बैशाख २३ काठमाण्डौ । यति खेर कोरोना महामारीको जोखिम देश भित्र भन्दा रोजागारी र शिक्षाका लागि खाडी तथा यूरोप अमेरीकामा गएका नेपालीहरुले सहनु परेको छ । पछिल्लो विवरण अनुसार विश्भर छरिएर रहेका ८४ जना नेपालीको कोरोनाबाट मृत्यु भईसकेको छ भने ४ हजार बढी संक्रमित रहेको औल्याईएको छ ।
करीब ५० लाख युवाहरु खाडी तथा अन्य एशियाली युरोपेली मुलुकमा रोजगारीमा रहेको अनुमान गरिएको छ ।
सम्बन्धित देशमा रोजगारी गुम्दै जाने स्थिति देखिएको छ भने धेरै युवाहरु स्वदेश फर्कन समेत पहल गर्न माग गरीरहेका छन् ।
त्यस्तै भारतमा समेत ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्कने चाहनामा सिमा सम्म आएर पनि प्रतिक्षा गरीरहेका छन् ।
यति बेला नेपालमा कोरोनाले कसैको मृत्यु नभए पनि त्यसले लकडाउन जस्ता कारणले अर्थतन्त्र कमजोर बन्दै गईरहेको छ ।
यस्तो पृष्टभूमिमा राजनीतिक नेताहरुलाई भने अब ती युवा फर्केपछि रोजगारी पाएनन् र आन्दोलनमा लागे, जुलुश गर्न थाले भने के हुन्छ भनेर चिन्ता गर्न थालेका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिको आज बसेको बैठकमा पूर्व अर्थमन्त्री एवं सत्तारुढ नेकपाका नेता सुरेन्द्र पाण्डेले यस्तै चिन्ता व्यक्त गरेका छन् ।
उनले कोरोना महामारीको संकट अर्थतन्त्रमा देखा पर्ने र त्सको प्रभाव राजनीतिले चुकाउनु पर्ने हुनसक्छ भन्ने चेतावनी दिएका छन् ।
खाडी र भारतबाट उनीहरू स्वदेश फर्किए पछि व्यवस्थापन हुन सकेन भने राजनीतिले मुल्य चुकाउनु पर्ने दिन आउने पाण्डेले चिन्ता जनाए ।
युवाहरुले सिप अनुसारको काम पाए भने स्वदेशी उत्पादन बढ्नेछ तर सकिएन भने अहिलेको बजेट प्रहरीलाई लाठी उपलव्ध गराउनमै खर्च हुन सक्छ पाण्डेले बैठकमा भने ।
बैदेशिक रोजगारीमा गएकाहरु कति फर्कने हुन्, उनीहरुलाई कसरी रोजगारी दिने वा व्यवस्थापन गर्ने भन्ने तयारी अहिले नै नगरे भविष्यमा समस्या आउन सक्छ पाण्डेले सुझाव दिए ।
साथै पाण्डेले नयाँ प्रहरी र कर्मचारी भर्ना लिन नहुने, विभिन्न मन्त्रावलयलाई गाभेर काम गर्ने , खर्च घटाउने, ठूला आयोजना अविलम्ब सम्पन्न गर्नेतिर लाग्न पनि सुझाव दिए ।