फलेन गरिमा धान, चिन्तित किसान

फलेन गरिमा धान, चिन्तित किसान

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् ।

बर्दिया राजापुर–१० पहाडीपुरका किसान सालिकराम सिग्देलले गत जेठ २ गते बीउ राखेर असार ७ गते डेढ बिघा खेतमा रोपेको गरिमा जातको धान नपसाएपछि वर्षभरि हातमुख जोर्न धौ–धौ हुने बताउनुभयो । उहाँले गरिमा धान नफलेको जनगुनासो आएपछि कृषकको खेतबारीमै पुग्नुभएका प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलसमक्ष आफ्नो व्यथा पोख्नुभएको छ ।

“गत वर्ष पनि यसै खेतमा गरिमा जातकै धान रोपेको थिएँ । राम्रो फलेको थियो । यस वर्ष भने एग्रोभेटले नै गरिमा धानको बीउ भनेर नक्कली बीउ दिएर बिचल्लीमा पा¥यो,” सिग्देलले गुनासो गर्दै भन्नुभयो । उहाँले १२० दिनमा तयार भई तोरी छरेर चैते धान लगाउने सोचले एग्रोभेटको विश्वासमा परेर आफू ठगिएको बताउँदै अहिले खेतमा हरियो धानका रूपमा घाँसमात्र रहेको गुनासो गर्नुभयो ।

तीन बाली हुने लोभले गरिमा धान रोपेकी बर्दिया राजापुर नगरपालिका–८ बञ्जारे टौडाकी किसान रामकुमारी थारूले आफूसँग भएको पाँच कठ्ठा जमीन सबैमा रोपेको तर, पाक्ने बेलामा पनि धान नपसाएपछि के खाने भन्ने चिन्ता भएको गुनासो गर्दै भन्नुभयो, “हाम्रो सबै खेतमा गरिमा धान रोपेका थियौँ । यो धान रोप्दा तीन बाली लगाउन पाइन्छ भनेको त एकै बाली भएन, वर्षभरि कसरी गुजारा चलाउने हो भन्ने पीरले रातभर निद्रा नै पर्दैन ।”

राजापुर नगरपालिका–५ भौराका शोभनलाल थारूले गोरखनाथ धानको बीउ लिन एग्रोभेट जाँदा धेरै फल्छ भनेर एग्रोभेटबाटै गरिमा धानको बीउ दिएर पठाएको बताउनुभयो । “अरूको धान पसाएर काट्न लाग्दा पनि हाम्रो छिटो फल्ने धान नपसाएपछि एग्रोभेटमा जाँदा ‘औषधि छिट्नु अनि पसाउँछ’ भनेर बीउ बेच्ने एग्रोभेटले भन्यो आएर औषधि छिट्दा पनि औषधिको मात्र नोक्सान भो धान जस्ताको त्यस्तै नपसाई बस्यो,” मन्त्री पौडेललाई आफ्नो पीडा सुनाउँदै भन्नुभयो, “गोरखनाथ नै ल्याएर रोपेको भए वर्षभरि खान पुग्ने थियो, गरिमा रोपेर घाँसमात्र हात लाग्यो ।”

राजापुर–५ कै पोहरी थारूले आफूसँग भएको सबै तीन कट्ठा जमीनमा धेरै बाली भित्र्याउने लोभमा गरिमा धान रोपेको तर एग्रोभेटले नै गरिमा जातको भन्दै नपसाउने धानको बीउ दिएर आफूहरुको बिचल्ली पारेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ राजापुर ९धान सुपरजोन०का प्रमुख तपेन्द्रबहादुर शाहले बर्दियाको राजपुरमा १५० हेक्टर जमीनमा लगाइएको गरिमा धान नपसाएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको र यो तथ्याङ्क अझ बढ्न सक्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले गरिमा धानको खोलमा अरू नै जातको धानको बीउ दिएर किसानलाई कम्पनीले ठगेको हुनसक्ने आशङ्का व्यक्त गर्दै भन्नुभयो, “१२५ दिनमै पाक्नुपर्ने धान १५० दिन पार गर्दा पनि पसाएको छैन । धानको बीउको खोलमात्र गरिमाको राखेर अरू नै धानको बीउ बेचिएको हो । यस विषयमा अनुसन्धान गर्दा झन् पुष्टि हुनेछ ।” उहाँले बाँकेमा पाँच हेक्टर र बर्दियामा २०१ हेक्टरमा गरिमा धान रोपेको प्रारम्भिक तथ्याङ्क आएको र यो अझ बढ्नसक्ने जानकारी दिनुभयो ।

सहकारीमन्त्री पौडेलले गरिमा धान रोपेका सबै किसानले रोपेको क्षेत्रफलमा उत्पादन हुने अनुपातमा क्षतिपूर्ति बीउ वितरक कम्पनीले दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बीउ वितरक कम्पनीले किसानलाई गरिमा रोपेको क्षेत्रफलमा फल्ने अनुपातको क्षतिपूर्ति दिनुपर्छ । किसानलाई झुक्याएर नफल्ने र नक्कली बीउ दिनु घोर अपराध हो । बीउ वितरण गर्ने कम्पनी तथा बिक्री एजेन्टलाई क्षतिपूर्ति र कारवाहीको दायरमा ल्याइनेछ ।” मन्त्री पौडेलले एक हप्ताभित्र किसानको अभिलेख तयार गरी क्षतिपूर्तिको लागि पहल गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी