तनहुँ, २६ असार ।
तनहुँको म्याग्दे गाउँपालिकले गाई भैसी पाल्ने किसानलाई सुत्केरी भत्ता दिने भएको छ । गाई भैँसी व्याएपछि किसानलाई गाउँपालिकाले तीन हजार रुपैयाँ सुत्केरी भत्ता दिने गरेको हो।
चालु वर्षको नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै विनियोजन गरेर सुत्केरी भत्ता वितरणको सुरुवात गरिएको हो।
हालसम्म १६ जना गाईपालक किसानले सुत्केरी भत्ता बुझेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए।
ब्याएपछिको दुई महिनासम्म पोषणयुक्त आहारा र दानापानीको व्यवस्था गर्न सके गाई भैँसीको दुध पछिसम्म पनि त्यही मात्रामा रहने उनको भनाई छ।
गाईभैँसीको भत्ता लिन किसानको फर्म अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। गाउँपालिकाले नियन्त्रण गर्नलाई पनि समस्या हुने भएकाले फर्म गरेको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको हो।’
सुत्केरी भत्ता लिनलाई वडा कार्यालयको सिफारिस आवश्यक पर्ने प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए। ‘गाईभैसी ब्याएपछि गाउँपालिकामा वडाको सिफारिस ल्याउनुपर्छ, त्यसपछि गाउँपालिकाका पशु प्राविधिकले अनुमगन गरेपछि मात्र भत्ताको तीन हजार रुपैयाँ वितरण गर्ने गरेका छौँ’, उनले भने।
चालु वर्षमा एक लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्यक्रम सुरु गरिएको हो। किसान उत्साहित भएपछि यो कार्यक्रमलाई आगामी वर्षको निती तथा कार्यक्रममा पनि निरन्तरता दिएर बजेट विनियोजन गरिएको छ। ‘आगामी वर्षलाई एक लाख रुपैयाँ छुट्याएका छौँ’, तिवारीले भने।
किसानले गाई भैंसीलाई घाँसबाहेकका पोषणयुक्त आहारमा ध्यान नदिने कारण दूध उत्पादन कम हुने र भैंसीको स्वास्थ्यमा समेत असर पर्ने पशु शाखा प्रमुख माधवप्रसाद पण्डित बताउँछन्। बढी उत्पादन लिनलाई दानापानीको तालमेल मिलाउनु पर्ने उनको भनाई छ।
यस्तै गाउँपालिकाले जिल्लाको जुनसुकै स्थानबाट लैनो गाईभैसी ल्याएर ६ महिनासम्म पाल्ने किसानलाई पनि ढुवानी खर्चवापत लाग्ने रकम दिने भएको छ।