान ठूलो रहेकोछ । यसले आयआर्जन र रोजगारीमा ठूलो योगदान पुर्याएको छ । विश्वको जनसंख्या करिव ७.७ अर्व (२०१९) मध्ये करिव १ अर्व जनसंख्या डेरी उद्योग र व्यवसायबाट जिवीका चलाउछन । विश्वको करिव १०% जनसंख्या दूध उत्पादन व्यवसायमा आश्रित छन । विश्वभरी करिव ८१ करोड ६० लाख टन दूध उत्पादन हुने गरेको छ । जसमा गाईको दूध मात्र ६९ करोड ६० लाख टन र बाँकी दूध भैंसी र अन्य चौपायाबाट हुन्छ । विश्वका प्रमुख पाँच कृषि उत्पादनमा दूध पनि एक हो । अतः दूध पोषण, अर्थतन्त्र, उद्योग, व्यवसाय,रोजगारी र आयआर्जन आदि कारणले विश्वव्यापी रुपमै महत्वपूर्ण कृषि पशु उपजमा पर्दछ ।
विश्वमा सबैभन्दा बढी दूध उत्पादन गर्ने १० वटा देशहरुमा अमेरिका ९३.३ विलियन किलो ग्राम, भारत ६०.६ विलियन किलो ग्राम, चीन ३५.७ विलियन किलो ग्राम, ब्राजिल ३४.३ विलियन किलो ग्राम, जर्मनी ३१.१ विलियन किलो ग्राम, रसिया ३०.३ विलियन किलो ग्राम, फ्रान्स २३.७ विलियन किलो ग्राम, न्यूजिल्याण्ड १८.९ विलियन किलो ग्राम, टर्की १६.७ विलियन किलो ग्राम, बेलायत १३.९ विलियन किलो ग्राम वार्षीक दूध उत्पादन रहेको छ ।
विश्वमा प्रति व्यक्ति प्रति वर्ष सबैभन्दा बढी दूध खपत गर्ने १० वटा देशहरुमा
फिनल्याण्ड ३६१.९० के.जी, स्वीडेन ३५५.८६के.जी., नेदरल्याण्ड ३२०.१५ के.जी., स्वीजरल्याण्ड ३१५.७८ के.जी., ग्रिस ३१४.६९ के.जी, मोन्टेनेग्रो ३०५.८७ के.जी., लिथुनिया ३०३ के.जी, डेनमार्क २९५.६२ केजी., अल्वानिया २८१.१७ के.जी, र रोमानिया २६६.१९ केजी.प्रति व्यक्ति प्रति वर्ष दूध खपत हुने गर्दछ ।
नेपालमा ६०.४% नागरिक कृषिमा संलग्न रहेका छन । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.७ प्रतिशत रहेको छ ।पशुपालन क्षेत्रको कुल गार्हस्थ उत्पादनमा ६५ प्रतिशत योगदान दुग्ध उत्पादन क्षेत्रको रहेको छ ।पशुपालन क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा करिव १३ प्रतिशत योगदान पुर्याएको छ । कुल गार्हस्थ उत्पादनमा डेरी क्षेत्रको योगदान करिव ९ प्रतिशत रहेको छ । कुल कृषि गार्हस्थ उत्पादनमा धान पछिको दोस्रो स्थान डेरी क्षेत्रको रहेको छ ।
आ.व. ०७४/०७५ को तथ्यांक अनुसार कुल गाई संख्या ७३७६३०६, दुधालु गाई संख्या १०३९५३८ (१४%) र गाईको दूध उत्पादन ७५४१२६ मे.टन रहेको छ भने कुल भैसी संख्या ५२७७८१९, दुधालु भैंसी संख्या १५३५९४८ (२९%) र दूध उत्पादन १३३८२७७ मे.टन रहेको छ । सामान्यतया गाईको बथानमा (Herd) ७०% दुधालु गाई हुनु पर्ने र भैंसीको बथानमा (Herd) ६०% दुधालु भैंसी हुनु पर्ने मान्यता राखिन्छ । हाम्रो सन्दर्भमा बथानमा दूधालु गाई भैसी संख्या निरासाजनक रहेको छ । कुल दूध उत्पादन २०९२४०३ मे.टन मध्ये दूध उत्पादनमा गाईको योगदान करिव ३६% र भैसीको योगदान करिव ६४% रहेको छ । (कृषि डायरी २०७६)
संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको सिफारिस अनुसार प्रति व्यक्ति प्रतिदिन करिव २५० मिलि लिटर दूध उपभोग हुनु पर्नेमा प्रति व्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नु आवश्यक पर्दछ । आ.व.०७५/०७६ को तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष दूध खपत करिव ७४ लिटर पुगेको छ भने दूधमा आत्मनिर्भर हुन अझै प्रति व्यक्ति १७ लिटर दूध अपुग देखिएको छ । आ.व.०७५/०७६ मा २१६८ हजार मेट्रिक टन दूध उत्पादन रहेकोले देश दूध उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको छ ।
नेपालमा “दूध” भन्नाले स्वस्थ गाई वा भैंसीको थुनबाट दुहेको र स्वभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनुपर्छ । “गाईको दूध” भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो (Milk Fat) र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ (Solid Not Fat-SNF) ७.५ प्रतिशत भन्दा घटि नभएको दूध सम्झनु पर्छ । “भैंसीको दूध” भन्नाले ५.० प्रतिशत दूधको चिल्लो (Milk Fat) र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ (Solid Not Fat-SNF) ८.० प्रतिशत भन्दा घटी नभएको दूध सम्झनु पर्छ । “प्रशोधित दूध” भन्नाले ३.० प्रतिशत दूधको चिल्लो (Fat) र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ (SNF) ८.० प्रतिशत भन्दा घटी नभएको दूध सम्झनु पर्छ ।
उपर्युक्त उल्लिखित दूध वा क्रिमको निरोगन प्रक्रिया (Pasteurization) गर्दा दूध वा क्रिमलाई कम्तीमा ६३ डिग्री सेन्टिग्रेडमा ३० मिनेटको समयभन्दा कम नहुने गरी तताई वा अन्य कुनै बढी तापक्रममा निरोगन क्रिया पुग्ने समयसम्म राखी त्यसपछि तुरुन्त १० डिग्री सेन्टिग्रेड वा त्यो भन्दा कम तापक्रम सम्म चिस्याईएको हुनुपर्छ । फोस्फाटेज टेस्ट नेगेटिभ र निरोगन गरिएको दूध तथा अन्य दुग्ध तरल पदार्थ बिक्रीमा राखिएको भए वा तयार गरिएको भएमा प्रति मिलिलिटरमा कोलीफर्म गणना शुन्य हुनुपर्छ ।
दूध एक महत्वपूर्ण खाद्य पदार्थ हो । दूधमा पानी, चिल्लो पदार्थ (फ्याट), प्रोटिन, ल्याक्टोज, खनिज पदार्थहरु (Calcium, Phosphorus, Potassium, Magnesium, Strontium), भिटामिनहरु (A, B2, B3, B12, C, D, E, K) र पाचन रसहरु (Enzymes) तत्वहरु रहने भएकोले आदर्श एवं पूर्ण आहारको रुपमा लिइन्छ । सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण दूध र दुग्ध पदार्थको उत्पादन र उपभोग स्वच्छ र स्वस्थ हुन सकेमा मात्र मानवको लागि उपयोगी हुनसक्छ । दूधमा भएको चिल्लोले शक्ति सञ्चय गरी विरामी मानिस वा शारीरिक कमजोर