यी हुन् माओका महत्वपूर्ण पठ्नै पर्ने १६ संगठनात्मक कार्यशैली

यी हुन् माओका महत्वपूर्ण पठ्नै पर्ने १६ संगठनात्मक कार्यशैली

  • शनिबार, माघ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

मई १९५९

जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर, हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो ।

यहाँ कामको तरिकासम्बन्धी सोह्र बुँदा दिइएको छ ।

१. समझदार बन, निर्णायक बन

हाम्रा केही कामरेडहरूमा बिलकुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग-अलग राय सुन्ने इच्छा राख्नुहोस् र खासगरीकन अलग विचार सुन्न तयार हुनुहोस् ।

२. केही सम्भावना देख

एउटा आम कथन के छ भने हामीले भावी कामको लागि सम्भावना देख्नुपर्छ । काममा केही लचिलोपनको सम्भावना देख्नु महत्वपूर्ण हुन्छ । क्वमिन्ताङ्ग सेनाविरुद्ध कार्वाही गर्दा हामीले तिनीहरूलाई दमन गर्न उनीहरूभन्दा कैयौं गुना बढी सैनिकलाई एकत्रित गर्दथ्यौं । बिना तयारी हामी कुनै लडाईं लड्दैन थियौं । समाजवादी निर्माण र नियोजनको लागि पनि काममा हामीले सम्भावना देख्नुपर्दछ । हाम्रो काम हाम्रो योजनाभन्दा महत्त्वपूर्ण हुनुपर्दछ । हामीले यो सम्भवना देख्नुपर्छ कि जनसाधारणले योजनाभन्दा पनि अगाडि बढेर काम गरून् । यदि लक्ष्य निकै नै ठूलो छ भने त्यहाँसम्म पुग्न कठिन हुनेछ, त्यसलाई पार गर्नु त टाढैको कुरा हो । उत्पादन टिमको प्रमुखको अक्सर भनाइ के छ भने “१०,००० को लक्ष्य हाम्रो लागि ठूलो कुरा हैन, तर असफलताको एक सम्भावनालाई प्रतिवाद गर्न १०, ००० सित हामी डराउँछौ ?” अतीतमा यो भनाइले काम गर्ने मजदुरहरूलाई काममा उत्साहित गर्न खराब असर गर्दथ्यो । यदि हामीले जानीबुझीकन जनसाधारणलाई उत्पादन लक्ष्य पार गर्न दिने हो भने तिनीहरू उत्साहित हुनेछन् र पहिलेभन्दा पनि बढी कठोर परिश्रम गर्नेछन् । यसको साथै हामीले उत्पादनप्रति पनि ध्यान केन्द्रित गर्नुपर्दछ किनकि कुनै पनि चीजप्रति ध्यान केन्द्रित भएन भने यसको अर्थ हुन्छ – त्यसप्रति कुनै पनि नीति नै छैन । यसरी नै साहित्य र कला कर्मको क्षेत्रमा पनि त्यही कुरा सत्य हो । कुनै पनि नाटक प्रदर्शनमा दर्शकहरूद्वारा सोचविचार, चर्चा गर्ने ठाउँ राखिदिनुपर्दछ । यदि नाटकको पहिलो अङ्क देखेपछि तपाईलाई दोस्रो अङ्कमा के हुँदैछ भन्ने कुरा थाहा हुने हो भने प्रदर्शन असफल हुनेछ । यसै किसिमले वक्तालाई केही कुरा नभनिकनै छाडिदिनुपर्दछ ।

