हाल विश्वव्यापी रुपमा फैलिरहेको महामारी रोग कोरोना भाइरस (COVID-19)तथा सार्स (२ को नामबाट परिचित भैरहेको छ ।यो भाइरस सर्व प्रथम सन २०१९ डिसेम्बर ३१ तारिखका दिन चीनको हुबेइ प्रान्तको बुहान शहरमा देखा परी हाल विश्वभर तिब्र रुपमा फैलिइ रहेको छ ।यो रोग विश्वका २१० देशमा फैलिएको र आज मिति २०७७/०१/१२ (24 April2020) गतेका दिनसम्म यस रोगबाट २७२६७५९ जना संक्रमित भएका ७४९८८८ जना रोग निको भएको र १९१०८४ जनाले ज्यान गुमाइ सकेको अवस्था छ ।त्यसै गरी नेपालमा रोग संक्रमित ४८ जना रोग निको भएको ९ जनार हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको अवस्था छ । अझै पनि यो रोगको फैलावटको तिब्रता निरन्तर नै रहेको छ ।यसै परिणामले विश्वमा बन्दाबन्दी (Lock Down ) निरन्तरता पनि बढ्दै गइरहेको छ । मिति २०७६/१२/११ गते देखि लकडाउन र बन्दाबन्दी शुरु भई हाल सम्म निरन्तर चलेको छ ।कहिलेसम्म यो लकडाउन अन्त हुनेहो अनुमान गर्न सकिएको छैन ।
यसले मानव संगै मानवमा नै आश्रित घरपालुवा पशुपन्छीहरुलाई पनि त्यतिकै प्रभावित गरेकोँ छ ।हाल नेपालमा गाई ७३ लाख ७६ हजार, भैंसी ५२ लाख ७८ हजार, भेडा ८ लाख, बाख्रा १ करोड १६ लाख, बंगुर १४ लाख ३५ हजार, कुखुरा ७ करोड २२ लाख ४६ हजार , हाँस ४ लाख ५ हजार, याक/ चौरी ७० हजार, घोडा ५८ हजार, खरायो ७६ हजार रहेका छन् । ( कृषिडायरी, २०७६ )
नेपालमा उच्च पहाड तथा हिमाली भेगमा पालन गरिरहेका याक, चौरी, भेडा, बाख्रा / च्याङ्ग्राहरु स्वतन्त्र चरिचरन प्रणाली (Free grazing system) रहेको छ भने अन्य भागमा पालेका पशुपालन थलोमा घाँस काटेर खुवाउने बधुवा प्रणाली (Stall feeding system) प्रचलन रहेको छ ।हाल कोरना कहरबाट सृजित लकडाउनको प्रत्यक्ष असर बधुवा प्रणाली अपनाइएका पशुपन्छी पालनमा रहेको छ । कुखुरा पालन पूर्णरुपमा दानामा आधारित पालन भएकोले सबै भन्दा बढी प्रभावित भइरहेको छ । कुखुरा पालक कृषकहरुले कुखुराको आहारा उपलब्ध हुन नसकेर कुखुरा तथा चल्लाहरु खाडलमा पुरेका तथा एकदम न्यून मूल्यमा बिक्री गर्न बिवस भएका समाचारहरु सुनिरहेका छन।यसको असर पशुपालन क्षेत्रमा व्यापक परेको कुरा दैनिक कृषकहरुले सडक तथा खोलामा दूध पोखिरहेको समाचारहरु कोसाथै कहि कतै नि शुल्क वितरण गरेका खवरहरु समेत समचारमा आइरहेका छन ।
कृषकहरुलाई आफु कसरी बाच्ने भन्ने चिन्ता त छदै छ यसको साथसाथै आफुले पालेका पशुबस्तुहरुको जीउ कसरी जोगाउने भन्ने ठुलो चिन्ता दिनप्रति दिन थपिरहेको छ ।पशुहरुलाई जीउनको लागि आहारा नै महत्वपूर्ण कुरा हो । नेपालमा हालसम्म व्यवसायिक कृषकहरुको संख्या एकदम न्यून रहेको छ भने बढी कृषकहरु निर्वाहमुखी कृषि गरिरहेका छन ।निर्वाहमुखी पशुपालन पेशा आपनाएका कृषकहरुसंग नै पशु संख्या बढी छन र ती पशुहरु बढी मात्रामा न्यून उत्पादनशील रहेका छन् ।
पशु आहारा खास गरी जीवन निर्वाहको लागि (Maintenance Ration ), शारीरिक वृद्धिको लागि (Growth Ration ), गर्भिणी अवस्थाको लागि (Pregnancy Ration) र उत्पादनको लागि (Production Ration ) आवश्यक हुन्छ ।यसको साथै पशुको जात, उमेर, शारीरिक तौल, पशुको स्वास्थ्य अवस्था, पशुको उत्पादन स्थिति, प्रजनन आवस्थाको साथै घाँस तथा दानाको उपलब्धता किसिम र मात्राको स्थितिलाई समेत ख्याल गर्नु पर्छ ।यसरी नै पशुहरुको वर्गीकरण गरेर आहारा दिनु पर्छ ।तर अधिकांश कृषकहरुले यस कुराको खासै ख्याल गरेको हुदैन ।हाल उपलब्ध भएको पशु आहारालाई व्यवस्थित तवरले खुवाउदा केहि हदसम्म समस्यालाई परसम्म धकेल्न अवश्य पनि मद्दत पुग्नेछ। यसको लागि निम्न कुराहरुमा ध्यान दिनु आवश्यक छ ।
१) हामीले पालनगरेका पशुहरुको वर्गीकरण गर्नु पर्छ जस्तै: व्याउने, दुधालुमा पनि लैनो वा बकेर्नो, बाँझो, कोरेली, बहर, बाच्छा, पाडा, बीउको साढें/ राँगो /बोका, जोत्ने गोरु वा राँगा आदिको वर्गीकरण गर्नु पर्छ ।यसरी वर्गीकरण गरी सकेपछि “वजन अनुसारको भोजन, उत्पादन अनुसारको पोषण “ भन्ने मुल मन्त्रलाई मनन गरी आहारा उपलब्ध गराउनु पर्छ ।भरखर व्याएका र ब्याउने गाईभैंसीलाई साविक अनुसारको आहारा दिनु पर्छ । बकेर्नो तथा थारा पशु, कोरेली, नजोत्ने राँगा तथा गोरु, बहर आदिलाई कमसल खालका आहारा जीवन निर्वाहको लागि मात्र दिनु पर्छ ।
२) साना पाडापाडी तथा बाच्छा बाच्छीलाई प्रयाप्त मात्रामा माउको दूध उपलब्ध गराउनु पर्छ ।अधिकांस कृषकहरुले पैसाको लोभले माउको दूध पाडापाडी तथा बाच्छाबाच्छीलाई प्रयाप्त मात्रामा खान दिएको हुदैन ।पाडापाडी तथा बाच्छाबाच्छीलाई जन्मेको एक महिनासम्म उनिहरुको शारीरिक तौलको दश भागको एक भाग दूध खुवाउनु पर्छ ।यसरी एउटा बाच्छाबाच्छी वा पाडापाडीलाई दैनिक डेढ देखि दुई लीटर दूध खान दिनु पर्छ ।यसले आजका ती साना बाच्छी/ पाडी भोलीका माउ गाई भैंसी हुन र तिनको शारीरिक वृद्धि विकास राम्रो भयो भने रोग प्रतिरोधात्मक क्षमता बढ्नुको साथै समयमै बाली जाने र माउ अवस्थामा उत्पादन राम्रो हुन्छ ।
३) आहारालाई डुड वा बाटा आदिमा राखेर मात्र खुवाउनु पर्छ ।पशु आहारालाई कहिले पनि फालेर खान दिनु हुदैन । अहिले पनि कतिपय ठाउँहरुमा घाँस, डालेघाँस, हे वा गाज्यो, साइलेज, पराल, नल, ढोड आदि त्यतिकै भुईमा फालेर खान दिने प्रचलन विद्यमान नै रहेको छ । यसले एकातिर आहारामा फोहरमैलो लागेर पशु विमारी हुने संभावना प्रवल रहेको हुन्छ भने अर्कोतिर आहाराको पूर्ण सदुपयोग नभइ खेर जान्छ ।आहारा उत्पादन हुने बेलामा त्यसैलाई कुल्चेर सुत्ने सोतर समेत बनाएको हुन्छ भने नभएको बेलामा त्यही सोतरलाई खाइ रहेको हुन्छ ।यसरी आहाराको पूर्ण सदुपयोग गर्न सकिन्छ ।आहाराको पूर्ण सदुपयोगको लागि डुड वा बाटामा मात्र राखेर आहारा दिनु पर्छ ।
४) पशु आहारामा प्रयोगहुने हरियो घाँस, डालेघाँस, हे गाज्यो, पराल, नल, ढोड, कुनौरो, छ्वाली आदिलाई कम्तिमा पनि १ ईन्च का टुक्रा बनाएर पशुबस्तुलाई खान दिनु पर्छ ।व्यवसायिक पशुपालन फार्महरुले भने च्याप कटर राखेर आहारालाई च्याप गर्ने गरेको पाइन्छ तर अन्य कृषकहरुले यसमा ध्यान दिएको पाईदैन ।यी आहाराहरुलाई टुक्रापारी खान दिदा खस्रा तथा नखाने तथा खेर जाने आहाराको भाग समेत पशुहरुले खाएर पूर्ण सदुपयोग हुन्छ ।जस्तै नेपियर, मुलाटो, अमृसो आदि घाँसको डाँठहरु नकाटेर खुवाउदा पशुहरुले पात मात्र खाएर बाकी डाँठ खेर जान्छ भने काटेर टुक्रापारी खुवाउदा सबै खाई दिन्छ कुनै पनि भाग खेर जादैन ।यसरी टुक्रा परेको आहाराको पाचकत्व पनि बढीहुन्छ ।पशुले सजिलैसंग पचाउन सक्छन ।पशु आहाराको पाचन बढी भएपछि मात्र पशुलाई बढी पोषणप्राप्त हुन्छ र यसले उत्पादनमा वृद्धि हुन्छ ।यसरी टुक्रापारी आहारा खुवाउदा किफायती पनि हुन जान्छ ।
५) दैनिक कार्य पात्रो फार्ममा समय व्यवस्थापनको औजार हो समय बलबान छ समयले कसैलाई पनि पर्खदैन । कुनै पनि कामलाई व्यवस्थित तवरले सम्पादन गर्नको लागि समय व्यवस्थापनको अति नै महत्व रहेको हुन्छ ।यसले फर्ममा उपलब्ध साधन स्रोतहरुलाई समुचित प्रयोग गर्न सहयोग पुर्याउछ। दैनिक कार्य पात्रो तयार गरी सो अनुसार मात्र आहारा दिनु पर्छ । पशुले दिन भरी पनि आहारा जति दियो त्यो सबै खाई रहन्छ । सामन्यतया दिनमा २ देखि ३पटक आहारा उपलब्ध गराउनु पर्छ ।
६) सामान्यतया एउट वयस्क गाईभैंसीलाई दैनिक १ केजी सन्तुलित दाना, नल ,पराल, हे, भुसाबाट सुख्खा आहारा ५-७ केजी र हरियो घाँस २०-२५ केजी दिनु पर्छ ।हरियो घाँसमा कोशे घास एक तिहाइ र आकोशे घाँस दुई तिहाइ भाग मिसाउनु पर्छ ।यसको साथै प्रति लीटर दूध उत्पादनको लागि ४००-५०० ग्राम दाना थप दिनु पर्छ ।
७) उपलब्ध भएसम्म हे, साइलेज, युरिया पराल उपचार, युरिया मोलासेस मिनरल ब्लक(UMMB), परालको ब्लक, टोलल मिक्सड रासन (TMR) मिनरल ब्लक बनाएर खुवाउनु पर्छ ।यी आहाराबाट पशुहरुलाई प्रयाप्त मात्रामा पोषण उपलब्ध हुन्छ ।पशुहरुलाई पेट भरिएर मात्र हुदैन ।उपलब्ध आहारा पोषण युक्त हुनु पनि त्यतिकै आवश्यक छ ।,
८) उग्राउने पशुहरुको चार वटा पेट ( रुमेन, रेटिकुलम , ओमाजम र एवओमाजम ) हुन्छन । यी पशुहरुलाई दाना पकाएर खुवाउनु आवश्यक हुदैन । दानालाई सफा पानीमा भिजाउनु आवश्यक हुन्छ । अधिकांश साना कृषकहरुले पशुबस्तुहरुलाई दाना, पिठो, कुडो पकाएर खुवाउने गरेको हुन्छ । यसबाट पशुले पाउनु पर्ने पोषण नष्ट भई पुरा पाउन सक्दैन भने अर्को तिर समय, श्रम, इन्धन व्यर्थमा खेर गई रहेको हुन्छ ।सन्तुलित दाना, पिठो वा कुडो पकाएर खुवाउने प्रचलन हटाउनु आवश्यक छ ।
९) पशु आहारालाई जोखेर वा तौल गरेर खुवाउनु आवश्यक हुन्छ । यसरी पशुहरुलाई वजन अनुसारको भोजन र उत्पादन अनुसारको पोषण प्राप्त हुन सहयोग मिल्दछ ।आहाराको सदुपयोग हुनुको साथै किफायति पनि हुन्छ ।यसरी पशु आहाराको यथोचित वितरण पनि हुनजान्छ ।पशुपालन व्यवसायिक र व्यवहारिक हुन गई उत्पादन लागत घटाउन समेत सहयोग पुग्दछ ।
१०) एउटा वयस्क गाई भैंसीलाई दैनिक ६०-१०० ग्राम नुन आवश्यक पर्छ । नुन सकेसम्म आयोडिन युक्त हुन पर्छ । साथै नुन खान दिएको बेला प्रसस्त पिउने पानी दिनु पर्छ ।
११) पशुलाई प्रसस्त मात्रामा पिउने पानी उपलब्ध हुने व्यवस्था मिलाउनु पर्छ ।
अन्तमा,
नेपाल कृषि प्रधान देश हो । यहाँका ६५.६प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न रहेका छन् ।राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेको छ ।त्यसै गरी कुल कृषि गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान पनि २७ प्रतिशत रहेको छ ।पशुपालन क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६५प्रतिशत योगदान दुग्ध उत्पादन क्षेत्रको रहेको छ ।कृषि पेशालाई वैज्ञानिक, व्यवसायिक र बजार तथा उपभोक्तामुखी कृषि प्रणालीको विकास हुन आवश्यक छ ।कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढाउनको लागि प्रविधि मैत्री, यान्त्रिकृत, व्यवसायिक, उच्च प्रतिफल प्राप्त एवम् मर्यादित पेशाको रुपमा रुपान्तरण गर्न आवश्यक छ ।
पशुपन्छी जन्य उत्पादन पदार्थहरु विशेष गरी दूध, मासु र अण्डाको सेवनले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न सकिन्छ । उच्च प्रोटिनको श्रोतको रुपमा पशुपन्छी जन्य उत्पादन पदार्थहरु नै रहेका छन ।एकातिर यिनको बजार व्यवस्थापनको पनि त्यतिकै खाँचो रहेको छ भने अर्कोतिर उत्पादनलाई निरन्तरता दिनपनि त्यतिकै चुनौतिपूर्ण रहेको छ ।
कोरना कहरले पशुपालन क्षेत्रलाई तहस नहस पार्दै गइरहेको छ । यस अवधिमा पशुपन्छीको जीउ जोगाउनसके पनि उपलब्धी नै हुन जान्छ ।माथि उल्लेखित कुराहरुमा ध्यान दिन सकेमा केहि हद सम्म समस्याहरुलाई केहि दिन अवश्य पर धकेल्न सकिन्छ ।हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री घनश्याम भुसालज्यूले अघिसारेको “संरक्षित कृषि, सुनिश्चित बचत,” नाराका साथ उत्पादन सामाग्रीमा अनुदान, सस्तो सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा, सबै बालीबस्तुको बीमा र न्यूनतम् बचतको ग्यारेन्टीको पञ्च नीति अगाडि सारेको छ ।यस नीतिलाई पूर्णरुपमा कार्यान्वयन चरणमा ल्याउन सकेमा अवश्य पनि पशुपालक कृषकहरुलाई हालको क्षतिमा मलहम पट्टिको काम गर्ने आशा राख्न सकिन्छ ।यस नीतिले कृषकहरुलाई सरकार हाम्रो साथमा छ भन्ने आभास मिलेको छ ।कृषि क्षेत्रमा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको लागि रोड म्याप बनेको छ ।लकडाउन पछि कृषि र कृषकलाई जोगाउन तथा दिगो विकासको लागि विशेष राहत प्याकेज कार्यक्रम सञ्चालन गर्नुकोसाथै कृषिलाई सहकारीसंग जोड्नु त्यतिकै आवश्यक छ।कोरना कहरले कृषि क्षेत्रमा देखा परेको चुनौतिलाई अवसरमा परिणत गरी राष्ट्रलाई समृद्ध बनाउने आधार पनि विकास भई रहेको कुरा विदेशमा रहेका नेपालीहरु स्वदेशमा फर्कने मोहले सजिलै अनुमान गर्न सकिन्छ । कृषि क्षेत्रको पञ्च नीतिको माध्यमबाट नेपाल सरकारले पन्ध्रौं पञ्च वर्षीय योजनामा अघिसारेको “समृद्ध नेपाल, सुखी नेपाली“ नारालाई साकार पार्न अवश्य पनि सहयोग पुग्ने देखिन्छ । “अनिकालमा बीउ जोगाउनु, महामारीमा जीउ जोगाउनु“ पुर्खाको उखान निर्विकल्प रहेकोले यसको अक्षरस अनुसरण गर्नु अपरहार्य छ ।
“पशु आहाराको समुचित प्रयोग गरौं ! जय पशु धन ! कृषि मुलश्च जीवनम् !”
(लेखकः राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुरमा कार्यरत छन् । )