ललितपुरको गोदावरीमा एकीकृत बस्ती, रङ्गशाला र नमूना कृषि परियोजना

ललितपुरको गोदावरीमा एकीकृत बस्ती, रङ्गशाला र नमूना कृषि परियोजना

  • शुक्रबार, माघ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

गोदावरी, १० माघ । ललितपुरको गोदावरी नगरपालिकाले पहिलो पटक नमूना कृषि परियोजना सञ्चालन गर्ने भएको छ । गोदावरीको वडा– १ गोदामचौरमा नगरपालिकाले सो परियोजना सञ्चालन गर्न लागेको हो । सो परियोजना सञ्चालन गर्न नगरपालिकाले गैरआवासीय नेपालीसँग जग्गाको माग गरिरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस चालु आर्थिक वर्षको अन्त्यसम्म हामीले सो परियोजनाका लागि जग्गा पाउने भएका छाँै । आगामी आर्थिक वर्षको शुरुआती चरणमा यस परियोजनाअन्तर्गतको काम अघि बढाउने भएका छाँै ।” गोदावरीभित्रको उत्पादन बढाउन सो परियोजनाले ठूलो सहयोग गर्ने महर्जनले बताउनुभयो ।

यसैगरी नगरपालिकाले देवीचौर क्षेत्रका समूहलाई लप्सी उत्पादनका लागि प्रविधिसहितको रुकम सहयोग गरेको र यहाँका डाँडामा लप्सी लगाउने योजना अघि बढाएको छ । साविकको गोदावरी क्षेत्रमा फूलखेतीलाई थप बढावा दिने, डुकुछापका केही समूहमार्फत गोलभेंडा खेतीलाई अघि बढाइरहेको र अन्य बाँकी वडामा माटो परीक्षण गरी भूगोल सुहाउँदो किसिमको वस्तु उत्पादन गरिने महर्जनले जानकारी दिनुभयो ।

नगरपालिका गठन भएको झण्डै तीन वर्षमा गोदावरीले विभिन्न योजना अघि सारेको छ । नगरपालिकाले वडा नं १० बज्रबाराहीमा सय कोठाको आफ्नै भवन बनाउने कामलाई पनि तीव्रता दिएको छ ।

यहाँका वडा नं २ मा प्राविधिक शिक्षालय, वडा नं ३ साविकको गोदावरीमा गोदावरी कुण्ड, उद्यान, धर्मशाला र किरियापुत्री भवन, वडा नं ४ बडिखेलमा खानेपानी तथा वडा कार्यालयको भवन, तपेश्वर महादेव मन्दिर र तपेश्वर घरबास निर्माण, वडा नं ५ र ६ लेलेमा चिस्यान केन्द्र तथा ठूलो महादेव खोलामा बाँध निर्माण र ढुङ्गाखानी व्यवस्थापन, वडा नं ७ देवीचौरमा दृश्यावलोकनस्तम्भ निर्माण, वडा नं ८ डुकुछापमा स्मार्ट सिटीको अवधारणानुरुप एकीकृत बस्ती निर्माण, वडा नं ९ छम्पी र टीकाभैरवमा उद्यान, छम्पीदेवीमाईको मन्दिर पुनर्निर्माण, वडा नं १० मा गोदावरी रङ्गशाला निर्माण र वडा नं १३ झरुवारासीमा सामुदायिक नर्सरीलाई सञ्चालन गरी गोदावरीमा विभिन्न किसिमका बोटबिरुवा प्रवद्र्धन गर्र्ने कार्यक्रम अघि सारिएको महर्जनले बताउनुभयो ।

“वडा नं ११ चापागाउँ, वडा नं १२ ठेचो र वडा नं १४ ठैवमा हामीले विशेष गरी यहाँको सांस्कृतिक, चाडपर्व, रीतिरिवाज, सम्पदा र बाजागाजा संरक्षणमा जोड दिँदै आएका छौँ,” उहाँले थप्नुभयो । नगरपालिका गठन हुनुपूर्व यहाँका विभिन्न आधारभूत आवश्यकता खानेपानी, स्वास्थ्य, शिक्षा र सडक निर्माणमा गोदावरीले धमाधम काम गरिरहेको छ ।

नगरपालिकाले गोदावरीका पाँच स्थान वडा नं २ बिसङ्खुनारायणथान, वडा नं ८ डुकुछाप, वडा नं ९ छम्पी, वडा नं १० मूलडोल र वडा नं ११ चारघरेमा डिपबोरिङको काम सम्पन्न गरी यहाँका जनतालाई सफा पानीको व्यवस्था गरिदिएको छ । गोदावरीले चालु आर्थिक वर्षमा यहाँका अन्य तीन स्थान वडा नं १ गोदामचौर, वडा नं १२ ठेचो र वडा नं २ विशङ्खुनारायणथानमा अर्काे डिपबोरिङ गर्ने योजना अघि बढाएको छ ।

नगरपालिकाले जनतालाई आफ्नै नगर क्षेत्रभित्र स्वास्थ्य सुविधा उपलब्ध गराउन बज्रबाराही चापागाउँ अस्पताल सञ्चालन गरी २४ आँै घण्टा सुविधा दिन शुरु गरेको छ । यसअघिको नगरपरिषद्मा निर्णय भएअनुसार नगरपालिकाले अस्पताललाई औषधि खरीदका लागि रु १० लाख र सोबाहेकको खर्चका लागि रु २० लाख सहयोग गरेको थियो । गोदावरीमा रहेका १८ सामुदायिक स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक कदम चालिरहेको बताइएको छ ।

विद्यालय शिक्षा सम्बन्धमा नयाँ संविधानानुसार सङ्घीय ऐन नआइसकेकाले गोदावरीले केही नियमावली बनाएर काम गरिरहेको नगर उपप्रमुख मुना अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत आवको तुलनामा चालु आवमा हामीले विगतको वर्षभन्दा धेरै बजेट शिक्षामा छुट्याएर काम गरिरहेका छाँै ।

यहाँको विद्यालय शिक्षाको गुणस्तर तथा विद्यार्थी र शिक्षकको स्वास्थ्यलाई ध्यानमा राखी विद्यालयमा धमाधम ‘स्मार्ट बोर्ड’ राख्ने, विद्यार्थी र शिक्षकको अध्ययन र अध्यापनमा हौसला बढाउन पुरस्कार स्थापना गर्ने, यहाँ एउटा मात्र प्राविधिक विद्यालय भएकाले प्राविधिक शिक्षामा बालबालिकाको आकर्षण बढाउन प्राविधिक शिक्षालय भवन निर्माणको काम अघि बढाइरहेका छाँै ।” चालु वर्षमा गत वर्षको तुलनामा गोदावरीभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्या धेरै बढेको अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी नगपालिकाभित्र रहेका अव्यवस्थित सडकलाई व्यवस्थित बनाउन एउटा सडकलाई रु ५० लाख बजेट विनियोजन गरी सडक मापदण्ड ६ देखि ८ मिटर हुनुपर्ने कायम गरिएको छ ।

नगरपालिकाको आन्तरिक स्रोेतबाट प्रत्येक वर्ष छ–छ सडक निर्माण गर्र्दै अघि बढिरहेको छ । गत आवमा नगरपालिकाले धापाखेल–झरुवारासी तथा लेलिनथोक –देवीचौर सडक निर्माण सम्पन्न गरिसकेको छ ।

निर्माण अघि बढेका तर सम्पन्न हुन बाँकी रहेका चापागाउँ –नख्खुखोला, ठेचो–झरुवारासीसहित यस वर्ष छ अन्य सडकलाई पूर्ण गराइने योजना नगरपालिकाले बनाएको छ ।

विकास निर्माणको काम वृद्धि

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत साविकको गोदावरीमा कूल तीन हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्र तथा नेपाल सरकारको कार्यक्रमअन्तर्गत धर्मशाला र सातदोबाटो–गोदावरी सडक निर्माणको काम धमाधम अघि बढिरहेको छ ।

नगरपालिकाले आफ्नो एकल लगानीमा हाल चापागाउँमा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । यसैगरी खानेपानी बोर्डले साविक गोदावरी, बज्रवाराहीलगायत अन्य वडामा अर्काे दुई सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाएको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

गोदावरीले आफ्नो नगरपालिकाभित्र रातमा पनि सहज तरिकाले हिँड्ने वातावरण सिर्जना गराउन ६० वटा सडक बत्ती जडानको काम गरिसकेको छ । गोदावरीका सबै क्षेत्रमा सडक बत्ती र सिसी क्यामेरा जडानका लागि प्रदेश सरकारको साझेदारीमा रु ४०–४० लाखको बजेट छुट्याइसकिएको वडाध्यक्ष घिमिरेले बताउनुभयो । –सुभानु आचार्य

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी