बैशाख २३ राजविराज । सरकारले कोरोनाको संभावित जोखिम नियन्त्रण गर्न लकडाउन र सीमानाका कडा पार्ने निर्देशन दिएको छ ।
केही दिन अघि मन्त्रीपरिषद् बैठबकमा प्रधानमन्त्री ओलीले नाका कडा पार्न निर्देशन दिए ।
तर सप्तरीमा खुलेआम सयौंको संख्यामा बिहारबाट भारतीय नागरिकहरु नेपाल प्रवेश गरेर कोशी बाधँमा काम गरीरहेका छन् ।
कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १२ का बासिन्दा विरोधमा उत्रिएका छन् । उनीहरुले सोमबार सडकमै निस्किएर बाटो अवरुद्ध पारेका थिए ।
स्थानीयवासीले आफूहरुले रोजीरोटी गुमाईरहेको, बालबच्चा भोकभोकै रहेको तर भारतबाट हुल बाधेर आएर काम गरीरहेका छन् भन्दै सरकारको बिरोध गरेका छन् ।
बाधँको स्पर मर्मतका लागि भारतीयहरु नेपाल आएका हुन् । नेपालमा भारतबाट आएकाहरुबाट कोरोना संक्रमणको समेत जोखिम बढेकोमा स्थानीयले चिन्ता जनाए ।
कोसी बाँधको पूर्वतर्फ मर्मतका लागि कर्मचारी तथा मजदुर भारततर्फबाट आई मर्मत गर्न÷गराउन सहजीकरणका लागि भारतीय पक्षले वैशाख ६ गते अनुरोध गरेको थियो। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको सर्त पालना गर्ने÷गराउने व्यवस्था मिलाई मर्मत गर्न अनुमति दिएपछि बाँधको काम सुरु भएको प्रशासनले जनाएको छ ।
अनुमति पत्रमा सुपरभाइजर सहितको केही प्राविधिक कर्मचारी भारतीय रहे पनि मजदुरहरू नेपाली नै राख्नुपर्ने गरी अनुमति दिएको भए पनि हुलका हुल मजदुर पनि भारतीय नै ल्याईएको छ ।
स्थानीय भने भारतबाट कर्मचारी र मजदुर आएर काम गराउँदा स्वास्थ्य जाँच र लकडाउनको सामान्य नियमसमेत पालना नभएको बताएका छन् ।
भारतको सीमावर्ती जिल्लामा धमाधम कोरोना संक्रमित पुष्टि भइरहेको र सीमा जोडिएको भारत बिहारमा संक्रमितको संख्या बढिरहेको अवस्थामा त्यहाँबाट कर्मचारी र मजदुर ल्याएर काम गर्नु नेपालका लागि थप जोखिम बृद्धि हुन सक्ने भन्दै बिरोध भएको हो ।
१२ नं वडाध्यक्ष रामदेव मुखियाले ‘बाढी नियन्त्रणका लागि कोसी बाँधको स्पर मर्मत गर्न भारतबाट मजदुर ल्याउने र नेपालतिर चाहँी माछा मार्ने डुंगा समेत चलाउन नदिने कार्य गलत भएको बताए ।’