काठमाडौं, साउन १९ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई समयमा जानकारी नदिनु गल्ती भएको स्वीकार गर्नु भएको छ ।
आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले विषादी परीक्षणबारे भारतले केही नभनेको भनी प्रतिक्रिया दिएको दुई दिनपछि मात्र प्रधानमन्त्रीको हातमा पत्र पुगेको बताउनु भएको हो ।
गत असारमा भारत तथा तेस्रो मुलुकबाट आयात भएका तरकारी र फलफूल विषादी परीक्षण गरेरमात्र नेपाल भित्र्याउन दिने सरकारले नीति लिएको थियो । तर काठमाडौंस्थित भारतीय दूतावासले पत्र लेखी विषादी परीक्षण रोक्न माग गरेको थियो । तर प्रधानमन्त्रीले भने भारतबाट कुनै दबाब नआएको प्रतिक्रिया दिनु भएको थियो ।
कृषिमन्त्रीका अनुसार प्रधानमन्त्रीले यसबारे प्रतिक्रिया दिँदासम्म उहाँलाई मन्त्रालयको तर्फबाट विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासको पत्रबारे जानकारी नभएको बताउनु भयो ।
आज समितिको बैठकमा सांसदहरुले यसबारे प्रश्न सोधेपछि उहाँले कमजोरी भएको स्वीकार गर्नु भएको हो । मन्त्री खनालले दूतावासको पत्रमा गलत कुरा नभएको जिकिर गर्नु भयो ।