इलामको फिक्कलमा पहिलोपटक चियाको सर्वेक्षण, यस्तो छ तथ्याङ्क

इलामको फिक्कलमा पहिलोपटक चियाको सर्वेक्षण, यस्तो छ तथ्याङ्क

  • बुधबार, भदौ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

इलाम । राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभाग र चिया तथा कफि विकास बोर्डले नेपाली चियाको पहिलोपटक तथ्याङ्क संकलन गरि सार्वजनिक भएको छ । एक वर्ष लगाएर गरिएको चिया सर्भेक्षणको तथ्याङ्क शुक्रबार इलामको फिक्कलमा दोस्रोपटक सार्वजिनिक गरिएको थियो । यस अघि तथ्याङ्क विभागले काठमाडौँमा पहिलोपटक सर्वेक्षण सार्वजनिक गरेको थियो ।
चिया खेती भएको डेढ दशकपछि गरिएको सर्भेक्षणमा नेपालका १४ जिल्लाको १२ हजार ६७ हेक्टर क्षेत्रफलमा विस्तार भई १० करोड ८० हजार हरियो चिया पत्ति उत्पादन भएको पाइन्छ । जसमध्ये इलाममा ३ हजार ३ सय ९३ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको हो । विक्रम संम्बत १९२० मा तत्कालिक प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाई गजरासिंह थापाले इलाममा रोपेपछि अहिले इलाम, झापा, पाँचथर, तेह्थुम, ताप्लेजुङ्ग, धनकुटा, मोरंग,भोजपुर, संखुवासभा, नुवाकोट, ललितपुर, सिन्धुपाल्चौक, दोलखा, रामेछाप जिल्लामा विस्तार भएको छ ।
इलाममा ५ हजार ५ सय ९८, झापामा १ हजार ६ सय १, पाँचथरमा ७ सय ७२, धनकुटामा ३ सय १८, तेह्थुममा ३ सय १७ परिवार र अन्य जिल्लामा ६ सय ३० किसान परिवारले चिया खेती गर्दै आएको केन्द्रिय तथ्याङ्क विभागका निर्देशक बद्रिकुमार कार्कीले बताए । सबैभन्दा बढी किसानले एक हेक्टर भन्दा कम जग्गामा चिया खेती लगाएको तथ्याङ्कमा उल्लेख छ । १४ जिल्लाको ८२ प्रतिशत किसानले एक हेक्टर भन्दा कम जग्गामा चिया खेती रहेको छ । एक हेक्टरदेखि १० हेक्टरसम्म १७ प्रतिशत, १० हेक्टरदेखि २० हेक्टरसम्म ० दशमलव ४ प्रतिशत र २० हेक्टरभन्दा माथि ० दशमलज ८ प्रतिशतले खेती गरेका छन् । चिया खेतीको उद्गमस्थल इलाममा ५ हजार १८ किसानले एक हेक्टर भन्दा कम जग्गामा, ५ सय ६९ किसानले एक देखि दश हेक्टरसम्म, ५ जना किसानले १० देखि २० हेक्टर र २० हेक्टरमाथि ७ जनाले चिया खेती गरेको तथ्याङ्कमा उल्लेख छ । १५ प्रतिशत महिला र ८५ प्रतिशत पुरुष चिया बगान संचालक रहेको नेपालमा इलाममा भने १६ प्रतिशत महिला र ८४ प्रतिशत चिया बगानको जग्गा पुरुषको नाममा रहेका छन् ।
तथ्याङ्क विभागको सर्भेक्षणमा जातका आधारमा पनि चिया किसानको सर्भेक्षण गरेको छ । जसमध्ये इलाममा २९ प्रतिशत बाह्मण,२३ प्रतिशत क्षेत्री,१८ प्रतिशत राई, ९ प्रतिशत तामाङ्ग र ४ प्रतिसत नेवार जाति चिया खेतीमा संलग्न रहेका छन् । शैक्षिक हिसावले इलाममा ८३ दशमलव ४ प्रतिशत किसानले एसएलसीसम्म, ८दशमलव ७ प्रतिशतले प्रविणता तह, ५ दशमवल १ प्रतिशतले स्नातक, १ दशमलव ५ प्रतिशतले स्नातकोत्तर तह र १ दशमलव ३ प्रतिशत निरक्षर रहेको तथ्याङ्कमा उल्लेख छ । उमेरका हिसाबले इलाममा २० देखि ४० वर्ष उमेर समूहका किसान ३२ दशमलव ९, ४० देखि ६० वर्ष उमेर समूहका ४९ दशमलव १, ६० देखि ८० वर्ष उमेर समूहका १७ दशमलव २ र ८० वर्ष उमेर समुहमाथि ० दशमलव ८ प्रतिशत चिया बगान संचालक रहेका छन् । देशभरमा ४ प्रतिशत मात्रै चिया बगान दर्ता भएकोमा इलाममा २ दशमलव ५ प्रतिशतले मात्रै सरकारी संस्थामा बगान दर्ता गरेको तथ्याङ्कमा उल्लेख छ ।
चिया खेतीमा सरकारी ऋण लगानी नभएका कारण दर्ता कम भएको अध्ययनबाट पत्ता लागेको तथ्याङ्क निर्देशक बद्रिकुमार कार्कीले बताए । विक्रिम सम्बत २०४० सालमा कुल क्षेत्रफलको २ दशमलव २ प्रतिशत मात्रै विस्तार भएको चिया खेती ४० देखि ५० मा १४ दशमवल ४, ५० देखि ६० ५४ दशलव ६ ६० देखि ७० मा २७ प्रतिशत र ७० सालदेखि पछि १ दशमलव ९ प्रतिशत विस्तार भएको सर्भेक्षणमा उल्लेख छ । चिया खेतीको उद्गमस्थल इलाममा वि.सं. २०५० देखि २०६० सम्मको दशकमा (६१.१%) कृषक÷ब्यवसायी चिया खेतीमा लागेको सर्भेक्षणमा देखिन्छ । नेपाली चिया उत्पादन तथा प्रबर्धनको लागि सरकारी स्तरमा वि.सं.२०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको थियो । त्यसपछि
वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवले पूर्वाञ्चलका ५ जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाचथर र इलाम लाई चिया क्षेत्र घोषणा गरेपछि पूर्वी नेपालमा चिया खेती बिस्तार भएको अध्ययनमा उल्लेख छ । नीति निर्माण गर्दै प्राविधिक एवं व्यवस्थापकिय सहयोग गर्ने उद्देश्यका साथ अझबढी व्यापक र व्यावसायिक बनाउन वि.सं. २०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भएको थियो । कुल क्षेत्रफलको ९५ प्रतिशत आफ्नै जग्गामा विस्तार भएको चिया खेती इलाममा ९५ दशमलव ८ प्रतिशत निजी जग्गामा, ३ दशमलव १ प्रतिशत किसानले जग्गा लिजमा लिएर र १ दशमलव १ प्रतिशतले अन्य हिसावले चिया खेती गरेको पाइन्छ । नेपाली चिया क्षेत्रमा १८ हजार १ सय ८० संचालक रहेको नेपालमा ३ हजार २ सय ४४ स्थायी र ३० लाख ९५ हजार २ सय ८४ प्रतिकार्यदिन रोजगारी पाएको केन्द्रिय तथ्याङ्क विभागका निर्देशक बद्रि कार्कीले बताए । व्यवसायीक चिया खेती सर्भेक्षण २०७५ का अनुसार चिया खेतीमा बैंक तथा वित्तिय संस्थाको ऋण लगानी अत्याधिक कम देखिन्छ । इलाममा ५ प्रतिशत किसानले मात्रै चिया खेतीमा ऋण लिएको तथ्याङ्कमा उल्लेख छ । चिया खेतीमा रोग किराको प्रकोप हुँ‘दा निजि कृषि प्राविधिकबाट अधिक किसानले प्राविधि तथा चिया बगानमा उपचार गराउँदै आएको अध्ययनमा उल्लेख छ । इलाम जिल्लामा रोग किराको प्रकोप हँ‘दा निजि कृषि प्राविधिकबाट ६०.१% ले, जिल्ला चिया सहकारी÷व्यवसायीबाट ५.९% ले, चिया तथा कफी विकास बोर्डबाट १३.२% ले, कृषि विकास कार्यालयबाट १% ले र अन्यबाट १९.८% ले प्राविधिक सहयोग लिएको देखिन्छ ।
चिया खेती गर्ने किसान र उद्योगीमध्ये इलाममा ५५ प्रतिशतले तालिम लिएको र बाँकी ४५ प्रतिशतले परम्परागत तरिकाले चिया खेती गरिरहेको पाइन्छ । चिया किसानले गैरसरकारी संस्था, कृषि विकास कार्यालय, चिया तथा कफि विकास बोर्ड, जिल्ला सहकारी संघ र चिया उत्पादक सहकारी संस्थाबाट तालिम लिएका छन् । चियाको व्यवसायीक योजनामा अन्तरगत सोधिएको प्रश्नमा इलाममा ३६.३% ले विस्तार गर्ने, ६१.५% ले यथास्थितिमा राख्ने, २.२% कम गर्दै जाने योजना रहेको सर्भेक्षणमा उल्लेख छ ।
मुख्य आम्दानीको श्रोत ५३ दशमलव ५ प्रतिशत किसान रहेका रहेका छन् । जसमध्ये झापामा ७० दशमलव १ प्रतिशत, इलाममा ६४ दशमलव ७ प्रतिशत, नुवाकोटमा २० दशमलज ६ प्रतिशत, ललितपुरमा २० दशमलव ९ प्रतिशत, ताप्लेजुङ्गमा १६ दशमलव ७, तेह्थुममा १६ दशमलव ५ प्रतिशत र धनकुटामा १४ दशमलव १ प्रतिशत किसानको मुख्य आम्दानीको श्रोत रहेको छ । चिया सर्भेक्षणमा जलवायु परिवर्तन र त्यसको असर बारेमा पनि अध्ययन गरिएको थियो । सर्भेक्षणको क्रममा ३८ प्रतिशत किसानले चिया क्षेत्रमा जलबायु परिवर्तनको असर देखिएको बताएका थिए । यस्तै इलामका ३९% किसानलाई जलवायु परिवर्तनसम्बन्धी जानकारी भएको र ८६% ले असर गरेको बताएको सर्भेक्षणमा उल्लेख छ ।
जलवायु परिवर्तनले चियाको स्वादमा ह्रास, बोटमा पुड्कोपन,उत्पादनमा ह्रास र पत्ति टिप्ने समयमा परिवर्तन हुने गरेको अध्ययनमा उल्लेख छ । नेपालमा परम्परागत दृष्टिले चिया खेती गर्ने किसानको संख्या आधाभन्दा धेरै छ । ५९ प्रतिशत परम्परागत, ३० प्रतिशत प्राङ्गारिक उन्मुख र ११ प्रतिशत प्राङ्गारिक खेती हुँदै गरेको नेपालमा इलाम जिल्लामा ५७% ले परम्परागत २७% ले प्राङ्गारिक उन्मुख र १६% ले प्राङ्गारिक चिया खेती गर्दै आएको सर्भेक्षणमा उल्लेख छ । क्षेत्रफलका हिसावले ८ हजार ८ सय ३८ हेक्टर परम्परागत, २ हजार १ सय २९ हेक्टर प्राङ्गारिक उन्मुख र ११ सय हेक्टर प्राङ्गारिक खेती हुँदै आएको हो ।
व्यावसायिक चिया खेतीमा भएको खर्च तथा आम्दानी चालु खर्च ४२ करोड १२ लाख ६० हजार, १ अरब १५ करोड ८६ लाख ९६ हजार रुपैयाँ तलब तथा ज्याला र हरियो चिया पत्तिबाट १ अरब ७६ करोड ६३ लाख ८२ हजार रुपैयाँ किसानले आम्दानी गर्दै आएका छन् । एक करोड ६० लाख ३६ हजार सिटिसि, २६ लाख ७० हजार अर्थोडक्स, २ लाख २० हजार ग्रीन र ३२ हजार केजी स्टेसल चिया उत्पादन हुने नेपालमा एक सय १३ वटा उद्योग संचालनमा रहेका छन् । चिया सर्भेक्षणमा किसानने हरियो पत्तिको मूल्य, प्राविधिक तथा मलखाद सहयोग, अर्गानीक प्रमाणिकरणमा प्रोत्साहान लगायत १० वटा बुँदामा सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।
एक वर्ष लगाएर गरिएको चिया सर्भेक्षणपछि योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक सेशकान्त गौतमले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी