लिपुलेकमा अतिक्रमण गरेको भारतले पूर्वको पाँचथरमा पनि नेपाली भूमिमा अवरोध गर्न थाल्यो

लिपुलेकमा अतिक्रमण गरेको भारतले पूर्वको पाँचथरमा पनि नेपाली भूमिमा अवरोध गर्न थाल्यो

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

जेष्ठ १ फिदिम । महाकाली अन्तर्गत लिपुलेक, कालापानी र लिम्पियाधुरामा अतिक्रमण गरेको भारतले पूर्वको पाँचथरमा समेत नेपालीमाथि अवरोध सृजना गर्न थालेको छ ।
उनीहरुले नेपाली भूमिभित्र नेपालीले संरचना बनाउदा अबरोध गर्न थालेका छन् । यस अघि सन्दकपुरमा भ्युटावर बनाउन पनि एसएसबीले अवरोध गरेको थियो ।

पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतीय सीमा सुरक्षा बलले संरचना निर्माणमा रोक लगाएको छ । भारतले जारी गरेको नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा पर्ने दाबीसहित एसएसबीले जंगे पिलरभन्दा यता आएर दबाब दिन थालेको हो ।

गाउँपालिकाले आहाल कबुलियती वनको आहाल भन्ने स्थानमा पर्यटन संग्रहालय बनाउन काम अघि बढाएको थियो । वैशाख २४ बाट भवन निर्माण थालिएकोमा एसएसबीले उक्त स्थानलाई दशगजा भन्दै २७ गते काममा अवरोध पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले बताए ।

उक्त स्थानमा आहालगैरी कबुलियती वन समूहले बहुजातीय सङ्ग्रहालय बनाउन लागेको थियो । सो समूहले निर्माण गर्न लागेको सङ्ग्रहालय क्षेत्र आफ्नो भूभागमा पर्ने झुठो दाबी एसएसबीले गरेको छ ।

फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवनकुमार राईका अनुसार उपभोक्ता समितिले भारतीय पक्षले अवरोध गरेको गुनासो गरेपछि सो गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ तथा सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । यस क्रममा भारतीय पक्षले सीमा अतिक्रमण गर्नुका साथै सीमास्तम्भ समेत गायब पारेको पाइएको प्रवक्ता राईले जानकारी दिनुभयो । यहाँ भारतीय पक्षले ५७÷४ नंको सीमास्तम्भ गायब पारेको पाइएको उहाँको भनाइ छ । फालेलुङ–५ प्राङबुङका सिल्प साम्पाङका अनुसार यहाँ एसएसबीले दैनिकरूपमा गस्ती गर्नुका साथै नेपालीलाई हिँडडुल र काम गर्नसमेत अवरोध गर्दै आएको छ । दैनिक करिब १०० जनाको एसएसबीको टोली यस क्षेत्रमा आउने गरेको छ ।

सीमा क्षेत्रमा दुई होटलसमेत रहेका छन् । एसएसबीले होटल सञ्चालकलाई उक्त क्षेत्र भारतीय भूभागमा परेको भन्दै मनोवैज्ञानिक दबाव दिने गरेको पाइएको साम्पाङको भनाइ छ । भारतीय पक्षले नयाँ नक्सा नै निर्माण गरी सीमाभन्दा करिब १०० मिटरभन्दा बढी क्षेत्र अतिक्रमण गरेको पाइएको गाउँपालिकाका प्रवक्ता राईको भनाइ छ । जनप्रतिनिधिले एसएसबीका स्थानीय कमाण्डरसँग संवादसमेत गरेका थिए । यस क्रममा भारतीय पक्षले नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा परेकाले भौतिक संरचना निर्माण रोक्न माथिको आदेश आएको बताएको प्रवक्ता राईले बताउनुभयो ।

भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेपछि फालेलुङ गाउँपालिकाले यस विषयमा पहल गर्न जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ । पत्र प्राप्त भएपछि सीमा मिचिएको तथा नेपाली भूभाग अतिक्रमण भएको विषय स्थलगत अवलोकन गर्न डिभिजन वन कार्यालयको टोली उक्त क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभयो । “वन डिभिजनबाट सञ्चालित योजनामा अवरोध भएकाले स्थानीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न भनिएको छ”, उहाँले भन्नुभयो । स्थानीयस्तरबाट प्राप्त सीमा अतिक्रमणसम्बन्धी सूचना गृह मन्त्रालयमा समेत पठाइएको प्रजिअ शर्माले बताउनुभयो । “एउटा सीमास्तम्भसमेत जानाजान हराएको भन्ने सूचना आएपछि संवेदनशीलरूपमा लिइ मन्त्रालयमा जानकारी गराइएको छ”, उहाँले भन्नुभयो ।

उक्त क्षेत्र पाँचथर, इलाम र भारतको पश्चिम बङ्गाल राज्यको सीमामा पर्दछ ।

पाँचथरमा भारतसँगको करिब ४५ किलोमिटर सीमा क्षेत्र रहेको छ । पछिल्लोपटक कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रबाट हुने आवतजावत रोक्ने सशस्त्र प्रहरी बल सीमा क्षेत्रमा पुगेपछि भारतीय पक्षले नयाँ विवाद सिर्जना गरेका सन्दकपुर क्षेत्रका स्थानीयवासीको भनाइ छ ।

छलफलमा पनि एसएसबीले नयाँ नक्साअनुसार एक सय मिटरसम्मको क्षेत्र भारतको रहेको र त्यहाँ संरचना बनाइए भत्काउने  धम्की दिएको छ । भारतले गत नोभमेम्बरमा नक्सा जारी गर्दा नेपाली भूमि पनि गाभे देखि नै विरोध हुदै आए पनि हाल सम्म नेपालले आफ्नो देशको नक्सा जारी गर्न सकेको छैन भने भारतसगँ वार्ता समेत गर्न सकेको छैन ।
मेचीदेखि महाकाली सम्म खुल्ला सिमा क्षेत्रमा भारतले निरन्तर अतिक्रमण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