३. छालको गति सरह अघि बढ

१९५७ मा हामीले दुस्साहसवादको विरोध गर्यौं । परिणामतः प्रगतिको स्तर एकदम तल झर्यो र फेरि घोडाको काठीजस्तै माथि उठ्यो । त्यस वर्ष हामीले उत्पादन लक्ष्य तल झार्नु परेको थियो । काम छालको गतिमा अघि बढ्न आवश्यक छ । यस वर्ष पनि हामीले उत्पादन लक्ष्य थोरै तल झार्यौं । वृद्धिदर ४० प्रतिशत रहेको छ । यस वर्ष हामीले १ करोड ६५ लाख टन स्टीलको उत्पादन गर्न कटिबद्ध छौँ र हामीलाई विश्वास छ कि हामीले कोइलाको कोटा पनि पूरा गर्नेछौं । कृषिको लक्ष्यमा हामीले अन्न र कपासको उत्पादनमा बढी जोड दिनुपरेको छ । आगामी वर्ष, उत्पादनको आँकडा केही कम गर्नुपर्ने हुन सक्छ । १९६१ मा हामीले एउटा महान् अग्रगामी छलाङ्ग मार्न सक्दछौं । “समाजवादी निर्माणलाई प्रवाहको गतिमा अधि बढाउनु पर्दछ ।” “स्वर्ग रिसाएपछि मनुष्यको उमेर घट्दछ, जब पृथ्वीमा वसन्त आउँदछ, अनेकौं बरदान घर भित्रिन्छ ।” प्रत्येक दिन ज्वार आउन सक्दैन । म प्रवाहको गतिमा अघि बढ्ने कार्यको विरोधी हैन, तर म दुस्साहसवादको विरोधी हुँ ।

४. बढीभन्दा बढी प्रभावको लागि प्रयास गर

बढीभन्दा बढी प्रभावको लागि योजना बनाऊ । परिस्थितिमा परिवर्तन आएअनुसार योजनामा पनि परिवर्तन गर । यदि परिस्थितिमा परिवर्तन भयो भने परिस्थितिअनुसार मानिसको सोचाइमा पनि परिवर्तन हुनुपर्दछ । यदि त्यसो भएन भने ऊ निश्क्रिय अवस्थामा पुग्नेछ । मस्तिष्कलाई जीवावशेष (fossil) बन्न नदेऊ । सामग्रीहरूको मात्रा र मानिसहरूको सङ्ख्याअनुसार योजनाहरूको निर्माण गर । मनोगत रुपले योजनाको निर्माण नगर ।

५. स्थितिको निरीक्षण गर्न कुशल बन

आफ्नो मस्तिष्कलाई जीवावशेष (fossil) बन्न नदेऊ । राजनीतिक स्थितिको अड्कल गर्न, मानिसहरूको सोच्ने प्रवृत्तिलाई अनुसन्धान गर्न र आर्थिक स्थिति पत्ता लगाउन सक्षम बन । पे-ताई-हो सम्मेलनमा उच्च लक्ष्य राखिएको थियो । होपे र शानतुङ्गको यात्राको दौरानमा मैले त्यो व्यवहारिक देखिन । चिनियाँ कम्युनिस्ट पार्टीको छैठौँ सम्मेलनमा स्टील उत्पादनको लक्ष्य घटाएर दुई करोड टन गरिदियौं । सङ्घाई सम्मेलनमा यसलाई अझ न्यून गरिदियौं । यस किसिमले हामीले कदम-कदम उत्पादनलाई पूरा गर्न योग्य बन्यौँ  ।

६. ठीक समयमा निर्णय गर

स्थितिको निरीक्षण गर्नाले नै तपाईं  महत्त्वपूर्ण मौकामा निर्णय गर्न सक्नु हुनेछ । केही कमरेडले स्थितिलाई सम्पूर्ण रुपले बुझ्न सक्दैनन् । अन्य केही काम गर्ने बेलामा निर्णय त लिन सक्दछन्, तर सही किसिमले निर्णय लिन सक्दैनन् । हुलमुलपन र निर्णयविहिनता खराब कुरा हुन् । निर्णय दृढ़तापूर्वक लिन आवश्यक छ । कुनै पनि अवसर नगुमाऊ किनकि एकपटक समय गएपछि फेरि फर्केर आउँदैन । कम्युनको समस्याबाट यो निकै स्पष्ट हुन्छ ।