भएका मानिसलाई आन्तरिक रुपमा यही सञ्चित शक्तिको प्रयोग गर्दछ । ल्याक्टोजले तुरुन्त शक्ति प्रदान गरी शरीरलाई स्फूर्ति दिलाउछ । प्रोटिनले शारीरिक बृद्धि विकास गर्दछ । भिटामिन A ले रतन्धो हुनबाट जोगाउने र प्रजनन् क्षमताको विकास गर्ने र शारीरिक विकासमा सहयोग पुर्याउछ । भिटामिन D ले हड्डी मजबुत बनाउने, भिटामिन E ले मांसपेशी मजवुत बनाई पक्षघातबाट जोगाउछ । भिटामिन K ले चोटपटक लागेको बेला रगत जमाउन मद्दत गरी रगत खेर जानबाट बचाउछ । भिटामिन C ले गिजा सुन्निबाट जोगाउछ । भिटामिन B Complex ले शारीरिक बृद्धि हुने तथा खाना रुची बढाउछ । शरीर बृद्धिको लागि आवश्यक पर्ने खनिज लवणहरु क्यालसियम, म्यागनेसियम, क्लोरिन, पोटासियम, सोडियम आदि ले शरीर सन्तुलन राख्नुका साथै शारीरिक विकासमा सहयोग पुर्याउछ ।यसरी शरीरको लागि आवश्यक पर्ने महत्वपूर्ण तत्वहरु पाइने भएकोले यसको सेवनले शरीरमा रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास भई विभिन्न रोगहरुबाट बचाउन मद्दत पुग्छ ।दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम राख्न सकेन भने यो शरीरको लागि हानिकारक समेत हुन सक्छ । स्वच्छ तथा स्वस्थ दूध र यसबाट बनेका परिकार धेरै समय राख्न सकिन्छ, भने यिनको मूल्य समेत धेरै पर्दछ ।
सामान्यतया स्वस्थ पशुको कल्चौडोमा दूध स्वच्छ नै रहेको हुन्छ । पशुको आहारा, औषधी उपचार लगायत वातावरणबाट दूधमा आउने रसायन, दूध उत्पादन, प्रशोधन तथा बजारीकरणको प्रकृयामा हानिकारक जिवाणुको प्रवेश र बृद्धि हुनसक्ने जोखीमका कारण दूध तथा दुग्धजन्य पदार्थहरु प्रदुषित हुन जान्छन् । सामान्यतया कोठाको तापक्रममा आधा घण्टा भित्र दूधमा रहेका जिवाणुको संख्या दोब्बरले वृद्धि हुदै जान्छ र दूध छिट्टै बिग्रन्छ । बालकदेखि वृद्धसम्मले सेवन गर्ने असुरक्षित दूध तथा दुग्ध पदार्थहरुबाट ब्रुसेल्लोसीस, ट्युवरकुलोसीस, डिप्थेरीया, खाद्य विषपान लगायतका रोगहरुको जोखीम वढ्न सक्ने भएकोले सचेत रहन पनि त्यतिकै आवश्यक छ ।
सामान्यतया गाईको दूधमा करिव ८७% र भैंसीको दूधमा करिव ८२% पानीको मात्रा हुन्छ । दूधको पानीमा ठोस पदार्थहरु घुलित, कोलाईडल वा इमल्सन अवस्था रहेका हुन्छन । घुलित अवस्थामा ल्याक्टोज, केही अंश खनिज तत्वहरु र भिटामिन पाइन्छ । प्रोटिन, भिटामिन र खनिजतत्वहरु कोलाईडल अवस्थामा र चिल्लो पदार्थहरु ईमल्सन अवस्थामा रहेका हुन्छन । दूध धेरै परिमाणमा अपारदर्शी सेतो रंग हुन्छ । दूधको सेतो रंग कोलाईडल अवस्थामा रहेको क्याल्सियम क्याजिनेटका कारणले भएको हो । दूधको पहेंलो रंग क्यारोटिनको कारणले र ह्वेको हरियोपन ल्याक्टो फ्लेविनका कारणले भएको हो । दूधको स्वाद केही गुलियो हुन्छ । ल्याक्टोज (दूधको चिनी) का कारणले दूध गुलियो भएको हो । गोठको गोबरको गन्ध दूधले सोस्ने भएकाले गौ गन्ध आउन सक्छ । बकेर्नो, थुनेलो रोगले संक्रमण गरेको अवस्थामा क्लोराईडको वढ्दो परिमाणले गर्दा दूधको स्वाद नुनिलो हुन सक्दछ । दूधमा भएको पाचन रस लाईपेजले चिल्लो पदार्थहरुलाई खण्डिकृत गर्ने भएकाले वकेर्नो भैंसीको दूध केही तितो हुन सक्दछ । बढी गन्ध आउने वस्तुहरु जस्तै प्याज, लसुन र अन्य उडनसिल गन्ध आउने घांस विरुवाहरु खाएका पशुहरुबाट उत्पादित दूधमा सोहि अनुसार गन्ध आउन सक्छ । दूधमा रहेका विभिन्न तत्वहरुको आफ्नै घनत्व हुन्छ । जस्तै: पानीको १, चिल्लोको ०.९३, प्रोटिनको १.३४६, ल्याक्टोजको १.६६६ घनत्व हुन्छ । सामान्यतया गाईको दूधको विशिष्ट गुरुत्व १.०२८ देखि १.०३०, भैंसीको दूधको १.०३० देखि १.०३५ र स्किम मिल्कको १.०३५ देखि १.०३७ हुन्छ । दूधको उम्लने तापक्रम १००.१७ डिग्री सेल्सियस र जम्ने तापक्रम माईनस ०.५५ डिग्री सेल्सियस हो । सामान्यतया गाईको दूधको अम्लता ०.१३ देखि ०.१४ र भैंसीको दूधको ०.१४ देखि ०.१५ हुन्छ । गाईको दूध पि.एच ६.४ देखि ६.६ र भैंसीको दूधको पि.एच ६.७ देखि ६.८ सम्म हुन्छ । २० डिग्री सेल्सियसमा दूधमो भिस्कोसिटी १.५ देखि २.० सेन्टीपोईज हुन्छ ।
दूधको वनावटलाई फरक पार्ने तत्वहरुमा प्राणी वा जातिय विशेष, पशुको नश्ल, वंशज गुण, वेतको चरण, पशुको उमेर, मौसमको प्रभाव, रोग तथा स्तन संक्रमण, आहारा, प्रथम तथा अन्तिम सिर्कोको दूध , दूध दुहुने समय, पशु कल्याण अवलम्बनको अवस्था आदि हुन ।
स्वच्छ दूध उत्पादनको लागि दूहुनो पशु स्वस्थ हुनु पर्ने, दुध दुहुने व्यक्ति स्वच्छ र सफा हुनु पर्ने, दुध दुहुने र राख्ने भाँडाकुँडाहरु तथा उपकरणहरु स्वच्छ र सफा हुनु पर्ने, दुध दुहुने तथा ढुवानी गर्ने भाँडा स्टेनलेस स्टील वा आल्मुनियमबाट बनेका हुनु पर्ने, विरामी पशुको उपचार पशु चिकित्सकको सिफारिसमा गर्नु पर्ने र संक्रामक रोग लागेका पशुको दूध उचित ढंगले नष्ट गर्नु पर्ने, विक्री गर्ने दूध दुहेको लगत्तै वा २ घण्टा भित्र संकलन केन्द्रमा पुर्याउनु पर्ने, दूधमा पानी लगायत कुनै पनि पदार्थ मिसावट गर्न नहुने, संकलित दूधलाई कम्तिमा ४ डिग्री सेन्टिग्रेड तापक्रममा चिस्याउने गर्नु पर्दछ ।
नेपालमा दुग्ध क्षेत्रको विकासक्रम हेर्दा सबैभन्दा पहिले वि.सं.१९१७ सालमा जंग बहादुर राणाले बेलायत भ्रमणको क्रममा युरोपबाट जर्सी गाई आयात गरेको, वि.सं. २००९ साल (सन् १९५२) मा पशुपन्छी विकास शाखाको स्थापना संगै रसुवा जिल्लाको लाङटाङमा पहिलो याक चिज कारखानाबाट दुग्ध उद्योगको शुरुवात भई हाल देशमा एक दुग्ध विकास संस्थान र केही ठूला तथा मझौला दुग्ध उद्योगहरुको साथै करिब २००० दुग्ध उत्पादक सहकारी संस्था तथा तिनका छाता संगठन केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ कृयाशील छन । यिनै सहकारी संस्था तथा निजी डेरी उद्योगहरुका संकलन केन्द्रबाट कुल दूध उत्पादनको करिब १७% मात्र कच्चा दूध प्रशोधनका लागि बजारमा पुग्दछ । संगठित दूधको मात्रा बढाउन सकेमा मात्र गुणस्तरीय दूध उत्पादन हुनुको साथै दिगोपना कायम रहन सक्दछ ।
दैनिक करिव १० लाख ५० हजार लीटर दूध प्रशोधनको लागि उद्योगमा आउने गर्दछ । यसमा निजी डेरीहरुले करिव ८ लाख लीटर र दुग्ध विकास संस्थानले २ लाख ५० हजार लीटर प्रशोधन गर्ने गर्दछन । दुग्ध विकास संस्थानको दैनिक करिव २ लाख ५० हजार लीटर दूध प्रशोधन क्षमता र निजी डेरीहरुको करिव १४ लाख लीटर क्षमता भए तापनि निजी डेरीहरु दूधको अभावमा आफ्नो दैनिक प्रशोधन क्षमता अनुरुप सञ्चालन हुन सकेको छैन । नेपालमा स्थापित दूध प्रशोधन उद्योगको क्षमता विचार गर्ने हो भने दैनिक १६ लाख ५० हजार लीटर कच्चा दूध आवश्यक रहेको छ।अझै पनि दैनिक ६ लाख लीटर दूध अपुग देखिन्छ ।
नेपालमा आ.व.०७५/०७६ मा २१६८ हजार मेट्रिक टन उत्पादित दूध करिव १ खर्व ८ अर्व मूल्य बराबरको रहेको छ । यस मध्ये उद्योगमा प्रशोधनको लागि औपचारिकरुपमा उपलब्ध हुने १७ % हिस्सा दूधबाट करिव १८ अर्व मूल्य बराबरको, अनौपचारिक रुपमा बिक्री हुने दूधको ठूलो हिस्सा खुल्लारुपमा “टुप्पी दूध” र फार्मको ढोकाबाट नै बिक्री हुने “ताजा दूध” करिब ३३ % हिस्सा दूधबाट करिब ३६ अर्व मूल्य बराबरको र घरमा नै उपभोग हुने ५० % हिस्सा दूधबाट करिव ५३ अर्व मूल्य बराबरको रहेको छ ।
नेपालमा दैनिक ५० हजार लीटर भन्दा बढी क्षमता भएका ठूला डेरी जस्तै: डि.डि.सी., सुजल डेरी, चितवन डेरी, सिताराम गोकुल, हिमालयन डेरी आदि छन । दैनिक १० देखि ५० हजार लीटरसम्म क्षमता भएका मझौला डेरी छन । दैनिक ५ देखि १० हजार लीटर सम्म क्षमता भएका साना डेरीहरु करिव १५० वटा छन । १ हजार लीटर भन्दा कम क्षमता भएका घरेलु डेरीहरु करिव १००० वटा भन्दा बढी छन । साना ठुला गरी करिब १५०० डेरी उद्योगहरु सञ्चालनमा रहेका छन दैनिक २ लाख ५० हजार लीटर दूध प्रशोधन क्षमता भएको र ९९० जना कर्मचारीहरु भएको दुग्ध विकास संस्थान सबै भन्दा ठूलो उद्योग हो । ठूलामा १०० देखि १५० जना, मझौलामा २० देखि ३० जना, सानामा ४ देखि ५जना र घरेलुमा २ देखि ३ जना पूर्णकालिन कर्मचारीहरु कार्यरत रहेका छन । डेरी उद्योगले १० देखि १२ हजार जना लाई प्रत्यक्ष रोजगार दिएको छ । डेरी क्षेत्रमा करिव ६० अर्व भन्दा बढी पुँजी लगानी भई करिब ३ लाख जनाले रोजगार प्राप्त गरेका छन । दुग्ध व्यवसायको माध्यमबाट वर्षेनी करिव ५० अर्व रुपैया ग्रामिण क्षेत्रमा प्रवाह भएको अनुमान छ । कुल घरपरिवारको करिव १०% घरपरिवार प्रत्यक्ष रुपमा डेरी व्यवसायबाट लाभान्वित छन । यो व्यवसाय नगद आम्दानीको रुपमा स्थापित छ ।
साधारणतया अप्रिल देखि नोभेम्बर (बैशाख देखि मङसिर) सम्म दूध उत्पादन कम हुने गर्दछ भने यस समयलाई दूध उत्पादनको Lean Season भनिन्छ । डिसेम्बर देखि मार्च (पुस देखि चैत्र) सम्म दूध उत्पादन बढी हुने भएकोले यस समयलाई दूध उत्पादनको Flush Season भनिन्छ ।Flush Season मा सरकारी तथा निजी डेरी उद्योगहरुलाई दूध प्रशोधन क्षमता अनुसार दूध उपलब्ध हुने भएता पनि उनिहरुले बजारमा आफ्नो बस्तुको बिक्रीको अवस्था अनुसार प्रशोधन गर्ने गर्दछन । यसकारण पनि उद्योगको प्रशोधन क्षमता अनुरुप प्रशोधन नभएको पाइन्छ । बढी दूध उत्पादन भएको बेलामा धुलो दूध बनाउन सकिन्छ । धुलो दूध बनाउनको लागि चिल्लो नकाढेको (Whole Milk ) बनाउनको लागि १०० लिटर दूधबाट १३ के.जी. बन्छ भने चिल्लो काढेको (Skimmed Milk ) बनाउनको लागि १०० लिटर दूधबाट ९ के.जी. बन्छ । । नेपालमा वार्षिक ३००० मे.टन धुलो दूध आवश्यक छ । विराटनगर दुग्ध वितरण आयोजना, चितवन डेरी र सुजल डेरी पोखराले धुलो दूध उत्पादन गरिरहेका छन ।विराटनगर दुग्ध वितरण आयोजनाको धुलो दूध उत्पादन क्षमता ६ टन प्रतिदिन रहेको छ ।
करिव १० देखि २० लिटर दूध प्रशोधनमा गयो भने १ जनाको लागि रोजगार सृजना हुन्छ । नेपालमा दैनिक १००० जना भन्दा बढी युवाहरु रोजगारीको लागि विदेशीने गरेको, ओैपचारिक तथा अनौपचारिक समेत गरी करिब ५० लाख भन्दा बढी उत्पादनशील जनशक्ति देश बाहिर रहेको अवस्था छ । पशुपालन क्षेत्रको माध्यमबाट पनि युवा स्वरोजगार प्रवर्द्धन गर्न सकिन्छ । विदेशबाट बार्षिक करिव २ अर्वको दूध तथा दुग्धजन्य पदार्थ आयात गरिन्छ ।राजनीति कर्मी, संचार कर्मी, शिक्षक, प्राध्यापक लगायत सरकारी कर्मचारीहरुले सहायक पेशाको रुपमा र निवृत कर्मचारीहरु र विदेशबाट फर्केका युवाहरुको पहिलो रोजाईको व्यवसाय पनि डेरी नै रहेको देखिन्छ । शहरको पैसा गाउँमा जाने राम्रो माध्यम नै डेरी व्यवसाय हो । यो व्यवसाय सबै खालका धार्मिक तथा सामाजिक समूहहरुको लागि स्वीकार्य पनि छ । नेपालमा सबै भन्दा बढी संभावना बोकेको क्षेत्र पनि डेरी क्षेत्र नै हो यसको माध्यमबाट युवाहरुलाई स्वदेशमा नै स्वरोजगार गरी आयआर्जन गर्न सक्नुको साथै खाद्य सुरक्षामा समेत सुनिश्चित गर्न सकिने प्रवल संभावना रहेको छ ।
डेरी उद्योगहरुले प्रशोधित दूध, नौनी, घ्यू, दही, चिज, आइसक्रिम, पनिर, पाउडर दूध, फ्रेस मिल्क, लालमोहन, रसवरी, पेडा आदि दूधका परिकारहरु बनाएर बिक्री वितरण गरिन्छ ।
नेपालमा विश्व दूध दिवस वि.सं. २०६८ साल ( सन् २०११) देखि केन्द्रीय दुग्ध सहकारी संघ लि. ले मनाउन शुरु गरिएको हो ।हरेक वर्ष नेपालमा पनि नारा तय गरी दिवस मनाउने गरिन्छ । २०७५ जेठ १८ गते (1st June 2018) मा विश्व दूध दिवसको नारा “दुग्ध क्षेत्रको प्रवर्द्धन : आर्थिक र सामाजिक रुपान्तरण ” ” Promoting Dairy Sector for Economic and Social Transformation” रहेको थियो भने २०७६ जेठ १८ (1st June 2019) मा विश्व दूध दिवसको नारा “प्रशोधित दूध पिऔं, स्वस्थ र खुशी रहौं ” “Processed Milk for Good Health and Happiness “ रहेको थियो ।
यस वर्ष २०७७ जेठ १९ गते (1st June 2020) मा यो दिवसका आयोजकहरु राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहरभवन ललितपुर, पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुर, दुग्ध विकास संस्थान लैनचौर काठमाडौ, केन्द्रीय दुग्ध सहकारी संघ लि. काठमाडौ., नेपाल डेरी एशोशिएसन काठमाडौ, डेरी उद्योग संघ काठमाडौ, केन्द्रीय पशुपन्छीपालन सहकारी संघ लि. काठमाडौं र नेपाल डेरी साइन्स एशोसिएशन काठमाडौं रहेका छन ।
सहयोगी संस्थाहरु नेपाल एनिमल साइन्स एशोशिएसन, नेपाल भेटेरिनरी एशोशिएसन, नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोशिएसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ, त्रिभुवन विश्व विद्यालय, कृषि तथा वन विज्ञान विश्व विद्यालय, हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी, निजी क्षेत्रका कृषि तथा भेटेरिनरी सम्बन्धी कलेज र तालिम केन्द्रहरुले पनि दिवस मनाउदै आएका छन ।
हरेक वर्ष दूधमा अखाद्य पदार्थको मिसावट गरेको वा गणुस्तरहिन दूधको बारेमा मिडियामा व्यापक चर्चा भै रहन्छ । वास्तवमा हो पनि हाम्रो दूध जति उत्पादन हुन्छ, त्यो सबै गुणस्तरीय छैन, यसकारण एकातिर दूधमा आत्मनिर्भर हुनु छ भने अर्कोतिर गुणस्तरीय दूध उत्पादन गरी उपभोक्ताहरुलाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउन पनि त्यतिकै महत्वपूर्ण छ ।
यसकारण राष्ट्रिय कृषि नीति,२०६१, दुग्ध विकास नीति, २०६४, दुग्ध विकास रणनीति,२०७० तथा असल पशुपालन अभ्यास (Good Husbandry Practice – GHP), असल स्वच्छता अभ्यास(Good Hygienic Practice-GHyP), असल भेटेरिनरी अभ्यास(Good Veterinary Practice-GVP), र असल उत्पादन अभ्यास(Good Manufacturing Practice-GMP) दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका,२०७५ र दुध संकलन केन्द्र, दूध चिस्यान केन्द्रको मापदण्ड, डेरी पसलको मापदण्ड, २०७५ को सफल कार्यान्वयनको साथै पशुपालक कृषकहरुलाई गोठमा नै गुणस्तरीय एवम् प्रभावकारी प्राविधिक सेवा उपलब्ध गराई “गोठदेखि ओठसम्म स्वच्छ र स्वस्थ्य दूध उत्पादन ” अभियानलाई साकार पार्न सकिन्छ ।यसको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, कृषक, समूह, समिति, सहकारी, दुग्धजन्य उद्योगहरु र अन्य सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी देखिन्छ ।
देशमा नोवेल कोरना भाइरस (COVID-19) को आगमन संगै विदेशमा रहेका हजारौं युवा जनशक्तिको पनि आगमन भएको छ ।यस जनशक्तिलाई सदुपयोग गरी “समृद्ध नेपाल, सुखी नेपाली“ राष्ट्रिय नारा साकार पार्नको लागि दिनमा दुई पटक पैसा आउने व्यवसाय डेरी क्षेत्रमा संलग्न गराउन सकेमा हालको वेरोजगारीलाई रोजगार दिने चुनौतिलाई अवसरमा परिणत गर्न अवसर आएको छ ।यस अवसरले देशलाई दूधमा आत्मनिर्भर हुनुको साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा समेत टेवा पुग्न जाने छ । हाल दूध संकलन पूर्व पश्चिम लोकमार्गमा मात्र केन्द्रित भइरहेको परिपेक्षमा मध्यपहाडी लोकमार्ग तथा हुलाकी मार्ग र विभिन्न लोकमार्गहरुका कोरिडोरमा दुग्ध संकलन तथा चिस्यान केन्द्र स्थापना गर्न सकेमा हालको दूध फाल्ने तथा दूध विदा (Milk Holiday) हुनसक्ने सम्भावना रहेको समस्यालाई सजिलै समाधान गर्न सकिनेछ ।हाल नेपालमा खानेबानीमा आएको परिवर्तनलाई नियन्त्रण गरी पत्रु खाना (Junk Food ) को सट्टामा नियमित दूध सेवन गर्ने बानी विकास गरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु पनि त्यतिकै आवश्यक छ ।यसको लागि सरकारी तथा निजी कार्यालयका क्यान्टिनहरु, अस्पतालहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल नेपाल, नेपाली सेना, स्कुल, कलेजमा दूध तथा दुग्ध जन्यपदार्थको सेवन बढाउन सकेमा दूध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सकिन्छ ।
नेपाल सरकारले राष्ट्रलाई दूधमा आत्मनिर्भर गर्ने लक्ष लिनुको साथै प्रदेश नं ५को रुपन्देही जिल्लाको बुटवलमा दैनिक २० हजार लिटर क्षमताको UHT(Ultra Heat Treatment) Milk Processing Plant स्थापना र बाँके जिल्लाको कोहलपुरमा दैनिक ७० हजार लिटर क्षमताको Milk Powder Plant स्थापनाको लागि DPR (Detail Project Report) तयार भइरहेको छ ।यसको कार्यान्वयन हुन सकेमा डेरी क्षेत्रमा थप रोजगारको अवसर प्राप्त हुनुको साथै आर्थिक समृद्धिको मार्ग प्रसस्त हुन जाने देखिन्छ ।
अतः नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमता विकासको साथै आयआर्जन, रोजगारी र खाद्य सुरक्षाको लागि डेरी क्षेत्रले महत्वपूर्ण योगदानको लागि भूमिका खेल्ने हुंदा सरकारले विशेष प्रथमिकता दिनुपर्ने देखिन्छ; अनि मात्र विश्व दूध दिवसको सान्दर्भिकता सार्थक हुन जानेछ ।
जय पशुधन ! जय किसान !
(लेखक राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुरका पशु विकास अधिकृत हुन् ।)