कम्युनको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा गत वर्ष स्पष्ट भएको थिएन । केही समयको अन्तरालमा २७ जनवरीलाई समस्याको विस्तृत रूपमा विचार गरियो । पछि मैले चओ जु-याङ्गको रिपोर्ट पढेँ, फेरि तिएनसिनमा ल्यू जे-हओ गएँ । शान्तुङ्गमा तान चि-लुङ्ग र लू हुङ्ग पिङ्ग कम्युनमा गएँ । मैले निम्नलिखित समस्याहरू देखेँ, कागजको एक टुक्रा, एक पाना, अलग विचार राख्नेको लागि एक टोपी, चाबीको एक गुच्छा, एक उदघोषण र एक सिँढी । तब मैले टीमद्वारा स्वामित्व राखिएको व्यवस्थाको खोज गरेँ । पछिल्लो सम्मेलनले यस समस्याको समाधान गरिदियो । केही कमरेड आफूभन्दा माथिका साथीहरू र मातहतका साथीहरूसित निकै डराउँछन् । अबदेखि माथिल्लो र मातहतका बीचको स्तर समन्वयात्मक रूपले हल गर्न आवश्यक छ ।

७. विचारलाई व्यक्त हुन देऊ

विचारहरूलाई व्यक्त हुने मौका नदिने हो भने बैठकहरू कामकाजी हुँदैनन् । कुनै पनि विचार-विमर्शभन्दा पहिला त्यसको तयारीको लागि समय चाहिन्छ । केही बैठकहरूमा कुनै विषय हुँदैन । मैले न्यूनतम पनि सय पटक यो कुरा औँल्याए हुँला कि विचार अभिव्यक्त नहुनु गलत हो । कुनै पनि समस्यालाई ढाकछोप नगर। सही अर्थमा समस्या के हो भन्ने कुरा जनतालाई बुझ्नबाट नरोक। समस्या हल गर्नुभन्दा पहिला त्यो समस्याको बारेमा सम्पूर्ण रुपले बुझ्नुपर्दछ र त्यसमाथि चर्चा हुनुपर्दछ।

८. गतिरोधलाई तोड

प्रत्येक रिपोर्टमा कुनै दृष्टिकोण हुनुपर्छ। कुनै समस्यालाई हल गर्न केही वैकल्पिक तरिका सोच। आफ्नो आधारभूत स्थिति, अलग-अलग दृष्टिकोण, समस्याको मूल बिन्दु र वास्तविक कार्य अवस्थाको बारेमा बताऊ। कुनै गतिरोध हुनु हुँदैन।

९. अल्पमत होस् । तर, सत्य नछोड

यदि एकजना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्दछ। लेनिनले के भन्नुभएको छ भने हामीमा उल्टो प्रवाहको विरोध गर्ने, आफ्नो स्वतन्त्र दृष्टिकोण राख्ने र आफ्नो कुरा भन्ने साहस हुनुपर्दछ। हाम्रा केही कमरेड गलत परिणामसित डराउँछन्। तसर्थ हामीले सोचेर तथा साहसी कम्युनिस्ट बोल्ने चरित्रलाई प्रोत्साहित गर्नुपर्दछ। आफू खत्तम हुनसम्म नडराउने साहसी व्यक्तिले मात्र सम्राटलाई घोडाबाट ओराल्न सक्दछ।

१०. समस्याहरूलाई ऐतिहासिक दृष्टिकोणबाट हेर

कुनै पनि योजनालाई परिवर्तन गर्दा त्यो परिवर्तन ऐतिहासिक प्रक्रियाको मातहत हुनुपर्दछ । गत साल हामीले महान् अग्रगामी छलाङ्ग मार्यौं । यदि यो २० प्रतिशत भए यो महान् अग्रगामी छलाङ्ग हो । यदि यो ३० प्रतिशत भए यो निरन्तर जारी महान् अग्रगामी छलाङ्ग हो ।

११. बुझ्न सकिने शैलीमा लेख, अर्ध-साहित्यिक र अर्ध-बोलचाल वा अर्ध-शास्त्रीय र अर्ध-आधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट रुख अपनाऊ ।

तिब्बतमा विद्रोहको बारेमा न्यू चाइना न्यूज एजेन्सी रिपोर्टहरूमा घटनाहरूको स्पष्ट सिलसिला देखिन्छ । हामीले लेख्दा हाम्रो पार्टी र राष्ट्रको हितलाई ख्याल राख्नुपर्दछ ।

कुनै लेखहरूमा सम्झाउन सक्ने शक्ति हुँदैन । त्यसबाट लेखकहरूलाई आफ्नो कामको क्षेत्रको कुनै स्पष्ट बुझाइ छैन र उनीहरूले जनताको मनोविज्ञानको बारेमा न त जानेका छन्, न त बुझेका छन् भन्ने कुरा थाहा हुन्छ । ताङ्ग वंशका प्रसिद्ध लेखक हान यू गद्य लेखकको रूपमा परिचित छन् । होनानमा उनी स्यू-वू होनानमा रहन्थे । उनले के कुराको वकालत गर्दथे भने आफ्नो शिक्षकको विचार अपनाऊ, तर शिक्षकको शब्दमा हैन । उनी ढर्रा र परम्परा पालना गर्ने कुराको विरोधी थिए । उनले के कुरामा जोड दिए भने हरेकसित आफ्नो विशिष्टता र शैली हुन जरुरी छ र उसले त्यसको आलोचना या प्रशंसाप्रति ध्यान दिनु हुँदैन । समानान्तर निर्माणको बारेमा पान त्सुङ्ग-जुको लेखाई पढ्न कठिन छ । यस्तो लाग्दछ कि उनले जानीजानी आफ्नो लेखलाई पढ्न कठिन बनाएका छन् ।

१२. जिम्मेवार बन

आफ्नो हातमा अधिकार भए तपाईंले आदेश दिन सक्नुहुन्छ । साहसपूर्वक जिम्मेवारी पूरा गर, नेतृत्वको अनुसरण गर ।

१३. गलत चिन्तनबाट मुक्त होऊ

राक्षससित नडराऊ, लाज नमान, कायर नबन । साहसी र दृढ होऊ । हाम्रा केही कामरेडहरूको चरित्र कमजोर छ । उनीहरू गलत चिन्तनबाट मुक्त भएका छैनन् । उनीहरू दोष हटाउन डराउँछन् । कार्यकर्ताहरूमा सत्यतामा कायम रहने साहस हुनुपर्दछ र उनीहरूले सामन्ती कालको व्यवहारको अनुसरण गर्न हुँदैन । तपाईं के कुरासित डराउनु हुन्छ ? अरु केही होइन यी ६ चीजसित डराउनु हुन्छ – पदबाट बर्खास्त, पदावनती (माथिल्लो पदबाट तल्लो पदमा झर्नु), पार्टीबाट निस्कासन, पत्नीसित छोडपत्र, हत्या र जेल जाने ।

१४. आलोचनाबारे

हामी सबै सही कमरेड हौँ । कामरेडहरूको बीचको आलोचनाको उद्देश्य सही किसिमले काम गर्ने र काम गर्ने कुशल तरिकाहरूको खोजी हो । आलोचना गर्दा पश्चात्ताप हुन्छ कि भनेर कहिल्यै पनि कल्पना गर्नु हुँदैन । आलोचना तथा आत्मालोचना मानिसहरूलाई शिक्षित गर्ने पार्टीको हतियार हो । हामीसित न त पूर्वजन्मको शिकायत छ, न त भविष्यमा नै हुनेछ । पीडा प्रगतिको लागि एक प्रेरक पक्ष हो ।

१५. सामूहिक नेतृत्व

पार्टी केन्द्रीय कमिटीको बैठक केन्द्रीय महत्त्वको विषय हो । यसका निर्णयहरूलाई जहाँतहीँ सबै ठाउँमा लागु गरिनुपर्दछ ।

१६. विभिन्न विभागहरू बीचमा सम्बन्ध

औद्योगिक विभागहरूसित सुदृढ सम्बन्ध कायम गरिनुपर्दछ । तीन राजकीय आयोगहरू (राजकीय योजना आयोग, राजकीय आर्थिक आयोग र राजकीय पूंजीगत निर्माण आयोग) र दुई मन्त्रालयहरू (धातु उद्योग मन्त्रालय र मेसिन निर्माणसम्बन्धी प्रथम मन्त्रालय) सित घनिष्ठ सम्बन्ध हुनुपर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी